काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (मसालं) ले अपराजधन्य मुद्दामा मुछिएका व्यक्तिहरूलाई जेलमुक्त गर्न अध्यायदेश ल्याए गलत राजनीतिक र कानुनी नजिर बस्ने जनाएको छ।
रेशम चौधरीलगायतलाई जेलमुक्त गर्न सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गर्दै मसालले यसले देशको राजनीति र न्याय प्रणालीमा नै गलत प्रकारको नजिर कायम हुने जनाएको हो। महामन्त्री मोहनविक्रम सिंहले सोमबार प्रेस वक्तव्य प्रकाशित गरी रेशम चौधरीलगायत व्यक्तिहरुलाई सरकार गठन गर्न बहुमत पुर्याउनकै लागि जेलमुक्त गर्न खोजिएको जनाएका छन्।
मसालले टीकापुर हत्याकाण्ड अत्यन्त क्रूर र अपराधजन्य कारबाही भएको स्पष्ट पार्दै त्यो हत्या काण्डसित सम्बन्धित व्यक्तिहरूका मुद्दा फिर्ता लिने र उनीहरूलाई रिहा गर्नको लागि अध्यादेश ल्याउन मन्त्रिपरिषद्ले गरेको निर्णयले राजनीति र न्यायिक प्रणालीमा गलत नजिर स्थापना हुने बताएको छ ।
‘त्यो अध्यादेशसित सम्बन्धित दुईवटा पक्षहरूबारे हामीले विशेष रूपमा उल्लेख गर्न चाहन्छौँ। प्रथम, त्यो हत्याकाण्डका पछाडि जातिवादी दृष्टिकोणले काम गरेको छ। जातिवादी आधारमा चलेको कुनै पनि आन्दोलन वा गतिविधिलाई हामीले गम्भीर रूपले गलत मान्दछौँ । त्यसका दूरगामी परिणामहरू हुने कुरा अवश्यम्भावी छ’ मसालले भनेको छ, ‘त्यसैले जातिवादी प्रकारको आन्दोलन वा गतिविधिलाई प्रोत्साहन दिने कुनै पनि नीति वा कारबाहीहरूलाई हामीले कडा शब्दमा विरोध गर्दछौँ।’