काठमाडौँ – पूर्व सुरक्षाकर्मी परिषद् नेपालले भारतद्वारा महाकाली नदीमा तटबन्ध निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ।
परिषदले मंगलबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि मिचेर निर्माण गरेको तटबन्ध तत्काल हटाउन कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ।
रक्षा, गृह र परराष्ट्र मन्त्रालयलाई सम्बोधन गरेर जारी गरिएको विज्ञप्तिमा भारतले अन्तराष्ट्रिय कानून विपरीत महाकाली नदीभित्रै स्काभेटर लगेर नदीको धार नेपालतर्फ धकेलेको कारण त्यसलाई तत्काल रोक्न पहल गर्न आग्रह गरिएको छ।
परिषदद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीको झोलुङ्गे पुलमुनि १० मिटर नेपालतर्फ अतिक्रमण गरेर तटबन्धन बनाएको सम्बन्धमा पूर्व सुरक्षाकर्मी परिषद् नेपालको गम्भीर ध्यानाकर्षण भएको छ, यसरी एकतर्फी रुपमा बनाइएको उक्त तटबन्ध हटाउनको लागि याथाशीघ्र कूटनीतिक पहल गर्न सरकारसँग जोडदार माग गर्दछ।’
नेपाल भारतबीच पटक–पटकका सीमा विवादका कारण नेपालीले ज्यान गुमाउँदासमेत सरकारले विवाद समाधानमा पहल नगरेको विज्ञप्तिमा उल्लेख छ।


