२१ मंसिर, काठमाडौं । विश्वकपमा आफ्नो टिमलाई समर्थन गर्न हजारौंको संख्यामा ब्राजिली समर्थकहरु यतिबेला कतारमा छन् । उनीहरु गाउँदै, नाच्दै आफ्नो टिमको हौसला बढाइरहेका छन् । तर, भित्री मनबाट आफ्ना ‘राजा’ पेलेको स्वास्थ्यका लागि मौन प्रार्थाना गरिरहेका छन् ।
ब्राजिलले जब दक्षिण कोरियालाई हराएर विश्वकपको नकआउट चरणमा प्रवेश पायो । त्यतिबेला समर्थकको एकमात्र आग्रह थियो– कृपया पेलेका लागि विश्वकप जित ।
पेले नामबाट विश्वभर परिचित एड्सन अरान्तेस डो नासिमेन्तो पेटको क्यान्सरबाट ग्रसित छन् । उनलाई स्वासनलीको संक्रमणका कारण गत साता अस्पताल भर्ना गरिएको छ । उनी ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जित्दा टिमका प्रमुख खेलाडी थिए ।
‘हाम्रो लागि पेले राजा हुन्,’ हातले टाउकोको काल्पनिक राजमुकुटतर्फ इशारा गर्दै एक ब्राजिली समर्थक अर्लेमले भनिन्, ‘हामी उनलाई माया गछौं । उनी हाम्रा आदर्श हुन् । उनको लामो उमेर र स्वस्थ जीवनका लागि प्रार्थाना गर्दैछौं ताकि उनी ब्राजिलले एकपल्ट अर्को विश्वकप जितेको देख्न सकुन् ।’
सन् १९७० मा ब्राजिलले विश्वकप जित्दा कोलम्बियाका एक फुटबल समर्थक फ्लेमेंकोले पेलेलाई मेक्सिको सिटीमा इटलीसँगको फाइलन खेल्दै गर्दा देखेका थिए । उनले अल जजिरासँग भने, ‘पेले सधैं सर्वश्रेष्ठ फुटबलर रहिरहनेछन् ।’
फ्लेमेंकोका अनुसार पेलेको उपलब्धिले उनलाई त्यो समयअघि र पछिका सबै फुटबलरभन्दा अलग बनाइदिएको छ । ‘डिएगो म्याराडोना पनि निकै उत्कृष्ट थिए । लियोनल मेस्सी एक अदभूत खेलाडी हुन् । तर, पेले ? उनले तीनपल्ट विश्वकप जितेका छन् । कसैले यो बराबरी कसरी गर्न सक्छ ?,’ फ्लेमेंको प्रश्न गर्छन् ।
पेलेको खेल हेरेर हुर्किएका कोलम्बियाली जोडी रुनी र मेरी पोर्टिलो पनि यो मान्यतासँग सहमत छन् ।
मेरी भन्छिन्, ‘जतिजति उनको कद बढ्दै गयो उनले यो खेललाई नयाँ उचाइमा लगे ।’
पेले ९२ खेलमा ७७ गोलका साथ ब्राजिलको सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । मेरीले सन् १९६० को दशकमा ‘जोगो बोनिटो (सुन्दर खेल)को अवधारण प्रस्तुत गर्ने श्रेय पेले र उनको ब्राजिली टिमलाई दिइन् । भनिन्, ‘ब्राजिली शैली सर्वश्रेष्ठ हुन्छ । उनीहरु जोगो बोनिटो खेल्छन् ।’
जारी विश्वकपमा ब्राजिलले दक्षिण कोरियासँग अन्तिम १६ को खेल खेल्दा थुप्रै जोगो बोनिटो खेल्न पाइएको थियो । उनीहरुले चार गोल गरे, त्योभन्दा धेरै गोलको सम्भावना देखाए ।
यो खेलका लागि ब्राजिली टिम स्टेडियम ९७४ मा उत्रिनुअघि उनीहरुले आफ्ना महान खेलाडीबाट सन्देश पाएका थिए । सोमबार आफ्नो इन्स्टाग्राम एकाउण्डमा पोष्ट भएको सन्देशमा पेलेले अस्पतालको शय्याबाट खेलको अपडेट लिइरहेको उल्लेख थियो । उनले लेखेका थिए, ‘म अस्पतालबाट खेल हेर्नेछु र तपाईंहरु सबैलाई समर्थन गर्नेछु ।’ ८२ वर्षीया पेलेले ब्राजिल टिमलाई कतारमा विश्वकप जितेर विश्वकप उपाधिमा आफ्नो कीर्तिमान विस्तार गर्न आग्रहसमेत गरेका छन् ।
खेलपछि ब्राजिली खेलाडीहरुले पेलेको तस्वीरअंकित ठूलो ब्यानर प्रदर्शन गर्दै समर्थकका साथ जितको खुसियाली मनाए । खेलाडीले आफ्नो जित पेलेका लागि समर्पित गरे । ब्राजिलका लागि पहिलो गोल गर्ने भिनिसियस जुनियरले भने, ‘उनलाई हामीबाट धेरै तागतको आवश्यकता छ र यो जित उनकै लागि हो । ताकि उनी यो अवस्थाबाट बाहिर आउन सकुन् र हामी उनका लागि विजेता बन्न सकौं ।’
पहेलो टिशर्टमा आएका ब्राजिली समर्थकहरु जसलाई ब्राजिलकै टिमको हिस्साका रुपमा मान्निछ । उनीहरु टिमको जितमा निकै खुसी थिए । तर, पेलेको नाममात्र ले पनि उनीहरु भावनात्मक रुपमा संवेदनशील हुन्छन् । साओ पाउलोका रेनाटो पेलाक्वीमले ब्राजिलका थुप्रै पुस्ताका लागि पेलेको अर्थ यसरी बुझाए, ‘उनले आफ्नो फुटबल शैलीका साथ ब्राजिललाई विश्व मानचित्रमा उभ्याए र ब्राजिलका मानिसका लागि थुप्रै वर्षको आशा र खुसी लिएर आए । तीनपल्ट विश्वकप जिताएर उनले हामीलाई असिम खुसी दिए जसले वर्षौदेखि दुःख र कठिनाई झेलिरहेका थिए ।’
पेलाक्वीमका अनुसार ब्रजिलको नयाँ पुस्ताका स्टारहरुले आफ्ना नायकका लागि एक कदम अगाडि बढेर सम्मान गर्ने समय आएको छ । ‘हाम्रो देश फेरि पनि आर्थिक र राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ । त्यसैले हामीलाई यो टिमको आवश्यकता छ । उनीले पनि पेलेले जस्तै गरुन्, मानिसहरुको पीडा भुलाइदिउन् । र, निश्चित रुपमा पेलेको अन्तिम इच्छा पूरा गरिदिउन् ।’