विश्व फुटबलको महान फुटबलरको सूचीमा आफूलाई उभ्याउन र वर्तमान फुटबल जगतमा आफ्नो पकड कायम गर्नका लागि पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई यो सुन्दर मौका हो। युरोपियन छनोटका क्रममा प्लेअफको कठिन यात्राबाट गुज्रिएको पोर्चुगल विश्वकप उपाधि जित्ने लक्ष्यमा छ।
उसका लागि पाँच पटक विश्वकप खेलिसकेका क्रिष्टियानो रोनाल्डो केन्द्रमा छन्। यिनै रोनाल्डो आफ्नो करिअरको उतरार्द्धमा विश्वकप जित्दै आफ्नो करिअरको सर्वकालीन महान खेलाडी बन्ने लक्ष्यमा छन्। त्यसको पहिलो खुट्किलो भनेको प्रि–क्वाटरफाइनलमा स्विट्जरल्यान्डको चुनौती पन्छाउनु हो।
पोर्चुगल र स्वीट्जरल्यान्ड मंगलबार विश्वकप २०२२ को प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछन्। पोर्चुगल लिग चरणको अन्तिम खेलमा पराजित रहे पनि नकआउट चरण पुग्न सफल रह्यो।
दक्षिण कोरियासँग हारे पनि पोर्चुगल आफ्नो फुटबल इतिहासमा चौथो ठूलो प्रतियोगितामा लगातार समूह चरण काट्न सफल रह्यो।
स्वीट्जरल्यान्डको नकआउट चरण यात्रा भने केही कठिन छ। उसले शुक्रबार राति मात्र सर्बियालाई हराएको थियो, त्यो पनि सानदार पुनरागमनका साथ। त्यसैले आत्माविश्वासी स्वीट्जरल्यान्ड पोर्चुगलका लागि ठूलो चुनौती हो। स्वीट्जरल्यान्ड आफूसमानको प्रतिद्वन्द्वीलाई हराएर नयाँ इतिहास बनाउने प्रयासमा हुनेछ।
यी दुई टिमबीच अहिलेसम्म कुल २५ भिडन्त भएका छन्। जसमा स्वीट्जरल्यान्डले ११ खेलमा जित निकालेको छ। पोर्चुगलले भने ९ खेलमा जित निकालेको छ। ५ खेल बराबरीमा सकिएको छ। तुलनात्मक रुपमा पोर्चुगलभन्दा स्वीट्जरल्यान्डको इतिहास बलियो छ।
पछिल्लो पटक गत जुनमा भएको युइएफए नेसन्स लिगमा भएका दुई खेलमा एक खेलमा पोर्चुगल ४–० र अर्को खेलमा स्वीट्जरल्यान्ड १–० ले विजयी भएका थिए। त्यसैले पोर्चुगल र स्वीट्जरल्यान्डबीचको यो खेल रोमाञ्चक हुने आँकलन गरिएको छ।
नेपाली समयअनुसार खेल राति १२ः४५ मा लुसिल स्टेडियममा सुरु हुनेछ।