अफगानिस्तानमा इस्लामी कानुन लागू हुने


अगर बत्ती

Dharana    

access_time 02 Jul 2022

एजेन्सी- अफगानिस्तानको तालिवान सरकारका सर्वोच्च नेता मुल्लाह हिबातुल्लाह अखुन्जादाले अफगानिस्तानमा इस्लामी कानुन लागू गर्न आह्वान गरेका छन्।  उनले अफगानिस्तानको स्वतन्त्रताका लागि र जनताको न्यायका लागि इस्लामी कानुन लागू हुनुपर्नेमा जोड दिए।   इस्लामिक नेता तथा अगुवाहरूको भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले इस्लामी कानुन कार्यान्वयन गर्नु तालिवान सरकारको मुख्य कार्यभार हुने बताए।  ‘हामी अहिले इस्लामी प्रणालीमा छौँ, हामीले सरकार चलाइरहेका बेला इस्लामी कानुन लागू गर्नु हामी सबैको कर्तव्य हुन्छ’, उनले भने।  उनले युद्धबाट फर्किएको मुलुक भएकाले अब ढुक्कसँग लगानी गर्न उद्योगी व्यवसायीहरूलाई सुझाव पनि दिएका छन्।  सम्मेलनमा तीन हजार ५०० भन्दा बढी इस्लामी अगुवा तथा नेताहरूको सहभागिता रहेको छ। बिहीबार उद्घाटन भएको सम्मेलन तीन दिनसम्म चल्ने छ।  सम्मेलनमा सहभागीले कक्षा सातदेखि १२ कक्षासम्मका छात्राका लागि विद्यालय पुनःसञ्चालन गर्ने राष्ट्रिय झण्डा र राष्ट्रिय गानलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।  अफगानिस्तानमा अहिले आन्तरिक रूपमा विस्थापित भएकाहरूलाई उनीहरूको मूलघरमा नै पठाउने सरकारको अभियानका कारण करिब पाँच लाख मानिस घरबारविहिन हुने जोखिम बढेको छ ।  विस्थापित भएका सर्वसाधारणलाई काबुल र आसपासका घरहरूबाट बाहिर निकालिएको र उनीहरूलाई पहिलेकै ठाउँमा जान दबाब दिइएको छ । सरकारी दबाब जारी रहेमा दशौँ हजार मानिस आवासविहीन हुने र त्यस्तो अवस्थामा सहायता संस्थाहरूले पनि विस्थापितहरूलाई सहयोग गर्न नसक्ने परिस्थिति उत्पन्न हुने नर्वेजियाली शरणार्थी परिषद्का देशीय निर्देशक नील टर्नरले बताए।  अफगानहरू दशकौँको युद्ध, खडेरी, राजनीतिक उथलपुथल र आर्थिक मन्दीबाट विस्थापित भएका छन् भने हालै भूकम्पले उनीहरूको भविष्य थप तहसनहस भएको छ । ठूला सहरका बाहिरी क्षेत्रमा अस्थायीरूपमा बसोबास गर्दै आएका उनीहरूलाई सरकारले तुरुन्त त्यहाँबाट बाहिरिन आह्वान गरेको छ।  गत वर्षको द्वन्द्वले सात लाखभन्दा बढी अफगानी आफ्नो घर छोड्न बाध्य भएका तथा विगतमा विस्थापित भएका ५५ लाख घरवारविहीनमा ती थपिएिका अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)ले जनाएको छ । विशेष गरी महिला र केटीहरूले बढ्दो सुरक्षा जोखिमको सामना गरिरहेका छन्।  सन् १९९० देखि २००१ सम्म देशमा शासन गरेको तालिबानले गत वर्ष त्यहाँबाट अन्तर्राष्ट्रिय सेना फिर्ता भएपछि शासनसत्ता पुनः आफ्नो हातमा लिएको छ । तर नागरिकको अवस्थामा भने सुधार हुन सकेको छैन।  चरम गरिबीमा डुबेका अफगान नागरिक इरान र पाकिस्तान पलायन भएका छन् भने आगामी दिनहरूमा पनि त्यो क्रम जारी रहने सम्भावना रहेको छ।



Share Your Thoughts