निहारिकालाई प्राप्त सफलता नारी पीडक पुरुषहरुलाई खबरदारी हो !


अगर बत्ती

Dharana    

access_time 10 Nov 2022

–प्रीति रमण

नेपालमा महिलाका लागि राज्य कति अनुदार र लापरबाह छ भन्ने एउटा उदाहरण हो– निहारिका सिंह राजपूत घटना । आफूलाई नशालु पदार्थ खुवाई बलात्कार गरी बच्चा समेत जन्मेको अवस्थामा पीडकलाई सजाय माग गर्दै राजधानीमा लामो समयदेखि उनी संघर्षरत छिन् । तर, राज्यले एउटा अबला महिलाको कुरा सुन्नु त परै जाओस्, उनलाई अनसन बस्न पनि रोक लगाउँदै आएको छ । यस्ता घटनामा द्रुत माध्यमबाट न्याय दिने प्रणाली अपनाउनुपर्नेमा सरकारले नै पीडितको कुरा नै नसुनी झन् पीडित बनाउने काम गर्दै आएको छ ।

उनै निहारिकाको केसमा अहिले नयाँ आशा पलाएको छ ।

 महोत्तरी जलेश्वरकी सिंहका छोराको डिएनए बलात्कार आरोपी धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका–३ का शिवराज श्रेष्ठसँग मिलेको छ । विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए मिलेको रिपोर्ट आएको हो । शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि गर्भ बसेको भन्दै निहारीकाले जाहेरी दिएकी थिइन् । तर शिवराजले भने ती बच्चा आफ्नो नरहेको दावी गर्दै आएका थिए । जिल्ला अदालत धनुषाले पनि ०७८ माघ २४ गते जबरजस्ती करणी नभएको फैसला सुनाएको थियो ।

०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाऊँ’ र सोही वर्ष फागुन ११ गते ‘हक–अधिकार दिलाई पाऊँ’ भनी जिल्ला प्रहरी कार्यालय धनुषामा निहारिकाको नामबाट निवेदन परेको थियो। निवेदनमा निहारिका र शिवराजबीच श्रीमान–श्रीमतीको सम्बन्ध उल्लेख थियो । सोही आधारमा जिल्ला न्यायाधीश परशुराम भट्टराईले श्रेष्ठविरूद्ध जबरजस्ती करणीको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएका थिए । 

जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले ०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी थिइन् । तर उच्च अदालत पनि प्रतिवादीसँग मिलेर पेसी नतोकेको र डिएनए जाँच गर्न समेत नभनेको भन्दै उनी काठमाडौंमा आमरण अनसन बसेकी थिइन् । दोस्रो पटक अनसनको क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि मात्र फास्ट ट्रयाकमा मुद्दाको सुनुवाइ अघि बढाइएको थियो ।

निहारिकाले पटकपटक आफूलाई शिवराजको सम्पत्ति लगायत अधिकार नचाहिएको बरु न्याय चाहिएको जनाउँदै आएकी छन् । ‘मलाई कुनै प्रकारको अंश, नाता कायम र बच्चाको सम्पत्तिको अधिकार चाहिएन । शिवराजलाई तुरन्त प्रहरीले पक्रिनुप¥यो । बलात्कारको अभियोगमा कारबाही अघि बढाउनुप¥यो,’ उनले सार्वजनिक रुपमा भन्दै आएका कुरा हुन् यी । तर, राज्यले उनका कुरा सुनेर यो घटनालाई फास्ट ट्रयाकमा न्याय दिनेतर्फ लागेन । लामो समयको संघर्ष र सञ्चारमाध्यमलगायत क्षेत्रबाट दबाब पछि मात्र उनको कुरा सुनिएको छ ।

निहारिका केस एउटा व्यक्ति विशेषको मात्र होइन, उनी जस्तैं हजारौं महिलाको पनि हो । उनी जस्तै कैयौं महिलाहरु आज पनि पुरुषहरुबाट प्रताडित छन् । पुरुषले आफ्नो स्वार्थका लागि महिलाको प्रयोग गर्ने र उनीहरुलाई अलपत्र पार्ने घटनाहरु हाम्रो समाजमा यत्रतत्र छन् । 

पुरुषको हिंसाबाट पीडित धेरै महिलाहरुलाई अझै पनि न्यायबाट विमुख छन् पनि नौलो कुरा होइन । अझै पनि हाम्रो गाउँसमाजमा हिंसामा संलग्न पीडक पुरुषलाई कारबाहीको दायरामा ल्याउने हैन, उल्टै पीडित महिलालाई लाञ्छना लगाउने, दोषी करार गर्ने र सकेसम्म गाउँघरमै घटना मिलाउन खोज्ने गरिन्छ । यसमा समाजमा ठूलाबडा भनिएका व्यक्तिहरु नै संलग्न छ । त्यसकारण पनि महिलालाई आफूमाथिको अन्यायविरुद्ध बोल्न र पीडकलाई कारबाहीको माग गर्न अझै सहज भइसकेका छैनन् ।

निहारिकाको केसमा राज्यले लिने तदारुकताले त्यस्ता पीडित थुप्रै महिलालाई राहत हुन सक्थ्यो । अन्यायविरुद्ध बोल्न आँट आउन सक्थ्यो । तर, यो घटनामा सरकारको सुरुवाती रवैयाले त्यस्तो महसुस हुने अवस्था रहेन । तर, डीएनए रिपोर्टले थोरै आशा पलाएको छ । ढिलै सही न्याय पाउने आशा बढेको छ । यो सफलताले महिलामाथि हिंसा गर्ने पुरुषहरुलाई चोटिलो खबरदारी पनि गरेको छ ।-जनधारणा साप्ताहिकबाट



Share Your Thoughts