कस्तो कानून बनायौ ? मन मिल्दा चमत्कार ! मन नमिल्दा बलात्कार !!


अगर बत्ती

Dharana    

access_time 15 Sep 2022

-प्रीति रमण

जब समाजमा आइडल भनेर चिनिएका चर्चित अनुहार नै अपराधमा संलग्न हुन्छन्, तब अनेकन् प्रतिक्रिया पनि साथसाथै आउँछन् । चर्चित अनुहारले अपराध गर्दैनन्, वा आम जनमानसमा विश्वास नै हुँदैन कि, त्यस्ता मानिसहरु कुनै नराम्रो काममा संलग्न हुन्छन् ! जस्तै, केही समयकै अन्तराल अर्थात् ६ महिनाकै अवधिमा देशका ३ चर्चित काण्ड बाहिर आए । 

ती घटना सेलाउन नपाउँदै चर्चित क्रिकेटर सन्दीप लामिछाने नाबालिगलाई बलात्कार गरेको अभियोगको सामना गरिरहेका छन् । भलै उनी नेपाल आइसकेका छैनन् । उनीविरुद्ध पीडित बालिकाले नेपाल प्रहरीमा उजुरी दिइसकेकी छिन् । जसले गर्दा अहिले लामिछाने अभियुक्त बनिसकेका छन् र नेपाल नफर्किए नेपाल प्रहरीले इन्टरपोलमार्फत सहकार्य गरेर उनलाई नेपाल ल्याउन सक्छ । चर्चित सेलिब्रेटीहरुले जघन्य अपराध गर्न सक्दैनन्, गरेको कुरा यसरी बाहिर आउँदा पनि निष्पक्ष छानबिन अनुसन्धानको परिणाम नपर्खिकन नै समाजले पीडितलाई नै लान्छना लगाएर थप पीडित बनाउँछ । 

जस्तै ( बलात्कार नै भएका बेला किन केटीले गुहार मागिनन् रु यत्रो समयपछि बल्ल उजुरी दिनु बार्गेनिङ नमिलेर होला, मन मिल्दा चमत्कार र नमिल्दा बलात्कार भन्ने जस्ता ट्यागहरु अहिले सामाजिक सञ्जालमा अधिक चर्चामा आउने र पीडितलाई नै उल्टै पीडा दिनेखालका टिप्पणीहरु आइरहेका छन् । जसले गर्दा सजिलै अनुमान लगाउन सकिन्छ कि, सामाजिक सञ्जालहरु न्यायालय भएका छन् भने मानिसहरु जो पीडक छ, उसैको पक्षपोषक भएका छन् । 

बलात्कार जस्तो जघन्य अपराधमा पनि पीडितलाई साथ दिनुको साटो उल्टो पीडकलाई नै उन्मुक्ति, साथ दिने खालका टिप्पणी लामिछाने प्रकरणमा मात्रै आएका हैनन् । अर्का उम्दा नायक मानिने पल शाह प्रकरणमा पनि यस्ता खालका टिप्पणी आएका थिए । चर्चित सेलिब्रेटीदेखि सामान्य मानिसहरुसम्म पीडकको पक्षबाट नै वकालत गर्दै आएका छन् र यो क्रम रोकिने सम्भावना पनि देखिँदैन । यस्तो मानसिकतालाई चिर्न वैज्ञानिक र तथ्यपरक तथ्यहरु, तर्कहरु बाहिर आउन जरुरी हुन्छ । 

बलात्कार हुँदा के कस्ता कारणले महिला तथा बालिकाहरु छिटो प्रतिकार हुन सक्दैनन् भन्ने सम्बन्धमा सुशील देवकोटाले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गर्नु भएको छ । खासमा विज्ञानले के पुष्टि गरिसकेको छ भने बलात्कार भइरहेको बेला तपाईंको शरीर स्वचालित अवस्थामा  गइसकेको हुन्छ, उहाँले अघि लेख्नु भएको छ, के गर्ने र नगर्ने तपाईंको वशमा हुन्न । नचिच्याएको, बलात्कार गर्न नरोकेको, ढोका खोलेर नभागेको तपाईंको गल्ती हैन ।

आफूलाई दोष नदिनुस् । यो त प्रकृतिले हाम्रो शरीर र दिमाग त्यसरी नै बनाएको कारणले त्यसो भएको हो । तर वैज्ञानिक कारण थाह नभएपछि हामी आफैलाई दोष दिन्छौं । यो गलत हो । दोष त बलात्कार गर्नेको हो ।

वास्तवमा वैज्ञानिक कारण जानकारी नपाएर पीडितलाई नै झन् पीडा दिन समाज पछि परेको छैन । म्याद हद, उमेर हदसम्मका कुराहरुमा त्रुटि देखाउन पछि परेका हुँदैनौं । देवकोटाले म्याड मेन सिरिजको एउटा क्लिपको उदाहरण दिँदै भन्नु भएको छ, ‘उमेर पुगेका सबै एकअर्का भेटघाट गर्नुपर्छ, सहमतिमा यौनसम्बन्ध पनि राख्न हुन्छ, किनभने त्यो प्रकृतिको नियम हो, तर, विशेष गरी पुरुषले कुन अनुमति हो र कुन इन्कार हो बुझ्नुपर्छ ।’

नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरका नाबालिकाले यौन सम्बन्ध राख्न सहमति दिए पनि त्यो बलात्कार हुने कानूनी व्यवस्था गरेको छ । कानुन जान्दिनँ, थाहा भएन भनेर कोही उम्कन पाउँदैन । त्यस आधारमा पनि १८ वर्ष मुनिका बालिकाले सहमतिमा सम्पर्क राखे पनि कारबाहीको भागिदार हुनैपर्ने प्रावधान छ । उनले ट्वीटरमा लेखेका छन्, शरीर चलेन भन्दैमा यौन सम्पर्क गर्ने अनुमति हैन । यो कुरा बुझ्नु पर्छ । मलाई लाग्छ यो कुरा बुझ्ने हो भने हाम्रो समाजमा सोधिने यो किन गरिनँ, त्यो किन गरिनँ भन्ने धेरै प्रश्नको जवाफ मिल्छ ।

शरीर फ्रिज पनि २ प्रकारको हुन्छ भन्दै देवकोटाले एउटालाई टोनिक इममोबिलिटी जसमा जसमा प्यारालाइसिस र बोली नआउने हुन्छ र त्यसैले बलात्कारको क्रममा फ्रिज भएकाहरू बोल्न र भाग्न सक्दैनन् भन्नु भएको छ । अर्को, कोल्याप्सड इममोबिलिटी । उहाँले आफ्नो ट्वीटर ह्याण्डलमा भन्नु भएको छ, यो झनै खतरनाक अवस्था हो । यो केसमा मुटुको चाल र ब्ल्डप्रेसर एक्कै चोटि घट्छ र दिमागमा अक्सिजनको कमी हुन्छ अनि मान्छेलाई निद्रा लाग्नेदेखि लामो समयसम्म बेहोस हुने हुन्छ । 

वास्तवमा यी कुराहरु बुझ्न सक्ने हो भने बालिका तथा महिलाहरु यस्ता अनावश्यक लान्छनाबाट बच्ने थिए भने अर्कोतर्फ आफूमाथि भएको हिंसा, अपराधका विषयमा खुलेर बोल्न सक्ने थिए । यो वातावरण सिर्जना गर्नु सभ्य र कानूनी राज्यका सबै नागरिकको दायित्व हो । पीडितलाई थप पीडा दिने गरी अभिव्यक्ति दिन हुँदैन । पीडकलाई सजाय हुने गरी सभ्य नागरिकले आवाज बुलन्द पार्नुपर्छ । ताकि भोलि कुनै पनि दिदीबहिनी, छोरीचेली यस्ता हिंस्रक घटनाबाट पीडित बन्न नपरोस् , सचेत बनौं !-जनधारणा साप्ताहिकबाट



Share Your Thoughts