यसरी लखेटिएका थिए अमेरिकीहरु नेपालबाट, अब त्यसरी लखेट्न सजिलो हुने छैन !


अगर बत्ती

Dharana    

access_time 11 Aug 2022

–निमकान्त पाण्डे

विश्वका शक्तिराष्ट्रहरु अमेरिका र चीनबीच पछिल्लो समय ताइवानको विषयमा तनाव सुरु भएको छ । यसले विश्वका अन्य राष्ट्रलाई पनि चिन्तित बनाएको छ । दुई शक्ति राष्ट्रबीच बेलाबेलामा देखिने विवादका कारण विश्वको अर्थतन्त्रमा नै असर पर्ने गरेको छ, जसको मार विशेषगरी नेपालजस्ता साना र कम विकसित मुलुकहरुले भोग्दै आउनुपरेको छ । चीनको छिमेकी मुलुक भएकाले नेपाललाई आर्थिकसँगै भौगोलिक संवेदनशीलताको पनि जोखिम छ । हालै मात्र ताइवानको विषयमा एक चीन नीतिबारे उसले नेपालको प्रतिबद्धता खोज्नुले पनि यो जटिल विषय भएको पुष्टि भएको छ ।

पछिल्लो समय अमेरिकी सभामुख नान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीन अमेरिकासँग क्रुद्ध भएको छ । त्यसैको प्रतिक्रियास्वरुप चीनले केही दिनयता ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ । साथै, ताइवानको सीमा क्षेत्रमा रहेको समुद्रमा चिनियाँ सेनाले क्षेप्यास्त्र प्रहार गरेको छ । चीनले अमेरिकी सभामुख पेलोसी र उनका परिवारका सदस्यलाई चीन प्रवेशमा प्रतिबन्धसमेत लगाएको छ । पेलोसीको भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप भएको र यसले चीनको सम्प्रुभता र क्षेत्रीय अखण्डतामाथि पनि क्षति पुगेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । अमेरिकाले ’एक चीन नीति’ को उल्लंघन गरेको र ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई पनि क्षति पु¥याएको उसको भनाइ छ । अमेरिकाले पनि चीनले गैरजिम्मेवार कार्य गरेको र उत्तेजना फैलाउन खोजेको प्रतिक्रिया दिएको छ ।

ताइवानलाई आफ्नो स्वशासित क्षेत्र मान्दै आएको चीनले अमेरिकाको कदमप्रति कडा आपत्ति जनाएको छ । आफ्नो नजिकका मुलुक र विशेषगरी स्वशासित क्षेत्रमा अमेरिकाको कदमप्रति चीनले विगतमा पनि प्रश्न उठाउँदै आएको थियो । सन् ५० र ६० को दशकमा अमेरिकाले चीनविरुद्ध तिब्बतका असन्तुष्ट पक्षलाई समेटेर विद्रोही दस्ता तयार पार्ने र उनीहरुलाई आफ्नो देशमा तालिम दिएर सशस्त्र युद्ध गर्न लगाउने काम गरेको थियो । त्यतिबेला चीन सरकार र स्थानीय सरकारबीच १९५१ मा १७ बुँदे सम्झौता भएको थियो । तर असन्तुष्ट पक्ष र चिनियाँ जनमुक्ति सेनाबीच सशस्त्र युद्ध सुरु भयो, जसलाई खम्पा विद्रोह भनिन्छ । चिनियाँ जनमुक्ति सेनासामु टिक्न नसकेका अमेरिका संरक्षित खम्पाहरु नेपाल पसे । उनीहरुले चिनियाँ सीमा क्षेत्रमा रहेका नेपाली हिमाली भूभागलाई आफ्नो मुख्य बासस्थान बनाए ।

त्यतिबेला उनीहरु तिब्बततर्फ गएर आक्रमण र लुटपाट गर्ने अनि नेपाली भूभागमा फर्किने गर्थे । उनीहरुले नेपालीहरुलाई समेत दुःख दिन थालेका थिए । अमेरिकाले भने उनीहरुलाई पूरा समर्थन गर्दै आएको थियो । त्यही आन्दोलनको नेतृत्व गरेका दलाई लामा भने भारतको धर्मशालामा आश्रय लिन पुगेका थिए । अमेरिकाको सहयोगकै कारण खम्पाहरुलाई नेपाली भूभागमा बस्न र आफ्नो गतिविधि सक्रिय पार्न सहयोग पुगेको थियो, जुन कुरा तत्कालीन नेपाल सरकारलाई टाउको दुखाइको विषय बन्दै आएको थियो । त्यसपछि चीनले नेपाललाई खम्पा विद्रोहीलाई समाप्त पार्न वा आफूहरुलाई त्यसको जिम्मेवारी दिन आग्रह गरेको थियो । अनि मात्र नेपालले आफ्नो सेनालाई खम्पा बाहुल्य क्षेत्रमा पठाएर उनीहरुविरुद्ध कारबाही थालेको थियो । सेनाको कारबाहीमा खम्पा विद्रोहको नेतृत्व गरिरहेका वाङ्दी मारिएका थिए । अन्य खम्पाहरु नेपालबाट लखेटिए ।

अमेरिकाले अन्य राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप र संवेदनशील क्षेत्रमा गतिविधि बढाउँदा यस किसिमका समस्याहरु विगतदेखि देखिँदै आएको छ । युक्रेनमा सैन्य अभ्यास लगायतका गतिविधि अमेरिकाले गर्दा अहिले रुस–युक्रेन युद्ध चलिरहेको छ । जसको असर युक्रेनवासीले मात्र नभई पूरा विश्वले नै अहिले भोग्नुपरेको छ । पहिले रुससँग युद्ध भए जस्तोसुकै सहयोग गर्न तत्पर रहेको भन्ने अमेरिका पछि हट्दा युक्रेन एक्लै परेको छ । त्यस्तै अवस्था अहिले ताइवानमा पनि देखिएको छ । आफ्नो स्वार्थका लागि हिंसा र द्वन्द्वको वातावरण सृजना गर्ने र त्यसको लाभ आफूले लिने अमेरिकी रणनीति पुरानै हो । इराक, अफगानिस्तानदेखि युक्रेनसम्ममा देखिएको अमेरिकाको यो रणनीति अब ताइवानतर्फ सर्न थालेको छ ।

नेपालमा पनि पछिल्लो समय अमेरिकी गतिविधि बढेको छ । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को अनुदान सहयोग र सैन्य गठबन्धन एसपीपीमा सहभागी हुन उसले दिएको दबाबले पनि अमेरिकाको चासो र हस्तक्षेप नेपाली भूमिमाथि बढिरहेको स्पष्ट हुन्छ । 

यस बीचमा अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण पनि बाक्लिएको छ । नेपाल जस्तो दुई ठूला राष्ट्र र विशेषगरी अमेरिकासँग तनाव भइरहेको चीनको नजिकको राष्ट्र भएकाले पनि आफ्नो कूटनीतिक सन्तुलनलाई ध्यान दिन आवश्यक छ । हालसालै अमेरिकी उपमन्त्री उज्रा जियाले नेपाल भ्रमणको क्रममा तिब्बती क्याम्पमा गरेको भ्रमण जस्तो कुटनीतिक आचरण बिपरितको गतिविधिले नेपाललाई विवादमा तानेको थियो । यस्ता गतिविधि आगामी दिनमा नहोऊन् भन्नेतर्फ सरकार र सबै राजनीतिक दलका नेताहरुको ध्यान पुग्न आवश्यक छ, अन्यथा अब सजिलो अवस्था रहने छैन, आगे सबैलाई चेतना भया ! 



Share Your Thoughts