एमसीसी पक्षधरहरु पनि अमेरिकासँग तर्सिन थाले !


अगर बत्ती

Dharana    

access_time 21 Jul 2022

–निमकान्त पाण्डे

अमेरिका पराजयको नजिक पुग्दै गर्दा उस्को शक्ति उन्माद उत्कर्षमा पुगिरहेको महशुस हुन थालेको छ । शक्ति उन्मादकै शिलशिलामा आगामी साता अमेरिकाकै पहलमा अस्ट्रेलियाको सिड्नीमा इन्डो प्यासिफिक क्षेत्रका सैन्य प्रमुखहरुको सम्मेलन हुँदैछ । इन्डो प्यासिफिक क्षेत्रका देशका सेनाका प्रमुखहरु सहभागी हुने यस्तो सम्मेलन प्रत्येक वर्ष हुँदै आएको दाबी गरिएको छ, तर परिणाम अमेरिकाका लागि नकारात्मक बन्दै गएको देखिन्छ । यस क्षेत्रको साझा सुरक्षा चुनौती, आपसी सम्बन्धमा सुधार र सुरक्षा सम्बन्ध सुधारको विषयमा सम्मेलनमा छलफल हुने भनिएपनि आतंकको बिजारोपण र अरुलाई बिनास गरेर आफू शक्तिशाली भएको आत्मरतिमा रमाउने दुस्वप्न हो, यस्तै साबित भैरहेको छ । अमेरिकाले नेटोको प्रभावमा इन्डो–प्यासफिक क्षेत्रका सैनिक नेतृत्वसँग रणनीतिक सम्बन्ध विस्तारका लागि सैनिक प्रमुखहरुको सम्मेलनलाई महत्वपूर्ण फोरमका रुपमा अघि बढाएको छ ।

अमेरिकाले के गर्छ रु नेपालको लागि चासो नहुनु पर्ने बिषय हो, तर पंक्तिकारले यो प्रसंग उठाउनुको कारण हो, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा पनि उक्त सम्मेलनमा सहभागी हुँदै छन् । दुई साताअघि मात्र अमेरिकाको औपचारिक भ्रमण गरेका प्रधानसेनापति शर्माले साउन ९ देखि ११ गतेसम्म हुने उक्त सम्मेलनमा सहभागिता जनाउन थालेका हुन् । जसलाई सरकारले समेत स्वीकृति दिइसकेको छ । २७ देशका सैन्य प्रमुखको उपस्थिति हुने उक्त सम्मेलनमा नेपालको तर्फबाट पनि सहभागिता जनाउनु भने अर्थपूर्ण हुने देखिएको छ ।

विश्वभर नै अहिले भूराजनीतिक र सामरिक स्वार्थको चलखेल बढिरहेको छ । शक्ति राष्ट्रहरुको स्वार्थ र षड्यन्त्रको शिकार र असर भने साना र विपन्न मुलुकहरुले भोग्नुपरिरहेको छ । रुस र युक्रेनको जारी युद्ध यसको प्रत्यक्ष उदाहरण हो । युक्रेनमा अमेरिकी उपस्थिति बढ्दै जाँदा रुस युद्धमा उत्रिएपछि अहिले युक्रेन तहसनहस मात्र भएको छैन, युद्धको असर विश्वभर नै देखिएको छ । नेपाल पनि यो युद्धको असरबाट अछूतो छैन । अमेरिकाले सुरुमा युक्रेनलाई सघाउने आश्वासन दिए पनि अन्तिम अवस्थामा पछि हटेपछि त्यसको परिणाम अहिले युक्रेनका जनताले भोग्नुपरिरहेको छ । लाखौं युक्रेनीहरु अहिले शरणार्थी भएर युरोपका अन्य देशमा पुगिरहेका छन् । कैयौंले अनाहकमै ज्यान गुमाउनु परेको छ ।

विश्वमा अहिले प्रमुख शक्ति राष्ट्रहरु अमेरिका र चीनको टकराव देखिन्छ । अन्य राष्ट्रहरु यिनै दुई ध्रुवमा बाँडिएका छन् । यीमध्ये चीन नेपालको छिमेकी राष्ट्र भएकाले पनि उसका लागि नेपाल संवेदनशील भूमि मानिन्छ । अर्कोतर्फ अमेरिका आफ्नो स्वार्थअनुसार चीनलाई निषेध गर्न विभिन्न संगठन तथा फोरमबाट अघि बढिरहेको छ । त्यसैको एउटा माध्यम हो, इन्डो–प्यासिफिक क्षेत्रमा उसको उपस्थिति । सतहमा यस क्षेत्रका देशका विभिन्न क्षेत्रमा सहयोगका लागि अमेरिकाले आफ्नो उपस्थिति देखाए पनि मुख्यतः यस क्षेत्रमा चीनको बढ्दो प्रभावलाई कम गर्नु उसको लक्ष्य हो । यो संगठनको सैन्य सम्मेलनमा नेपालका तर्फबाट सैन्य प्रमुख नै सहभागी हुन लागेकाले पनि यो उपस्थिति अर्थपूर्ण हुने पंक्तिकारको ठम्याई छ ।

पछिल्लो समय नेपालमा अमेरिकाको चासो र सक्रियता बढ्दै गएको छ । केही महिनाको अन्तरालमै अमेरिकाका उच्चपदस्थ अधिकारीहरुको नेपाल भ्रमण हुनु र एमसीसी पास र एसपीपीमा सहभागितालाई जोड दिनुले पनि अमेरिकाका नेपालमा आफ्नो उपस्थिति बढाउने उद्देश्य छ भन्नेमा स्पष्ट हुन सकिन्छ । अमेरिकी उपमन्त्री उज्रा जियाको काठमाडौंस्थित तिब्बती शरणार्थीको शिविरणमा भ्रमण हुनुले चिनियाँ पक्षलाई चिढ्याएको छ । यो विषय हालै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल भ्रमणमा आउँदा नेपाली नेताहरुसामु उठाएका थिए । नेपालको विषयलाई लिएर अहिले अमेरिका र चिनियाँ अधिकारी नै आमनेसामने हुनु भनेको हाम्रो लागि कुनै पनि सुखद सन्देश होइन । यसले दुई शक्ति राष्ट्रको टकरावको भूमि नेपाल बन्ने हो भन्ने खतरा बढेको छ ।

यो खतराको सुरुवात अझ टड्कारो रुपमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को अनुदान सम्झौता संसदमा पारित गरेसँगै देखापरेको छ । एमसीसी पारित गरेकोमा चीनले प्रत्यक्ष रुपमा असन्तुष्टि जनाएको थियो । अझ सैन्य सहकार्य गरिने भनिएको एसपीपी सम्झौताको विषयमा पनि उसले आपत्ति जनाइसकेको छ । साथै एसपीपी सम्झौता नगर्ने नेपाल सरकारको निर्णयलाई चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुखले स्वागत पनि गरेका थिए । तर, एमसीसीसँगै अमेरिकी सक्रियता बढेपछि भने एमसीसी पक्षधरहरु पनि अहिले हच्किएका छन् । विगतमा शीर्षस्थ नेतादेखि आशा गरिएका नेताबाट पनि एमसीसीको पक्षधरता उजागर भएको थियो । कांग्रेसका महामन्त्री गगन थापाले त एमसीसी राष्ट्रघाती नभएको जनाउँदै नेपालमा अमेरिकी सेना आए आफूलाई चारपाटा मुडेर थानकोट कटाउन चुनौती दिएका थिए । उनले एमसीसीकै कारण गठबन्धन टुट्छ भने टुटोस् भनेर पनि अभिव्यक्ति दिएका थिए । अर्का नेता डा. बाबुराम भट्टराईले एमसीसीबारे गिजोलिएको भन्दै जसरी पनि पारित गर्नुपर्नेमा जोड दिएका थिए ।

तर, नेताहरुको अभिव्यक्तिविपरीत विस्तारै नेपालमा अमेरिकी सक्रियता बढेको छ भने चिनियाँ असन्तुष्टि पनि बढ्दै गएको छ । कूटनीतिक रुपमा सन्तुलनमा रहने र मुलुकलाई दुई शक्ति राष्ट्रको टकराव स्थल बन्न नदिनेमा नेताहरुको भूमिका अपेक्षा गरे पनि त्यसविपरीतका संकेतहरु देखिन थालेका छन्, जसले नेपाल र नेपालीका लागि खतराको घन्टी बजाएको छ । यो घन्टीलाई बेलैमा नसुन्ने हो भने भविष्यमा ठूलो दुर्घटना निम्तिने निश्चितप्रायः छ ।आगे नेताहरुलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट



Share Your Thoughts