नेपालमा चीनको निर्णायक ‘मुभ’ र भारतको गिर्दो हैसियत


अगर बत्ती

Dharana    

access_time 16 Jul 2022

राजनीतिक समीकरणको नयाँरुप अर्थात बाम एकीकरण खास गरी एमाले र माओवादीबीच पुन: एकताबारे अड्कलबाजी भइरहँदा एमाले ‘सुप्रिमो’ केपी ओलीले डिभोर्सपछि त्यही पार्टनरसँग नक्कली बिहे नगर्ने घोषणा गरेका छन्।

छोटो सूचनामा बोल्न भन्दा ज्यादा सुन्ने (सुझाव) मनशायका साथ उक्त कार्यक्रम नेपाल आएका चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लीउ जियानचाओसँग उनको लामो भेटघाट भन्दा एकदिन पूर्व आयोजना गरिएको थियो।ओली प्रधानमन्त्री देउवाबिरुद्ध खुलेरै लागेको देखिन्छ, तर त्योभन्दा बढी उनी पुष्पकमल दाहाल प्रचण्ड र माधब नेपालसँग कहिल्यै नमिल्ने गरी आफ्नो बाँकी राजनीति अघि बढाउन चाहन्छन्। अहिलेको परिस्थितिमा राष्ट्रपति र नेपाली सेनासँगै निर्वाचन आयोग तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखहरुको समर्थन उनले खोजेको स्पष्टै बुझ्न सकिन्छ, यद्यपि त्यो सहजै उपलब्ध हुने अवस्था छैन। मुलुकमा नेताहरु जति दौडधूप गरे पनि विदेशी शक्तिको खेल मैदान बनेको नेपालका नेताहरु नेपाली जनता र मुलुकको सर्वोपरी सम्मानलाई केन्द्रमा राखेर सत्ताका लागि प्रयास गर्दैनन् र उनीहरुका ‘मालिक’ विदेशी शक्ति नै हुन् भन्ने नेपाली जनताहरुले राम्रोसँग बुझेका छन्।

झट्ट हेर्दा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल यात्रालाई उनीहरुको प्राथमिकता र चिन्तामा नेपाल परेको र यसअघि खासगरी ओलीको पहिलो र दोस्रो प्रधानमन्त्रीकालमा उसबाट भएको त्रुटिको समीक्षा र सुधारका लागि ऊ इच्छुक रहेको बुझ्न सकिन्छ। तर, सम्भव भएसम्म चीन नेपालका कम्युनिष्ट शक्तिहरुबीच समन्वय र सहकार्यको वातावरण बनाउन क्रियाशील रहन्छ नै। नेपाल भ्रमणका चार दिनमा लीउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँगै करिब दुई घण्टा लगाएर गरेको सुन्दरीजलस्थित बिपी संग्रहालयको निरीक्षण बाहेकका सबै भेटघाट विभिन्न कम्युनिष्ट दलका नेताहरुसँग थियो।

यसअघि नेपाली कांग्रेसलाई ऊ प्रतिपक्षमा छँदा पूर्ण उपेक्षा गरेको चीनलाई नेपाली कांग्रेस सत्तामा आएलगत्तै माओवादी र माधव नेपालसँगको सहकार्यमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (नेपाल कम्पाक्ट) अनुमोद, संयुक्त राष्ट्र संघमा युक्रेन माथि आक्रमणका लागि रुसको निन्दा, एनसीसी र स्टेट पार्टनरशीप प्रोग्राम अन्तर्गत अमेरिकी सुरक्षा स्वार्थसँग निकटता र नेपालस्थि तिब्बती शरणार्थीसँगको अमेरिकी सहकार्य प्रयासले बढी झस्काएको छ।

लीउले सम्भवतः नेपाली कांग्रेस प्रसन्न हुने गरी सुन्दरीजल संग्रहालयमा राजा महेन्द्रले बिपीलाई किन थुनेको जस्ता प्रश्न सोधे पनि इतिहासको सामान्य ज्ञान हुनेहरुलाई त्यसपछि चीनले राजा महेन्द्रसँग अत्यन्त सौहाद्रपूर्ण सम्बन्ध राखेको तथ्यगत जानकारी छ। चीनले सबै नेपाली राजनीतिक शक्तिहरुसँग समान सम्बन्ध राख्न चाहेको भने पनि सत्ताको नेतृत्व गरेको नाताले नेपाली कांग्रेसका दुई नेताहरुसँग बाहेक कुनै पनि गैर काम्युनिष्ट नेताहरुसँग भेटघाटको अर्थ उसले भने भन्दा फरक हुन जान्छ। मधेस केन्द्रित दलहरु तथा राष्ट्रिय प्रजातान्त्रिक पार्टीका नेतासँग नभेट्नुको अर्थ छैन भन्न मिल्दैन।

चीनले यो बीचमा असफलता व्यहोरेको छ। उसले कुनै न कुनैरुपमा एमाले–माओवादी एकीकरणमा योगदान नपुर्‍याएको हैन, तर तीन वर्षभित्रै ती दुई पार्टी तीन समूहमा विभाजित मात्र भएनन्, ओलीको प्रधानमन्त्रीत्वकाल छोट्टियो।

उनीहरुले विश्वास गरेका प्रचण्डले लीउ आएको मौका पारेर फेरि एकपल्ट आफू र आफ्नो पार्टी प्रगतिशील तथा क्रान्तिकारी अनि त्यसै कारण चीनको मित्र भएको सन्देश दिन खोजे। एसपिपी माओवादी कारणले नै रोकिएको र एमसिसी अनुमोदन गर्दा संसदले जनता झुक्याउन अघि बढाएको १२–बुँदे व्याख्यात्मक टिप्पणीको हैसियत सोध्नु पर्ने कुरा पनि उठाए प्रचण्डले। नेपाली नेताहरुमा देखिने ‘दासत्व’ र ‘छट्टुपन’ लाई अक्सर विदेशीहरुले नबुझे जसरी हेर्छन्। लीउले त्यसै गरे।

लीउ फर्किएको तेस्रो दिनमा प्रचण्ड दिल्ली गए, त्यहाँको सत्ताधारी दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा। यति हतारमा हुन लागेको दिल्ली यात्राले १२–बुँदे ‘सहमति’को लगाममा कसरी प्रचण्ड र बाबुराम भट्टराईको राजनीति कसिएको छ, त्यो स्पष्ट हुन्छ। अमेरिकाको विरोध जस्तो गरेर प्रचण्डले चीनलाई खुसी राख्ने कोशिश गरेको बुझ्न सकिन्छ, तर ‘भारतको कोर इन्ट्रेष्ट विरुद्ध जाने छैन’ भनी कवुलियतनामा (२००२ जुन) गरेर आएका प्रचण्डको तदनुरुपको जवाफदेहीता दिल्लीप्रति छँदै छ, रहने छ। शुक्रबारको उनको यो यात्रालाई त्यही रुपमा हेरिने छ र हेरिनुपर्छ।यदि कम्युनिष्ट दलहरुबीच समन्वय गरेर मात्र नेपालमा आफ्नो भूमिका निर्णायक बन्न सक्छ भन्ने भूलमा ऊ छ भने त्यो चीनको असफलताको स्पष्ट संकेत हो। यसअघि एमाले र माओवादीसँगको सहकार्यसँगै कांग्रेस लगायतका अन्य दलहरुप्रतिको उपेक्षा भावले चीन अहिले रणनीतिक रुपमा नै भने पनि समीक्षामा उत्रिएको हो। त्यो उसको कूटनीतिको व्यवहारिक पक्ष हो।

२००५–०६ को परिवर्तनमा नेतृत्वदायी हैसियतसँगै अन्तर्राष्ट्रिय समर्थन जुटाउन सक्रिय भारत नेपालमा भूमिकाविहिन नभए पनि ऊ पहिलाजस्तो प्रभावकारी छैन भन्ने उसले बुझेको छ। चीनले त्यस अर्थमा नेपालका ‘एक्टरहरु’ सँग सम्बन्ध र सहकार्य बढाई मुलुकलाई बाह्य हस्तक्षेपको थलो नबनाउन आग्रह गर्ने वातावरण भने बनाउन थालेको छ। तर यदि कम्युनिष्ट दलहरुबीच समन्वय गरेर मात्र नेपालमा आफ्नो भूमिका निर्णायक बन्न सक्छ भन्ने भूलमा ऊ छ भने त्यो चीनको असफलताको स्पष्ट संकेत हो। यसअघि एमाले र माओवादीसँगको सहकार्यसँगै कांग्रेस लगायतका अन्य दलहरुप्रतिको उपेक्षा भावले चीन अहिले रणनीतिक रुपमा नै भने पनि समीक्षामा उत्रिएको हो। त्यो उसको कूटनीतिको व्यवहारिक पक्ष हो। साथै चीनले के देखाएको छ भने कूटनितिमा इतिहास सन्दर्भ सामग्रीका रुपमा मात्र रहन्छ, त्यसमा भावुकता र प्रतिवद्धता रहँदैन। अहिले बिपीलाई बुझ्न खोज्नु र राजा महेन्द्र तथा उनीपछिका राष्ट्र प्रमुखहरु राजा वीरेन्द्र र ज्ञानेन्द्रको उल्लेख नहुनुले त्यो स्पष्ट पार्छ। त्यस्तै माआवादी नेतृत्वको भारतसँगको समर्पणमा आधारित सहकार्यको पृष्ठभूमि र एमसीसी अनुमोदनपछि उसको अमेरिकासँगको निकटतालाई बेवास्ता गर्दै चीन अगाडि बढ्नुको कारण आउँदा समयमा बुझ्ने गरी खुल्ने छन्।

प्रचण्डको दिल्ली यात्रा नेपाली कांग्रेस र उनीबीच मंसीरको निर्वाचनपछि नेतृत्वमा आलोपालो सूत्र निर्माणमा जोडिएको अड्कलबाजी हुनु अस्वभाविक छैन। विदेशी शक्तिले जहिले पनि जनताको समर्थन र वैधानिक तरिकाले सत्ता हासिल गर्ने क्षमता नभएका महत्वाकांक्षी व्यक्तिहरु खोजिरहेको हुन्छ। आत्मसम्मान र नेपालप्रतिको बफादारी माथि नियन्त्रण गरी डामेर नेपाल पठाइएका त्यस्ता धेरै नेताहरु छन। तर अहिले भारत र चीनभन्दा बढी श्रीलंका ‘फियर फ्याक्टर’ले नेपाली जनतालाई मनोवैज्ञानिक रुपमा प्रेरित गरेको छ। १२–बुँदेका हस्ताक्षरकर्ता र तिनका अन्धभक्त नेताहरु नेपालको सन्दर्भमा राजापक्ष परिवार हुन्। परिवारवाद र भ्रष्टाचार उनीहरुको मूलध्येय र उपलब्धि छ, ०६३ यताको राजनीतिक सन्दर्भमा।नेपाली सेनाले एसपीपीका सन्दर्भमा एउटा स्पष्ट निर्णय लिएर राष्ट्रको सार्वभौम हैसियत, आत्मसम्मान तथा असंलग्नतामाथि आँच आउँदा ऊ निर्णायक बन्दो रहेछ भन्ने सन्देश दिएको छ। तर, नेपालका राजकीय अंग र संस्थाहरु गिजोलिएका छन् १२–बुँदे तथा शन्ति प्रक्रिया र तिनका विरुद्धका वैदेशिक प्रतिक्रियाबाट। अहिले शान्ति प्रक्रियाको महत्वपूर्ण पाटो संक्रमणकालीन न्यायलाई एउटा निश्चित वाह्य शक्तिसँग जोडिएको नेपाली संस्थापन या सरकार पक्षले आफू खुसी अघि बढाई विद्रोही पक्षका ठूला मानव अधिकार उल्लंघनकर्तालाई माफी दिन आन्तरिक तयारीमा जुटेको छ। शान्ति प्रक्रियाको नियन्त्रण मार्फत यहाँको राजनीतिलाई प्रभावित गर्न यूरोपेली संघको एउटा पक्ष लागिपरेको छ भने अमेरिका आफ्नो सामरिक हितको विस्तारमा चीन घेर्न देउवा सरकारलाई फकाउँदै छ। लीउको भ्रमणमा देउवाले चीनको वेल्ट एण्ड रोड इनिसिएटिभ (वीआरआई)मा सहुलियतपूर्ण ऋण हैन, अनुदान दिन आग्रह गरेर त्यसबाट नेपाललाई बाहिर राख्ने प्रयास गरे। भारत केही अलोकप्रिय र भ्रष्ट नेताहरुको लगाम समातेरमात्रै ऊ नेपालमा प्रभावशाली बन्न सक्छ भन्ने सोचमा नै देखिन्छ। नेपालको वर्तमान अस्थीरता, अमेरिकाको बढ्दो प्रभाव र चीनको कूटनीतिक सक्रियता भारतले मध्यस्थता र तयार गरेको १२–बुँदेका कारण हो भन्ने स्वीकार गरेर यसमा सुधार नगरेसम्म उसको हैसियत सुध्रने छैन। नेपाली जनता अब यी ठूला शक्तिबाट नभएर श्रीलंकाली जनताबाट प्रेरित हुँदै छन् भन्ने संकेत उनीहरुले बुझ्नै पर्छ। तर नेताहरु लोभी र उनीहरुमा बाह्य दलाल चरित्र रहँदासम्म मुलुकको गुमेको स्वाभिमान स्वतः स्थापित हुँदैन। नेपाली राजनीतिमा रहेका युवा नेतृत्वसमेत त्यही ‘ट्रयाक’ मा अघि बढेको देखिनु सुखद भविष्यको संकेत हैन।

राष्ट्रपति विद्या भण्डारीले यसबीच एसपिपी तथा अन्य मामिलामा सेना प्रमुख तथा केही अवकाशप्राप्त जर्नेलहरुसँग पनि परामर्श गरेको बुझिएको छ। तर राष्ट्रको अभिभावकीय हैसियतमा रहेको व्यक्तिबाट भइरहेको यो परामर्श मुलुकका लागि या उनी निकट मानिएको एक दलका अंगहरुको कानुन र संविधानसम्मत उत्थान तथा सक्रियताका लागि? संकटको बेला ‘राष्ट्र प्रमुख’ को तटस्थता तथा विवेकमाथि मुलुक विश्वस्त नहुनु आफैँमा मुलुकको सकंट अझ गहिरिँदै जान लागेको संकेत हो। सेनाको परमाधिपति हुनु र जनताको अभिभावक हुनुको अर्थ कहिलेकाहिँ एउटै नलाग्न सक्छ। श्रीलंकाबाट त्यो पाठ सिक्न ढिलो गर्न हुँदैन।प्रचण्डप्रति जनताको अविश्वास उनको यो दिल्ली भ्रमणपछि अझ चुलिने छ र सम्भवतः उनको राजनीति पतनतर्फ जाने छ। तर प्रचण्ड अपवाद हुने छैनन्। किनकि ०६३ को परिवर्तन र त्यसपछिको सत्ताको ‘केन्द्रीय पात्र’ उनी र उनको दल मानिएको छ। ‘न्यूक्लियस’ को पतनले त्योसँग जोडिएको वाह्य आकृति र संरचनाको अन्त स्वतः निम्त्याउने छ।



Share Your Thoughts