मसाल र 'विद्रोही मसाल'को काँग्रेस र एमालेलाई हेर्ने दृष्टिकोणवारे


अगर बत्ती

Dharana    

access_time 06 May 2022

-हुकुमबहादुर सिंह

मसालभित्र केही समयदेखि एक पार्टी दुई संगठन देखिएका छन् । रुपमा दुई संगठन छन् तर सारमा त्यो देखिदैन । सिद्धान्ततः ती दुवै संगठनहरुले लिएको रणनीति र तिनीहरुले संसदीय नीर्वाचनलाई हेर्ने दृष्टिकोणमा पनि तात्वीक अन्तर देखिदैन । दुवैले वर्तमानमा हुन गई रहेको स्थानीय निर्वाचनमा भाग लिने कार्यनीति अपनाएका छन् । नयाँ जनवादी क्रान्तिसम्वन्धी रणनीतिक अवधारणमा खासै फरक देखिएको छैन । तर फरक के देखिएको छ भने मोहनविक्रम सिंहहरुले आफूलाई नेपाली काँग्रेसको पाँचदलीय गठवन्धनमा सहभागि बनाएर आफूलाई अग्रगमनकारी, क्रान्तिकारी भनिरहेका छन् । अर्को समन्वय समिति ( ’विद्रोही मसाल‘¬ मसालले नेपाली काँग्रेसको पाँचदलीय गठवन्धनमा सहभागि हुनुलाई गलत बताइरहेका छन् । 

मोहनविक्रम सिंहहरुको पार्टी प्रवक्ताले त वक्तव्य निकालेर अर्को ’विद्रोही मसाल‘ लाई एमालेसँग ‘तालमेल’ गरेर प्रतिगमनउन्मुख दिशा समातेका आरोप लगाएको छ । तर यहाँ प्रश्न उठछ कि एमालेसँग ‘तालमेल’ गरेर प्रतिगमनउन्मुख दिशा समातेको हुने, शेरबहादुरको छत्रछहारीमा निर्वाचनमा भाग लिएर अग्रगमन हुने दृष्टिकोण दुवै गैह् माक्र्सवादी—लेनिनवादी दृष्टिकोण हो । 

विगतमा मसालको नेतृत्व(मोहनविक्रम) ले तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई समर्थनमात्रै गरेको थिएन, उसको नेतृत्वको सरकारमा सहभागि पनि थियो, जसको समन्वय समिति मसालले विरोध गर्दै पार्टीलाई ‘दक्षिणपन्थी’ लेबल लगाएको थियो । उसले ओली सरकारलाई समर्थन गर्नु भनेको यही बुर्जुवा व्यवस्थालाई सर्वदा समर्थन गर्ने हो भनेको थियो । यो सही थियो र अहिले पनि राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस, माओवादी–केन्द्र, तत्कालीन एमालेको माधव–झलनाथको पक्ष र जसपाको गठबन्धनका विरुद्ध समन्वय समिति मसालले विरोध गर्दै आएको छ, जो सही छ तर अहिले स्थानीय निर्वाचनमा समन्वय समिति मसालले एमाले अध्यक्ष ओली नेतृत्वको पार्र्टीसँग तालमेल गर्नु भनेको विगतको एमालेप्रतिको उसको उडानको महत्वलाइृ निष्तेज पार्दछ ।   

यी दुवै मोहनविक्रम सिंहको मसाल वा समन्वय समिति मसाल( ’विद्रोही मसाल‘) काँग्रेस र एमालेको पक्ष र विपक्षमा विभाजित देखिएका छन् । सही माक्र्सवादी—लेनिनवादी दृष्टिकोण के हो भने सही क्रान्तिकारी कम्युनिस्टहरुले केपी ओली र शेरबहादुर देउवा दुवै अमेरिकी साम्राज्यवाद तथा वैदेशिक प्रतिक्रियावादका दलालहरु हुन र ती संसदीय व्यवस्थाका खम्वा भएर उभिएका छन्, ती दुवैलाई सत्ताच्युत गरेर देशमा नयाँ जनवादी सत्ताको स्थापना मूल उद्येश्य र लक्ष्य हो । यो वा अर्को बहानाबाजीमा कुनै एकको समर्थन मूलतः माक्र्सवादी—लेनिनवादी दृष्टिकोणसँग मेल खादैन र एउटा अर्काको अगाडि अग्रगामी देख्ने सोंच पुरै गलत छ । 

अहिलेको स्थानीय निर्वाचनले क्रान्तिकारी कम्युनिस्ट हौ भनेर जनताको बीचमा चिनीएकामध्ये केहीलाई उनीहरुको क्रान्तिकारी मुखुण्डो उधारेर उनीहरुको संसदवादको मोहपासको मुखुण्डो उघारी दिएको छ । 

कुनै राजनीतिक विषयको फैसला चर्को स्वरले चिच्याएर हुँदैन, व्यवहारद्वारा पुष्टि हुँदै जाने हो । इतिहासमा धेरै नेता तथा कार्यकर्ताहरु चर्को स्वरले चिच्याएर केही समय क्रान्तिकारी देखिएका हुन्छन, तर उनीहरु ऋहिलेको सामान्य स्थानीय निर्वाचनका अगाडि टिक्न सकेनन र जनताको अगाडि उदांगीएका छन् । उनीहरुका लागि महान सर्वहारवर्गीय क्रान्तिको कुरात घेरै टाडाको विषय हो । स्थानीय निर्वाचनका अगाडि एकछिन पनि टिक्न नसक्नेहरु कसरी महान वर्गसंघर्षका अगाडि टिक्न सक्लान ? उनीहरुमाथि गम्भीर प्रश्न उठेको छ र उठनु स्वाभाविक हो ।  जनधारणा साप्ताहिकबाट 




Share Your Thoughts