गणतन्त्रलाई जनताको तन्त्र बनाउन सकिएन भने राजतन्त्र आउने निश्चित !


अगर बत्ती

Dharana    

access_time 05 May 2022

—प्रीति रमण

संविधानसभाले निर्माण गरेको संविधान जारी भएको ६ बर्ष पूरा भइसकेको छ । नयाँ संविधान मातहत स्थानीय निकाय, प्रदेश निकाय र संघीय निकायका निर्वाचनहरु सम्पन्न भएर पनि पाँच बर्ष अर्थात एक कार्यकाल व्यतित भइसकेको अवस्था छ । यस अवधिबीच निर्वाचित जनप्रतिनिधिहरुले लोकतान्त्रिक सरकारको नाममा जनतामाथि शासन गर्ने अवसर पाए । नयाँ ढाँचाको राजनीतिक संरचनालाई स्थानीय सरकारको नामांकरण गरियो । गाउँ—गाउँमा सिंहदरबार भन्दै देशव्यापी रुपमा स्थानीय निकायहरुलाई सिंहदरवार जस्तै  भ्रष्ट  निकायको रुपमा विकसित गरियो । जुन कारणले गर्दा बदलिएको व्यवस्थाप्रति जनतामा आस्था, विश्वास र अपनत्व कायम हुन सकेन ।  जनताले ६ बर्षकै अवधिबीच बिकल्प खोज्नुपर्ने अवस्था विकसित हुनुमा दोष कस्को हो  ? राजनीतिक दलका नेताहरुले समीक्षा गर्नु जरुरी छ ।

संविधान निर्माण भएको ६ बर्ष बितेको भए पनि गणतन्त्र स्थापना भएको १५ बर्ष पूरा भइसकेको छ । गणतन्त्रले पनि जनताको मन छुन सकेको छैन । गणतन्त्र जनताको लागि हो भन्ने कुराको सन्देश राजनीतिक दलका नेताहरुले दिने गरी काम गर्न सकेनन् । त्यही कारणले गर्दा गणतन्त्र अलोकप्रिय बन्दै गएको छ । गणतन्त्रको अलोकप्रियताका कारणबाट राजतन्त्रका हिमायतिहरु टाउको उठाइरहेका छन्  र सडकमा राजा आउ देश बचाउ भन्दै नाराबाजी गरिरहेका छन् ।

केही दिन अघि मात्र राजावादी शक्ति शाही यूवा शक्ति नेपालले आफ्नो पार्टीको ११ औं स्थापना दिवसको अवसर पारेर गत चैत २१ गते हिन्दुराष्ट्र र राजसंस्था पुनस्थापनाको पक्षमा विशाल ¥याली निकालेर नारायणहिटी कब्जामा लिने चेतावनी सार्वजनिक गरेको थियो । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन नै गरेर यस्तो चेतावनी दिएको थियो ।  यस्तो चेतावनी दिने हिम्मत राजावादीहरुमा कसरी आयो ? राजनीतिक दलका नेताहरुले बुझ्न सक्ने हो भने यो गम्भीर विषय हो । गणतन्त्रमा जनताको अपनत्व हुन किन सकेन ? राजनीतिक दलका नेताहरुले यसको कारण बुझ्न जरुरी छ । सबैभन्दा ठूलो दुश्मन देशमा व्याप्त भ्रष्टाचार हो र बेरोजगारी हो ।  

काठमाडौं उपत्यकाका हरेक चुनावी क्षेत्रमा गणतन्त्रको विरोध सभा र राजसंस्थाको स्थापना भनेर कार्यक्रम गर्ने चेतावनी राजावादीहरुले दिदै आएका छन् । यस्तो हुनुमा जनताले परिवर्तनको अनुभूति गर्न नपाउनुको कारण के हो ? गत चैत २१ गते रत्नपार्कमा भेला भएर ¥याली निकालेर नारायणहिटी दरबारमा जाने र हाते साङ्लो बनाएर नारायणहिटी दरबारलाई जनताको कब्जामा लिने चेतावनी सार्वजनिक गरिएको थियो । तर यस्तो कार्यक्रमको संकेत कतै देखिएन । चैत २१ बितेको पनि एक महिना पूरा भइसकेको छ । तथापि नारायणहिटी कब्जा गर्न कोशिस गर्ने चेतावनी राजावादीहरुले दिन सक्नु पनि गम्भिर कुरा हो ।

राजावादीहरुबाट आएको यस्तो अभिव्यक्ति कति चुनौतियुक्त छ भन्ने कुरा राजनीतिक दलका नेताहरुले गम्भीरतापूर्वक लिन सक्नुपर्दछ । किन यो परिस्थिति आयो ? दलहरुको लोकप्रियता किन खस्कियो ? किन जनतालाई विश्वासमा लिन सकिएन ? राजनीतिक दलका नेताहरुले गम्भीर रुपमा समीक्षा गर्नु जरुरी छ ।

अहिलेको अवस्थामा गणतन्त्रले बिकृतिहरु बढाउनमा सिमा नाघेको छ ।  बिकृतिहरु घट्ने होइन बढ्ने क्रम जारी छ । देश संकटमा भासिएको छ । भारतसँगका सिमा समस्याहरु झन्पछि झन्  जटिल बन्दै गइरहेका छन् । भारतले नेपालको भूभाग ओगटेर आफ्नो शैन्यक्याम्प राखेको छ । यता उत्तरतिरको छिमेकी देश चीनसँग पनि समस्या जटिल बन्दै गइरहेका छन् । एमसीसी सम्झौता नाटकिय ढंगबाट पारित गरिएपछि हिमाली क्षेत्रमा रहेका नेपालका सुरक्षा चेकपोष्टहरु हटाइएका छन् । अमेरिकाका सांसदहरु हिमाली क्षेत्रमा भ्रमण गरे लगत्तै सुरक्षा चेकपोष्टहरु हटाइनुले शंका उब्जाउनु स्वाभाविक  हुन्छ । गणतन्त्रवादी नेताहरुले देशलाई साम्राज्यवादीहरुको कब्जामा पु¥याउन खोजेको दृष्टान्तका रुपमा एमसीसी सम्झौतालाई जनताले बुझिरहेका छन् ।

एमसीसीको नाममा अमेरिकाले नेपालमा गर्न खोजेको काम के हो ? विद्युत प्रशारण लाइन निर्माण र सडक निर्माण तथा विस्तार अभियान भनिएको थियो । तर हिमाली जिल्लाहरुमा अमेरिकी सांसदहरुको भ्रमण किन भयो ? नेपालको भौगोलिक अवस्थिति संबेदनशील छ । विश्वकै दुई ठूलो शक्ति राष्ट्रहरुको द्वन्दको सम्भावनालाई नेपालले बुद्धिमत्तापूर्ण ढंगले बुझ्न जरुरी छ । सरकारले नेपालको विकासका लागि एमसीसी सम्झौता गरेको हो अथवा अमेरिकाको स्वार्थका लागि ? अमेरिकालाई नेपालले युरेनियम बेच्न लागेको आरोप पनि लागिरहेको छ । यो आरोप सत्य होइन भन्ने प्रमाणित कसरी गर्ने ? यो सवालमा राजनीतिक दलका नेताहरुले बुद्धि पु¥याएनन् भने गणतन्त्रको लोकप्रियता कायम हुन सक्ने छैन र राजतन्त्रको पुनरागनलाई रोक्न पनि सकिने छैन भन्ने कुरामा  सचेत बन्न सकिएन भने पछि पश्चात गर्नुको कुनै अर्थ रहने छैन । गणतन्त्रलाई जनताको तन्त्र बनाउन सकिएन भने राजतन्त्र आउने निश्चित छ भन्न संकोच मान्नुपर्ने अवस्था देखिदैन ! -जनधारणा साप्ताहिकबाट



Share Your Thoughts