मिठा आश्वासनबीच यसरी छान्नुस् योग्य उम्मेदवार


अगर बत्ती

Dharana    

access_time 04 May 2022

नयाँ संविधान निर्माणपछि दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने काम सम्पन्न भइसकेको छ। सबै दलका जनप्रतिनिधिले जनतालाई मिठा आश्वासन बाँडिरहेका छन्।

जनतासँग प्रत्यक्ष सरोकार रहेका विकाससँग सम्बन्धित रहने स्थानीय निकाय हो। यहाँबाट निर्वाचित हुने जनप्रतिनिधि र जनता नै आफूले गरेका कार्यबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। यस्ता विकासका कार्यमा कुनै राजनीति नहुनुपर्ने हो।तर, सबै दल तथा स्वतन्त्र उम्मेदवार प्रत्यक्ष संलग्न भएर प्रतिस्पर्धापूर्ण निर्वाचनमा होमिसकेका छन्। विगतका अनुभवबाट ज्यादै कम स्थानीय तहले मात्र राम्रा कार्य गर्न सफल भएका छन्। धेरैजसोले राम्रो कार्य नगरेका मात्र होइनन् भ्रष्टाचारमा अत्यन्त बदनाम पनि भए। यसै परिप्रेक्ष्यमा आगामी निर्वाचनमा केही राम्रा जनप्रतिनिधि छनोट हुन सके अवश्य पनि केही प्रगति हुन सक्ला।

धेरैजसो दलका उम्मेदवारले सतही रूपमा जनतालाई आश्वासन दिएर भुलाउन चाहेका छन्। अझै पनि आफूले गर्न सक्ने र गर्नुपर्ने महत्वपूर्ण कार्यलाई गम्भीरतापूर्वक लिएको देखिँदैन।सहरी इलाकामा फोहोरको स्थायी व्यवस्थापन, स्तरीय सडक, सफा सुग्घर सहितको प्रदूषणरहितको सहर, विद्युतीय यातायातका साधन, पिउने पानी, ट्राफिक व्यवस्थापन तथा खुला पार्कको बढी आवश्यकता र माग हुन्छ। गाउँघरमा पिउने पानी, सडक, विद्युत्, सिँचाइ, मल, बिउ तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यको बढी आवश्यकता र माग हुन्छ। देशको राजधानी काठमाडाँैका हालका मेयरले आफ्नो वचन पूरा गर्न चुकिसकेका छन्। अब नयाँ सम्भावित मेयरले यसतर्फ सोचेर ठोस योजना बनाएर अघि बढ्नुपर्छ।

उपत्यकाका अर्को महत्वपूर्ण समस्या भनेको नदी खोलालगायतको ऐलानी जग्गा मासेर नदी नै साँघुरा बनाइसकेका छन्।

यस सम्बन्धमा धेरै आयोग बने पनि समाधानतर्फ कसैले हिम्मतिलो कार्य गर्न सकेका छैनन्। उपत्यकालाई सफा र हराभरा बनाउन नदीलाई स्वच्छ राख्न ढलको व्यवस्थापन गर्दै नदीमा ढल हाल्ने कार्य कढाइसँग बन्द गराउन आवश्यक छ, जुन कार्य व्यवहारमा उतार्न सकिएको देखिँदैन।

पछिल्लो अवस्थामा काठमाडाैँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सिमानामा बग्ने कपन छेउको चखुन्चा खहरे खोलालाई दुवै तर्फबाट मिचेर सानो बनाइएको छ। जसकारण गत वर्षको वर्षामा आएको बाढीले खोलाबाट पानी बाहिर आई सडक र घर कम्पाउन्ड जलाम्य भए। यस विषयमा सरकारले गम्भीर रूपमा विस्तृतमा योजना बनाएर कार्यान्वयन गर्नुपर्छ।

खोलाको दुवैतर्फ महानगर र नगरपालिकामा ढलको व्यवस्था गरी बीचमा खहरे खोला बग्न दिनुपर्छ जुन खहरे खोलाको दुबै छेउमा तटबन्धन बनाउन आवश्यकता र जनताको माग छ। खहरे खोलाको जमिन यकिन गरी जबर्जस्ती मिचेर बनाएका घर–टहरा हटाउनु पहिलो कार्य हुन आउँछ।

तर, त्यसो नगरी खहरे खोलामा पानी बढी भयो भनेर उक्त पानी ठुल्ठूला ढल हालेर नजिकका टोलमा छिराएर त्यो ढलसहितको पानी धोबीखोलामा जबर्जस्ती मिसाउने प्रयास भइरहेको छ।

जनतालाई आश्वासन दिने मात्र होइन जनगुनासोलाई ध्यानमा राखेर भ्रष्टाचारलाई न्यूनीकरण गर्दै आधारभूत विकास गर्न सक्षम विकासप्रेमी जनप्रतिनिधि मात्र छनोट गर्न जनता सक्षम हुन्।नदीनाला सफा राख्ने अभियान चलिरहँदा फेरि पनि ढलको पानीलाई कुनै ट्रिटमेन्ट नगरी खोलामा हाल्नु कुनै पनि हालतमा उचित हुँदैन। स्थानीय जनताको विरोध हुँदाहुँदै पनि तल्लो तहका केही जनप्रतिनिधिले भविष्यको कुनै विचार नगरी फेरि पनि धोबीखोलामा ढल हाल्ने प्रयास राख्नु भनेको आयोजनाबाट केही लाभ लिन खोज्नु शंकास्पद छ। यस्ता महत्वपूर्ण कार्य कुनै वडा तथा उपभोक्ता समितिको जिम्मामा मात्र नदीएर महानगरपालिका र सम्बन्धित मन्त्रालयसहितको संयुक्त आयोजनाबाट दीर्घकालीन हित हुने गरी अघि बढाइन अत्यावश्यक छ।वातावरण जोगाउन सहरमा नदी, सडक छेउमा वृक्षरोपण गर्न र खाली ऐलानी जग्गामा पार्क बनाउन उचित हुन्छ। गाउँघरमा वनजंगल बचाउँदै थप वृक्षरोपण गर्न जरुरी हुनेछ यसबाट वातावरण संरक्षण हुने मात्र होइन, पानीका मुहान पनि सुक्ने छैनन्।

स्थानीय तहमा उत्पादन हुने खाद्यान्न, फलफूल, जडीबुटीलाई प्रोत्साहन गरी आत्मनिर्भर हुने मात्र होइन, यसलाई अन्यत्र निकासी गर्न सके जनता धेरै लाभान्वित हुनेछन्। यसका लागि जनप्रतिनिधिले बजारीकरण गर्न समन्वय र सरलीकरण गरिदिन आवश्यक छ।

जनतालाई आश्वासन दिने मात्र होइन जनगुनासोलाई ध्यानमा राखेर भ्रष्टाचारलाई न्यूनीकरण गर्दै आधारभूत विकास गर्न सक्षम विकासप्रेमी जनप्रतिनिधि मात्र छनोट गर्न जनता सक्षम हुन्। यही छ, अग्रिम शुभकामना जनता र जनप्रतिनिधिलाई !

खासगरी नदीनाला संरक्षण गर्नका लागि नदी किनारको ऐलानी जमिन बचाउनै पर्छ। योलगायत विभिन्न स्थानका सरकारी जग्गा भूमाफिया, जग्गा दलाल तथा सम्बन्धित भ्रष्ट कर्मचारीको मिलेमतोमा धेरैले कब्जा गरिसकेका छन्। अब आउने नयाँ जनप्रतिनिधिले यस्ता भूमाफिया र कर्मचारीलाई कारबाही गरी उक्त नदी खोलालगायत सरकारी जग्गा फिर्ता गरी नदी नालालाई स्वतन्त्र रूपमा बग्न दिने कार्य नभएसम्म खोलाछेउका सडक, जग्गा सुरक्षित हुन सक्ने छैनन्।

त्यस्तै गरी, सरकारी जग्गा कब्जा गरेर बस्नेलाई कारबाही गरी, उक्त जग्गामा खुला पार्क बनाउने अभियान बनाउन सके मात्र सहर स्वच्छ सफा र हराभरा हुन सक्नेछ। यसतर्फ नयाँ आउने जनप्रतिनिधिले प्राथमिकतामा राखेर कार्य गरुन्। सहर सफा, व्यवस्थित गर्दै कला संस्कृति बचाउन सकिएमा मात्र देशमा पर्यटकको संख्यामा अभिवृद्धि हुन सक्छ यसतर्फ नयाँ जनप्रतिनिधिले सोच्न आवश्यक छ।

यो उदाहरण मात्र हो। प्रायः सबै सहरतिरका समस्या सबै एकनास नहुन सक्छन्। त्यस्तै गरेर गाउँघरमा अझै पनि पिउने पानीको अत्यन्त समस्या छ। गाउँले विद्यार्थी केटाकेटीले अझै पनि टाढाबाट पानी ल्याई स्कुल पुग्नुपर्ने बाध्यता छ। यसतर्फ जनप्रतिनिधिले पहिलो ध्यान दिन आवश्यक छ। सम्भव भएसम्म नजिकका मुल, नदी, खोलाबाट पानी ल्याएर भए पनि पिउने पानीलगायत सिँचाइ गर्न सके धेरै बाँझा खेतबारीमा अन्न, तरकारी, फलफूल उब्जाउन सकिनेछ।

यसबाट आत्मनिर्भर हुन सकिन्छ। बिजुली, पानी र सडकको उपलब्धता हुनासाथ धेरै युवाले स्वदेशमा स्वरोजगार गरी बस्न सक्नेछन्। अर्को महत्वपूर्ण विषय गुणस्तरीय शिक्षा र स्वास्थ्य हुनेछ। कमसेकम हाइस्कुल पास गरिसक्दा विद्यार्थीले केही आयमूलक हुने सीपको ज्ञान प्राप्त गर्न जरुरी छ।

विदेशमा यही प्रचलन भएकाले स्कुल पास गरिसकेपछि विद्यार्थीले आफूले जानेको कुनै पनि सीपअनुसार रोजगार प्राप्त गर्न सक्नेछन्। प्रत्येक स्थानीय तहमा आवश्यक डाक्टरसहितका प्राविधिक, औषधि तथा इक्विपमेन्टको उपलब्धता अनिवार्य हुन जरुरी छ। जसकारण दूरदराजका जनताको अकालमा मृत्यु नहोस्।



Share Your Thoughts