स्थानीय प्रतिनिधित्व वेरोजगारी समस्याको समाधान पो रहेछ !


अगर बत्ती

Dharana    

access_time 21 Apr 2022

–चन्द्रप्रकाश बानियाँ

मुलुक निर्वाचनको संघारमा छ । पाँचदलीय गठबन्धनका घटकहरुबीचको भागबण्डा कथाका रोटीको टुक्रो फेलापारेका दुई बिरालाहरुको जस्तो बनेको छ । दुर्भाग्यको कुरा के रहेको छ भने उनीहरुका बीचमा न्यायोचित भागबण्डा मिलाईदिने धुर्त बाँदरको भूमिका निभाइदिने कोही छैन । त्यसैले आपसमा ङ्यारङुर चलिरहेको छ । मनोनयन दाखिला गर्नेबेलासम्म कचकच रहने छ । मतदानको विहानसम्म पनि एक्ले अर्कोलाई समर्थन गर्ने वा पददावा छोडिदिने सिलसिला चल्दै रहने छ । अर्को कित्तामा भागबण्डाको उति धेरै चटारो नभए पनि एमालेभित्रैका पदाकांक्षीहरुको व्यवस्थापन गर्न कठिन भएको देखिन्छ । एउटै पदका लागि ३÷४ दर्जनसम्म आकांक्षी देखिएका छन् । त्यसैले विहेको अलमलले केटी माग्न बिस्र्यो भनेजस्तो भागबण्डाको किचलोमा रुमलिएका दुबै गठबन्धनहरु आजका मितिसम्म कुहिरोको कागजस्तै बनेका छन् । पार्टी केन्द्रहरुले पार्टीको घोषणापत्र तयार गर्न भ्याएका छैनन् । समयमा उमेदवारकै चुनाव हुन नसकेपछि स्थानीय प्रतिबद्धतापत्रहरु जारी हुने कुरै भएन । स्वभाविक हो बच्चा नजन्मदै कन्दनी बाट्ने हतारोलाई हाम्रो समाजले राम्रो पनि मान्दैन ।

हुन त पार्टीहरुले त्यस्ता घोषणापत्रको कति लाज राखिदिने गरेका छन् र ? चुनाव जितेर सत्तामा पुग्ने पार्टी वा प्रतिनिधिहरुले प्रतीज्ञापत्रहरु चुनावपछि एकपटक पनि पल्टाएर हेर्ने कष्ट उठाउँदैनन् । मतदाताहरुले पनि पार्टीका घोषणापत्र अर्थात कबोल गरिएका प्रतीज्ञाहरुको आधारमा मत दिने गर्दैनन् । एक छाक मासुभातकै भरमा मत बिक्री गरिन्छ भन्ने भनाई बाक्लै सुनिन्छ । त्यस्तो परम्परा छँदैछैन भन्न पनि सकिन्न । मतको खरिदबिक्री कसरी गरिन्छ भन्ने कुराको एउटा रोचक उदाहरणको आफै प्रत्यक्षदर्शी भइएको थियो ।

घटना पञ्चायतकालको अन्ततिरको हो । स्थानीय निर्वाचनको बेला थियो । उनताका म्याग्दीलाई महापञ्च गौचनले आफ्नो मौजा बनाएका थिए । उनी सधैं सरकारी पक्षमा उभिन्थे । सरकारी उमेदवारहरुलाई चुनाव जिताउन कर्मचारी, पुलिस, प्रशासन मरिमेटेर लाग्थे । अनेक जालझेल र षडयन्त्र गरेरै भए पनि सरकारी मानो पचाउँथे । आफ्ना हुक्के बैठके र पछुवा समर्थकहरुलाई जसरी पनि चुनाव जिताउन गौचनले अनेक हथकण्डा अपनाउँथे । चुनावकै बेलामा योजनाहरु बाँडिन्थे । मतदातालाई लोभ्याउने अनेकौं टुक्रे योजनाहरु महापञ्चको गोजीमा हुन्थे । विकासनिर्माण आयोजनामा महापञ्चको तजविजी हुकुम चल्थ्यो । मत प्रभावित गर्न प्रलोभन, डर, धाक, धम्कीका सहारा लिइन्थ्यो । आवश्यकताअनुसार साम्प्रदायिकता, जात जाति र सम्प्रदायको पनि प्रयोग गरिन्थ्यो ।

हाम्रो गाउँपञ्चायत जिल्लाकै अलि सचेत गाउँमध्येमा गनिन्थ्यो । स्वभावतः सत्ताविरोधी चेतको राम्र्रै प्रभाव समाजमा थियो । चुनाव हार्नुपरे पनि सचेत मानिसहरु सरकारी पक्षको विपरित कित्तामा उभिन्थे । सधैंझैं त्यसपटक पनि पुलाचौर गाउँ पञ्चायतको चुनाव महापञ्च गौचनका लागि टाउको दुखाईको कारण बनेको थियो । सचेत मतदाता सत्तापक्षको विपक्षमै उभिने भैदिएका हुनाले चुनाव जित्न जिताउनका लागि अपेक्षाकृति असचेत मतदाताहरुलाई आफ्नो पक्षमा पार्ने तिकडदम गर्नुपर्ने हुने नै भयो । ख्वाउने, पियाउने, लोभलालच देखाउने, डर धाक धम्कीको सहारा लिने उपक्रम सुरु भैसकेको थियो । चुनाव लड्नुपरेपछि मतदाताको घरघरमा जानु प¥यो । विपक्षका उमेदबारहरु त्यस्ता टोलहरुमा जाँदा मतदाताहरु आत्तिन्थे । डर र आतंकको स्पष्ट छाँया उनीहरुको अनुहारमा देखिन्थ्यो । सुटुक्क मत तपाईहरुलाई नै दिउँला बरु, हाम्रो टोलतिर धेरै आउजाउ नगरिदिनु होला भन्थे । विपक्षी उमेदबारका पक्षका मानिसहरुसंग भेटघाट हिँडडुल गरेकै अपराधवापत कुटपिट, लुटपाट समेत हुनसक्थ्यो । चुनावकै लागि राजधानीबाट निकै ठूलो गुण्डादल जिल्लामा भिœयाइन्थ्यो ।

”मत दिन्छौं” भनेकै आधारमा कसरी पत्याउने ? खानपिन, खरिदविक्री र डरधाकमा परेका मान्छेले कसरी विपक्षमा मत हाल्लान भनेर भरोसा गर्ने ? सत्तापक्षका तर्फबाट मत विचलित नहोउन् भनेर अनेक उपक्रम गरिन्थ्यो । मतदाताको निगरानी गरिन्थ्यो । विपक्षीहरुलाई घरबाट निस्कनासाथ पछ्याइन्थ्यो । हा हा हु हु गरेर लगारिन्थ्यो । हतोत्साहित बनाउने प्रयत्न गरिन्थ्यो । मतदाताहरुलाई तामातुलसी छोएर कसम खान लगाइन्थ्यो । रगतमा हात चोपेर भाक्न लगाइन्थ्यो । धर्मभिरु समाजमा कसम उल्लङ्घन गरे पाप लाग्छ भन्ने रुढ मान्यता रहन्थ्यो । उनै महापञ्चले एउटा चुनाव सुनिश्चित गर्ने सन्दर्भमा कुखुरो काटेर रतगमा हात चोवाएर कसम दिलाउन खोज्दा  हाम्रा एकजना बन्धु ज्यान हत्केलामा राखेर महापञ्चका सुण्डमुण्डहरुको घेरो तोडेर रातमै १०÷१५ किलोमिटर बाटो तय गरेर स्वजातिबन्धुहरुको गोलबगाल फेला पारेको कथा आजसम्म पनि समाजमा चर्चित छ ।

त्यसपटकको चुनावमा विपक्षीहरुको पलडा भारी थियो । तैपनि एकै रातमा मत परिवर्तन गराउने खेल खेल्नसक्ने खुबी गौचनमा भएको हुनाले सतर्क रहनु जरुरी थियो । त्यस्तो प्रपञ्चका लागि महापञ्च गौचन माहिर थिए । त्यस्तो कौशल नभएका भए तीसवर्षे पञ्चायतकालभर जिल्लामा एकछत्र रजाई गर्न कसरी सक्थे र ? त्यसपटक उनका हरेक दाउ निष्फल  बनाउने कसम विपक्षी खेमाले खाएको थियो । विपक्षी पंक्तिले गौचनपक्षले किन्न सक्ने केही मतहरुसंग खेल्ने योजना बनायो । झण्डै हरेकजस्तो वडामा सानो ठूलो दलित वस्ती थियो । गोप्य तवरमा हरेक दलितवस्तीमा २÷४ ग्यालन लोकल ठर्रा र एकएकवटा बङ्गुर पठाउने तर अरुले देख्नेगरी चुनाव प्रचार गर्ने नजाने योजना बन्यो । निर्वाचन हुनुभन्दा एकदिन अगाडि दलित बस्तीमा बङ्गुरहरु ढले, रक्सीका ग्यालनहरु खुले । त्यो उपक्रमले राम्रै काम ग¥यो । सरकारी पक्ष हिस्सियो ।

यसपटक हरेक पार्टीले पैसा खर्च गर्नसक्ने मानिसहरु छानेर सम्भावित उम्मेदवारको सूचि बनाएका छन् । अख्तियार प्राप्त पार्टी कमिटीहरुले बगालबाट मोटो खसी छानेजस्तो दरिलो आमदहैसियत भएको उम्मेदवार छान्ने छन् । अघिल्लो चुनावमा पनि भएको त्यही थियो । यसपटक हुने पनि त्यही हो । कैयौं छोटे सरदारहरु अघिल्लोपटक डामिएका पनि छन् । कतिका घरबार र कारोबार चौपट भएकाहरु पनि छन् । चोटिएका त्यस्ता मान्छेहरुले यसपटकको छनोटमा दोहोरिन नसक्दा पार्टी परित्याग गर्न थालेका समाचारहरु सार्वजनिक हुनथालेका छन् । घाइते कार्यकर्ताहरुप्रति पार्टीले सहानुभूति देखाउनु पर्ने त हो तर आमद हैसियत खस्किएका मानिसले मत खरिद गर्न सक्दैनन् । जानी जानी चुनाव हार्ने उमेदवार उठाउने मुर्खता गर्ने कुरो भएन । भद्रो हेरेर काम चल्दैन । अर्थात सहानुभूतिले चुनाव जिताउने होइन । चुनाव त जसरी पनि जित्नै पर्छ ।

अस्ति भर्खरै हो, मेरा एकजना गाउँले बन्धुले यसपटक चुनाव लड्ने निधो गरेको सन्देश पठाएका थिए । चुनावमा कुनै किसिमको सहयोग गर्न सकिने अवस्था त थिएन । शुभकामना त दिनै प¥यो । उनको आर्थिक स्थिति उति धेरै राम्रो भन्न मिल्ने खालको छैन । व्यथैं किन झन्झट गरेहोलान् जस्तो लागेकोले अप्रत्यक्षरुपमा नलड्न सम्झाउने कोसिस गर्नु उचितै हुनेजस्तो लाग्यो । चुनाव जितिने प्रत्याभूति हृुने कुरा भएन । धेरथोर लगानी पनि गर्नैप¥यो । पातको साँगु लगाएर जीवनव्यवहार चलाउनु पर्ने मान्छेको आर्थिक हैसियतले चुनावमा पैसाको खोलो बगाउन सक्ने कुरै भएन तर उनको जवाफले भने चुनावको अर्को एउटा पाटो उदाङ्गियो ।

पहिलो सजिलो कुरा उनको चुनावक्षेत्रमा दलितबस्ती सून्यप्रायः रहेछ । दलितबाहेक अन्य समुदायका मान्छेले खानेप्युने कुरामा चित्त टेक्न नसके पनि नगद ज्यालाका लागि हात थाप्न लाज मान्दा रहेछन् । दोश्रो कुरा वडाभर उनका इष्टमित्र, आफन्तहरुको संख्या निकै ठूलो रहेछ । तेश्रो कुरा समाजमा सोझो र इमान्दार मानिसमा उनको गणना हुँदोरहेछ । तिनै तिनवटा कुराको आधारमा पैसो खर्च नगरिकन चुनाव जित्न सकिने उनको हिसाब रहेछ । पैसो खर्च गर्नुनपर्ने भएकोले चुनाव हार्दा पनि नोक्सान नहुने, चुनाव जितिहाले समाजको सेवा गर्न पनि पाइने, पकेट खर्च पनि चल्ने । खाडीमा जाने उमेर कटिसकेका मान्छेले गाउँघरमा अतिरिक्त आर्जनको श्रोत कहाँबाट फेलापार्नु ? उनको अभिलाषा पूरा होस भन्ने शुभकाना दिनै प¥यो ।

अघिल्लो कार्यकालमा भन्दा यसपटक स्थानीय जनप्रतिनिधिहरुले अलिकता मोटाउने अवसर पाउने सम्भावना पनि रहेछ । अघिल्लैपटक टोलछिमेक, वल्लापल्ला गाउँ जताततै एकसरो डोजरले जोतिसकेको रहेछ । नयाँ ट्रयाक खोल्नुपर्ने ठाउँ नै बाँकी छैन रे । सडकका नाममा खुलेका ट्रयाकको स्तरोन्नति गर्नुपर्ने होइन । बर्खामा बारीका कान्ला भत्केर पुरिएको सडकमा एकसरो डोजर डुलायो भने हिउँदभरका लागि धुले सडक तयार भैहाल्ने रहेछ । अर्थात सडकको नाममा निकै किफायतमा काम देखाउन पाइने अवसर रहेछ । सडक, इनार, धारो, पाटी, मन्दिर, स्कूल, स्वास्थ्यचौकीको मर्मत सम्भारबाट पनि पर्याप्त चुकाउनी निचोर्न सकिने रहेछ । स्वास्थ्य, शिक्षाको जिम्मेवारी स्थानीय तहमा रहेका भए पनि परिवर्तनको कुनै नयाँ योजना नभएपछि सुधारको परम्परा थाम्न खासै गाह्रो नहुने रहेछ । अर्थात काम देखिने वा नदेखिने जेसुकै होस्, वर्षभर व्यस्त रहन पाइने, गोजी पनि गरम गर्ने मेलो जुट्ने सम्भावना रहेछ । पेन्सनको अवधि पुगेका र पार्टीको झोला इमान्दरिपूर्वक बोकेका शिक्षकहरुमध्ये अधिकांश व्यवसाय फेर्न जम्जमाएका देखिनुको कारण त्यस्तो पो रहेछ ।

व्यवस्था फेरियो तर मान्छेको मनोवृत्ति,कार्यशौली र चिन्तन रत्तिभर फेरिएको छैन । बरु हिजो पञ्चहरु इमान्दार थिएछन् भन्ने प्रमाण स्पष्ट देखिँदो रहेछ । कमसेकम एक कार्यकाल प्रधानपञ्चको जिम्मेबारी सम्हाल्ने अवसर पाउनेहरु सबैले पुस्तैनी जग्गाजमिन सिध्याएर टाट पल्टेको देखिन्छ । बहुदल कालमा खासगरेर, मनमोहन अधिकारीको ९ महिने सरकारले “आफ्नो गाउँ आफै बनाउँ” भन्ने कार्यक्रम मार्फत सोझै गाविसहरुमा विकास बजेट पठाउन थालेपछि बल्ल स्थानीय जनप्रतिनिधहिरुको पुख्र्यौली सम्पत्तिमा धमिरा लाग्ने परम्परा टुटेको हो । त्यसपछि बल्ल विनापारिश्रमिक समाजसेवा गर्नुुपर्ने अवस्थाको अन्त भएको रहेछ । यसपटक राजनीतिक दलहरुलाई व्यवस्थापन गर्न गाह्रो पर्ने गरी उमेदवारहरुका आकांक्षी अघिसर्नुको वास्तविक कारण त्यही रहेछ । हुन पनि दुई पैसा आर्जन गर्नका लागि लाखौं खर्चेर खाडीको गर्मी खान जानुपर्ने अवस्थामा त्यसको दोब्बर तेब्बर खर्च गरेर चुनाव लड्दा पनि चुनाव जितियो भने खासै घाटा नजाने रहेछ । उसै पनि नेपालको राजनीति थामिदिने कि त बुढाबुढी कि भने वेरोजगार युवाहरु नै त हुन् । वेरोजगारहरुले रोजगारीमा आँखा लगाउनु र पाका अभिभावकहरुले आफ्ना वेरोजगार सन्तानका लागी अस्थायी नै भए पनि कामको आशा गर्नु स्वभाविकै हुने भो । स्थानीय तहहरु सीमित संख्यामै भए पनि वेरोजगारी समस्याको ओखती बनेका रहेछन् । जुन प्रतिनिधिले जनप्रतिनिधित्वलाई आफ्नो रोजगारीको माध्यम बनाउँछ उसले समाजको विकासको बारेमा कस्तो चिन्ता गर्ला ? उसको एकलव्य योजना, लक्ष र ज्ञान दुईपैसा कसरी थप आर्जन गर्ने भन्ने हुनु आश्चर्यको विषय बन्नु अपवाद सावित हुने नै भो ।-जनधारणा साप्ताहिकबाट



Share Your Thoughts