प्रचण्डले देउवासँग भिक्षाटन गरिरहेको अवस्था बैचारिक विचलनले निम्त्याएको संकट हो !


अगर बत्ती

Dharana    

access_time 25 Mar 2022

— निमकान्त पाण्डे 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धलगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारलाई मासिक ‘जीवन निर्वाह भत्ता’ उपलब्ध गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेका छन् । मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले यस्तो सुझाव दिएको जानकारी प्राप्त भएको छ । १० वर्षे युद्धकालका घाइते तथा अपांगहरुको अवस्था वास्तवमै दयनीय छ । हुन् त आम सर्वसाधारण नेपाली जनताको अवस्था दयनीय नै छ । तथापी युद्धमा विभिन्न सपना बोकेर लडाईमा लामबद्ध भएका परिवारका सदस्यहरु धेरैले ज्यान गुमाएका छन् । उनीहरुको आश्रयमा रहेका परिवारहरु शान्ति प्रकृयापछि झनै दयनीय अवस्थाबीच गुजारा चलाइरहेका छन् । 

जनयुद्धका कमाण्डर प्रचण्डको युद्धकालको अवस्था र अहिलेको अवस्थामा आकाश पातालको भिन्नता छ । युद्धबाटै परिवर्तन ल्याउने सपना बोकाएर जनतालाई प्रचण्डले बन्दूक उठाएका हुन् । १७ हजार नेपाली जनताको रगत बग्यो । युद्धले विश्वलाई हल्लाएको थियो । समाप्त हुने वा शक्तिशाली हुने भन्ने निर्णयका साथ युद्धमा होमिएका युवाहरुलाई चमत्कार देखाउँदै प्रचण्डले शान्तिप्रकृयामा प्रवेश गरेपछि युद्धमा लागेका युवाहरुमा क्रमिक रुपले निराशा बढाउँदै लग्यो । अन्ततः जनसेनालाई नै विघटन गरिएपछि आमूल परिवर्तनको  सपना पनि चकनाचूर नै भयो । प्रचण्डले नेकपा एमालेको विरोध गर्दा गर्दै त्यही एमालेसँग पार्टी एकीकरण पनि गर्न पुगे । जनताले एकीकृत पार्टीलाई दुई तिहाई निकटको बहुमतमा पु¥याएर युद्धकालीन आमूल परिवर्तनको कार्यभार सुम्पिएका थिए । तर प्रचण्डमा विकसित भएको व्यक्तिगत लाभको राजनीतिले पार्टीलाई विभाजित गरायो । र जुन व्यक्तिको नेतृत्वको सरकारसँग ४० बुँदे मागपत्र पेश गर्दै युद्धको सुरुवात गरिएको थियो, त्यही व्यक्ति (शेरबहादुर देउवा) लाई सरकारको नेतृत्वमा पु¥याउने काम प्रचण्डबाट नै सम्पन्न भयो । अहिले  प्रचण्डले शेरबहादुर देउवालाई सुझावका रुपमा प्रस्तुत गरिएको शहीद परिवारलाई मासिक जीवन निर्वाह भत्ताको माग लज्जाजनक हो । केही व्यक्तिहरुलाई भत्ता दिएर जनताका आवश्यकता पूरा हुन सक्दैन भन्ने कुरा प्रचण्डले बुझेका रहेनछन् भन्ने  सन्देश दिएका छन् । 

युद्धको सुरुवात यही सोचका साथ गरिएको थियो ? प्रचण्डले आत्मसमीक्षा गर्न जरुरी छ । यत्ति मात्र काम गर्न नसकेर ओली नेतृत्वको सरकार ढालिएको हो ? प्रचण्डसँग यस्ता दर्जनौं प्रश्नहरुले टाउको ठाडो गराइरहेका छन् । 

अहिले फेरी चुनाव नजिकिएको छ । चुनावमा बामगठबन्धनका कुरा पनि उठेका छन् । बामगठबन्धनले दिएको परिणामलाई सदुपयोग गर्न नसकेका नामर्द भिखारीहरुलाई फेरी सत्ता पु¥याउने मूर्खता जनताले अव गर्ने छैनन् भन्न सकिन्छ । तर  जनताका अगाडि बिकल्प छैन । बिकल्प झनै निराशाजनक देखिन्छ । त्यसैले जनता आक्रोशित अवस्थामा छन् ।   

प्रचण्ड नेतृत्वको नेकपा माकेसहित मिलेर डबल नेकपा निर्माण हुँदा कार्यकर्तापंक्ति र नेतृत्वपंक्तिमा ठूलो उत्साह थियो । त्यो उत्साहले आम सर्वसाधारणमा पनि उत्साहको सञ्चार गरेको थियो । त्यसैको परिणामस्वरुप बाम गठबन्धनले दुई तिहाई निकटको बहुमत प्राप्त गरेको थियो । संविधानसमेत संशोधन गर्ने हैसियतका साथ सत्तासीन हुन पुगेको डबल नेकपाप्रति नेपाली जनताले आशा गर्नु स्वाभाविक थियो । संबिधानलेसमेत दिएको गन्तब्य समाजबादको यात्रा अवरोध हुने अवस्था थिएन । आन्दोलनबाट खारिएका नेताहरु सत्तामा पुगेपछि निश्चय पनि जनतामा त्यस्तो आशा पलाउने नै भयो । आफ्नो छाक काटेर परिवारका सदस्यहरु भन्दा बढि माया गरेर आफू सुत्ने बिस्तरामा सुताएर घरमा पालेर राखिएका र सम्मानित गरिएका नेताहरु सत्तामा पुगेपछि पक्कै पनि देश र जनताका लागि केही गर्छन् भनेर विश्वास गर्नु अन्यथा होइन पनि । तर नेताहरुले जनविश्वास अनुसारको काम गरेको पाइएन । भ्रष्टाचारको निरन्तरता, वेथितिको निरन्तरता र राष्ट्रघातको निरन्तरताले जनतालाई दिक्क बनायो । कम्युनिष्ट पार्टीप्रति नै जनतामा वितृष्णा पैदा गराउने काम नेताहरुले गरे । आज जनताले दिएका मतको अपमान गर्दै आफैले बर्गबैरी घोषणा गरेर युद्ध लडेको र १७ हजार नेपाली जनताको रगत बगाउन बाध्य बनाएको व्यक्तिलाई सत्ता सुम्पिएर युद्धमा शहीद भएका परिवारका निम्ति राज्य कोषबाट भिक्षा माग्न लाज लाग्नुपर्ने हो । सत्ता प्राप्त गरेका बेला त्यही सत्ताबाट समाजवादको योजना अगाडि बढाइएको भए आज केही व्यक्तिहरुका निम्ति सरकारसँग भिक्षा माग्नु पर्ने अवस्था आउने थिएन । 

दुई तिहाई निकटको बहुमतसहित प्रधानमन्त्री बने लगत्तै केपी ओलीले कम्युनिष्ट पार्टी लक्षित र जनअपेक्षित आश्वासनहरु निक्कै बाँड्नु भयो । देशलाई आत्मनिर्भर बनाउने, विदेशआश्रित व्यापारलाई कम गर्ने, पेट्रोलियम पदार्थहरुको उत्खनन्तर्फ पहल गर्ने, वैज्ञानिक कृषि प्रणालीको विकास गर्ने, रासायनिक मलका कारखानाहरु स्थापना गर्ने, क्रान्तिकारी भूमिसुधारका कार्यक्रम लागू गर्ने, वैज्ञानिक शिक्षा प्रणाली लागू गर्ने, शिक्षा निशुल्क गराउन अभियान थाल्ने, स्वास्थ्य उपचार निशुल्क गराउने, स्तरीय अस्पतालहरु स्थापनातर्फ ध्यान दिने, देशलाई औद्योगिकरण गर्ने, रोजगारी सृजना गरेर वैदेशिक रोजगारीमा गएका युवाहरुलाई स्वदेश फर्काउने कार्यक्रमहरु लागू गर्ने, उत्तर र दक्षिणका छिमेकी देशहरुसँग जोडिने गरी रेलसेवा विस्तार गर्ने, पानी जहाजको सम्भावनालाई विकास गर्ने लगायतका योजनाहरु प्रधानमन्त्री भएलगत्तै केपी ओलीले सार्वजनिक गर्नु भएको थियो । यस्ता आश्वासनहरु पाएपछि नेपाली जनताले समाजवादको परिकल्पना गर्नु पनि स्वाभाविक हो । तर प्रधानमन्त्री ओलीको गन्तव्य समाजवाद नभएर देशलाई पश्चिमाहरुको उपनिवेश बनाउने उल्टो गन्तव्य देखियो, एमसीसी त्यसैको एउटा  नांगो उदाहरण थियो ।  तर केपी ओलीलाई विस्थापित गरेर,  पार्टी विभाजित गराएर, आपैm बर्ग बैरी घोषणा गरेर युद्ध लडेको व्यक्तिलाई सत्तामा पु¥याएर दुनियाँ हँसाउने गरी प्रचण्डले भिक्षाटन गरिरहेको अवस्था वास्तवमै बैचारिक विचलनले प्रचण्डमाथि आइपरेको संकट हो, सबैलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट 




Share Your Thoughts