हातमा कटौरा लिएर भिक्षाटनमा लाग्नु पर्ने वाम नियति !


अगर बत्ती

Dharana    

access_time 24 Mar 2022

–चन्द्रप्रकाश बानियाँ

“हात्तीको कानमा आश्रय लिएका चमेराहरु कटौरा हातमा लिएर बालुवाटार र बालकोट धाउँदैछन्” रे ! कसले कताबाट कसलाई भनेको होला भनेर सोधीखोजी गर्नै पर्दैन । काँग्रेसी कित्ताबाट सार्वजनिक भएको समाचार हो यो । स्वभाविक हो, एकपटकको चोर जिन्दगीभरको चोर । अघिल्लोपटक नेकपा माओवादीले काँग्रेससंग मिलेर स्थानीय चुनाव लड्यो, लगत्तै एमालेसंग मिलेर संसदीय निर्वाचन लडेको थियो । आफ्नो खुट्टामा उभिन नसक्नेहरुलाई समाजले हेप्ने गर्छ । यसपटक पनि काँग्रेसले लगारे एमालेसंग चुनावी तालमेल हुन्छ भन्ने सार्वजनिक भनाई आएकै हो । चुनावी तालमेलकै लागि काँग्रेस अध्यक्षसंग दर्जनौं पटक बैठकहरु भएकै हुन् । अवसर पाएपछि मान्छेले भन्छ । भन्यो भनेर चित्त दुखाएर साध्य हुदैन । चित्त दुखे पनि आफ्नो हविगत टिठलाग्दो भएपछि ङिच्च दाँत देखाउनुको विकल्प रहँदैन । लुकाउनु पर्ने आवश्यकता छैन, यतिबेला काँग्रेसको दौराको फेर समातेर झुण्डिएका एकीकृत समाजवादी र माओवादी केन्द्रको हैसियत काँग्रेसको तुच्छ दुत्कार अमिलो अनुहार बनाएरै भए पनि पचाउनुपर्ने अवस्थामा छ ।

“किन चाउरिस् मरिच, आफ्नै राग”ले भनेजस्तो पुड्के वाम पार्टीहरुको यो हविगतको कारण पार्टी विभाजन हो । तर विभाजनको पिडा एक पक्षमा मात्र छ भन्ने कुरा भने सत्य होइन । बाहिर जति नै आत्मविश्वासको नौटङकी गरेपनि एमालेका गोडा कामेका छैनन् भन्ने होइन । छाती जोरेर लड्नुपर्ने अवस्था नआइन्ज्याल पिलन्धरे शिशुपालले पनि दुई चारजनालाई एक्लै पछार्ने धमास दिन्छ । परिणाम उसलाई थाहा नहुने होइन तर अभिमान भन्ने चिज त्यस्तै हो । हैसियतको लेखाजोखाविना नै विजयको छाती पिटेर अहङ्कार बखान्नुपर्ने बनाउँछ । एमालेको नियति त्यही हो ।

विभाजनले सक्ने भयो भनेर रुँदै हिड्ने नेताहरुको संख्या यता हुने नै भो त्यता पनि कम छैन । अहिलेकै अवस्थामा चुनावमा जाने हो भने सर्वनास निम्तन्छ । हामी सकिन्छौं । एमाले टाक्सिन्छ । वाम आन्दोलन समाप्त हुन्छ । त्यसैले अघिल्लो संसदीय निर्वाचनमा जस्तै वामहरु कमसेकम मिलेर चुनाव लड्नुपर्छ र ठूलो पार्टीको अध्यक्षका हैसियतले त्यसको पहल ओलीले गर्नुपर्छ । कम्युनिष्टहरुलाई मिलाउने सामथ्र्य उनैमा मात्र छ । अरु कसैले त्यो काम गर्न सक्तैन भनेर सार्वजनिकरुपमा गुहार लगाउँदै हिँडेको देखिन्छ ।

समयले मान्छेलाई कहाँबाट कहाँ पु¥याउँछ ? अघिल्लोपटक तत्कालीन माओवादी र एमालेबीच भएको पार्टी एकतालाई असैद्धान्तिक भनेर चर्को आलोचना गर्नेहरुलाई यतिखेर वाम एकता चाहिएको छ । जसले हजार आलोचना र असहमति लत्याएर एकताको पहल लिएको थियो उसको व्यथा कसले बुझिदेओस् ? एकताको परिणामस्वरुप सिंहसनारुढ हुने अवसर पाएकालाई भने त्यही सिंहासन भीष्मपितामहको सरशैयाजस्तो मर्मान्तक र पिडादायी भएको अनुभव होला । हस्तिनापुरको सिंहासनबाट एकै झट्कामा चपरीमुनीको वासमा रुपान्तरित भएको मर्म कसले बुझिदिने ?

त्यो वाम एकताले अर्कोतिर पनि कम पिडा दिएको होइन । आधा आधा गर्ने समझदारीमा गरिएको मृगको शिकार सिङ्गै एउटाले लतारिदिएपछि न्याय खोज्न कुन अदालतमा जानु ? वेइमानीको ओखती हुदैन । फेरि वाम एकता अर्थात चुनावी एकता भैहाल्यो भने पहिलेकै घटना नदोहोरिएला भनेर कसरी पत्याउनु ? कथम वाम गठबन्धन भएछ भने पनि एकपटक वेइमान सावित भैसकको मान्छेलाई पहिलो पालो दिने कुरै भएन । अर्कोतिर यसपटक पहिलो पालो पाउनेले पुरानो कुरा सम्झेर वेइमानीमा उत्रियो भने गर्ने के ? गुनासो गर्ने ठाउँ नै हुदैन । जोगीदेखि भैसी, भैसीँदेखि जोगी डराउने स्थिति छ । एकले अर्कालाई कुन आधारमा विश्वास गर्ने ? त्यसैले जोसुकैले जस्तो सुकै रोइलो गरेपनि वाम नामको भ्यागुते धार्नी यसपटक जुट्ने सम्भवाना छँदैछैन भन्दा फरक पर्दैन ।

“अङ्गुर अमिलो हुन्छ” भनेर असफलता छोप्ने स्यालजुक्ति जस्तै पार्टीको बैठकमा एमालेका अध्यक्षले “नेपालमा वामपन्थी नै छैनन्, कोसंग तालमेल गर्ने ?” भन्ने प्रश्न उठाए रे भन्ने कुरा सार्वजनिक भएको छ । संसार ऐनाजस्तो छ भन्ने एउटा लोकिप्रिय भनाई छ । ऐनामा जस्ले चिहाउँछ उसले आफ्नै प्रतिविम्व देख्छ । अध्यक्ष महोदयले आफ्नो पार्टी कम्युनिष्टि होइन भनेर सार्वजनिकरुपमा स्वीकारेको आज होइन । अब त उनले भन्नै पर्दैन । न एमालेका कार्यकर्ताहरु कुनै कोणबाट कम्युनिष्टजस्ता लाग्छन् न एमाले पार्टी ? स्वभावतः गैरकम्युनिष्ट पार्टीको अध्यक्ष कम्युनिष्ट हुने कुरै भएन । कमरेड ओली स्वयम घोषित गैरकम्युनिष्ट नेता हुन् । उनले संसार आफूजस्तै देख्नु बुझ्नु स्वभाविकै हो ।

पार्टीको अध्यक्षको मात्र के कुरा भो र ? यतिखेर वाम एकताको राग अलाप्ने एमालेका छोटे नेताहरुले पनि आफ्नो पार्टीमा गैरवाम चरित्र हावी भएको कुरा दर्जनौंपटक सार्वजनिक गरेकै हुन् । अर्थात पार्टीमा वाम एकताको प्रस्ताव राख्ने नेता आफै गैरवाम हुन् । नेताजी आफै कम्युनिष्ट होइनन्, उनको पार्टी कम्युनिष्ट होइन भने वामहरुसंग एकता हुनुपर्छ भनेर रोइलो गर्नु भद्दा परिहास होइन भन्न मिल्दैन । त्यसैले अध्यक्षले नेपालमा वामहरुको अनिकाल देख्नु र छोटे नेताले वामहरुबीच एकताको राग अलाप्नु उस्तै उस्तै प्रहसन होइन कसरी भन्नु ?

गजबको परिदृश्य छ ! माओवादी र एकीकृत समाजवादी नामका दुई वामपार्टीहरु यतिखेर काँग्रेसको आँगनमा धर्ना बसेका छन् । उनीहरुको प्रार्थना, पुकारा अस्तित्वरक्षाको माग हो । माग राख्ने तरिका भने विशिष्ट छ । निराला छ । व्यापारमा घाटा खाएर टाट उल्टिएको साहुले पुराना बहीखाता ढुँडल्छ रे ! जुम्ल्याहा वामहरुको तर्क के छ भने जनताले सडकमा मिल्काएको काँग्रेसलाई सत्तामा पु¥याउनमा आफ्नो भूमिका रहेको हुनाले चुनावी तालमेल गरिदिएर ऋण चुक्ता गर्नुपर्छ रे ! बुटवल पुगेर एकजना नेताले त्यस्तै आसय सार्वजनिक गरेका थिए । काँग्रेस अध्यक्षमा पनि धेरथोर कृतज्ञताभाव रहेजस्तो देखिन्छ । बाँकी काँग्रेस भने राजनीति र लडाइको मैदानमा इमान र धर्म भन्ने कुराको महत्व हुदैन भन्ने पक्षमा छन् । प्रतिश्पर्धी वामपार्टी चकनाचुर भएको बेलामा प्राप्त चुनाव जित्ने अवसर खेरफाल्नु  मुर्खता हो भन्छन । त्यसबाट गुनपच्चाको अपजस आउने हो कि भन्ने अलिकता डर र लज्जाबोध काँग्रेसमा देखिदैन । काँग्रेस अध्यक्षमा देखिएको अन्यमस्कताको अवसर छोपेर एमाले अध्यक्षले भ्रमास्त्र छोडेका छन् । तैपनि काँग्रेसबाट दुत्कारिएका पुड्के वामहरुलाई ओलीले छतरी नदेलान् भनेर पत्याउन कठिन भएको छ काँग्रेसलाई ! हुन पनि अघिल्लोपटक काँग्रेससंग सत्तासाझेदारीमै रहेको बेला माओवादी–एमाले गठबन्धन बनेको कुरा यतिचाँडै बिर्सने कुरा भएन ।

काँग्रेस अध्यक्षलाई तर्साउने मुख्य कुरा वाम गठबन्धनको सम्भावना नै हो । अर्कोतिर काँग्रेसको अर्को समूहलाई जसरी पनि देउवालाई असफलसिद्ध गर्नु छ । उनको मुखियालीमा काँग्रेस फस्टाउँदैन भनेर पुष्टि गर्नु छ । काँग्रेसको जय पराजयसंग कोइराला समूहको कुनै सरोकार छैन । देउवालाई असफल बनाउनका निमित्त काँग्रेसको भण्डार खनेर आँगन पुर्न पनि तयार छ । काँग्रेसको पराजयको मूल्यमा देउवाको असफलता खरिद गर्न तयार छ । पार्टीले चुनाव जितेपनि आफ्नो पोल्टामा पर्ने केही रह्ँदैन भन्ने उसको बुझाई हो । त्यसैले आफ्नै जातिबन्धुका समेत हुननसकेका उरन्ठेउलाहरुलाई उकासेर सत्तासाझेदारहरुलाई दुर्वाच्य बोल्न लगाइदैनथ्यो ।

एकातिर वामहरुको चिलबिल मात्र होइन, उल्लीबिल्लीको मौसम चलिरहेको छ, अर्कोतिर थप एक थान वामपार्टी चुनावी अखाडामा उत्रनका लागि धोतीपाटा कस्दै छ भन्ने सुनिन्छ ! एकपटक सत्ताको टाट्नाको सुकेको पराल छोडेर हरियो घाँसको लोभमा जङ्गल छिरेको पार्टी चुनाव उपयोगको नाममा शहर पस्दै छ भनिन्छ । नेपालीहरुको बुद्धि घुच्चुकमा हुन्छ रे ! विनाहण्डर ठक्कर बुद्धिको बिर्को खुल्दैन । तैपनि तुजुक भने उस्तै देखिन्छ । के हो उपयोग भनेको ? वास्तवमा उपयोग भनेको टेबुलमा बसेर कुर्चीमा खानाको रिकावी राख्नु भनेजस्तै हो । तीसको दशकमा झापाली कम्युनिष्टहरुले पहिलोचोटी यो शब्दको उपयोग गरेका थिए । त्यो पनि रुसी नेता लेनिनबाट सापट लिएर । त्यसबखत देशमा पञ्चायती व्यवस्था थियो । झापालीहरुले त्यसअघि चुनावमा भाग लिएका थिएनन् । त्यसैले लेनिनको फर्मुला प्रयोग गर्नु अस्वभाविक पनि मानिएन । तर यसपटक उपयोगको कुरा गर्ने पार्टी कुनै नयाँ नौलो राजनीतिक समूह होइन । माओवादीबाट चोइटिएको सानो समूह हो । छुट्टिभिन्न हुनुपूर्व चुनावमा भाग लिएको मात्र होइन, चुनाव जितेर सरकारसमेत बनाएको हो । एकपटक गङ्गास्नान गरेर पानीबाट बाहिर निस्केपछि पानी चिसो छ कि तातो छ भनेर परीक्षण गर्न पुनः पानीमा हामफाल्नु पर्दैन । पानीको तापक्रम त पहिलो डुबुल्कीमै अनुभव भैहाल्छ । एकपटक पानी नुहाउन योग्य छैन भनेर निस्केपछि केको परीक्षण ? के का लागि उपयोग ?

मोफसलतिर कतै बैठक चलिरहेको उक्त पार्टीले निर्णय लियो लिएन कुन्नी ? निर्वाचनको उपयोग गर्ने हो कि आफै उपयोग हुने हो कुन्नी ? नियति के कस्तो होला भनेर जान्नका लागि मातृपार्टी क्रान्तिकारीको हवितग हेरे भैहाल्थ्यो । क्रान्तिकारीले फेरादुई चुनावको क्रान्तिकारी उपयोग गरेकै हो । चुनावको उपयोगबाट यसरी थलापरेछ कि यसपटक चुनावतिर हेर्ने हयाउ पनि गुमाएछ । कुनै जमानामा चुनावको बहिष्कार गर्नेगरेको परम्पराविपरित यसपटक चुनावमा भाग नलिने भएछ रे ! वास्तवमा उसले यसपटक राम्रो निर्णय गरेछ । आफ्ना बुताले नभ्याउने काम गर्नु आँट होइन दुःशाहस मानिन्छ । चेला पार्टीको हालत गुरु पार्टीकै जस्तो नहोस् भनेर कामना गर्नुभन्दा बढी के गर्न सकिन्छ र ? शुभकामना !

यतिबेला दाहाल र नेपालहरु रित्तो थाल हातमा लिएर काँग्रेसको लङ्गरमा लामबद्ध छन् । एमालेले चुनावी तालमेल गर्नका लागि कुनै अर्को वामपार्टी छैन भनेर घोषणा गरिसकेको छ । चुनावको उपयोग गर्न कस्सिएको पार्टीले पनि रित्तो थाल समातेर काँग्रेस वा एमालेको लङ्गरमा लाइन लाग्ने हो भने त ठिकै होला । होइन, त्यस्तो संयोग जुरेन भने चुनावको उपयोग गर्ने नीतिले धोती उतारेर नाक छोप्नुपर्ने अवस्थामा नपु¥याउला भन्न सकिन्न । बजारमा भने फरक हल्ला सुनिन्छ । एमालेले स्वागतद्वार निर्माण गरिसकेको छ रे ! त्यसो हो भने नाक जोगिएला पनि । भोकले छटपटिएको पुरेतबाजे सुद्रको भान्सामा छि¥यो भने जात गए पनि उको पेट खाली रहँदैन । उपयोगवादी समूहको गोजी पनि भरिएला । “भित्र छैन खाने पिठो, बाहिर रातो रुमाल” भनेजस्तो संगठनको हालत जति तन्नम भए पनि दुनियाँलाई देखाउनका लागि केही थान जनप्रतिनिधिहरु उपलब्ध हुनेछन् । तर उपयोगको नीति पास गर्नुपूर्व बालकोटको प्रत्याभूति लिन नबिर्सदा राम्रो हुनेछ ।

यसपटक एउटा कुरा भने राम्रो हुने लक्षण देखिएको छ । निर्णय कस्तो आउला भनेर अनुमान नगरिहालौं । आशा गरौं चुनाव उपयोग गर्ने नीति नै पास होओस् । निर्णयको भाका जे भए पनि चुनाव उपयोग गर्ने होइन, मनैदेखि चुनावमा भाग लिनेछ । एकपटक भित्र छिरेर माउपार्टीले झैं फेरि बाहिरिन नपरोस् । यदि त्यसो हुन सक्यो भने नेपालमा कम्युनिष्टहरु हो्लान् तर कम्युनिष्ट पार्टीहरु छैनन् भन्ने लोकभनाई सत्य सावित हुनेछ । हुन त कम्युनिष्टको पगरी पाउनका लागि कम्युनिष्ट पार्टीको सदस्यता एउटा अनिवार्य सर्त मानिन्छ । पार्टीको सदस्य नभएको मानिस कम्युनिष्ट समर्थक हुन सक्छ, आफै कम्युनिष्ट हुन सक्तैन । नेपालका कम्युनिष्टहरुलाई पतनमार्गमा धकेल्ने एउटा कारण चुनाव पनि हो । बत्तीमा परेको पुतली भष्म भएजस्तै चुनावमा हाम्फाल्ने कम्युनिष्ट पार्टीहरु सबै पतन भए, वदनाम भए ।

पुष्पलालको पार्टीलाई २०१५ सालको चुनावले सोत्तर पा¥यो । झापालीहरुलाई पञ्चायती चुनावले पतित बनाइसकेको रहेछ भन्ने कुरा पहिलो संसदकालमा देखियो । संविधानसभाको चुनावले माओवादीहरुलाई समाप्त पा¥यो । ती सबै पटक पटक गरेर जातिच्युत भए । त्यही दलदलबाट चोखो बाहिर निस्केको दावागर्ने उपयोगवादी समूह पनि पुनः उही भासमा जाकिन तयार भैदिएपछि नेपालको वाम आन्दोलन पूर्णतः अवशासन हुने भयो भन्न सकिने भो । अब को कम्युनिष्ट, को गैरकम्युनिष्ट भनेर पंक्ति छुट्याउनु नपर्ने हुने भो । ढङ्ग पुगेनभने चुनावले कसरी कम्युनिष्टहरुलाई भष्मिभूत बनाउँदो रहेछ भन्ने कुरा नेपाली कम्युनिष्टहरुको गुरुकुल भारततिर हेरे भैहाल्यो । खोइ, कम्युनिष्टहरुमा संसदीय कुम्भिपाकमा हामफाल्ने जुनुन किन सवार हुन्छ कुन्नी ?

उपयोगवादीहरुले गुरुहरुबाट नभए पनि अग्रजहरुबाट अलिकता शिक्षा लिन सकेका भए राम्रै हुँदो हो । यतिखेर आलाकाँचा काँग्रेसहरुले तिक्त शब्दवाणरुपी घुयत्रा चलाइरहँदा पनि दाहाल– नेपालहरु किच्च दाँत देखाएर काँग्रेसको मझेरीमा च्यापु टेकाएर भिक्षादानको आशा गर्नुपर्ने अवस्थामा पुगेका छन् । आफ्नै बलबुतामा अडिन सकिन्न भने प्रतिकूल स्थितिसँग आफूलाई समाहित गर्ने सिपको विकास गर्नुपर्ने हुन्छ । त्यसो गर्न सकिएन भने लाज छोप्न सुरुङभित्र छिर्नुपर्ने र अस्तित्व रक्षाको निमित्त “नेपाल बन्द”को एकसूत्रीय फर्मुलाको उपयोग गर्नुपर्ने हुनेछ । जङ्गलबाट शहरतिरको यात्रा थाल्नुपूर्व कता शरण लिने हो “दरो काछो” मिलाउनु बेस होला कि ? नत्र “...................................झोलमा डुबेर मरी” भनेजस्तो नहोला भन्न सकिन्न ।-जनधारणा साप्ताहिकबाट



Share Your Thoughts