राष्ट्रपति लगायत अधिकारका लागि लडिरहेका सबै नारीहरुलाई सफलताको शुभकामना !


अगर बत्ती

Dharana    

access_time 08 Mar 2022

-प्रीति रमण 

राष्ट्रपति नै महिला भएको र महिला अधिकारबारेमा राष्ट्रपति बिद्यादेबी भण्डारी स्वयम् जानकार समेत भएकाले  श्रमिक महिलाहरुको हक हितका बारेमा उहाँलाई अरुले सिकाउनु नपर्ने हो , तर बिडम्बना १ दुई कार्यकाल राष्ट्रपति बनेर पनि भण्डारीबाट श्रमिक महिलाका हकका कुरा त के महिलामाथि हुने हिंसाकै बिषयमा पनि कुनै पहल गरेको पाईएन ।

श्रमिक महिलाहरुको एकता, वीरता र संघर्षको गौरवमय गाथासंग गाँसिएको दिन हो आज ८ मार्चको दिन । सन १८५७ मा अमेरिकाको एउटा कपडा कारखानाबाट क्लारा जेट्किन नाम गरेकी एक महिलाको नेतृत्वमा महिलाहरुले महिला हक अधिकारका निम्ति आन्दोलन शुरु गरेका थिए । ८ घण्टा कामको समय र उचित पारिश्रमिक लगायतका मागहरु राखी महिलाहरुले संघर्षको थालनी गरेका थिए । आन्दोलनले श्रमिक महिलाहरुलाई अझ बढी संगठित हुन प्रेरित ग¥यो । यस क्रममा ६ मार्च १८७६ मा अन्तरर्राष्ट्रिय महिला सम्मेलन भयो । सम्मेलनले अन्तरर्राष्ट्रिय महिला संघ गठन गरेको हो ।

त्यसपछि सन १९१० मा कोपेन हेगनमा दोश्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन भएको थियो । सम्मेलनले श्रमिक महिलाहरुलाई राजनीतिक, आर्थिक र सामाजिक अधिकारहरुको ग्यारेन्टी हुनुपर्ने मागलाई प्रस्तावको रुपमा अगाडि सार्दै माग प्राप्तिका लागि विश्वव्यापी रुपमा आन्दोलनलाई अगाडि बढाउने र हरेक बर्षको मार्च ८ लाई अन्तरर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने निर्णय गरियो । यसरी सन १९११ देखी ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउन थालिएको १०७ बर्ष पूरा भैसकेको छ । तर श्रमिक महिलाहरुको अवस्था भने त्यसबेलाको भन्दा फरक हुन सकेको छैन ।

त्यसैले ८ मार्चको दिनबाट शुरु भएको महिला अधिकारको आन्दोलन आज पर्यन्त जारी छ भन्न सकिने अवस्था बिद्यमान छ । महिलाहरुले आफ्नो हक अधिकारका लागि आन्दोलनबाट प्राप्त गरेका राजनीतिक आर्थिक र सामाजिक अधिकारहरु उल्लेखनीय भए पनि तिनको व्यावहारिक कार्यान्वयन अहिलेको अवस्थासम्म पनि चुनौती नै बनिरहेको छ ।

श्रमिक महिलाका सवालमा प्राप्त भएका उपलब्धीको कार्यान्वयनका लागि स्वयं श्रमिक महिलाको भूमिका प्रभावकारी बन्न जरुरी छ । जब सम्म नीति निर्माणको तहमा महिलाहरुले नेतृत्व गर्ने हैसियतको विकास हुँदैन तबसम्म महिला अधिकार र समानता स्थापित गर्न चुनौती नै छ । तर आम महिलाहरु नै पछाडि परेको वर्तमान अवस्थामा श्रमिक महिलाहरुको अवस्थालाई माथि उठाउन कस्तो नीति अवलम्वन गर्नु पर्ला रु नीति निर्माण तहमा पुगेका पुरुषहरुबाटै केही निष्कर्ष आउनु जरुरी छ  ।

समावेशिताको आन्दोलनले ट्रेड यूनियन आन्दोलन भित्र पनि प्रभाव पारेको छ । ३३ प्रतिशत महिला सहभागिताको मात्रै होइन, मुख्य सवाल भनेको महिलाले पनि नेतृत्व गर्न सक्ने क्षमता राख्ने र महिलालाई पनि नेतृत्वमा पुग्ने अवसर दिनु पर्छ भन्ने सोंचको विकास हुनु जरुरी छ ।

अहिले ट्रेड यूनियनको चहलपहल बढेको छ । तर भित्र के देखिएको छ भने महिलाहरु समावेशिता अन्तर्गत पाएको अवसरलाई मात्र प्रयोग गरिरहेका छन् । जिम्मेवारी लिने तर महिलाहरुको अवस्थाबारे केही पनि नसोच्ने र नबोल्ने । समग्र महिलाहरुको हक र हितका लागि आन्दोलनको नेतृत्व गर्न तत्परता नदेखाउने महिलाहरु पदीय लाभमा भने बसिरहेका देखिन्छन् । नेतृत्वमा पुगेका महिलाहरुले नै आम महिलाहरुको क्षमता विकासतर्फ चासो नदेखाउने समस्या नै श्रमिक महिलाहरुको आन्दोलन भित्रको ज्वलन्त समस्या हो भन्ने मलाई लाग्दछ ।

हाम्रो समाजमा अझै पनि पितृसतात्मक सोच  कायमै छ । महिलाले पनि नेतृत्व गर्नु पर्दछ वा गर्न सक्छन् भन्ने मानसिकता विकास हुन सकेको छैन । संगठनका अध्यक्ष तथा महासचिव जस्ता पदहरुमा महिलाले पनि नेतृत्व गर्नु पर्दछ भन्ने भावना विकास भएको छैन । हुन त हाम्रै देशको राष्ट्राध्यक्ष महिला भएको अवस्था छ । तर राष्ट्राध्यक्षको हैसियतबाट राष्ट्रपतिले महिलाहरुको स्तर माथि उठाउन र हक अधिकार स्थापित गर्न कुनै पहल गरेको देखिदैन । यसरी महिलाहरुको अधिकारका लागि हुने आन्दोलनभित्र महिला सहभागिता र नेतृत्वमा देखा परेको चुनौतीका कारण श्रमिक महिलाका लागि जे जति अधिकार प्राप्त भएका छन्, तिनको कार्यान्वयनमा समेत चुनौती नै खडा भएका हुन् भन्ने बुझ्न कठिन छैन ।

श्रमिक महिलाहरुका सामू समान कामका लागि समान ज्याला, वृत्ति विकास र जिम्मेवारीमा समान अवसर, सेवा सुरक्षाको ग्यारेन्टी, जीवन निर्वाह गर्न पुग्ने तलब सुविधाको व्यवस्था, सामाजिक सुरक्षा र मातृत्व संरक्षण लगायत अधिकार र सुविधा प्राप्तिको बिषयतर्फ ध्यान पुग्नु जरुरी छ ।

श्रमिक महिलाका समस्या समाधानका लागि ट्रेड यूनियन भित्र महिला सहभागिता र नेतृत्व महत्वपूर्ण हुन्छ । अतः ट्रेड यूनियन भित्र महिला सहभागिता अभिवृद्धि गर्न स्वयं ट्रेड यूनियनले विशेष ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ । महिलाको सहभागिता र प्रतिनिधित्व बिना, आन्दोलन सफल हुन सक्दैन भन्ने भावनालाई यूनियन नेतृत्वले आत्मसात गर्न जरुरी छ । साथै महिलाहरुले नै समावशिताका आधारमा नेतृत्वमा पुगेर चित्त बुझाउने होइन, समावेशिताबाट आफ्नो नेतृत्व क्षमताको विकास गरेर समग्र आन्दोलनको नेतृत्व गर्न सक्षम हुने गरी आफूलाई तयार गर्नु जरुरी हुन्छ । समावेशिताका आधारमा नै प्रतिनिधित्व गर्ने विषयले क्षमता विकासमा सहयोग पुग्न सक्दैन । यो सवालमा महिलाहरु सचेत बन्न जरुरी छ ।

सामाजिक न्याय र समानताको मूल्य मान्यतालाई स्थापित गर्ने हो भने महिलाहरुले पनि नेतृत्व गर्न सक्छन् भन्ने मान्यताका साथ महिला सहभागिता बढाउन जोड दिनु पर्दछ । यो दिनको ऐतिहासिक महत्व छ र यस अवसरमा सार्वजनिक बिदा पनि हुन्छ । यस दिनलाई उत्सवको रुपमा मात्र मनाउने नभएर यस दिनको अवसरमा भेला, गोष्ठी, प्रशिक्षण र प्रदर्शन जस्ता कार्यक्रम गरेर व्यापक रुपमा महिलाहरुलाई जागरुक गराउने र सहभागी गराउनेतर्फ ध्यान दिन आवश्यक छ । तर यस बिदालाई केवल घरमा बसेर आराम गर्ने वा अन्य व्यक्तिगत काममा बिताउने होइन । यथार्थमा यो दिवस श्रमिक महिलाहरुको अधिकार प्राप्तिका निम्ति आन्दोलन थालनी भएको दिवस हो । यही बुझाईका साथ आन्दोलित हुँदै देशको राष्ट्राध्यक्षसम्म बन्न सफल नेपाली महिला राष्ट्रपति बिद्यादेबी भण्डारी लगायत अधिकारकालागि लडिरहेका सबै नारीहरुलाई सफलताको शुभकामना !



Share Your Thoughts