कोरोना बिरुद्धको सचेतना प्रचारले मात्र समस्या समाधान हुन सक्दैन !


अगर बत्ती

Dharana    

access_time 25 Feb 2022


- राज्यलक्ष्मी शाक्य
 
 कोरानाले शिथिलता लिएकै हो त ? बिश्वका अन्य मुलुकहरुमा झैं नेपालमा कोरोना संक्रमण घट्दै गइरहेको छ। संक्रमण घटेसँगै सक्रिय संक्रमितको संख्या पनि ओरोलो लागि रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले नेपालमा ११ हजार दुई सय ८२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। यी मध्ये ५ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ।
५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लालाई रेड जोनको रुपमा हेरिन्छ। यसरी ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा मोरङ,काठमाडौं,ललितपुर,कास्की र कैलाली रहेका छन्। यस्तै १० वटा जिल्लामा २०० भन्दा बढी कोरोना संक्रमित उपचारार्थ छन् । ती जिल्लाहरुमा झापा,सुनसरी,धनुषा, सिरहा सप्तरी,भक्तपुर, चितवन, काभ्रे, बाँके र रुपन्देही रहेका छन्।
पछिल्लो २४ घण्टामा तीन सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी आठ हजार एक सय ४० जनाको नमुना परीक्षण गर्दा तीन सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय पाँच जना निको भएका छन्। योसहित कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५२ हजार पाँच सय ९९ पुगेको छ। यही अवधिमा थप चार जना कोरोना संक्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय २५ जना पुगेको छ। 
यसैबीच राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने सन्देश प्रवाह गरेका छन्। काठमाडौंमा गत मंगलबार आयोजित कोभिड १९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रमको उद्घाटन सत्रमा उनले यस्तो भनेका हुन्। 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना, संघीय संसदको संयोजन र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले कोभिड १९ को संक्रमणका विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले यसबारे जानकारी राख्नुपर्ने जनाए। उनले मतदातालाई स्वास्थ्य आचारसंहिता परिपालना र कोभिड विरुद्धको खोप लगाउन प्रेरित गर्न आग्रह गरे।
राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरी बिदाइ हुन लागेका तथा दुईवर्ष कार्यकाल बाँकी रहेका सांसदहरू सहभागी कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले आफ्ना मतदाता र जनतालाई कोभिड १९ को जोखिम र यसको नियन्त्रणमा व्यक्तिको भूमिकाबारे सचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिको भएकोमा जोड दिए ।
सो अवसरमा उनले  कोभिड महामारीले हामीलाई अवसर पनि उपलब्ध भएको र यसका कारणले केन्द्रदेखि स्थानीय तहसम्मको स्वास्थ्य संरचनामा सुधार, जनशक्तिको क्षमता अभिवृद्धि र राज्यको प्रथामिकतामा स्वास्थ्य क्षेत्र परेको जनाए।
उनले गत वर्ष सातवटा प्रदेशमा कोभिड जोखिम सञ्चारसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएपछि सकारात्मक प्रतिक्रिया आएकाले यो वर्ष राष्ट्रिय सभाका सदस्यको सहभागितामा यो कार्यक्रम आयोजना भएको पनि उनले जानकारी गराए । उनले यस्तै कार्यक्रम छिट्टै सातै प्रदेशका प्रदेश सभा सदस्यहरुको उपस्थितिमा क्रमश आयोजना हुने जानकारी दिए। 
त्यसैगरी विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा सम्माृजीराव  पाण्डवले कोरोना जस्ता महामारीले ल्याउने आपत्कालिन अवस्थाबाट कसरी सुरक्षित हुने र कोरोना खोपको आवश्यकता बारे जनतामा सचेतना फैलाउन नेपालका जनप्रतिनिधिले खेलेको भूमिकाको प्रशंसा गरे।
सो क्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले जनप्रतिनिधि जनताका लागि उदाहरणीय पात्र हुने भएकाले जनचेतना फैलाउन सांसदहरूलाई अनुरोध गरे। यो सचेतना कार्यक्रमले जनतालाई कति सचेत बनाएको होला भन्ने बारेमा सरकार बेखबर नै छ । दुई छाक खान समस्यामा रहेका जनताले रु २ हजार शुल्क तिरेर कोरोना परीक्षण कसरी गराउने ? सरकारसँग जवाफ छैन । साथै खोपको उपलब्धता सर्वसाधारणलाई दुर्लभ भैरहेको तर्फ पनि सरकारलाई चासो छैन । प्रचारले मात्र समस्या समाधान हुन सक्दैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ । जनधारणा साप्ताहिकबाट 
 
 


Share Your Thoughts