चीनको छलाङले नयाँ विश्व प्रणालीको सम्भावना देखाएको छ


अगर बत्ती

Dharana    

access_time 20 Jan 2022

-निमकान्त पाण्डे

अमेरिकी शाषकहरुमा देखिएको युद्ध उन्माद र चीनले देखाएको शान्तिपूर्ण बिकासको बाटोमा प्राप्त गरिरहेको सफलताले बिश्व प्रणालीमै नयाँ सम्भावना संकेत भएको छ । अमेरिकाको युद्ध उन्मादलाई चीनले संयमतापूर्ण र शान्तिपूर्ण प्रतिकृयाबाटै आफ्नो सफलता महसुस गरिरहेको छ । तर पछिल्लो पटक चीनका राष्ट्रपति सी जिनपिङले विश्वव्यापी द्वन्द्वले गम्भीर परिणाम ल्याउन सक्ने चेतावनी दिएका छन् । उनले कोरोना संक्रमणको महामारीको सामना गर्न साझा कोशिश गर्नुपर्नेमा पनि जोड दिएका छन् । वर्ल्ड इकोनोमिक फोरमको भर्चुअल बैठकलाई यही माघ ३ गते सम्बोधन गर्दै सीले द्वन्द्वले कुनै पनि समस्याको समाधान हुन नसक्नेमा जोड दिएका छन् । 

स्वीटजरल्याण्डको दाबोस शहरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘संरक्षणवाद र मनोमानी ढंगले काम गर्दा कसैको हित हुँदैन । यसले अरुसँगै आफूलाई पनि क्षति पुग्छ । हामी मनमुटाव विना नै वार्ताको बाटोमा अघि बढ्नुपर्छ ।’चीन र अमेरिकाबीच जारी राजनीतिक र आर्थिक द्वन्द्व जारी रहेका बेला सीको यो अभिव्यक्ति सार्वजनिक भएको हो । उनले भनेका छन्-देशहरुबीच ठोस समन्वय स्थापित गर्न जरुरी छ । समृद्ध देशको गतिविधिले विकासशील देशलाई क्षति नहोस् । चीन सबैलाई साथ लिएर अघि बढ्नुपर्छ भन्ने नीतिमा विश्वास गर्ने सवाललाई सीले प्राथमिकता दिएका छन् । विश्वको अर्थव्यवस्था अझै खराब हुनबाट रोक्नका लागि आर्थिक नीतिमा राम्रो समन्वय गर्न पनि उनले आह्वान गरेका छन् ।

कोरोना महामारीविरुद्धको लडाइँमा चीनको सफलताको चर्चा गर्दै सीले भनेका छन्- चीन विश्वको एकमात्र यस्तो अर्थव्यवस्था भएको देश हो जसले राम्रो नतिजा दिइरहेको छ । एक पछि अर्को गरी हरेक पल अमेरिका र चीनबीच दशकौं पुरानो राजनीतिक , आर्थिक र सामाजिक सम्बन्ध पछिल्लो समयमा झनै धुजा धुजा भइरहेको छ ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता निर्वाचनसम्बन्धी मत सर्वेक्षणमा नराम्ररी पछारिएको देखिएको थियो। उन्को पराजयको कारण चीनसंगको सम्बन्ध पनि आंकलन गरिएको छ । अमेरिकी व्यवहार प्रति आपत्ति जनाउँदै चिनियाँ पक्षले जस्तालाई त्यस्तै नीति अपनाउनु उस्को बाध्यता हुन आउँदछ ।

अमेरिकाले चीनबाट बिश्वलाई नै अलग गराउन प्रयास गरिरहेको छ । चीनलाई पछाडि पारेर अगाडि बढ्ने अमेरिकाको योजना यो बाहेक अर्को देखिदैन । तर चीनले आफ्नो बिकासको गतिलाई निरन्तरता दिनेबाहेक अरु कुनै तिक्तताको बाटो अवलम्वन गरिरहेको छैन ।

राष्ट्रपति सीले चीनको राष्ट्रपतिको जिम्मेवारी सम्हालेलगत्तै देशको विदेश नीतिका मामिलामा सक्रिय हुने नीति तय गरेका हुन् । सी राष्ट्रपति भएपछि चीनको विदेश नीतिमा मुख्य तीन परिवर्तन भएका छन्– चीन केन्द्रित दृष्टिकोणको विकास, विश्वव्यापी मुद्दाहरुमा बढ्दो सक्रियता र छिमेकी राष्ट्रहरुसँग सम्पर्क बिस्तार । चीनको १५ वटा राष्ट्रसँग २२ हजार किलोमिटर सीमा जोडिएको छ । नेपालसँग मात्र चीनको एक हजार ४ सय १४ किलोमिटर सीमा जोडिएको छ । १८ हजार किलोमिटर समुन्द्री किनार छ । यसै कारण पनि चीनले आफ्नो विदेश नीतिमा छिमेकीलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट  हुन्छ ।

राष्ट्रपति सीले आफ्नो पहिलो विदेश भ्रमण छिमेकी रुसबाट सुरु गरेका थिए । घरेलु राजनीतिक स्थिरता चीनको विदेश नीतिको प्रमुख उद्देश्य रहेको छ । छिमेकमा अस्थिरता र अशान्ति भए देशभित्रको शान्तिले मात्र विकास सम्भव नहुने चीनको बुझाइ छ । सीमा विवादका कारण युद्ध नै लडेको भियतनामसँग चीनले यसैकारण सम्बन्ध सुधारेको हो भन्ने पनि स्पष्टै छ ।अमेरिकाकै कारणबाट जापान र दक्षिण कोरियासँग भने चीनको सम्बन्ध तनावपूर्ण नै छ । भारतसँग पनि चीनको सम्बन्ध बन्न नदिन अमेरिकाको जोड रहेको देखिन्छ ।अमेरिकाको हरेक प्रयासका बावजुद पनि चीनले आफ्नो शालिनतापूर्ण गतिलाई निरन्तरता दिंदै अगाडि बढिरहेको छ । पछिल्लो पटक माघ ३ गतेको राष्ट्रपति सीको सन्देशले पनि यस्लाई पुष्टि गर्दछ , `यु्द्ध र द्वन्दले कसैलाई पनि सुखद परिणाम दिंदैन । अमेरिका र चीन दुबै देशको प्रगतिमा बिकाशोन्मुख देशहरुको भबिष्य पनि सुरक्षित हुनु पर्छ ´ राष्ट्रपति सीको यो भनाई नै सन्देशमूलक छ , सबैलाई चेतना भया !-जनधारणा साप्ताहिकबाट



Share Your Thoughts