वैज्ञानिक समाजवाद बाहेक अरु सब समाजवाद सर्वहारा वर्गीय क्रान्तिकालागि भ्रम र धोका हुन्


अगर बत्ती

Dharana    

access_time 13 Jan 2022

-हुकुमबहादुर सिंह

माक्र्स तथा एङगेल्सको सुप्रशिद्ध कम्युन्स्टि घोषणापत्रले पुँजीवादको विकल्पमा वैज्ञानिक समाजवादको स्थापनामा जोड दिएको छ । त्यसमा समाजवादपछि आउने साम्यवादी व्यवस्थाको परिकल्पना पनि गरिएको छ । रुस र चीनमा लेनिन, स्तालिन र माओको नेतृत्वमा वैज्ञानिक समाजवादको स्थापना र विकासका कार्यहरु गरियो तर ती दुवै देशहरुमा सत्ताच्युत गरिएको पुँजीपति वर्गले सत्तामाथि पुनः कब्जा जमायो ।

यसरी सत्तामाथि कब्जा गर्न पुँजीपति वर्गले आफूलाई ती देशहरुका कम्युनिस्ट पार्टीहरुभित्र घुस पैठ गरेर पहिले पार्टीमाथि कब्जा गर्ने अनि समग्र सरकार र सत्तामाथि कब्जा जमाउन सफल भयो । पुँजीपति वर्गले कम्युनिस्ट सत्ताका विरुद्ध विद्रोह गरेर नभई कम्युनिस्ट पार्टीभित्र नै आफूलाई शक्तिमा आसिन गराएर अनि संशोधनवादलाई अगाडि सारेर पुँजीवादको पुनः स्थापना गरेको इतिहास छ । त्यसैले माओले वारम्वार कम्युनिस्ट पार्टीभित्रका पुँजीवादका हेडक्वार्टरमाथि बमबर्षा गर्न निर्देश मात्रै गरेनन, चीनमा पुँजीवादको पुनः स्थापनालाई रोक्न महान सर्वहारा साँस्कृतिक क्रान्तिको सञ्चालन गरे तर माओको देहावसान पछि चीनमा र स्तालिनको देहवसानपछि रुसमा पुँजीपति वर्गले पुँजीवादको पुनः स्थापना गर्न सफल भए । 

ती देशहरुमा अहिले कम्युन्स्टि घोषणापत्रमा अभिलिखित समाजवाद छैन । त्यसैले ती देशमा वैज्ञानिक समाजवाद छैन । किनभने कम्युन्स्टि घोषणापत्रमा अभिलिखित समाजवाद नै आज भनिने गरिएको वैज्ञानिक समाजवाद हो । र उक्त दस्तावेजमा यो स्पष्ट भएर आएको थियो ः सबै असमानताहरुको कारण आर्थिक शोषण हो र त्यसबाट मुक्तिका लागि समाजमा वर्गसंघर्ष हुन्छ । 

अहिले विश्वमा पुँजीपति वर्गले वैज्ञानिक समाजवादको अपरिहार्यता देखेर त्यसलाई दिशाविहीन बनाउन समाजवादको खोल ओढेर प्रतिक्रियावादी समाजवादलाई लोकतान्त्रिक समाजावाद, २१औ शताब्दीको समाजवाद, एउटा देशको विशेषतामा आधारित समाजवादआदि इत्यादी नाममा आ—आफना देशहरुमा लागु गरिरहेका छन् । यही नेपालको वर्तमान संसदवादी र संशोधनवादी कम्युनिस्ट पार्टीहरुवारे पनि सत्य हो । उनीहरु सबैले समाजवादी कार्यदिशाको कुरा गरेर जनतामा भ्रम पारिरहेका छन् । तर सही अर्थमा उनीहरुले भन्ने वैज्ञानिक समाजवाद नभई प्रतिक्रियावादी समाजवाद हो । 

वैज्ञानिक समाजवाद र प्रतिक्रियावादी समाजवादमा पाइने अन्तरहरुमध्ये एउटा मूल अन्तर छ, त्यो हो संशदीय व्यवस्थामा आधारित समाजवाद । चीनमा अर्को समाजवादको प्रयोग गरिएको छ—चीनको बिशेषतामा आधारित समाजवाद । त्यो पनि वैज्ञानिक समाजवाद नभई प्रतिक्रियावादी समाजवाद नै हो । यसरी विश्वमा अहिले वैज्ञानिक समाजवादी सत्ता र सरकार छैनन । 

वैज्ञानिक समाजवाद वाहेक अन्य जे जति नामाकरण गरिएका समाजवाद छन्, ती सबै पुँजीवादी समाज व्यवस्थाभित्रकै विभिन्न नाम हुन । वैज्ञानिक समाजवाद मात्रै सही मानेमा समाजवाद हो । किनभने यसको सपना केवल काम गर्ने वर्ग(मजदुर, किसान, भूमिहीनहरु(ले देखेको सपना हो र यसको प्राप्ती वर्गसंघर्षव्दारा मात्रै सम्भव छ । वर्गसंघर्षव्दारा  पुँजीपति वर्ग तथा सबैखाले प्रतिक्रियावादी सत्तालाई ध्वम्श गरेर र ती सत्ताच्युत वर्गमाथि सर्वहारावर्गको अधिनायकत्वमा आधारित राज्यसत्ताको स्थापनाबाट मात्रै सम्भव छ । 

वर्तमानको पुँजीवादी साम्राज्यवाद जो हजारौँ वर्ष पूरानो सामन्तवाद एवं त्यसको संस्कारसमेत बोकेर आएको छ, त्यसका विरुद्ध थोरै वर्षको मात्र अनुभव प्राप्त गरेको वैज्ञानिक समाजवादको बीचमा भएको लडाइँमा आधा विश्व जितेर हार्नु अस्वाभाविक छैन ।  यो हार भनेको मार्क्सवादी सिद्धान्तमा देखिएका कमि कमजोरीलाई बताएर तिनमा संशोधन गर्नेहरुको बोलवाला वर्तमान विश्व कम्युनिस्ट आन्दोलनमा बलियो देखिएको छ । र नेपालमा पनि यिनै कम्युनिस्टहरु, जसलाई संसदवादी र स.शोधनवादी कम्युनिस्ट भनिन्छ, उनीहरुको बोलवाला छ । 

उनीहरुलाई पनि यो थाहा छ कि सर्वहरावर्गको यो हार अस्थायी र क्षणिक मात्र हो ।  समाजमा दुई वर्ग रहुञ्जेल वर्गसंघर्ष हुँदै अन्ततः इतिहासमा उदीयमान श्रमजिवी वर्गको विजय हुनु निश्चित छ । त्यसैले इतिहासमा उदीयमान श्रमजिवी वर्गको विजयलाई रोक्न अहिले पुँजीपति वर्ग तथा सबैखाले प्रतिक्रियावादीहरु र आफूलाई कम्युनिस्ट भन्नेहरु सबै एक जुट भएका छन् वैज्ञानिक समाजवादलाई रोक्न समाजवादको नारा लिएर । र कम्युनिस्ट क्रान्तिकारीहरुभित्र रहेको पूरानो पुँजीवादी चिन्तन—व्यक्तिगत लाभ—हानी, पद, पैसा, हैकम, रवाफआदि प्रतिको आशक्ति र मोहलाई उपयोग गरेर । 

कम्युनिस्ट क्रान्तिकारीहरु लामो समय क्रान्तिको मार्गमा टिक्न नसक्नुका पछाडि उनीहरुमा विद्यमान पूरानो पुँजीवादी चिन्तन हावी हुँदै जानु र सर्वहारा चिन्तन हराउँदै र कमजोर बन्दै जानु हो । यसका लागि वर्गसंघर्ष कमजोर वन्दै जानु र कम्युनिस्ट क्रान्तिकारीहरुमा नियमित स्कुलिंगको अभाव हुँदै जानु हो । मूलतः वर्ग संघर्ष कमजोर बन्दै जानु र त्यसको स्थान जातीय, धार्मिक तथा अन्य संघर्षहरुले लिनु । यी संघर्ष पनि आवश्यक छन् तर यस्ता प्रत्येक संघर्षले वर्गीय संघर्षको झण्डालाई कमजोर नभई शशक्त बनाउनु पर्छ । 

क्रान्तिकारीहरुले माओको दुईलाइनको निरन्तर क्रान्तिको सिद्धान्तअनुसार पार्टीलाई सर्वहारा वर्गको निगरानी र नियन्त्रणमा राखेर मात्रै हरेक प्रतिक्रान्तिको खतरालाई रोक्न सकिन्छ, जसका लागि  नेता र कार्यकताहरूले निरन्तर आत्मसंघर्ष र आलोचना, स्वआलोचना नहुनु, परिणाम नेता तथा कार्यकर्ता अर्काे वर्गमा क्रमसः रुपान्तरण हुनु र  कार्यकर्ताको मनोवल कमजोर हुँदै जानु र नेताहरूमा निरंकुश प्रवृत्ति हावी हुँदै जानु हो । 

यसका निम्ति माओले भनेका निम्न भनाइहरु सान्दर्भिक छन् – “विचाराधारात्मक राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबैथोक निर्धारण गर्दछ । राजनीतिक कार्यदिशा सही छ भने नभएको चीजहरू पनि क्रमशः प्राप्त हुँदै जान्छ । राजनीतिक कार्यदिशा गलत छ भने भएका चीजहरू पनि गुम्दै जान्छ ।” 

राजनीतिक कार्यदिशा कम्युनिस्ट पार्टीको जीवन हो ।  माओले राजनीतिक कार्यदिशालाई धमनीको रुपमा परिभाषित गरेका छन् । सर्वहारावर्गको कार्यदिशा वैज्ञानिक समाजवाद हो र यसको प्राप्ती वर्गसंघर्षबाट मात्रै सम्भव छ , वैज्ञानिक समाजवाद बाहेक अरु सबै समाजवाद सर्वहारा वर्गीय क्रान्तिकालागि भ्रम र धोका हुन  । जनधारणा साप्ताहिकबाट 




Share Your Thoughts