हिन्दू परम्परा र खसहरुको जातवर्णमोहको औचित्य


अगर बत्ती

Dharana    

access_time 13 Jan 2022

–चन्द्रप्रकाश बानियाँ

भारतमा अँग्रेजहरुको आगमनपूर्व “हिन्दू” नामको कुनै धर्म अस्तित्वमा थिएन । त्यसको मतलब हिन्दू धर्मको जन्मदाता पश्चिमा थिए भन्ने पनि होइन । हिन्दू धर्मको न्वारान अँग्रेजहरुले गरिदिएका हुन । त्यसको अर्थ अँग्रेजको आगमनपूर्व वेनामी धर्म हिस्दुस्तानमा प्रचलनमा थियो भन्ने पनि होइन । धर्म त थियो तर त्यसको नाम हिन्दू थिएन । अहिले हिन्दू भनिने धर्मको नाम “ब्राह्मण धर्म” थियो । 

इशापूर्व प्रथम शताब्दीतिर महान सम्राट अशोकवंशको हातबाट शासनसत्ता खोसियो र सुङ्गवंश स्थापित भयो । सुङ्गवंशको स्थापनापछि बुद्धधर्मको विनाश निम्तियो, ब्राह्मण धर्मको उन्नयन भयो । रामायण महाभारतहरु त्यही समयमा लेखाइएका हुन भनिन्छ । तर त्यसमा पनि सत्यताको अंश निकै कम छ । किनकि सबै संस्कृत ग्रन्थहरु देवनागरी लिपिमा लेखिएका छन् र सुङ्गकालमा देवनागरी लिपी ग्रन्थ लेखनमा उपयोग हुने हैसियतमा थिएन । विकासको प्रारम्भिक चरणमै थियो । 

सुङ्गकालको धार्मिक अभियान माओवादी शसस्त्र विद्रोह कालको नेपालको राजनीति जस्तै थियो । जसरी सेरबहादुर देउवाले माओवादी नेताहरुको टाउकोको मोल तोकेका थिए त्यसैगरी पुष्यमित्र सुङ्गले बौद्ध भिक्षुको एउटा टाउको ल्याउने बहादुरलाई सुनका सय असर्फी दिने उर्दी जारी गरेका थिए । सुङ्गवंशको शासनकालमा स्तुपाहरु भत्काइए, बौद्ध विश्वविद्यालयहरु विनाश गरिए, बौद्ध ग्रन्थहरु जलाइए, बुद्धिष्टहरुको खोजी खोजी हत्या गरियो । बौद्ध भिक्षुहरु ज्यान जोगाउन यत्रतत्र भागे । विश्वमा बुद्ध धर्मको विस्तार हुनुको एउटा कारण त्यो पनि थियो । भारतवर्षबाट लगारिएका बौद्ध गुरुहरु जहाँ जहाँ पुगे त्यहाँ त्यहाँ बुद्धको सन्देश फिँजाए । 

बुद्ध धर्मको विनाशलिला सुङ्गवंशमै सिमित रहेन । त्यसपछि पनि त्यो सिलसिला चल्यो । सुङ्गवंश दुई शताब्दी पनि चलेन । त्यो वंशलाई कुषाणहरुले विस्थापित गरिदिए । कुषाणवंशी प्रथम राजा कनिष्कले बुद्धधर्मलाई पुनस्थापित गरिदिए । तर आठौं शताब्दीको अन्ततिर दक्षिण भारतको ब्राह्मण परिवारमा जन्मेका आदि शंकराचार्यले फेरि अर्कोचोटि बुद्धधर्म विनाशको रक्तपातपूर्ण अभियान चलाए । त्यसपछि भारतवर्षमा बुद्ध धर्म लगभग थला प¥यो । फेरि तङ्ग्रिनै सकेन । शंकराचार्यको प्रभावबाट नेपाल पनि मुक्त रहेन । 

नेपाललाई हिन्दु बहुमत भएको मुलुक हो भनिन्छ । जनगणना– २०७८ ले त्यस्तै विवरण सार्वजनिक गर्नेछ । नेपालमा हिन्दू धर्म कताबाट आयो भन्ने प्रश्न सोध्नुपर्ने आवश्यकता छैन । अवश्य, त्यो भारततिरबाट उक्लेको हो । टपर्टुइयाँ विद्वानहरुले भनेजस्तो हिन्दु धर्मको उद्गमस्थल नेपाल होइन । हो, हिन्दू धर्म मात्र दक्षिणबाट आएको हो कि हिन्दूहरु पनि उतैबाट आएका हुन भन्ने विषय भने निर्विवाद छैन । मुस्लिमकालमा इस्लामिक उत्पिडनबाट आफू जोगिन र धर्मसंस्कृति जोगाउन हिन्दूहरु नेपाल उक्लेका हुन् भनेर पण्डितहरुले दावी गर्छन् । ऐतिहासिक तथ्यले भने त्यस्तो संकथनलाई प्रमाणित गर्दैन । 

मुस्लिमकालमा होस् वा अँग्रेजकालमा हिन्दू धर्ममाथि कुनै अत्याचर भएको थिएन । ब्राह्मण र महिलाहरुलाई त मुस्लिमकालमा लगाइएको जजिया नामको धार्मिक कर पनि लाग्दैनथ्यो । अर्थात धर्म मात्र होइन, धर्मका ठेकेदार ब्राह्मणहरु पनि मुस्लिम शासकबाट संरक्षित थिए । बढ्दो आवादीलाई विनापरिश्रम धान्न मुस्किल भएको हुनाले ब्राह्मणहरु जनै र कुश समातेर हिमालतिर उक्लेका हुनसक्छन् । मुस्लिम राजा अकबरले त हिन्दू र मुस्लिम धर्मका राम्रा कुराहरु मिलाएर नयाँ र साझा धर्मको विकास गर्ने प्रयत्न गरेका थिए । सुफी सम्प्रदायको विकासको आधार त्यही थियो भनिन्छ । धार्मिक हिसाबमा सबभन्दा कट्टर मानिने औरङ्गजेबले पनि आफ्ना पराजित प्रतिद्वन्दीहरुलाई इस्लाम ग्रहण गर्न बाध्य पार्थे । सर्वसाधारणलाई उनले पनि छोएको इतिहास प्रमाण फेला पर्दैन । दिल्लीका राजा भए पनि औंरङ्गजेबको अधिकांश आयु दक्षिणमा बितेको थियो । शिवाजीसंगको लडाईमै उनको जिन्दगी बितेको थियो । 

मुस्लिम शासनलाई अंग्रेजले विस्थापित गरिदिए । अंग्रेज शासन त हिन्दू धर्मका लागि वरदानसिद्ध भएको थियो । पहिलो संस्कृत विश्वविद्यालय अंग्रेज शासनकालमै स्थापना भएको थियो । भारतका कुना कुनामा छरिएर रहेका हस्तलिखित संस्कृत ग्रन्थहरु संकलन, संरक्षण र पुनः मुद्रणको व्यवस्था अँग्रेजहरुले नै गरिदिएका हुन् । अन्य भाषामा अनुवाद गरेर प्रचार गरिदिने कामको सुरुवात पनि अँग्रेजहरुले नै गरिदिएका हुन् । गोरखपुरमा कल्याण नामको प्रकाशन गृह स्थापना गरेर संस्कृत ग्रन्थहरुको प्रकाशन र अनुवाद गर्ने व्यवस्था पनि अँग्रेजहरुकै थियो । अंग्रेज शासनका कारणले मुलुकलाई अरु नोक्सानी भयो होला तर धर्म संस्कृतिको क्षेत्रमा ठूलो उन्नति भएको थियो । मुस्लिम र अँग्रेज शासकहरुको उद्देश्य समान भने थिएन । मुस्लिमहरुले भारतलाई नै आफ्नो देश बनाएका थिए । उनीहरुको उद्देश्य भारत लुट्ने थिएन । अँग्रेजहरु भने साम्राज्यवादी शोषणको उद्देश्यले आएका थिए । 

सन् १८८१ मा अंग्रेज सरकारले  भारतमा धार्मिक जनगणना गरायो । अँग्रेजको उद्देश्य भारतमा क्रिस्चियन र इस्लामहरुको संख्या कति रहेछ भनेर जान्नु थियो । त्यसैले जनगणना संकलनको लागि तयार गरिएको फारममा तीनवटा महल मात्र राखियो । क्रिस्चियन, मुस्लिम र अन्य । सजिलोका लागि अन्यलाई हिन्दू नाम दिइयो । त्यसरी इस्लाम र क्रिस्चियनबाहेक अरु सबैलाई हिन्दू भनियो । बुद्धिष्ट र शिखलाई समेत हिन्दू धर्म अन्तर्गत राखियो । अँग्रेज सरकारले निर्माण गरेको त्यही अवाधारणामा टेकेर आजकाल “ओमकार समूह” भन्न थालिएको हो । 

हिन्दू भन्ने संज्ञाको अर्थ के थियो ? कसलाई हिन्दू भनिन्थ्यो त ? हिन्दू भनिनेहरु को थिए ? वास्तवमा हिन्दू भन्ने शब्दावली भूमिसँग सम्बन्धित छ । सिन्धुपारिका बासिन्दालाई “हिन्दू” भन्ने गरिएको हो । सन् १८८१ को जनगणनापूर्व  हिन्दूस्तानमा रहने बस्ने जुनसुकै जाति वा धर्मको मानिसलाई हिन्दू नामले सम्बोधन गरिन्थ्यो । नेपालमा बस्ने सबै नेपाली भनेजस्तै सिन्धुपारिको भूमिमा बस्ने अर्थात हिन्दूस्तानमा बस्ने सबै हिन्दू भनिन्थे । हिन्दू एउटा राष्ट्रियता बनेको थियो । १८८१ को जनगणनापछि क्रिस्चियन र मुस्लिमबाहेक अन्य सबैलाई हिन्दू भन्न थालिएको हो । 

पहिले भूमिले हिन्दूस्तान नाम पायो । त्यसपछि हिन्दूस्तानमा बस्ने मानिसले हिन्दू नाम पाए । १८८१ को जनगणनाले मुस्लिम र क्रिष्चियनबाहेक अरुलाई हिन्दू बनायो । र त्यो जनगणना धार्मिक भएको हुनाले हिन्दूस्तानमा बस्ने हिन्दूहरुले मान्ने धर्म पनि हिन्दू भयो । त्यसपूर्व हिन्दू धर्मको नाम ब्राह्मण धर्म थियो । ब्राह्मण धर्म जातिमा आधारित थियो । समाज वर्णमा विभाजित थियो । सानो र ठूलो जातिको मान्यता स्थापित थियो । समाजलाई सानो ठूलो जातको आधारमा विभाजित र विभेद गरिन्थ्यो । वर्ण वा जातको शिर्ष स्थानमा ब्राह्णलाई राखिन्थ्यो । यद्यपि राज्यशासनको शिर्ष स्थानमा क्षत्री वर्ण रहने भए पनि व्यवहारमा ब्राह्मण वर्चस्व अभ्यासमा थियो । ब्राह्मणको सल्लाह र सहमतिमा मात्र शासन चल्दथ्यो । राज्यको अलग ऐन कानून हुदैनथ्यो । ऐन नियम ब्राह्मणको मर्जिमा चल्दथ्यो । मनुस्मृति त्यसैको उदाहरण हो । त्यसैले सर्वोच्च स्थानमा रहेका भनिएका राजाको पहिलो कर्तव्य ब्राह्मण र ब्राह्मणको सम्पत्तिको रक्षा मानिन्थ्यो । सारा पृथ्वी ब्राह्मणको स्वामित्वमा रहेको मानिन्थ्यो र धर्तीको उपयोग गरेवापत ब्राह्मणलाई राज्यले करण तिनुपथ्र्यों । ब्राह्मणसमाजको जीविकाको बन्दोबस्त गर्नुपथ्र्यो । उचनिचको मर्यादाक्रममा ब्राहम्ण सबभन्दा माथि हुने मात्रै होइन, दश वर्षको ब्राह्मण बालक १०० वर्षको बृद्ध क्षत्रीको बाबुसमान मानिन्थ्यो । खुट्टामा ढोग्नुपर्ने नियम थियो । राजाको लागि पनि ब्राह्मणको चरणस्पर्श अनिवार्य थियो । 

ब्राह्मण धर्मको आधार ब्राह्मणवाद थियो । ब्राह्मणवादका आधारमा समाज र राज्य चल्दथ्यो । त्यसैले ब्राह्मणवाद भनेको सामाजिक रीति मात्र थिएन शासन सञ्चालनको एउटा दर्शन पनि थियो । ब्राह्मण धर्म अर्थात हिन्दू धर्म यति अमानवीय थियो कि एकजना अँग्रेज विद्वान विसप रिजेन्ड होबरले “ब्राह्मण धर्म यति अमानवीय, क्रुर, ह्रिंसक र अत्याचारी छ कि त्यस्तो सोच सैतानको पनि हुन सक्तैन” भनेका छन् । ब्राह्मण धर्मले मानव समाजलाई जातको आधारमा वर्गीकरण गरेको मात्र होइन, मानिस मानिसबिचमा उचनिचको पर्खाल खडा गरेको मात्र होइन, कुन जात वर्णले कुन व्यवशाय अपनाउने र कुन जातको कस्तो मर्यादा रहने भनेर वर्गीकरण गथ्र्यो । श्रमलाई घृणा गर्न सिकाउँथ्यो । श्रम निच जातिको ठेक्का मान्थ्यो । उपल्ला भनिएका जातिले विनापरिश्रम अरुको पसिना हसुर्थे । 

ठूला जातिका मानिसले श्रम गर्नु लज्जाको विषय मानिन्थ्यो । ब्राह्मणलाई सबै किसिमको श्रमबाट मुक्त गरिएको थियो । जीविकाको लागि ब्राह्मणहरुले् श्रम गर्नुनपर्ने नियम कडाइका साथ पालना गरिन्थ्यो । ब्राह्मण समाजको भरणपोषणको दायित्व राज्यले लिन्थ्यो । ब्राह्मणको भार समाजमाथि थोपरिएको थियो । शान्तिसुरक्षाको जिम्माको नाममा क्षत्रीहरु पनि उत्पादन र श्रमबाट अलग रहन्थे । जसले सैनिक सेवा गर्न सक्तैनथ्यो, जन्मले क्षत्री भए पनि उसको जात घटुवा हुन्थ्यो । वैश्यमा झरालिन्थ्यो । विनापरिश्रम जीवननिर्वाहको बन्दोबस्त मिलाउनु क्षत्री समाजले सानको विषय मान्थ्यो, सामाजिक इज्जतको विषय ठान्थ्यो । 

ब्राह्मण, क्षत्री, वैश्य र शूद्र ब्राह्मण धर्मले गरेको सामाजिक वर्गीकरण थियो । उपल्ला जातवर्णको सेवा गर्नु शूद्रको जिम्मेवारी मानिन्थ्यो । घरबाहिरको काम गर्ने दासहरुलाई शूद्रभन्दा पनि तल्लो श्रेणी अर्थात अछुत बनाइएको थियो । अर्थात दास दासी भए पनि घरको कामकाज गर्न नपाउने कोटीमा अछुतहरुलाई राखिएको थियो । प्रारम्भमा ब्राह्मण धर्मले चार वर्णको मात्र व्यवस्था गरेको थियो । चार जातभन्दा बाहिरका लागि जातिवर्ण बाहिर अर्थात अवर्ण भनिन्थ्यो । अतिशूद्र मानिन्थ्यो । मूलतः गैरहिन्दू समुदायका मानिसलाई अछुतको कोटिमा राखिन्थ्यो । आज जो जो अछुत छन् ती गैरहिन्दू नै हुन् । गैरआर्य समुदायका वा कुनै अपराधवापत जातिच्यूत गरिएका आर्यहरुलाई सगोलमा शूद्र भनिएको हुन् । जो शूद्र गैरआर्य थिए ती स्वभावतः अछुत रहे र जातिच्यूत हुने अर्थात हिन्दू वर्ण व्यवस्थाबाट वेदखल गरिएका आर्य पनि अछुत बनाइए । 

अछुत मानिएका समुदायहरुले आफूलाई हिन्दू मान्नु र खसहरुले आफूलाई हिन्दू मान्नु उस्तै उस्तै बुझाई हो । हिन्दू व्यवस्थामा जन्मले मात्र हिन्दू हुन पाइन्छ । कर्मले कोही पनि हिन्दू हुन पाउँदैन । सक्तैन । फिरोज खानले इन्दिरा गाँधीसंग विवाह गर्नुपूर्व हिन्दू धर्म ग्रहण गरेका थिए । उनी फारसी थिए । मुस्लिम थिएनन् । उनको औपचरिकरुपमा धर्मान्तरण भएको थियो र पनि उनका छोरा नातिको धर्मप्रति भारतीय समाजले आज पनि प्रश्न उठाउन छोडेको छैन । त्यसको कारण त्यही हिन्दू धर्मको जड परम्परा हो । राजिब गान्धीका बाबुले हिन्दू धर्म लिएका थिए । सोनिया गान्धीले पनि हिन्दू धर्म लिएकी हुँदी हुन् । नेपाल भ्रमणको बेला नेपालको राजशाहीले उनलाई हिन्दू मान्न इन्कार ग¥यो । पशुपतिको दर्शन गर्ने अनुमति दिएन । किनकि उनी गैरआर्य र गैर हिन्दू परिवार र जातिमा जन्मेकी थिइन् । राजिव गान्धी र तत्कालीन राजा विरेन्द्रबिचको चिसो सम्बन्धको कारण त्यही थियो । 

खस एउटा अलग जाति हो । गैरआर्य र गैरहिन्दू समुदाय हो । हिन्दू परम्पराअनुसार खसहरुलाई हिन्दू बन्ने अधिकार थिएन । खस राजाहरुले हिन्दू धर्मको त्यो नियम तोडे । जनै लगाए । ठकुरी क्षत्री बने । रजपूत बने । राजाको सिको जनताले पनि गरे । खसहरुको काँधमा जनै पर्नुको कारण त्यही थियो । हिन्दू मान्यता अनुसार शूद्रको कोटीमा गणना हुने खसजातिले वैश्यको मान्यता पायो । जङ्गबहादुरको उदयले खसहरुको जात एक तह माथि उक्लिने संयोग जु¥यो । खसहरु सगोलमै क्षत्री भनिए । 

पछिल्लो समयमा खासगरेर, जनगणना–२०७८ को सेरोफेरोमा कैयौं खसहरुले आफ्नो जातिको खोजी गर्नुपर्ने आवश्यक ठाने । जाति खस लेखाए । धर्म मष्ट लेखाए । कैयौंले जातको महल खाली राखे । जनगणनाको फारमले मष्टलाई चिन्दैनथ्यो । फारम विकास हुनुपूर्व नै खसहरुले बल पु¥याउन सकेनन् । त्यसैले अन्यको महलमा मष्ट लेखेर चित्त बुझाए । डाटा प्रोसेस गर्दा खसहरु अन्यमा पर्नेछन् । उनीहरुको अलग अस्तित्व देखिने छैन । कतिजना खसले मष्ट धर्म लेखाए भन्ने कुरा सार्वजनिक जानकारीमा आउने छैन । 

राज्यले खस जातिलाई भिन्न परिचय दिने रुचि राख्दैन । पहिचान दिन चाह्ँदैन । किनकि त्यसो हुँदा राज्यसंयन्त्रमा वर्चस्व स्थापित गरेको आर्य समुदायलाई घाटा पर्छ । हुन त खस र आर्यको लडाईको विषय राज्यबाट छुट्टिने सुविधाको कोटाको लुछाचुँडी होइन भन्न मिल्दैन । जातिमा गौरव गर्ने खसहरुको संख्या कति नै पो छ र ? जातिको महत्वबोध गर्ने खसहरुको संख्या न्यून छ । यदि लडाई केबल समानुपातिक कोटाकै लागि हो भने पनि जसले धर्मको महलमा मष्ट लेखाउने हिम्मत गरेका छन् उनीहरु राजिखुसीले हिन्दू धर्मबाट अलग भएका हुन भनेर मान्नुपर्छ । विडम्बना नै भन्नुपर्छ जनगणनामा मष्ट धर्म लेखाइयो भनेर गर्व गर्ने खसहरुले पनि अझै आफूलाई क्षत्री भनाउने रहर छोड्न सकेका छैनन् । 

क्षत्री, बाहुन, वैश्य र शूद्रको वर्णविभाजन हिन्दू धर्ममा मात्र हुन्छ । हिन्दू समाजमा मात्र हुन्छ । संसारको अरु कुनै धर्ममा जात व्यवस्था छैन । इस्लामिक ब्राह्मण, क्रिस्चियन क्षत्री, बौद्ध वैश्य वा शिख शूद्र हुदैन । क्षत्री, बाुहन, वैश्य, शूद्र भनिनका लागि हिन्दू नै हुनुपर्छ । मष्टलाई धर्म मान्ने हो भने क्षत्री लेख्न मिल्दैन । हो, हिन्दू धर्म नछोड्ने खसहरुले भने आफूलाई खसबाहुन, खस क्षत्री, खस वैश्य वा खस शुद्र लेख्न ÷भनाउन मिल्छ । जनधारणा साप्ताहिकबाट




Share Your Thoughts