माकेको आठौ महाधिवेशनको सन्दर्भमा माक्र्सको ‘गोथा कार्यक्रमको आलोचना’


अगर बत्ती

Dharana    

access_time 09 Jan 2022

-हुकुमबहादुर सिंह

नेकपा(माओवादी केन्द्र)को आठौ महाधिवेशनको समाजवादरुपी कर्मकान्ड सकिएको छ । यसले विभिन्न कम्युनिस्टहरुको एकतालाई जोड दिने भनेको छ र माधव नेपालले त यो अभियान चलाई सकेका छन् । यी सबैलाई हेर्दा एकपटक माक्र्सव्दारा लिखित ‘गोथा कार्यक्रमको आलोचना’को सान्दर्भिकता झन बढेको छ ।

युरोपमा जवर्जस्तरुपमा फैलिएको लासालवादी अवसरवादका विरुद्ध सन् १८७५ मा माक्र्सले लेखेको ‘गोथा कार्यक्रमको आलोचना’ सन् १८९१ मा पहिलोपल्ट प्रकाशित भएको थियो । सन् १८७५देखि सन् १८९१, बीचको करीव १५ वर्षको अवधिमा अवसरवादीहरूका विरुद्ध तीव्र सङ्घर्षहरू भएका थिए । भौतिकवादी द्वन्द्ववादको विकासमा अन्तर्वस्तुका दृष्टिले यसलाई समृद्ध बनाउने क्रममा माक्र्सले पुँजीवादको यथाशीघ्र पतन र साम्यवादको विकासका सन्दर्भमा कम्युनिस्ट समाजको तल्लो र उच्च तहसित सम्बद्ध नखोलिएका पानाहरूलाई अगाडि ल्याएका थिए र साम्यवादी समाजको उच्च पक्षलाई सबैका सामु प्रस्तुत गरेका थिए ।

अहिले विश्वमा र नेपालली कम्युनिस्ट आन्दोलनमा लासालवादी अवसरवादको भूत माक्र्सवादको च्यादर ओडेर घुमिरहेको छ—चीनीयाँ विशेषताको समाजवाद, एकाइसौ शताव्दीको समाजवाद आदि आदि नाममा ।

एकता र फूटका सन्दर्भमा मात्र नभई आन्दोलनमा विचारको कति सारो महत्व हुन्छ भन्ने कुरालाई ‘गोथा कार्यक्रमको आलोचना’ ले प्रस्ट पार्दछ । यसले अवसरवाद र क्रान्तिकारी माक्र्सवादबीचको सङ्घर्षलाई उजागर गर्छ । कतिपय घटनाहरू अहिलेको विश्व परिस्थिति र नेपालको परिस्थिति सित पनि मिल्दाजुल्दा छन् ।

‘गोथा कार्यक्रमको आलोचना’ मार्फत माक्र्सले दृढताका साथ पुँजीवादी समाज र साम्यवादी समाजमा रूपान्तरण हुने अवस्था भनेको सङ्क्रमणको अवस्था हो, जसमा राज्य सर्वहाराको अधिनायकत्वबाहेक अरू केही पनि हुन सक्तैन भन्ने कुरा प्रस्ट पारेका छन् ।

अक्टोवर क्रान्तिव्दारा रूसी सर्वहाराले महान् लेनिनको नेतृत्वमा सशस्त्र सङ्घर्षद्वारा अक्टोवर क्रान्ति सम्पन्न गर्यो र सर्वहारा वर्गको क्रान्ति र सर्वहारा वर्गको अधिनायकत्व स्थापनाको नयाँ युगको अगुवाइ गर्यो । अक्टोबर क्रान्तिको ३२ वर्षपछि माओको नेतृत्वमा दीर्घकालीन क्रान्तिकारी युद्धमार्फत चिनियाँ जनताले साम्राज्यवाद, सामन्तवाद र नोकरसाही पुँजीवादी शासनसत्ता मिल्काए र चीनमा सर्वहारा अधिनायकत्व स्थापित गरे ।

यद्यपि क्रान्तिको बाटो कठिन र घुमाउरो छ र अक्टोबर क्रान्तिको जन्मभूमि रूसमा पुँजीवादको पुनसर््थापना भएको छ, क्रुस्चेव र ब्रेजनेव गद्दार गुटले पार्टी र राज्यसत्ता कब्जा ग¥यो । चिनियाँ जनताले मिल्काएको साम्राज्यवाद, सामन्तवाद र नोकरसाही पुँजीवादी शासनसत्ता र चीनमा सर्वहारा अधिनायकत्व सव ध्वस्त पारिएको छ र भनिएको छ चीनको विशेषताका आधारमा समाजवाद भनेर तर ‘गोथा कार्यक्रमको आलोचनाका सम्बन्धमा’ सर्वहारा क्रान्तिका सिद्धान्तहरू र सर्वहारा अधिनायकत्वसम्बन्धी मान्यताहरू,जो एउटा सही कम्युनिस्ट सत्ताका लागि अकाट्य सत्यहरू हुन, अस्तित्वविहिन बनाइएको छ ।

कम्युनिस्ट आन्दोलनको इतिहासमा अवसरवादका विरुद्ध माक्र्सवादले गरेको सङ्घर्षमा ‘गोथा कार्यक्रमको आलोचना’ को उच्च महत्व रहेको छ । सन् १८७० दशकमा अन्तर्राष्ट्रिय श्रमजीवीहरूको सङ्घर्षको केन्द्र फ्रान्सबाट जर्मनीतिर सर्यो, जर्मन मजदुर आन्दोलन गतिका साथ विकसित भइरहेको थियो । लासालवादका विरुद्धको सङ्घर्षपछि र माक्र्स–एङगेल्सको प्रत्यक्ष प्रशिक्षित र निर्देशित भएपछि त्यतिबेर जर्मन सर्वहाराले आफ्नो स्वतन्त्र पार्टी जर्मन–सामाजिक जनवादी श्रमिक पार्टी स्थापना गरे ।  यस पार्टीका कार्यक्रमहरू लासालवादी अवसरवादी प्रभावबाट पूर्णरूपमा मुक्त हुन नसके पनि यो आफूलाई सामान्यतः आधारभूत रूपमा माक्र्सको क्रान्तिकारी लाइनमा रहेको पहिलो अन्तर्राष्ट्रियको स्पिरिट र आम नीतिनियमभित्रै रह्यो । यसकारण यसलाई मजदुरहरूको बढ्दो संख्याको समर्थन थियो । लासालवादीहरू, जो एक समय निकै शक्तिशाली थिए र जो जर्मन–सामाजिक जनवादी श्रमिक पार्टीको विरुद्धमा थिए, उनीहरूले अवसरवादी लाइन लिए र जमिनदार र पुँजीपति वर्गहरूको स्वार्थ पूरा गर्ने बाटो समाते, उनीहरूले विस्तारै आमजनसमुदायको समर्थन गुमाउँदै गए र अन्ततः एकदमै अलगथलग हुनपुगे । यस किसिमको स्थितिमा सन् १८७४ मा लासालवादीहरूले पहिले जर्मन–सामाजिक जनवादी श्रमिक पार्टीसित संयुक्त भएर जान इन्कार गरेको अडान त्याग्दै आफ्नो खस्कदै गएको हैसियत जोगाउन उनीहरूसित एकता गर्न एकदमै तत्पर भए ।

यस किसिमको स्थितिको सामना गर्दै माक्र्स–एङगेल्सको, जसले जर्मन श्रमजीवी वर्गको आन्दोलनप्रति सदैव एकता र ऐक्यबद्धता जनाउँदै ऊजा प्रदान गरेका थिए, र एकता नै हुन नसक्ने भन्ने होइन भन्दै संगठनात्मक एकताको प्रश्नमा सिद्धान्तमा कुनै पनि किसिमको सौदाबाजी हुन सक्तैन भन्दै निरन्तर जर्मन–सामाजिक जनवादी श्रमिक पाटीका नेताहरूलाई सचेत पनि गराएका थिए । सन् १८७५ मा अगस्त बेबेललाई लेखेको चिठीमा लासालवादीहरूसित सिद्धान्तको प्रश्न, जुनचाहिँ एकताको प्रधान पक्ष हो, यसमा अलिकति पनि छुट हुने छैन भन्ने कुरामा जोड दिँदै भनेका थिए –“एकताको पहिलो सर्त उनीहरूले लासालवादी फूटपरस्तवादीहरूलाई परास्त गरेको हुनुपर्छ ।”

तर लिब्कनेख्त र अरूहरू जो एकताका लागि पहिलेदेखि नै प्रयासरत थिए, माक्र्स–एङगेल्सको सल्लाहलाई अस्वीकार गर्दै उनीहरू आफ्नै किसिमले अघि बढे । उनीहरूले सिद्धान्तलाई तिलाञ्जली दिए र लासालवादीहरूले तयार पारेको मिसमासे एकता मस्यौदा प्रस्तावमा सामेल भए, जुन सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्वको सिद्धान्तबाट विचलित थियो र लासालवादीहरूको अवसरवादमा आधारित थियो । यही दुइटा समूहको एकता महाधिवेशनका लागि तयार पारेर स्वीकृत गरिएको ड्राफ्ट नै गोथा कार्यक्रम थियो । सो गोथा कार्यक्रमप्रति आफ्नो सैद्धान्तिक अडान प्रस्ट पार्दै, यसको गलत चिन्तनबाट अन्तर्राष्ट्रिय मजदुर आन्दोलनमाथि पर्ने प्रभाव रोक्न, समग्र रूपमा, हरफहरफमा एकता महाधिवेशनअघि नै यसको निर्ममतापूर्वक आलोचना गर्दै माक्र्सले ‘जर्मन श्रमजीवी पार्टीको कार्यक्रमप्रति आलोचनात्मक टिप्पणीहरू’ शीर्षकमा दस्ताबेज लखेका थिए, र त्यही दस्ताबेज नै पछि गएर ‘गोथा कार्यक्रमको आलोचना’ को नामले प्रख्यात छ ।

गोथा कार्यक्रमवारे माक्र्सले यसो भनेर प्रस्ट पारेका थिए “समग्र रूपमै आपत्तियोग्य कार्यक्रम हो, जसले पार्टीको शिर झुकाउँछ” । उनले यसको आपत्तिजनक भाग भनेको– “राज्य सहयोग” मार्फत समाजवादको स्थापनालाई स्वीकार गर्नु र सर्वहारा क्रान्तिको विसर्जन गर्नु हो, समाजवादलाई ‘‘राज्यसहयोग” मा ढाल्दै ‘स्वतन्त्र राज्य’ का लागि सङ्घर्षलाई अगाडि सारेर अन्तर्राष्ट्रिय सहयोगमार्फत समाजवाद स्थापना गर्ने लासालवादी विचारप्रतिको समथर्न र सर्वहारा अधिनायकत्वको विसर्जन हो ।

माक्र्सले थप जोड दिंदै भनेका थिए—गोथा कार्यक्रमको मूल सारतत्व ः सर्वहरा क्रान्ति र सर्वहारा अधिनायकत्वको विसर्जन थियो ।

गोथा कार्यक्रम सन् १८७१ को पेरिस कम्युन क्रान्तिपछि आएको थियो। त्यतिबेला

माक्र्स–एङगेल्सले पेरिस कम्युनसम्बन्धी आफ्नो अनुभवको सार निकाल्दै भनेका निम्न भनाई कति महत्व ।ाख्ने छन् जसले कम्युनिस्ट आन्दोलनले गर्नु पर्ने काम वारे स्पष्ट पारेका छन्, जसमा भनिएको छ— सर्वहाराका सामु विद्यमान बुर्जुवा राज्य मेसिनरी कब्जा गरी ध्वस्त पारेर सर्वहारा राज्यसत्ता स्थापना गर्नुपर्ने हुन्छ । माक्र्सले संश्लेषण गरेको यस किसिमको महत्वपूर्ण अनुभवलाई बेवास्ता गर्दै लिब्कनेख्त र अरूहरू, “सबै लासालवादी, मूलतः आर्थिक पदावलीहरू र दाबीहरू र लासालको मुर्खतापूर्ण विचार स्वीकारेर” पछाडि फर्किए । कम्तीमा पनि कार्यक्रमको आधारमा भन्दा “जर्मन–सामाजिक जनवादी श्रमिक पार्टी साँच्चिकै लासालवादी भयो ।” लासालवादीहरू नक्कली समाजवादी थिए र मूलतः बुर्जुवा समाजवादीहरू थिए । तिनीहरूले विद्यमान समाजबाटै, विद्यमान समाजको आधारलाई यथावत सुरक्षित राखेर नयाँ समाज निर्माणको बाटोको अडान लिए ”(एङगेल्स साम्यवादका सिद्धान्तहरू) । यसले गोथा कार्यक्रमभित्रको लासालवादी यथास्थितिवादलाई प्रस्ट रूपमा सतहमा ल्याइदियो । नेपालमा पनि लासालवादीहरु जसले आफूलाई माक्र्सवादी भनेर आम जनता र बुद्धिजीवीहरुमा भ्रम पार्दै छन्, त्यसको भण्डाफोरको आवश्यकता छ । तिनीहरुले आफूलाई हामी माक्र्सवादी हो्इनौ, लाशालवादी हौ भन्ने हिम्मत गरुन ।- जनधारणा साप्ताहिकबाट



Share Your Thoughts