मष्टलाई जाति धर्मको रुपमा किन लेखाए खसहरुले ?


अगर बत्ती

Dharana    

access_time 25 Nov 2021

–चन्द्रप्रकाश बानियाँ

जनगणना –२०७८ को काम गणकहरुका तर्फबाट समाप्त भयो । गणना कति सही भयो वा भएन भन्ने कुरा अलग होला । यस पटकका लागि गणना समाप्त भयो । केही कोलमहरुले भ्रम र अन्योल सिर्जना गर्ने खालमा पनि रहेछन् । धर्मको सूची दिइएको रहेछ । सूचीमा नपर्ने धर्मलाई अन्यको महलमा लेख्न सकिने रहेछ । सबभन्दा अन्योल उत्पन्न गर्ने विषय जाति र जात बन्यो । जात र जातिलाई वैकल्पिक मानिएछ । जात र जातिबीचको अन्तर नबुझ्नेले विकास गरेको फारम हो अथवा विशेष उद्देश्यले त्यस्तो गरिएको हो कुन्नी ?

यसपटक उल्लेख्य संख्यामा त भन्न नमिल्ला तर गणक र प्रशोधकहरुको आँखामा पर्नेगरी धर्म (मष्ट) लेखाइएको होला भनेर अनुमान गर्न सकिन्छ । मष्ट धर्म हो वा होइन भनेर बहस गर्नुको कुनै अर्थ छैन । धर्ममा गणना हुनका लागि के कति तत्व वा गुणहरु हुनुपर्छ भनेर कतै कुनै व्यवस्था भएको हुन्छ जस्तो लाग्दैन । त्यसैले मष्टलाई धर्म होइन भन्ने धर्मधुरन्धरहरुसंग के कति कारणले मष्ट मान्यतालाई धर्म मान्न र भन्न मिल्दैन भनेर तर्क गर्ने कुनै हतियार वा आधार छैन । कुनै मत र मान्यतालाई धर्म भन्नका लागि कम्तिमा यति वा उति अनुयायी हुनुुपर्छ भन्ने छैन । धेरैले मानेर धर्म हुने र थोरैले मान्ने धर्म हुदैन भन्न मिल्दैन । एकैजनाले माने पनि त्यस्तो मतले धर्मको मान्यता पाउँदैन भन्न कसैले पाउँदैन । अल्पसंख्यक राउटेहरुको आफ्नो संस्कार, परम्परा र संस्कृति छन् । त्यही नै उनीहरुको धर्म हो ।  राउटेबाहेक अरु कसैले त्यो संस्कृति अवलम्बन गर्दैन । ३ अरब मानिसले मान्ने क्रिश्चियन धर्म पनि धर्म नै हो, केही सय राउटेहरुले मान्ने धर्म पनि धर्म नै हो । अनुयायीहरुको संख्याले धर्मको मान्यता निर्धारित गर्दैन ।

एउटा तथ्य के हो भने खसहरुले मष्ट पूज्छन् । पूज्दै छन् । पूज्दै आएका छन् । धर्मले खसहरु हिन्दू भैसकेका छन् । तर  हिन्दू देवीदेवतासंगै मष्ट पनि पूज्छन् । हरेक धर्मका आ–आफ्ना देवता हुन्छन् । त्यसको अर्थ खसहरुका सुरुका देवता मष्ट हुनुपर्छ् । मष्टलाई देवता मान्ने धर्म थियो होला र त्यही धर्मका अनुयायी भएकोले खसहरुले मष्ट मान्न थालेका हुनुपर्छ । धर्मको पहिलो सर्त हो इश्वरीय सत्तामा विश्वास गर्नु । त्यसैले त इश्वरको अस्तित्व नस्वीकार्ने बुद्धधर्मीहरुले बुद्धलाई देवता माने र उपासना पूजा गर्न थाले । इश्वरविनाको धर्म बौद्धका देवता सिद्धार्थ गौतम मानिए । जसरी बौद्ध धर्मको देवता बुद्ध बनाइए त्यसैगरी कुनै अज्ञात धर्मको देवता मष्ट रहेका हुनुपर्छ ।

देवता र धर्म अन्योन्यास्रित रहन्छन् । कमसेकम धर्मविनाको देवता हुदैन । मष्टलाई देवता भनेर मान्नुको अर्थ मष्टसंग सम्बन्धित धर्म पनि हुने नै भयो । मष्टलाई देवता मानेर पुज्ने चलन सदियौंदेखि निरन्तर चलिआएको छ । त्यसैले मष्टसंग सम्बन्धित धर्म पनि अवश्य थियो भन्नै पर्छ । बुद्धले आफूलाई गुरु भनेका छन् । अर्थात गौतम बुद्ध सनातन बुद्ध धर्मका धर्मगुरु (प्रवक्ता) थिए । धर्मका प्रवक्ता बौद्धदेवता मानिएजस्तै अर्को कुनै धर्मका धर्मगुरु मष्ट पनि देवता भनिए होलान् । इतिहासमा मष्ट नामको धर्म थिएन भनेर कसैले भन्छ भने पनि पुज्दै मान्दै आएको “मष्ट मान्यता”लाई  धर्मको स्थान दिन्छौं भन्न मष्टमार्गीहरुले पाउदैनन् भन्न सक्दैनन् । भन्न पाउँदैनन् । मष्ट नामको धर्म हिजो थिएन भने पनि अब हुननसक्ने भन्ने हुदैन । कसैलै मष्ट मान्यतालाई धर्म मान्छु भन्छ भने हुदैन छैन भनेर अरुले टाउको दुखाउनु जरुरत थिएन । मष्ट कुलदेवता मात्रै हुन्, मष्टपूजन संस्कृति मात्र हो भन्नेहरुसंग मष्ट देवता कुन धर्मका हुन त भन्ने प्रश्नको जवाफ छैन । मष्ट देवतालाई मष्टधर्मका देवता होइनन् भन्ने कुनै आधार प्रमाण पनि उनीहरुसंग छैन ।

धर्म एउटा आस्था हो । विश्वास हो । परम्परा हो । मान्यता हो । वैज्ञानिक सत्य होइन । परीक्षण प्रयोगसिद्ध कुरा होइन । त्यसैले हिन्दू धर्म हो, मष्ट धर्म होइन भन्नु पाखण्ड हो । कुनै मत मानिसले मानिदिए धर्म भनिने हो । मान्छेले नमानिएदिएका भए आजका ठूला भनिएका धर्महरु पनि धर्म मानिदैनथ्यो । त्यसैले मष्टलाई धर्म मान्न नसक्नेहरुलाई नमान्ने स्वतन्त्रता छ । आफूले नमाने नमानुन् तर मष्टलाई धर्म होइन भनेर लाञ्छित गर्नु बहुसंख्यक खसहरुको आत्मसम्मानमा चोट पु¥याउने कुरा हो । नयाँ धर्म जन्मन सक्छ । कति धर्म जन्मे कति मासिए । अहिले अस्तित्वमा रहेका सबै धर्महरुको जन्म एकैदिन भएको होइन । धर्म जेठो वा कान्छो हुनुले कुनै अर्थ राख्दैन । यहुदी धर्म जेठो थियो । त्यसैबाट इस्लाम र क्रिश्चियन धर्म जन्मे । यहुदी धर्म जहाँको तहीँ छ, इस्लाम र क्रिश्चियन धर्म संसारको आधा आवादी ओगट्ने धर्म बने । पछि जन्मेका हुनाले ती दुई धर्म, धर्म नै होइनन् भनेर यहुदीहरुले दावी गरेनन् ।

इस्लाम, क्रिश्चियन र हिन्दू धर्मका अनेकौं सम्प्रदायहरु छन् । मष्ट मान्यता हिन्दू धर्मको सम्प्रदाय होइन । हिन्दू धर्म ग्रहण गर्नुपूर्व देखिनै खस समुदायले मष्ट मान्ने गरेको थियो । हिन्दू बन्नुपूर्व खस समुदायले बुद्ध धर्म मानेको देखिन्छ । त्यतिखेर पनि खस समुदायले मष्टमान्यता छोडेको थिएन । त्यही परम्पराले हिन्दू धर्म मान्न थालेपछि पनि निरन्तरता पाएको हो । मष्ट गैरहिन्दू मान्यता हो । मष्टलाई हिन्दू देवताकै विकृत रुप हो भनेर पैरवी गर्नेहरु पाखण्डी हुन् । देवताको विकृत नाममा पूजा अर्चना प्रार्थना गर्नुको कुनै अर्थ रहँदैन । विष्णुपूजकहरुले “जिष्णु” नाममा पूजा गर्न मिल्छ र ? अवश्य मिल्ने कुरा होइन । त्यसैगरी ब्रह्मा, विष्णु, महेश्वर आदि देवताको नाम बिगारेर पूजिदैन त्यसैगरी मष्ट कुनै हिन्दू देवताको नाम अपभ्रंस भएर बनेको हो भन्न मिल्दैन । हो भने सच्याएर पुकारा गर्नुपर्छ भन्न सक्नुप¥यो ।

मष्ट हिन्दू धर्मग्रन्थहरुले नचिनेको नाम हो । हिन्दू पूजारीहरुले उच्चारण नगर्ने नाम हो । धर्म र धर्माधिकारीहरुले चिन्छन् न हिन्दू धर्मशास्त्रहरुले परिभाषित गर्छन् ? त्यो कसरी हिन्दू देवता र हिन्दू मान्यता हो भन्न मिल्छ र ? मष्ट अहिन्दू देवता हुन् । अहिन्दू मान्यता हो । खस अहिन्दू जाति हो । कालक्रममा हिन्दू धर्मबाट सिङ्गो समुदाय नै दीक्षित भयो । खस जातिले सामुहिकरुपमा धर्मान्तरण गरेको हो । तर अर्को सत्य के पनि रहेको छ भने जतिवटा धर्म फेरे पनि खस समुदायले मष्टो मान्यता छोडेन । मान्दै रह्यो । मष्ट देवतालाई कुलदेवताको रुपमा पुज्यो । ग्राम संरक्षक देवता भनेर पुज्यो । जति संरक्षक भनेर मान्यो । धर्मान्तरण गरेर अर्को धर्मसंस्कृति अवलम्बन गरे पनि त्यसप्रति पूर्ण विश्वस्त हुन सकेन । त्यसैले पुनो आदि देवता पुज्ने परम्परा छोड्न सकेन । छोडेन । आजसम्म छोडेको छैन । पुरानो परम्परा नछोडेको समुदायले नयाँ त्याग्छु र पुरानो मात्रै अपनाउँछु भन्न किन नपाउने ?

धर्म स्वेच्छिक विषय हो । रोजेर जुनसुकै धर्म लिने छोड्ने अधिकार सबैलाई छ । खसजातिलाई पनि त्यो अधिकार छ । अन्यको महलमै भए पनि मष्ट धर्म लेखाएर केही जागरुक खसहरुले आफ्नो अधिकारको उपभोग यसपटकको जनगणनाको अवसरमा गरेका छन् । देश धर्मनिरपेक्ष रहने नेपालले संवैधानिक व्यवस्था गरेको छ । देश भनेको जनता पनि हो । मानवविहीन भूभाग देश भनिदैन । त्यसैले जनता (नागरिक) लाई पनि धर्मनिरपेक्ष रहने अधिकार छ । अथवा रोजेर धर्म लिने छोड्ने स्वतन्त्रता छ । खसहरुले मष्ट धर्म मान्दा कसैलाई कुनै घाटा हुदैन । देशलाई पनि घाटा पर्दैन । धर्मलाई पनि नोक्सान पर्दैन । नोक्सानमा पर्ने पण्डा पुरोहितहरु मात्र हुन् । किनकि धर्म मान्ने मानिसहरुको संख्याको आधारमा धर्म राम्रो नराम्रो मानिने पनि होइन । धर्म सानो ठूलो भनिने पनि होइन ।

खस समाजमा धर्मको विषयमा अलिकता चेतना जगाइदिने काम पुरेत पण्डाहरुले गरिदिएका हुन् । “हामी आर्य होइनौं, हाम्रो जाति नस्ल वैदिक आर्य होइन । खसका पुर्खाले कुनै सन्दर्भमा हिन्दू धर्म अंगिकार गरेका हुन् । जाति, नस्ल वा वंश परिवर्तन गरेका होइनन् । जति, नस्ल र वंश परिवर्तन गर्न मिल्ने विषय पनि होइन । त्यसैले हिन्दूकृत भए पनि खसहरुको जाति फेरिएको होइन । आर्य र खस अलग जाति हुन् । संविधानमा लेखिएको “आर्य–खस” भन्ने जातिको नामसंग सहमत छैनौं । संविधानले बनाएको आर्य–खसको संयुक्त क्लष्टर मान्य छैन । धर्मले एकै ठाउँमा भए पनि जातिका दृष्टिले आर्य र खस एउटै होइन । क्लष्टर अलग गरिनुपर्छ । खस र आर्यको संयुक्त क्लष्टर जसले बनाएको हो उसैलाई मुवारक ! खसलाई त्यसबाट मुक्त गरियोस् । हामीलाई हाम्रो जातिमा गौरव छ । जातिको नाम प्यारो छ । हामीले त्यसलाई छोड्न सक्तैनौं । हामीलाई हाम्रो जाति सग्लो फिर्ता चाहिन्छ । जातिनामसंग पुच्छर वा सिङ जोड्नु जरुरत छैन , बस ! खसहरुको माग त्यति मात्रै हो । त्योभन्दा परसम्म पुग्नुपर्ने बनाएको पुरोहितहरुले नै हो ।

नेपालको संविधान–२०७२ ले खस र आर्यलाई एउटै डालोमा राख्ने विज्याईं गरेको हो । त्यो अर्घेल्याई थियो । अन्याय हो । बलमिच्याईं हो । जबर्जस्ती हो । त्यो नकाम डा. बाबुराम भट्टराई र कृष्ण सिटौला एण्ड कम्पनीको हो । त्यो छलछाम र जालसाँज हो । धर्मको नाममा सदियौंदेखि लुटिदै ठगिँदै आएको खसको जाति मास्ने षडयन्त्र हो । खस र आर्यलाई एकै ठाउँमा जोड्नेहरुको उद्देश्यमा पवित्रता थियो भन्न सकिन्न । त्यो अपवित्र आशयबाट सिर्जना गरिएको अपवित्र लगनगाँठो छिनाउनु अनिवार्य छ । हिन्दू धर्म अपनाएकै कारणले जातिच्यूत हुनुपर्छ, राजकीय सुविधा र अवसरबाट वञ्चित हुनुपर्छ भने “धर्मत्यागका” निमित्त खसहरु तयार हुनु स्वभाविक थियो । बाध्यता थियो । चाहिएन तिम्रो धर्मसंस्कार, हामीलाई हाम्रो जाति भए पुग्छ भन्नै प¥यो । वास्तवमा खसहरुले मष्ट मान्यतालाई धर्म मान्नुपर्ने कारण त्यही हो ।-जनधारणा साप्ताहिकबाट



Share Your Thoughts