खसआगमन, साम्राज्यको स्थापना र नागवंश


अगर बत्ती

Dharana    

access_time 21 Nov 2021

–चन्द्रप्रकाश बानियाँ

बाइसी चौबीसी राज्यहरु वर्तमान नेपालको त्रिशुलीपश्चिम र महाकालीपूर्वको भूमिमा स्थापित भएका थिए । नेपाल एकीकरणको सुरुवात नुवाकोटबाट भएको थियो । गोर्खाले सर्वप्रथम जितेको बालकोट त्यसपछि नुवाकोट हो । त्यसपछि मकवानपुर, अनि मात्र काठमाडौं उपत्यका लिइएको थियो । पूर्वमा दार्जिलिङ सिक्किमसम्म सीमा पुगेपछि बल्ल बाइसी चौबीसी राज्यहरु विजय गरिएका हुन् । राजा रणबहादुर शाहको शासनकालमा राजेन्द्रलक्ष्मी र बहादुर शाहको नायवीकालमा बाइसी चौबीसी राज्यहरु डोलाइएका हुन् । पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको श्रेय दिइन्छ । उनले चौबीसी राज्यहरु लिने कोसिस नगरेका भने होइनन्  तर सफल भएका थिएनन् । उनको शेषपछि मात्र गोर्खाले बाइसी चौबीसी राज्यहरु लिएको हो । 

बाइसी चौबीसी राज्य गठन हुनुपूर्व पनि अनेकौं राज्यहरु रहेका थिए । वर्तमान नेपालको पश्चिमी खण्डमा त्रिशुली पारिसम्म सिंजा (जुम्ला) केन्द्र रहेको विशाल खस साम्राज्य अस्तित्वमा थियो । खस साम्राज्यको पतनपछि बाइसी चौबीसी राज्यहरु गठन भएका हुन् । खस साम्राज्यको अन्त, बाइसी चौबीसी राज्यहरुको जन्मको कारण थियो । खस साम्राज्यको अवसान बाइसी चौबीसी राज्यहरुको उदयको कारण बनेको थियो । खस साम्राज्यको स्थापना ११ रौ शताब्दीको अन्ततिर भएको इतिहास प्रमाण लाग्दछ । 

खसजातिको विस्तार आसाम वर्मासम्म भएको छ । कतै कतै खसहरुले आफूलाई नागवंशी भन्ने गरेको पनि पाइन्छ । खस नागवंश भनेको न त महाभारतमा उल्लेख भएजस्तो वृष्णिीवंश, नागवंश भनेजस्तो हो न आसामको नागावंश भनेजस्तो हो । सिंजाबाट पूर्वतिर संपक्रमित हुन थालेका खसहरुलले आफूलाई नागराजका सन्तान भनेका हुन । त्यो खसहरु क्षत्रीमा रुपान्तरणक हुनुपूर्वको कुरा थियो । खस भनेको को हुन् भनेर सोधिने प्रश्नको जवाफमा  हामी खस राजा नागराजका सन्तान हौं भनेर जवाफ दिने सन्दर्भमा  नागवंशी भनिएको होे । 

नागवंशलाई खसराज्यमा स्थापना गर्ने प्रथमपुरुष नागराजलाई मानिएको छ । उनको उल्लेख तिब्बती वंशावलीमा पनि परेको छ । तिब्बती वंशावलीले उनलाई नाग ल्दे भनेको छ । खारी प्रदेशका राजा नागल्दे नै पछि नागराजको नामबाट चिनिएका हुन् । नागराज तिब्बती थिएनन । उनी उत्तरबाट झरेका थिए र स्रङचङ् ग्याम्पोको निधनपछि कमजोर भएको तिब्बती राज्यको् पश्चिम गुङ्गेपुराङ् कब्जा गरेर नयाँ राज्य स्थापना गरेका थिए । उनै नागल्दे दक्षिण झरेर सिंजा केन्द्र भएको विशाल खसराज्यको जग राखेका थिए ।

वर्तमान नेपालको पश्चिमी खण्डलाई केन्द्र बनाएर स्थापित तत्कालीन समयको दक्षिण एशियाकै सबभन्दा ठूलो साम्राज्य एघारौं शताब्दीमा स्थापित भएको थियो । उक्त साम्राज्यको अस्तित्व सोह्रौंं शताब्दीसम्म रहेको देखिन्छ । खस साम्राज्यको नामले इतिहासप्रसिद्ध उक्त राज्यको स्थापनाको श्रेय पश्चिम तिब्बतबाट झरेका नागराजलाई दिइन्छ । पश्चिम तिब्बतबाट झरेका भए पनि तिब्बती मूलका थिएनन् भन्ने कुरा उनको नामले मात्र होइन, तिब्बती राजवंशको निरन्तरता खण्डित भएको कुरा तिब्बती वंशावलीमा परेको टिपोटबाट पुष्टि हुन्छ ।१ त्यसैले हुनुपर्छ उनको राज्यलाई खस साम्राज्य भनियो र उनलाई खसवंशी मानिएको छ । 

खस साम्राज्यको शिलान्यास भएको खास तिथिमितिको किटान भएको छैन तर उनका उत्तराधिकारीहरुले उत्किर्ण गराएका अभिलेखहरुका आधारमा उनको राज्य स्थापना कालको अनुमान लगाइन्छ । कुमाउस्थित बालेश्वर मन्दिरमा प्राप्त ताम्रपत्रमा नागराजका पाँचौं पुस्ताका उत्तराधिकारी क्राचल्लदेवले इसं १२०५ देखि सिंजामा राज्य गरेको कुरा उल्लेख गरिएकोे छ ।२ त्यही मितिलाई आधार बनाएर पुस्ता गणना गर्दा नागराजले ११ रौं शताब्दीको उत्तरार्धदेखि बारौं शताब्दीको प्रारम्भतिर सिंजालाई केन्द्र बनाएर खस साम्रज्य स्थापना गरेको प्रमाण लाग्दछ । वंशावलीहरुमा इसं १०९३ तिर नागराजले पश्चिमी तिब्बतको ङारी प्रदेशको आफ्नो राज्यको विस्तार सिंजातर्फ गरेका हुन् भनेर लेखिएको छ । 

सिंजाली  खस वंशका राजाहरुको वंशावली तिब्बती, खस र संस्कृत समेतका तीनवटा भाषामा उपलब्ध छन् । खस भाषाको श्रीपाली वंशावलीमा “बडामहाराज नागराजले बडुवालराजा, पालराजा, थापाराजा, खड्काराजा, विष्टराजा र जाडेराजाकन मारिकन खारीकोटको राज्य बढाएको हो । बडामहाराजको पालामा दशै दिशा जिती सिंजानगरीमा सुनको दरबार लगायाको हो” भनेर लेखिएको छ ।३ त्यसले नागराज आउनुपूर्व सिंजा क्षेत्र वरपर स–साना भुरेटाकुरे खस राज्यहरु स्थापित रहेको कुरा प्रमाणित गर्दछ । ती सबै सामन्तहरुलाई आफ्नो अधिनमा लिएर तिब्बतबाट तल झरेका नागराजले विशाल खस साम्राज्यको स्थापना गरेका थिए । 

नागराजले स्थापना गरेको साम्राज्यले वर्तमान नेपालको त्रिशुली पश्चिमको सबै भूखण्डका अतिरिक्त महाकाली पश्चिम र उत्तरको त्यसको दोब्बर तेब्बर भूखण्ड ओगटेको थियो । नागराजले स्थापना गरेको तत्कालीन सिंजा राज्यको सीमा पूर्वमा मुक्तिनाथ, पश्चिममा बद्रिनाथ, उत्तरमा कैलाशकुट पर्वत र दक्षिणतर्फ शिवालिक क्षेत्रसम्म फैलिएको थियो भनिएको छ । तिब्बती वंशावलीमा स्रङचङ गम्पोका नातिका पालामा तिब्बत कमजोर भएको मौका छोपी पश्चिम तिब्बतमा नागराजले स्वतन्त्र राज्य स्थापना गरेको कुरा परेको छ । त्यसलाई मानप्रदेश भनिन्थ्यो । नागराजले स्थापनाको गरेको खस साम्राज्यमा उनका दशं पुस्ताले शासन गरेको देखिन्छ । 

नागराजले स्थापना गरेको खस राज्यको सीमा उनका सन्ततिहरुले विस्तारित गर्दै लगेका थिए । खासगरेर क्राचल्लदेवले इ.सं. १२२३ मा कुमाउमाथि विजय प्राप्त गरेको कुरा कुमाउको बालेश्वरमा कत्युरी राजाले गरिदिएको ताम्रपत्रबाट खुल्दछ । उक्त ताम्रपत्रबाट तत्कालीन खस साम्राज्य अन्तर्गत दशवटा सामन्त राज्यमण्डलहरु रहेको कुरा पनि खुल्दछ । क्राचल्लका छोरा अशोक चल्लले गढवालमाथि विजय प्राप्त गरेका थिए । अशोकचल्लको राज्य लद्दाखसम्म विस्तारित भएको प्रमाण पाइन्छ । पूर्वमा मगरात प्रदेशसम्म पनि उनको राज्य विस्तारित भएको थियो । अशोक चल्लको राज्यसीमाले कर्णाली प्रदेश, मगरात प्रदेश, खारी प्रदेश, केदारखण्ड (कुमाउ गढवाल) र लद्दाखसम्मको विशाल भूमि ओगटेको थियो । 

अशोक चल्लका छोरा जितारीले आफ्नो पुरानो थर चल्लदेव फेरेर मल्ल बनाए ।४ यिनै जितारी मल्ललाई पूर्वतिरको सीमा विस्तारको श्रेय दिइन्छ । उनले इ.सं १२८८, १२८९ र १२९० मा लगातार काठमाडौं उपत्यका माथि आक्रमण गरेका थिए । अन्तिम युद्धमा नुवा–कोटदेखि देउपाटनसम्म खसहरुको कब्जामा परेको थियो । यसरी उनको पालामा उपत्यकाको वागमतीपश्चिमको भूभाग केही समयको लागि खसहरुको अधिनमा परेकोे देखिन्छ । 

जितारी मल्लपछि सिंजा राज्यको उत्तराधिकारको सम्बन्धमा आन्तरिक संघर्ष चलेको छनक मिल्दछ । उनको अवसानपछि उनका भतिजा रिपु मल्ल र छोरा आदित्य मल्लमध्ये को पहिले राजा हुने भन्ने विषयमा विवाद भएजस्तो देखिन्छ ।५ उक्त संघर्षको परिणामस्वरुप छोटो समयको लागि रिपु मल्लले सिंजाको गद्दी प्राप्त गरेको देखिन्छ । उनले खस साम्राज्य विस्तारलाई निरन्तरता दिएका थिए । नेपाल उपत्यकामा पनि आक्रमण गरेका थिए । दुल्लु, सुर्खेत र लुम्बिनीसम्म उनको अधीनमा थियो भन्ने कुरा लुम्बिनीको अशोक स्तम्भको अभिलेखमाथि थपिएको लिखतबाट स्पष्ट हुन्छ । 

जितारी मल्लका जेठा छोरा अक्षय मल्ल महामात्य भैसकेपछि भिक्षु बनेर गुम्बाको शरणमा गएका देखिन्छन् । जितारी मल्लको मृत्युपछिको दुई वर्ष उनका भतिजा रिपु मल्ल गद्दीमा बसेका देखिन्छन् । लुम्बिनीको स्तम्भमा रिपु मल्ल र उनका छोरा संग्राम मल्लको नाम उल्लेख भएको छ । त्यसपछि संग्राम मल्लको नाम खस साम्राज्यको इतिहासमा कतै देखिदैन । दुल्लुको कीर्तिस्तम्भमा पनि जितारी मल्लपछि रिपु मल्ल राजा भएको कुरा उत्कीर्ण गराइएको छ । गोपाल वंशावलीले रिपु मल्ललाई खसिया राजा भनेको छ । तिब्बती वंशावलीमा समेत उनको नाम उल्लेख भएको छ । त्यसैले रिपु मल्ल खस साम्राज्यको सम्राट भएको कुरा निर्विवाद सावित हुन्छ ।

राज्यारोहण गरेको दुई वर्षपछि नै सायद, रिपु मल्ल गद्दीबाट हटाइए र जितारी मल्लका माहिला छोरा आदित्य मल्ल गद्दीमा बसे । आदित्य मल्लपछि गद्दीरोहण गर्ने प्रताप मल्लकोशेषपछि नागवंशको निरन्तरता खण्डित भयो. । उनका छोरा थिएनन् । दुई छोरी मात्र थिए –शकुनमाला र शोभानमाला । दुबै छोरीको विवाह खसवंशी सामन्त पुण्य पालसंग गरिदिएर ज्वाईंलाई राज्यको उत्तराधिकारी बनाइयो भनेर श्रीपाली वंशावलीमा उल्लेख भएको छ । पुण्य पालका पिता जय पाल हालको कालीकोटको पूर्वी भागका सामन्त थिए । 

नागवंशका उत्तराधिकारी हुँदाहुँदै पुण्य पाललाई राजगद्दी दिलाउनमा जयाकर र विद्याकर नामका दुईजना ब्राह्मणहरुको ठूलो हात रहेको थियो । जितारी मल्लका भाइ आनन्द मल्लका छोराहरुले गद्दीका लागि संघर्ष गरेका भए पनि असफल भएका थिए । राजगद्दी प्राप्त गर्न सहयोग पु¥याएका हुनाले दुई ब्राह्मण बन्धुहरुलाई पुण्य मल्लले कनकपत्र गरिदिएर पियुथर्पुमा जग्गादान गरेका थिए । यसरी कहिले गद्दीच्यूत हुदै र कहिले पुनस्थापित हुँदै पन्ध्रौ शाताब्दीको मध्यान्तरसम्म नागवंशले खस साम्राज्यमा शासन गरेको थियो । जनधारणा साप्ताहिकबाट 




Share Your Thoughts