एमसीसी खारेज संयुक्त आन्दोलन, नेपालले तत्काल गर्नुपर्ने केही कामकुराहरु



Dharana    

access_time 10 Sep 2021

-नारायण शर्मा 

१। एमसीसीको विरोध र भण्डाफोरसँगै त्यस्का उपाध्यक्ष फतिमा सुमारका हेपाहाजनक र धम्कीपूर्ण काम र कुराहरु तथा उनीहरुको सुरक्षाको नाममा देउवा सरकारले उनीहरुप्रति देखाएको दलाली र चाकडी एवं शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने नेपाली जनताको मौलिक हकलाई कुल्चेर विरोध प्रदर्शनका क्रममा भएका निरंकुश दमन र धरपकडको तीव्र निन्दा, भत्सर्ना र भण्डाफोर गर्दै विज्ञप्ति जारी गर्नुका साथै तत्काल अर्को सशक्त विरोध प्रदर्शन गर्ने !

२। मोर्चा अझ फराकिलो र सशक्त पार्न तथा आन्दोलन निर्णायकरुपले सफल बनाउन एमसीसी विरोधी संयुक्त हुन बाँकी दलहरु, संघसंस्था र व्यक्तित्वहरुलाई समेत समेट्ने वा संयुक्त हुन नसक्ने शक्ति-व्यक्तिहरुसँग समझदारी बनाएर आन्दोलन परिणाममुखी बनाउने ! यो निर्णय अनुसार बाहिर सार्वजनिक अपिल गर्ने र भित्र पहल बढाउने !

३। स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा समेत संयुक्त भएर आन्दोलन व्यापक बनाउन भित्री र बाहिरी पहल गर्ने ।

४। मिडिया, विज्ञ-विशेषज्ञ र लेखक(बुद्धिजीवीहरुलाई  एमसीसी पास गर्ने-गराउनेहरुका विरुद्धमा अधिकतम रुपमा परिचालन गर्ने ।

५। सभामुख र संसदीय दलका सबै नेताहरुसमक्ष एक शीर्ष डेलीगेसन गई  एमसीसी  कुनै हालतमा पास नगर्न-नगराउन अनुरोध गर्दै ज्ञापनपत्रसमेत दिने । साथै सम्पूर्ण सांसदहरुलाई पनि यसप्रकारको  अनुरोधमूलक चेतावनीसहितको ज्ञापनपत्र दिने ।

६। राष्ट्रपतिलाई भेटगरी एमसीसी मार्फत हुन थालेको राष्ट्रघातप्रति सावधान रहन र देशहितमा आवस्यक कदम चाल्न अनुरोध गर्ने ।

७। विभिन्न दल वा संघसंस्थाहरुद्वारा घोषित  कार्यक्रमहरुलाई संयोजन र परिमार्जन गरी संयुक्त बनाउन पहल गरेर थप प्रभावकारी र परिणाममुखी  बनाउन जोड दिने ।

८। संयुक्त आन्दोलनमा सहभागी सबै दल वा संघसंस्था र अभियानहरु तथा तिनका नेता(कार्यकर्ता र जनताहरुप्रति सकारात्मक, समतापूर्ण र सम्माजनक विचार र व्यवहार बढाउने ।

९। हरेक कार्यक्रमहरुपछि तत्काल बैठक बसी संक्षिप्त समीक्षासहित आगामी कार्यक्रम तय गरेर राम्रो तयारीका साथ तिनलाई सम्पन्न गर्ने !




Share Your Thoughts