राष्ट्रपति विद्या भण्डारीलाई बाँचुञ्जेलसम्म नेपाली महिलाहरुले सोधिरहने एउटा गम्भीर प्रश्न !



Dharana    

access_time 09 Sep 2021

— प्रीति रमण

हुन् त हाम्रो देश नेपालको राष्ट्राध्यक्ष नै नारी छिन् ! हाम्रो देशको प्रधानन्यायाधीश पनि नारी भइसकिन् । हाम्रो देशको सभामुख पनि नारी भइसकिन् । यस अर्थमा भन्नु पर्दा नेपाल नारीको सम्मान गर्ने सवालमा, नारीलाई पुरुषसरह अवसर दिने सवालमा अग्रपंक्तिमा रहेको छ भन्न सकिन्छ । तर नेपालका नारीहरु धेरै पछाडि छन् । नारीहरु अशिक्षित छन् । नारीहरु अधिकारबिहिन  छन्,  नारीहरु बच्चा जन्माउने साधन मात्रै बनेका छन् । नारीहरु भात पकाउने र बच्चा उत्पादन गर्ने साधन बाहेक अरु केही होइनन् भन्ने मानसिकताबाट अहिले पनि नेपाली समाज मुक्त भएको छैन ।

राष्ट्रपति, प्रधानन्यायाधीस र सभामुखसमेतको हैसियतमा पुगेका नारीहरुले नेपाली नारीहरुको लागि के गरे ? यो गम्भीर प्रश्न प्रत्येक नेपाली नारीहरुले गरिरहेका छन् । आपूmहरु उच्च पदमा पुगेर पनि नारीहरुको निम्ति किन केही गर्न सकिएन ? उच्च पदमा पुग्नेहरुले पनि आत्मासमीक्षा गर्नु पर्ने विषय हो ।

अफ्गानिस्तानमा महिलाहरुले तालिवानीहरुबाट नारी अधिकारको हनन् हुने दावी गरिरहेका छन् । अमेरिकाको प्रत्यक्ष र प्रत्यक्ष दुवै किसिमबाट शासित हुन पुगेका अफ्गानी नागरिकहरुबीच महिलाहरु अफ्गानिस्तानको संस्कृति अनुसार पछाडि परेका छन् ।  मुख छोपेर बस्नु पर्ने, स्कुलमा पढ्न नपाइने, सरकारी काममा लाग्न नपाइने जस्तो परम्परामा महिलाहरुलाई बाधिएको छ । त्यो बन्धनबाट मुक्त भएका महिलाहरुले नारी हकको लागि  आवाज उठाइरहेका छन् । अमेरिकी सेनाले अफ्गानिस्तानलाई बीस बर्षसम्म आफ्नो कब्जामा राखेर पनि त्यहाँ नारी स्वतन्त्रताको जग बसाल्न सकेको पाइएन । यसैबाट पनि स्पष्ट हुन्छ अमेरिकी सेनाले आफ्नो मिसन अफ्गानिस्तानमा पूरा भयो भने पनि उनीहरुको मिसन अफ्गानी जनताको हितमा रहेनछ भन्ने बुझ्न सकिन्छ ।

अफ्गानिस्तानकै अवस्थाको नेपाल रहेको छ । दुवै देश भूपरिवेष्ठित अवस्थाका छन् । दुवै देशमा सांस्कृतिक परम्परा अत्यन्त जटिल अवस्थाका छन् । हाम्रो देशमा मुख छोपेर हिड्ने संस्कार नभए पनि महिलाहरुले पुरुष सरह हक प्राप्त गर्न सकेका छैनन् । नेपालको संस्कृति र परम्पराले नै महिलाहरुलाई धेरै पछाडि पारेको छ । महिलाहरु चुला चौकामै सीमित हुनु पर्ने कारण के ? महिलाहरुको विकास र स्तर उन्नतिको निम्ति राज्यले ध्यान नदिएकै कारणबाट यस्तो अवस्था रहेको छ । स्पष्ट साथ भन्न सकिन्छ कि नेपालमा महिलाहरुको अधिकार सुरक्षित छैन ।  

अफ्गानिस्तानमा नारी र पुरुषले एउटै विद्यालयमा पढ्न पाउँदैनन् भन्ने गरिन्छ । मुस्लिम धर्मावलम्बीमा रहेको धार्मिक कट्टरताले यो अवस्था रहेको  छ । नेपालमा पनि नारीहरुलाई मात्रै शिक्षा दिने विद्यालयहरु पनि छन्, कलेजहरु पनि छन् । धेरै पुरानो कलेज मध्येको बागबजारको पद्मकन्या (पीके) बहुमुखी क्याम्पस अहिले पनि छ । कतिपयले ‘महिला विश्वविद्यालय’ पनि भन्दा रहेछन् यस कलेजलाई  । अन्य सरकारी कलेजहरु भन्दा पद्यकन्या धेरै फरक छ । कलेजका  हरेक भवनमा ‘महिलाको सशक्तिकरण’ लेखेको पाइन्छ । तर महिला सशक्तिकरणका निम्ति राज्य के ग¥यो ? यो प्रश्न प्रत्येक महिलाहरुमा रहनु स्वाभाविक हो । राज्यले केही गर्न सकेको छैन । महिला अधिकारका विषयमा चर्का चर्का भाषण गरेर महिला नेतृ हुँदै राष्ट्रपति सम्म पुगि सक्दा पनि महिला सशक्तिकरणका लागि राष्ट्रपतिबाट कुनै उल्लेख्य काम भएको पाइएको छैन । दुई कार्यकाल राष्ट्रपति भइसक्दा पनि महिला सशक्तिकरणका निम्ति सामान्य अभियान समेतको अगुवाई गर्न नसक्नु नारी भएकै कारणले देखिएको कमजोरी हो त ?

छोरीलाई पढाएर शिक्षित बनाएर अन्ततः विवाह गरेर अर्काको  घरमा पठाउनै पर्छ । छोरीको भाग्य के हो ? यसैबाट स्पष्ट हुन्छ । अर्काको घरमा गइसकेपछि त्यो नयाँ घरमा सबै परिवारका सदस्यहरुलाई आफ्नो सम्झेर व्यवहार गर्नु छोरीको कर्तव्य बन्न जान्छ । यो नियती राष्ट्रपति विद्याभण्डारीले पनि भोगेको नियती हो । यो नियतीबाट महिलाहरुले मुक्ति पाउने कसरी ? छोरीहरुलाई अर्काको घरमा जानै पर्ने बाध्यता किन ? अर्काको घरमा अरु सबैको प्रिय बन्नको लागि  शिक्षित भएर मात्र नपुग्ने, सबैको सेवाका निम्ति सक्षम हुन आवश्यक रहने । तर अर्काको घरमा आएकी छोरीलाई सबैको माया, सबैको सहयोग असम्भव हुन्छ । यो अवस्था नेपाली नारीहरुको यथार्थ हो । प्रत्येक नेपाली नारीहरुले भोग्नु पर्ने यो बाध्यता हो । यो कूसंस्कारबाट नेपाली नारीहरुलाई कसरी मुक्त गराउने ? नारी राष्ट्रपति भएको देश ! महिलाहरुको अधिकारका निम्ति लडेर विकसित भएको नेतृत्वले शासन गरेको देश ! यो देशमा नारी अधिकारका निम्ति के भयो ?

छोरी जन्मनासाथ उसको मनोविज्ञान नै कमजोर बनाइन्छ । स्कूल पठाउन अभिभावकहरुले आवश्यक महसुस गर्दैनन् । स्कूल पठाइ हाले पनि छोरीले पढ्ने स्कूल भन्दा अलि सामान्य खालको स्कूल रोजाईमा पर्छ । छोरीको मनोविज्ञान अर्काको घरमा विवाह गरेर जाने जात भनेर कमजोर बनाइन्छ ।  यसरी जन्मे देखि नै कमजोर बनाइदै आएका छोरीहरु अन्ततः अर्काको घरमा पुग्नु पर्ने बाध्यता हुन्छ । शिक्षामा कमजोर, सेवा र चाकडीमा अभ्यस्त बनाएर विवाह गरेर पठाइन्छ । तयार बनाइएको मनोविज्ञान अनुसार अर्कोको घरमा सेवा गर्ने बाहेक अरु हुन सक्दैन । बच्चा जन्माउन आएकी हुँ भन्ने मनोविज्ञान पनि नारीको विवसता हुने हुने गर्दछ ।

अझ दाइजो र तराईमा दिइने तिलकको प्रचलनले  नेपाली नारीहरुलाई बाँच्न पनि कठिन बनाएको छ । विवाह भएर गईसकेपछि त्यो घरमा आफ्नो हैसियत कायम गर्न नारीलाई कठिन हुन्छ । महिलाको कमजोरीलाई पुष्टि गर्न बनाइएको कुसंस्कार हो  दाइजो र तिलक प्रथा । महिला आर्थिक, शारीरिक र अरु जे–जे छन् सबै दृष्टिकोणबाट कमजोर भएकाले केटा पक्षलाई खुसी बनाउन दाइजो र तिलकसँग छोरी ‘बेच्ने’ संस्कारविरुद्ध  महिला राष्ट्रपति दुई कार्यकाल  बिताएको हाम्रो देशमा के विकास गरियो ? पढाइ, सीप र तालिमबाट महिलालाई दक्ष बनाएर बाबुआमाले आफ्नी छोरीको सक्षमतामा गर्व गर्नुपर्छ । तर यी सबै अभावमा छोरीले छोरीको जीवन वर्वाद हुन्छ भन्ने तर्पm सबै बाबु आमाको सोच हुन्छ भने राष्ट्राध्यक्षको हैसियतले सबै नारीहरुको अभिभावक हुँ भन्ने भावना राष्ट्रपतिमा किन भएन ? यो प्रश्न राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिबाट अवकाश पाएपछि पनि नेपाली नारीहरुले बाँचुञ्जेलसम्म सोधिरहनेछन् !-जनधारणा साप्ताहिकबाट



Share Your Thoughts