खस आन्दोलनको गति किन कछुवाको भन्दा पनि सुस्त छ ?



Dharana    

access_time 29 Jul 2021

–चन्द्रप्रकाश बानियाँ

नहुनुभन्दा विकलाङ्ग मामा निको ! खस पहिचानको आन्दोलनको गति सुस्त छ । दिक्क लाग्दो छ । तैपनि घस्रदै लोट्दैपड्दै अघि बढ्दैछ । उत्साहवर्धक नभए पनि गति सन्तोषजनक छ भन्नै पर्छ । हरेक असल कामहरुको आरम्भ अपेक्षाकृत दुरुह हुन्छ । सुस्त र पट्यारलाग्दो हुन्छ । कहिले कहीँ त “हुदैन क्या रे” भन्ने निराशा पनि उत्पन्न हुन्छ । स्वभावतः यस आन्दोलनका अगाडि चुनौतीका दुर्लङ्घ्य भन्न नमिले पनि छिचोल्न कठिन लाग्ने पहाडहरु उभिएका छन् । खस आन्दोलन कहिले र कसरी सफल हुन्छ भन्ने कुरालाई एकातिर पन्छाएर तत्काल सामना गर्नुपर्ने वाधा अवरोधहरुमा अर्जुन दृष्टि केन्द्रित गर्नुपर्ने आवश्यकता रहन्छ । त्यस आवश्यकताको आलोकमा ती वाधा अवरोधहरुलाई आन्तरिक र वाह्य भनेर दुई कित्तामा वर्गीकरण गर्न सकिने हुन्छजस्तो लाग्छ ।

पहिचानको आन्दोलनले ती दुबै थरी वाधा अवरोधहरुको एकैसाथ सामना गर्नुपर्ने हुन्छ । एक्लाएक्लै अर्थात एकपटकमा एउटाको सामना गरौं, त्यसमा विजय प्राप्त भएपछि अर्कोसँग भिडौला भन्ने सहुलियत प्राप्त हुदैन । दुबै मोर्चामा एकैसाथ जुध्नु अनिवार्य हुन्छ । अर्थात पहिचानको आन्दोलनको विरुद्धमा अन्य समुदायका तर्फबाट नितान्त निजी समुदायको आग्रहलाई केन्द्रमा राखेर चलाइने अभियानहरुलाई वाह्य अवरोध भनेर बुझ्नुपर्छ र ती सर्वाधिक घातक हुन्छन् । तिनले लक्षित समुदायभित्रै भ्रम सिर्जना गर्छन्, फुट पार्छ्न् र बाँकी अरु समुदायलाई पनि विरोधमा एकढिक्का बनाउने कोसिस गर्छन् । दोश्रो आफ्नै समुदायभित्रैको अज्ञानता पनि ठूलो अवरोधको रुपमा रहन्छ ।

बाहिरिया तत्वहरु सहायक मात्र हुन् । खस जाति पहिचानविहीन बन्नुको मुख्य कारण आन्तरिक नै हो । त्यसलाई जति चाँडो चिर्न सकिन्छ अभियानको अभिभारा त्यति चाँडो छिमलिने छ । अभियानको ध्यान केन्द्रित हुनुपर्ने विषय त्यही हो । परिस्थिति सजिलो भने छैन तर समाधान ननिस्कने समस्या हुँदैन । भगिरथ प्रयत्नबाट गङ्गाको धार परिवर्तन भएको पुराणकथाबाट अभियन्ताहरुले शिक्षा लिनु जरुरी छ । परिस्थिति कसरी जेलिएको छ भने खसहरु आर्य होइनन् भन्यो भने हुन् भनेर ठाडो र तर्कपूर्ण जवाफ दिन नसक्नेहरुले पनि घुमाउरो बाटोबाट तगारो तेर्साउने गरेका छन् । ‘जनजातिहरुले मिलेर अभियान चलाईरहेका छन् । उनीहरु पनि एउटै समूहका त होइनन् नी । उनीहरुको तारो सगोलमा खस–आर्य हो । यही मौकामा हामी फुट्ने हो भने अरुलाई फाइदा पुग्छ । संविधानले एकै भनेको छ, धर्म संस्कृति र भाषाले एउटै बनाएको छ भने हामीबिचमा पहिचानको नाममा चुलो छुट्टयाउने नादानी गर्नु आफ्नो शक्ति कमजोर बनाउनु हो । त्यो षडयन्त्र हामी सबै विरुद्धको हो’ । खसहरुलाई दिग्म्रमित बनाउने तर्क यिनै हुन् ।

त्यस्तो प्रपञ्च खास समुदायका तर्फबाट अघि सारिने गरिन्छ । त्यो लोलोपोतामा असचेत खससमुदाय फस्ने गरेको छ । वास्तवमा त्यस्तो प्रपञ्च खस समुदायमा रहेको अज्ञानतामा खेलेर आफ्नो दुनो सोझ्याउने दुष्प्रयत्न हो । जाति पहिचानको खोजी गर्नु अर्को जातिसमुदायसंग युद्ध गर्नु होइन, दुष्मनी गर्ने पनि होइन । जित्ने हार्ने विषय यो हुदै होइन । खसहरुलाई अर्को कुनै जाति समुदायसंग लड्नुपर्ने आवश्यकतै छैन । खसहरुले विजय गर्नुुपर्ने त आफ्नै अज्ञानतामाथि हो । चेतनाको ज्योति बालेर आफ्नो धर्ती पहिल्याउनु हो । आफ्नो समुदायलाई अरुको समकक्षमा उभ्याउने हो । समुदायलाई अरु सरह हक अधिकार दिलाउने हो । कसैको भाग हडप्ने कुरा हुदै होइन । अरुको चाहिएको होइन, आफ्नोे जायज हिस्सामाथिको नैसर्गिक दावी मात्र हो । यहीनेर बुझ्नुपर्ने वास्तविकता के हुन आउँछ भने पीछडिएको जाति वर्गले नैसर्गिक हक अधिकार प्राप्त गर्दा अभिजात वर्ग नोक्सानीमा पर्छ । त्यसैगरी खसहरुको जाति पहिचान स्थापित हुँदा मर्कामा पर्नसक्ने जाति समुदाय अवश्य छ । त्यो कुन होला भनेर भनिरहनै पर्दैन । हो, खस समुदायलाई अलमल्याउने, फेरि पनि लडाउने, गजार्ने, पछार्ने प्रयत्न हुदै छ । हुने नै छ । त्यो् स्वभाविक मानवीय मनोविज्ञान हो ।

खस समाजभित्र गहिरोगरी नियाल्दा अचम्मको परिस्थिति देखिन्छ । आर्य र खस अलग जाति हुन् । आफ्नो समुदायको उन्नति चाहने हो भने आर्यबाट खसलाई अलग गर्नुपर्छ भन्ने कुरा नबुझ्ने सायदै उति धेरै खसहरु होलान् तर अभियान चलाउनृुपर्ने कुरा त परँै रहोस् छाती खोलेर हामी अलग हौं भन्ने हिम्मत सबैमा देखा पर्दैन । अलिकता अग्रभागतिर उभिने कि नउभिने भन्ने विषयमा अन्योलग्रस्त भएको देखिन्छ । एक खालको हिच्किचाहट स्पष्ट दृष्टिगोचर हुन्छ । मलाई के लाग्छ भने कसैलाई मावलीको माया लाग्छ होला, कसैलाई ससुरालीले के भन्लान् भन्ने चिन्ता लाग्छ होला । हुन पनि मावली, ससुराली, आफन्त, नातागोतासँग तँ र म को विभाजन रेखा कोरिने विषय सुपाच्य नहुनु स्वभाविक हो । मेरा मामा उता छन्, ससुरा, साला जेठान उतै छन्, म किन अर्कोतिर लाग्ने भन्ने मनोभावले आन्दोलित हुने मनलाई रोक्छ, खुट्टामा ठिम्रो ठोकिदिन्छ । गुरु, चेला, साथी, नाता, कुटुम्व र छिमेकीसंग भिन्न हुने कुराले असहजताको अनुभूति गराउने नै भो । प्रसंगवश धर्मको कुरा आयो भने मैले मान्दै आएको परम्परा, संस्कार के होला ? मैले पुज्दै आएको देवी देवताबाट कसरी अलग हुने? भन्ने जब्बर प्रश्न उठ्छ, । पारपाचुके उच्चारण गर्न सजिलो शब्द हो, व्यवहारमा उतार्न सानो मुटुले सक्दैन । जब बुझाई त्यसरी विकसित हुन्छ विषय भयङ्कर लाग्छ । विषयलाई सामान्यीकरण नगर्ने हो भने गाह्रो पर्छ । कोसिस जटिल बनाउने हुँदै आएको छ ।

तथ्यबोधको अभावमा अन्योल सिर्जना हुने हो । मेरा कुटुम्ब, मेरा सम्बन्धी, मेरा नातागोता, आफन्तहरुसँग किन अलगिने, कसरी भिन्न हुने, मानिआएका परम्पराहरु कसरी त्याग्ने, परम्परागत संस्कारहरुलाई कसरी तिलाञ्जली दिने, बाजेबराजुका पालादेखि मानिआएका तिथिपर्व र संस्कारहरु कसरी छोड्ने ?ती सबैसँग कट्टी गरेपछि सट्टामा अवलम्बन गरिने के ?यी यस्ता प्रश्नहरुको उत्तर तद्विषयको जानकारीले दिने हो । बदल्ने र बदलिने हिम्मत दिने पनि त्यही हो । त्यसैले खस अभियानको पहिलो आवश्यकता खस समाजमा जातिचेतना भर्नु हो ।

त्यो काम अभियान, अभियन्ता र समयले एकदिन अवश्य पूरा गर्ने छन् । नबुुझ्ने र नबुझेकाहरुका लागि धैर्यपूर्वक चलाइने अभियान एक मात्र ओखती हो तर सबै कुरा बुझेर पनि पुरानो बाटो परित्याग गर्न अन्कनाउने बानी पनि समाजमा रहन्छ । सबै कुरा जाने बुझेको छ तर म एउटाले बुझेर के गर्नु, समाजले पचाउँदैन, त्यत्ति जाबो सानो कुरा मैले अनुशरण नगर्दैमा के भैहाल्ने हो र ? पुर्खाको नासो किन मिल्काउनु भन्नेहरुको संख्या उति नै ठूलो रहन्छ । जस्तो कि जनैको कुनै उपयोगित नदेख्ने मान्छेले पनि जनै पूर्णीमा आयो भने जनै सम्झिहाल्छ । आज एकपल्टका लागि लगाइहालुँ न त के फरक पर्छ र ? भोलिदेखि लगाउने होइन क्या रे, भन्छ । अर्को वर्षदेखि त्यागुँला भन्ने छेपारे उखान पछ्याउँछ । बाबु आमाको मृत्युतिथि आउनासाथ पिण्ड विसर्जन गर्नुपर्ने कुरा सम्झन्छ । मैले दिने कर्तव्य हो, पाउने नपाउने कुरा दैव जानुन् भन्छ । कतै मैले पिण्ड अर्पण नगर्ने हो भने वर्षदिनसम्म पितृ भोकै पो रहने हुन् कि भन्ने झुसिलो उसको मनको एउटा कुरामा बसेकै हुन्छ । बाबु आमाको किरिया नगरेको र नियमित श्राद्धतर्पण नगर्नेरुले पनि पुण्यतिथिमा बृद्धाश्रमतिर खानेकुरा, लत्ताकपडा बाँड्ने गरेको देखिन्छ । अवश्य बाबुआमालाई सम्झने त्यो तरिका राम्रो हो तर त्यो पनि उही अजम्मरी आत्मा र त्यो आत्मालाई पृथ्वीमा जीवित सन्ततिले सामल पु¥याइदिनुपर्छ भन्ने अन्ध परम्परा हो । दान दातव्यका लागि कुनै तिथिबारको जरुरत पर्दैन भन्ने जानेर पनि उही तिथिमिति कुर्नुको अर्थ मनभित्र दाप्चिएर बसेको समाजले लादेको संस्कारगत छापको अभिव्यक्ति हो ।

त्यस्तो मनोदशामा मानिस किन पुग्छ ?जानेर बुझेर चेतेर पनि जीर्ण परम्पराविरुद्ध उभिन मानिसका गोडा किन लग्पकाउँछन् ?त्यो परिवारले, परम्पराले, समाजले, दिएको शिक्षा संस्कारको परिणाम हो । मानिस भावनाद्वारा डोरिन्छ । मानिसको भावनालाई कसरी प्रभावित गर्न सकिन्छ र फरक ढङ्गबाट समेत उद्वेलित निर्देशित गर्न सकिन्छ भन्ने विषयमा रसियन वैज्ञानिक पावलोभले गरेको एउटा रोचक प्रयोगबाट गतिलो प्रकाश पर्दो रहेछ ।

एउटा कुकुरलाई एक्लै एउटा बन्द कोठामा थुनेर राखियो । उसलाई निश्चित समयमा नियमित रुपमा खाना दिइयो । हरकेपटक खाना दिनुपूर्व कुकुरलाई खाना राम्रोसँग देखाइन्थ्यो । हरेकपटक खानामा कुकुरका आँखा पर्नासाथ उसको मुख रसाउँथ्यो । ¥याल टप्कन थाल्थ्यो । कागतीको काटिएको टुक्रा देख्दा मान्छेको जिब्रो रसाउँछ । खाना देख्दा कुकुरको मुख रसाउनुे कारण पनि त्यही थियो । अर्थात त्यो स्वभाविक शारीरिक प्रतिक्रिया हो । मुखमा ¥याल उत्पन्न हुनुको कारण खाना पचाउने रसायनको जोहो हो । त्यो तारतम्य शरीरले प्राकृतिक रुपमा मिलाउँछ । शरीरको आवश्यकता पूर्ति गर्नका लागि निश्चित मात्रामा खानाको आवश्यकता पर्छ । शरीरले आफूलाई आवश्यक पर्ने पोषणको माग गर्छ र त्यसलाई भोक भनिन्छ । सामन्यतः भोकको अनुभूति पेटले गर्छ । पेटको अनुभूति रसनाले प्रदर्शन गर्छ । भोक लाग्छ पेटमा, त्यसको प्रक्रिया जिब्रोमा देखिन्छ ।

वैज्ञानिक पावलोभले त्यही जिब्रोमा देखापर्ने भोकको प्रतिक्रियालाई नियन्त्रित गर्न सकिन्छ कि सकिदैन, त्यसलाई अर्कोतिर मोड्न अर्थात अर्को रुप दिन सकिन्छ कि सकिदैन भनेर परीक्षण गरेका थिए । सुरुमा एकान्तबासमा राखिएको कुकुरलाई नियमित समयमा खाना दिइयो । खाना दिनुपूर्व अलि टाढैबाट उसलाई खाना देखाइन्थ्यो । स्वभावतः खानामा आँखा परेपछि कुकुरको मुखमा ¥याल निस्कन्थ्यो । केही समयपछि खाना देखाउने र संगसंगै घन्टी पनि बजाउने गर्न थालियो । खानाको दृश्य र घन्टीको आवाजमा कुकुर अभ्यस्त भयो होला भन्ने अनुमान गरेर केही समयपछि घन्टी बजाइयो तर खाना भने देखाइएन । कुकुरको जिब्रो उसैगरी रसायो । अर्थात अब कुकुरमा भोकको प्रतिक्रिया खाना नदेख्दा पनि देखियो । कुकुरमा अर्को एउटा परीक्षण पनि गरियो । खाना दिनुपूर्व कुकुरको शरीरमा तिखो सियोले घोच्ने गरियो । सियोको घोचाइले पनि उस्तै परिणाम दियो । त्यो कष्टपूर्ण अभ्यासबाट पनि कुुकरको भोक जगाउने परीक्षण सफल भयो । सियोले घोच्दा पनि कुकुरले खाना देखेजस्तै प्रतिक्रिया दिन थाल्यो । त्यसबाट जीवको अवचेतना वा अन्तर्मनले दिने प्रतिक्रियालाई जगाउन दोश्रो माध्यम प्रयोग गर्न सकिन्छ भन्ने पुष्टि भयो ।

खस समाज पनि त्यसरी नै लामो समयदेखि निश्चित रीतिरिवाज, धर्म संस्कृृति र संस्कार परम्पराहरुमा अभ्यस्त भएको छ । समाज पूर्णरुपमा सम्मोहनको अवस्थामा छ । मानिसहरुको मन मस्तिष्कमा त्यो बलियोगरी टाँसिएको छ । मानिसको मनमस्तिष्कमा भिजेको कुरा अनौठो प्रकृतिको हुन्छ । मन्दिर परिसर नजिकै जन्मी हुर्केको मेरो एकजना बर्मेली भाई थियो । उसमा विचित्रको बानी थियो । घन्टीको आवाज सुन्नासाथ उसका हातहरु जोडिन्थे । एकसुरमा हिँडिरहेको होस् वा गम्भीर छलफलमा सहभागी होस् अवचेतन मनले उसका दुबै हातहरु नमस्कारको मुद्रामा जोडिदिन्थ्यो । एकपटक एउटा रमाइलो घटना घट्यो । गोर्खाबजारमा गस्ती गर्दै थियौं । तल्लो र उपल्लो गल्लीबिचको दुरी निकै फराकिलो थियो । उपल्लो गल्लीतिरबाट घन्टीको आवाज आयो, तल्लो गल्लीमा गफगर्दै हिँडेको मेरो भाइका हातहरु स्वतः नमस्कारको मुद्रामा जोडिए । गफ गर्दै अघि बढियो । एउटा मोडमा घन्टी र हामीबीच जम्का भेट भयो । घन्टीको आवाज खच्चरहरुको सानो झुण्डबाट आएको रहेछ । मेरो भाइ यसरी अभ्यस्त भएको रहेछ कि घन्टीको आवाज मन्दिरभन्दा फरक ठाउँबाट पनि निस्रित हुन्छ भन्ने उसलाई जानकारी नै रहेनछ ।

खस भन्नासाथ बाहुनबाट झरेको भन्ने हीन भावना उत्पन्न हुनु, क्षत्री भन्नासाथ काँधमा छडोरे जनैको सम्झना आउनु, धर्म भन्नासाथ हिन्दू शब्दको स्मरण हुनु, तिथिको नाम सुन्नासाथ पिण्ड सेलाउनुपर्ने कर्तव्यबोध हुनु, त्यही लामो अभ्यासबाट सिर्जना भएको प्राकृतिक प्रतिक्रियाको अवचेतन भावाव्यक्ति हो । खासगरेर, सोह्रौं शताब्दीको मध्यतिरबाट जनै धारण गरेर वैश्य वर्णमा रुपान्तरित भएका खसहरुलाई बीसौं शताब्दीको मध्यतिर जङ्गबहादुरले क्षत्रीमा उकाली दिए । त्यसयता खस समाजले आपूmलाई क्षत्री भनेर मान्दै आएको छ । क्षत्रियोचित संस्कारहरु अवलम्बन गर्दै आएको छ । शताब्दीभरको निरन्तर अभयासले समाजलाई यसरी प्रभावित पारेको छ कि परिवारको कुनै सदस्यको देहावसान भयो भने अवचेतन मनले किरिया गर भनेर आदेश दिन्छ । वैतरणी दान गर भन्छ । गोदान गरिइएन भने मृतकको आत्माले वैतरणी नामको नदी तर्न सक्दैन कि भनेर शंका गर्छ । वैतरणी नदीमा यतिबेलासम्म त विशाल पक्की पुल बनिसक्यो होला भन्ने सामान्यज्ञानको हेक्का राख्दैन । मरेतिथिमा श्राद्ध गरेर पिण्ड पल्टाइएन भने पितृहरु वर्षभर भोकै हुन्छन् कि भनेर मनको एउटा सानो कुना चिच्याउँछ । आर्तनाद गर्छ । आफूले विसर्जन गरेको पिण्ड पितृले होइन, स्याल, कुकुर, गिद्ध वा थलचर नभचर र जलचरहरुको आहार बन्छ भन्ने तथ्यतिर ध्यानदिने फुर्सदै हुदैन ।

विभिन्न नाम रुपमा उद्दिपनहरुको प्रयोग गरेर अप्राकृतिक प्रतिक्रियामा अभ्यस्त बनाइएको वैज्ञानिक पावलोभको बन्दी ककुरलाई झैं खसहरुको मस्तिष्कलाई आर्य परम्परा, रीतिरीवाज, प्रचलन, र संस्कारहरुमा अभ्यस्त बनाइएको हुनाले स्वतः स्फूर्त रुपमा अनुकुलित प्रतिक्रिया दिने गरेको हो । त्यसलाई बदल्न अर्को अभ्यास र परीक्षणको विधि बवलम्बन गर्नुपर्ने आवश्यकता छ सायद ।-जनधारणा साप्ताहिकबाट 



Share Your Thoughts