ओलीको बहिर्गमनसँगै आगमन भएका देउवा कोरोना विरुद्ध आक्रामक अभियानमा



Dharana    

access_time 22 Jul 2021

-राज्यलक्ष्मी शाक्य

कोरोना संक्रमणको डेढ बर्ष पुग्नै लाग्दा नेपालमा अमेरिकामा निर्मित कोभ्याक्स फ्यासिलिटीअन्तर्गत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप लगाउन शुरु भएको छ । यो खोप एक पटक लगाए मात्रै पुग्ने छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा गत मंगलबार बसेको कोभिड–१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको थियो । सोही आधारमा हिजो बुधबारसम्म यो खोप उत्साहजनक रुपमा लगाइएको छ । अमेरिकाबाट गत साता जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो ।

यसैबीच, प्रधामन्त्री शेरबहादुर देउवाले उपत्यकाभित्रका खोप केन्द्रहरुको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् ।

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका विभिन्न स्थानका कोभिड खोकेन्द्रको अनुगमन गरेका छन् । प्रधानमन्त्री देउवाले अनुगमनका क्रममा उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा सञ्चालल गरेका खोपकेन्द्रहरुको निरिक्षण गरेका छन् । साथै, देउवाले ललितपुर महानगरपालिकाले सञ्चालन गरेको कुपण्डोल खोपकेन्द्रको समेत अनुगमन गरेका छन् ।

विभिन्न स्थानमा रहेका खोप केन्द्रहरुको अनुगमनका क्रममा प्रधानमन्त्रीले खोप कार्यक्रमलाई व्यवस्थित बनाउनसमेत निर्देशन दिएका छन् ।

यस्तै, स्वास्थय मन्त्रालयले उक्त खोप पूर्ण र अति अशक्त अपाङ्ग‍ता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको छ । विगत ओली सरकारले कोरोना संक्रमितहरुलाई उपयुक्त सेवा दिन नसकेको भन्दै व्यापक आलोचना भइरहेका अवस्थामा नयाँ प्रधानमन्त्रीका रुपमा आएका शेरबहादुर देउवाले सामान्य रुपमा चासो राखेर अनुगमन गर्दा पनि नेपाली जनतामा आशा जगाएको छ ।

उता बंगलादेशमा देशव्यापी रुपमा लकडाउन गरिएको भए पनि कोरोना संक्रमणको दर बढेको पाइएको छ । बंगलादेशमा पछिल्लो केही दिनमा कोरोनाका संक्रमितहरू बढ्दै गएपछि दुई हप्ताअघिदेखि नै लकडाउनको घोषणा गरिएकोे थियो ।

२४ घन्टामा कोरोनाका आठ हजारभन्दा बढी संक्रमितहरु देखिएका छन् । त्यस्तै गत शनिबारमात्र २०४ जनाको ज्यान गएको छ । बंगलादेश सरकारले करिब महिना दिनदेखि कतै कडा र कतै केही खुकुलो खालको लकडाउन घोषणा गरेको समाचारमा जनाइएको छ । बंगलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट यहाँका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै सो समाचार सार्वजनिक गरिएको छ ।

बंगलादेश नेपालबाट धेरै टाढा छैन, नयाँ भेरियन्टको संक्रमण नेपालमा प्रवेश गरिसकेको अवस्थाले नेपाली जनतालाई चिन्तित तुल्याएको छ । ओली सरकारको जस्तो लापरवाही देउवा सरकारले नगरोस् भन्ने कामना नेपाली जनताले गर्नु स्वाभाविक हो । अनुगमन गरेर प्रधानमन्त्री देउवाले शुभ सन्देश दिएका छन् ।

भारतमा कोभिड सङ्क्रमणको अत्यधिक समस्या देखिएका कारण स्वदेशमा नै आपूर्तिमा कमी आउँदा निर्यातलाई रोक लगाएपछि बंगलादेशले भारतबाट ल्याउने भनेको खोप उपलब्ध हुन सकेको थिएन । बंगलादेशलगायत एशियाली मुलुकहरूमा भारतबाट खोप आपूर्ति हुन नसकेपछि ती मुलुकहरूले खोप अभियानका लागि बनाएको योजना नै प्रभावित भएको थियो । भारतले नेपाललाई दिने भनेको खोप पनि दिन नसकिने भनेर जवाफ दिएपछि नेपालमा खोपको अभाव हुनु स्वाभाविक थियो । ओली सरकारले उपचार सामग्रीहरु लगायत खोप आयात समेतमा गरेको आर्थिक अनियमितताका कारणबाट समेत नेपालमा खोपको अभाव भएको र उपचारबाट नेपाली जनता बञ्चित हुनुपरेको अवस्था बीच भएको सरकार परिर्वतन नेपाली जनताका लागि आशाप्रद हुनु स्वाभाविक हो । सरकारले नेपाली जनताको यो भावनालाई बुझेर काम गर्न सके देशमा सरकार परिर्वतनको सुखद अनुभूति जनताले गर्न पाउँनेछन् ।-जनधारणा सापताहिकबाट 



Share Your Thoughts