खस आन्दोलन केको लागि र किन आवश्यक छ ?



Dharana    

access_time 22 Jul 2021

–चन्द्रप्रकाश बानियाँ

प्रथम श्री ३ महाराज जङ्गबहादुरले “राणा”थर ग्रहण गर्नुपूर्व खसहरुलाई क्षत्री भनिदैनथ्यो । पृथ्वीनारायण शाहकालनि एउटा लेखोटमा परेको आफ्नो सेनामा “खस, ब्राह्मण, गुरुङ र मगर” रहेको कुरा उल्लेख हुनुले त्यही कुरालाई पुष्टि गर्दछ । कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाशको सेनामा खसहरु रहेको कुरा पनि इतिहास प्रमाणित तथ्य हो । खसहरुको काँधमा कहिलेदेखि जनै प¥यो, कुन मितिदेखि खसहरु हिन्दू बने भन्ने कुराको निश्चित तिथिमिति अन्धकारमै रहेको भए पनि पन्ध्रौं शताब्दीको मध्यतिर जुम्लाका कल्यालवंशी राजा गगनीराजले आफ्नो राज्यमा जनै वितरण गरेको कुरा प्रमाणित तथ्य भएको हुनाले खसहरुले जनै लगाउने हैसियत प्राप्त गरेको त्यसपछि मात्र हो हुनुपर्छ भनेर अनुमान लगाउन सकिन्छ । अर्थात खसहरुले व्रतबन्ध संस्कार अवलम्बन गरेको पाँच शताब्दी मात्र भएको छ भन्न सकिन्छ ।

खसहरु सबैले एकैसाथ पन्ध्रौं शताब्दीपछि मात्र जनै लगाउन थालेका भने होइनन् । त्यसभन्दा अगाडि नै खस ठकुरीहरुले जनै पाइसकेका थिए । भारतीय राजपुत वा रजौटाहरुले नेपालका सामन्त तथा राजपरिवारसंग विहेबारी चलाउन थालेपछि ज्वाई र सम्धीहरुलाई जनै लगाउन दिएर वा प्रोत्साहित गरेर “क्षत्री”मा उकालेका थिए । त्यसपूर्व खसहरुलाई सगोलमा व्रात्य भनेर हुण, दरद, यवन, पुलिन्द आदि जाति जस्तै म्लेच्छ वा शुद्रको कोटीमा गनिन्थे भन्ने कुरा पुराण, स्मृति र महाभारतादि संस्कृत ग्रन्थहरुले प्रमाणित गर्दछन् । सम्भवतः उत्तरी भारतमा मुस्लिमहरुको शासनसत्ता स्थापना भाएपछि ज्यान जोगाउन भागेका रजपूतहरु नेपालको वर्तमान सीमाभिात्रका सामन्त राज्यहरुको शरणमा आएपछि  कुटुम्ब खोज्ने सिलसिलामा तत्कालीन समाजका सामन्त राजौटाहरु उनीहरुको रोजाईमा परेहोलान् । त्यसरी नेपालका सामन्त र रजौटाहरुलाई “ठकुरी क्षत्री” भन्न थालिएको होला । ठकुरी अलगै जाति हो कि होइन भन्ने कुरा खोज अनुसन्धानकै विषय भए पनि तत्तत समाजका मुखिया, सामन्त वा राजारजौटाहरुलाई नै ठकुरी भनिएको हुनुपर्छ । ठकुरी भन्ने पदावली ठाकुर र ठकुराईसँग  सम्बन्धित छैन भन्न सकिन्न । भारतीय समाजका ससाना राज्यहरुलाई ठकुराई र त्यसको मुखिया वा सामन्तलाई ठाकुर भन्ने चलन रहेको थियो । उताका ठाकुर वा ठाकुरका समकक्षी यता ठकुरीहरु मानिएका हुनुपर्छ । उताका ठाकुर यता आएर ठकुरी भएका भने होइनन् । उताको सिको गरेर यताका राजपरिवार र उनीहरुको कुलकुटुम्ब दाजुभाइहरुलाई ठकुरी भन्न थालिएको हुनुपर्छ । खस समाजमध्येका जेठा क्षत्री ठकुरीहरु नै हुन् ।

नेपालका सबै ठकुरीहरु खस होइनन् । वैदिक समाजले विकास गरेको सामाजिक सभ्यताको सिको गरेर राजकाज र क्षेत्र सुरुक्षाको जिम्मेवारीमा रहनेहरु ठकुरी भनिए । एउटा राजिपरिवारको अर्को राजपरिवारसंग सोलीडोली चल्न थालेपछि खसेत्तर जातिका सामन्त र राजपरिवारहरुमा पनि जनै संस्कार भित्रियो । जुनसुकै जातिका भए पनि राजाहरु क्षत्री ठकुरी भनिन थाले र सबै क्षत्री ठकुरीहरुले जनै धारण गर्नु अनिवार्य बन्यो । पश्चिमका खसमूलका ठकुरी, गण्डकी क्षेत्रका मगरमूलका ठकुरीहरु र काठमाडौंंका नेवारमूली ठकुरीहरु समेत नेपालको सन्दर्भमा ठकुरीहरुको स्पष्ट तीन समूह देखिन्छ । काठमाडौैंका मल्लहरु वैशालीतिरबाट उक्लेका थिए भन्ने वंशावलीका कथाहरु पत्यारलाग्दा छैनन् । पुरानो नेपाली समाजमा थर र गोत्रहरु परिवर्तन हुँदै रहेको देखिन्छ । राजपरिवारहरुले पटक पटक थर र गोत्र फेर्ने गरेको देखिन्छ । जयस्थिति मल्लले बनाइदिएका  पाँच र छ थरी भनेर चिनिने नेवार ठकुरी क्षत्रीहरुले थर नछोडेपनि वर्ण र जनै  त्यागेको देखिन्छ । क्षत्री र ठकुरी भनाउन पनि छोडेको देखिन्छ । लिच्छविकालपूर्व किराँतहरुको राज्य थियो र किराँतको हातबाट लिच्छविहरुले शासनसत्त खोसेका थिए भनिन्छ । वास्तवमा बाहिरबाट आउने आगन्तुकहरुले रैथाने किराँतलाई धपाए होलान् भनेर पत्याउन गाह्रो छ । किराँती राजपरिवार लिच्छविमा रुपान्तरित भएको र लिच्छविहरु नै मल्लमा फेरिएका हुनुपर्छ ।

मध्यकालको अन्ततिर बल्ल जनै धारण गरेका वा धेरै अगाडि नै जनै भिरेर हिन्दूकृत भएका भए पनि खसहरुको जातीय हैसियत वैश्य वर्णको मात्र थियो भन्ने कुरा “अब उप्रान्त सबै खसहरुले आफूलाई झर्रा क्षत्री भन्नु, लेखाउनु” भन्ने जङ्गबहादुरको उर्र्दीले पुष्टि गर्छ । वैश्यको हैसियतमा रहेका सबै खसहरु क्षत्रीमा रुपान्तरित भएैे हुनाले आधुनिक नेपालभित्रको खस समाजमा वर्णविभाजन भए पनि वैश्य वर्णको अस्तित्व देखिदैन । एउटा सिंगो वर्णको विउ नै मासिने गरी समयक्रममा सबै खस वैश्यहरु क्षत्री भनिएका हुन् । नाम लेख्दा थरसंग जात अर्थात क्षत्री लेख्नुपर्ने वाध्यता थियो । आजकाल क्षत्री लेखाउने परम्परा मेटिन थालेको छ । कमसेकम अघिल्लो पुस्तासम्म नामसंग क्षत्री अनिवार्यरुपमा जडिन्थ्यो ।

नेपालको सन्दर्भमा सबभन्दा धेरै गरिबहरुको संख्या रहेको जात वर्ण क्षत्री नै हो । दलित समुदायमा गरिबको संख्या प्रतिशतमा धेरै भए पनि संख्यात्मक दृष्टिले क्षत्री गरिबहरु सबभन्दा बढी छन् । नेपाललाई क्षत्री बाहुनले खाएको देश भन्ने गरिन्छ । मुलुकको शासनसत्तामा खसहरुको एकलौटी प्रभाव रहेको थियो भनिन्छ । क्षत्रीलाई हिजोका सामन्त र शोषाक भनेर चिनिन्छ । हो, खस भाषा संस्कृतिले नेपालमा शासन गरेकै हो । शासनसत्ताको नेतृत्व पनि खस जातिकै हातमा थियो । तर त्यो बुझाई र भनाई सत्य पनि हो, सत्य होइन पनि । सत्य यस अर्थमा हो कि २५० वर्ष शासनसत्ताको नेतृत्वमा शाह राजवंश रहेको हो । १०४ वर्ष राणाशाही रह्यो । पञ्चायतकालसम्म पनि नेपाली सेनाको नेतृत्व शाह, राणा, पाण्डे, थापा र बस्नेतहरुको एकलौटी रहेकै हो । ती सबै एकै समुदायका थिए भनेर मान्ने चलन छ । तर गहिरोगरी अध्ययन गर्दा ती सबै एउटै जातिका थिए कि थिएनन् भन्ने जब्बर प्रश्न अगाडि आउँछ ।

शाहवंश गण्डकी प्रदेशको सामन्त परिवारबाट आएको हो । माथि नै भनिसकियो कि गण्डकी क्षेत्रका चौबीसी रजौटाहरुको मूल न खस थियो न रजपूत । पाण्डे र थापाहरु ब्राह्मण परिवारबाट आएका देखिन्छन् । दुबैको मूल खोज्दै जाँदा कन्नौज र कुमाउसम्म पुगिन्छ । उनीहरुले आफूलाई खसमूलका मान्दैनन् । राणा र बस्नेतवंश भने खसमूलकै हो । त्यसैले नेपालको राज्यसत्तामा सदाकाल खसहरुको एकलौटी थियो वा छ भन्ने कुरा अर्ध सत्य मात्र हो । २०४६ को राजनीतिक परिवर्तनपछि राज्यसत्तामा खसहरुको अंशियारी निकै झिनो हुँदै गएको छ । संख्याको हिसाबले मुलुकको सबभन्दा ठूलो जातिसमूह खस नै हो । रीति संस्कृति र भाषा खसहरुकै चलेको छ । खस भाषाले नेपाली भाषाको नाम पाएको छ । भाषाले नेपाली नाम पाउन थालेको २०१७ को परिवर्तन पछि हो । २०१५ सालसम्म पनि राजकयि भाषा नेपालीलाई मान्ने कि हिन्दीलाई भन्ने बहस समाजमा चल्दैरहेको देखिन्छ । नेपाली भाषालाई राष्ट्रभाषाको लालमोहर लगाइदिएको पञ्चायत व्यवस्थाले हो । गोर्खा भाषालाई नेपाली नाम दिने दार्जिलिङ र सिक्कमको साहित्यिक समाज हो । वास्तवमा खसहरु लादिएको संस्कृति अपनाउन वाध्य भएका हुन् ।

खस जातिले वदनामी पायो र आफै क्षिण हुदै गयो । भाषा सग्लो रहेन । भाषाको पूर्णतः संस्कृतकरण भयो । नाम फेरियो । भाषा संस्कृतिमा वैदिक समाजको जबर्जस्त अतिक्रमणका कारणले मरणाशन्न अवस्थामा पुगेको छ । एकीकरणको नाउमा खसजाति र खसभूमिको उपनिवेशीकरण भयो । शोषण र उत्पीडनको शिकार बनाइयो । त्यसैले प्राकृतिक  श्रोत साधनमा धनी रहेर पनि गरिब खसहरुको भूमि बन्यो –खसभूमि । गरिब उत्पादन गर्र्ने कारखाना बन्यो–कर्णाली क्षेत्र । कर्णालीक्षेत्रबाट खस भाषा लुप्त भैसक्यो । डोटेली लवज पनि नयाँ पुस्ताले प्रयोग गर्न छोडिसकेको छ । बुढाखाढा र दुरदर्गममा बोलिने भाषा बनेको छ –डोटेली खस भाषा । यतिखेरसम्म डोटेली भाषा जीवित रहनुको कारण महाकाली पश्चिमको भारतभूति उत्तराखण्डमा पनि बोलचालमा प्रयोपग हुुे हो । पञ्चायतले तराईमा नेपाली भाषा जबर्जस्ती लाद्ने प्रयत्न गर्दागर्दै पनि भोजपुरी, मैथिली , अवधि, थारुलगायतका भाषा जोगिएजस्तो अवस्था हो –खस डोटेली भाषाको नियति पनि ।

जुम्ली खस भाषालाई माया गर्ने विद्वानहरु शब्द संकलन गरेर पुस्तकमै भए पनि भाषालाई जीवित राख्ने कोसिसमा लागेका छन् । बेलैमा डोटेली खसहरु चेतेनन् भने २÷३ पुस्तापछि त्यो पनि पुस्तकमा खोज्नुपर्ने भाषा बन्नेछ । नेपाली भाषाले त्यसलाई पनि अजिङ्गरले बाख्रो निलेझै निल्ने छ । ढिलै भए पनि खसान संघर्ष समितिले खसप्रदेशको माग उठाएर आन्दोलन सुरु गरेको छ । भाषाको अवशेष बचाउने कोशिसमा विद्वानहरु लागेका छन् । तर जाति जोगाउनुपर्ने चेत अझै खसहरुमा पलाई सकेको छैन । खस जातिको अस्तित्व  समाप्त पार्ने मुख्य कुरा भाषा संस्कृतिको विलोपीकरण हो । त्यो त भैसकेको छ । भाषाको विकास हुनु राम्रो हो । तर विकासको नाममा नामसमेत बदलिनु, भाषाका परम्परागत शब्दहरुलाई अर्को भाषाको शब्दहरुले विस्थापित गर्नु वास्तवमा भाषा मास्ने चेष्टा हो । त्यस्तो चेष्टामा सदाशय मात्र छ भनेर मान्न सकिन्न । खस संस्कृतिलाई नामेट पार्ने मुख्य कुरा धर्म हुन गएको छ । हिन्दू धर्मसंगै आएका संस्कार, संस्कृति र परम्पराहरुले खस परम्परा र संस्कृतिलाई नामेट बनाइसकेका छन् ।

काठमाडौं केन्द्रित राज्य कहिल्यै खसहरुको थिएन । अझै हुन सकेको छैन । खसराज्य हुन्थ्यो भने आफ्नो जातिलाई अन्याय, उत्पीडन र शोषणमा पार्दैनथ्यो । उपेक्षा गर्दैनथ्यो । धर्म संस्कृति मासेर जाति उन्मूलनको ढोका खोल्दैनथ्यो । खसहरु इतिहासमा मात्रै होइन, वर्तमानमा समेत कसरी चेपाइमा परेका छन् भन्ने कुरा नयाँ संविधानमा परेको “खस–आर्य” नामको जाति परिभाषाले स्पष्ट गरेको छ । राज्यको नेतृत्व ठकुरीहरुले गरेका भए पनि धर्म, संस्कृति र समाजको नेतृत्व ब्राह्मणले गरेका थिए । ब्राह्मण धर्मले गरेको थियो । राज्यमा ब्राह्मण समुदायको कति पहुँच थियो भन्ने कुरा राज्यबाट इतिहासमा उनीहरुले पाउँदै आएको संरक्षणबाट पुष्टि हुन्छ । ब्राह्मणहरुले जति नै जघन्य अपराध गरेपनि मृत्युदण्ड दिन नहुने तर स्वय आफै दण्डाधिकारी रहेका राजपरिबारका सदस्यहरु भने मृत्युदण्डबाट मुक्त नहुने राज्यको कानूनले त्यसलाई स्पष्ट गर्छ । अर्थात ब्राह्मण र क्षत्रीलाई एउटै परिभाषाभित्र पार्नुको कारण राज्यले समानुपातिक सहभागिताको सिद्धान्तलाई संविधानतः अङ्गिकार गर्नु हो । आंशिक रुपमै भए पनि समावेशी सहभागिताको संवैधानिक व्यवस्था भएको हुनाले ठूलो भाग आफ्नो वर्णको पोल्टामा पार्ने षडयन्त्र गरिएको होइन भन्न मिल्दैन । यो संवैधानिक जालसाँजबाट खस जातिलाई मुक्त गर्न मधेसी, जनजाति, आदिबासीहरुसँग मिलेर संविधान संशोधनका लागि आवाज उठाउनु, आन्दोलन गर्नु र संघर्षको मैदानमा उत्रनुको विकल्प छैन । खस जाति सोझो मात्रै होइन, मुर्ख समेत हुदैनथ्योे भने “खस–आर्य” को जालसाँजपूर्ण सम्म मैदानमा लडाउन संविधान निर्माताहरु सफल हुदैनथे ।

असल काम सुरु गर्ने साइत कहिल्यै गुज्रदैन । हिजोको गल्ती सुधारौं ।-जनधारणा साप्ताहिकबाट



Share Your Thoughts