ओलीको बिकल्प खोज्दा खोज्दै बाटो बिराएका एमालेजनलाई सुझाव



Dharana    

access_time 15 Jun 2021

-निमकान्त पाण्डे

कुनै शैद्धान्तिक र बैचारिक आधार र कारण बिना आन्तरिक  कलहको भुंग्रोमा परेको नेकपा एमालेले जनाधार गुमाएर नेपाली कांग्रेसको पोल्टामा सबै सुम्पिंदै छ । केन्द्रमा शक्ति गुमाउँदै गएको यो पार्टीले पछिल्लोपटक गण्डकी प्रदेशमा पनि सरकार गुमाएको छ र कांग्रेसलाई नै भित्र्याएको छ । केन्द्रमा एमाले अध्यक्ष ओलीलाई  टिकाउन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको चलाखी देखाउन प्रदेश प्रमुख सीता पौडेल असफल भइन् । यसबाट मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मात्र हैन धेरै एमालेजनले धेरै गुमाएका छन् । 

प्रदेश सरकारमा  एमालेको हालत सबै ठाउँमा गण्डकीकै नियति रहेको छ ।कर्णालीमा पनि नेपाल खेमाका चार सांसदले  फ्लोर क्रस गरेर सरकारको नेतृत्व माओवादीको हातमा सुम्पिने काम भयो। एमाले एक भएको भए उसकै नेतृत्वमा एकल सरकार बन्ने अवस्था थियो । ३१ सदस्यीय प्रदेशसभामा एमालेको स्पष्ट बहुमत थियो।

सुदूरपश्चिममा पनि एमालेकै बहुमत थियो, एमाले नेताहरूले माओवादी केन्द्रको सरकार जोगाइदिएका छन्।

ओलीसँगको सत्तासाझेदारीमा केन्द्रीय सरकारमा प्रवेश गरेको जसपाको महन्थ ठाकुर पक्षले प्रदेश २ सरकारबाट बाहिरिनुपरे पनि केन्द्रमा धेरै लाभ प्राप्त गरेको छ ।

पछिल्लो पटक विकसित  राजनीतिक परिदृश्यले नेकपा एमालेको राजनीति ओरालो लाग्दै गएको देखाउँछ। वास्तवमा समग्र एमालेका लागि यो क्षति ठूलो हो, अझै पनि समीक्षा गरेर गल्तीहरुलाई सच्याएर अगाडि बढ्न सक्ने हो भने अवसर गुमेको छैन । 

ओलीले संवैधानिक व्यवस्था, कानुनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यहरूमाथि हमला गरेको निष्कर्ष निकाल्दै त्यसकाविरुद्ध कांग्रेस सभापति शेर बहादुर देउवासँग गठबन्धन गरेर ओली बिरोधी एमाले नेताहरु खनाल, नेपाल सहितको शक्ति कांग्रेसको बैशाखी बन्न पुगेको छ । जताततै एमालेको नेतृत्वप्रति जनआक्रोश बढेको छ । यो अवस्थाबीच चुनावमा जाँदा भने कांग्रेसले नै राम्रो बहुमत पाउने निश्चित आंकलन गर्न सकिन्छ । एमाले फुटेपछि कांग्रेसले सरकार निर्माण गर्ने अवशर पाएको र एमाले पंक्तिले फूटको पीडा अनुभव गरिसकेको छ । 

 प्रधानमंत्री केपी ओलीलाई पार्टी भित्रबाट असहयोग भएकै कारणबाट उन्ले जनतामा बाँडेका आश्वासनहरु कार्यान्वयन समेत गर्न नपाएको गुनासो ओलीबाट आईरहेको छ । ओलीको गुनासोलाई गलत भन्ने ठाउँ छैन । ओलीलाई राष्ट्रियताको सवालमा बिचलित भएको आरोप लगाउने आधारहरु पछिल्लो समयमा प्रशस्त छन् । तर छिमेकी देशसँगका बिबादका बिबिध बिषयहरु मध्ये महत्वपूर्ण बिषयका रुपमा रहेको सिमा बिबाद  नै हो ।सिमा बिबादका सवालमा ओलीले लिएका अडानहरु वास्तवमै ऐतिहसिक छन् । सरकारको नेतृत्व गरेका यस अघिका कुनै पनि प्रधानमंत्रीले ओलीको जति सशक्त ढंगले सिमा बिबादको बिषयलाई नेपालको हितमा उठाएको पाईदैन ।

नेपाल-भारत सम्बन्धका सवालमा  नेपालको हितलाई महत्व दिएर केपी ओलीले उठाएका बिबिध सवालहरु मध्ये सिमा सम्बन्धि बिबादको प्रसंग बिशेष महत्वको रह्यो । खासगरेर लिपुलेक,लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको नक्सा संसदबाट पारित गराउने काममा केपी ओलीको नेतृत्वको सरकारले उल्लेख्य सफलता हासिल गरेकै हो । तर यही देशभक्ति कदमलाई कार्यान्वयन गर्ने सवालमा भारतीय सत्तापक्षसँग ओलीको बिबाद चुलिएर गएको स्पष्ट देखिन्छ । यही सेरोफेरोमा ओली बिरोधी गठबन्धन पार्टीभित्र सशक्त बन्न पुग्यो । प्रचण्ड आफैले पाँचबर्षका लागि सरकारको नेतृत्व ओलीले नै गर्ने भनेर गरेको सहमति तोडेर ओलीलाई सरकारबाट हटाउने खेल सुरु भयो । ओलीलाई हटाएर भारतको लागि कम्फर्टेबल सरकार बनाउने घोषणा सार्वजनिक रुपमै गरियो र आन्तरिक राजनीतिमा भारतलाई खुल्ला रुपमा आमन्त्रण गरियो ।त्यसपछिका घटनाक्रमहरुका आधारमा बिष्लेषण गर्दा स्पष्ट देखिने गरी केपी ओली भारतका लागि अरुभन्दा कम्फर्टेबल बन्ने कसरतमा उत्रिएका देखिन्छन् र अरूलाई उछिनेका छन् ।  

अहिले आएर ५ जना पूर्वप्रधानमन्त्रीहरुले वक्तव्य सार्वजनिक गर्दै आन्तरिक मामिलामा हामी आफै सक्षम छौं भनेर रुञ्चे स्वर निकालेका छन् । तर ओलीलाई यो अवस्थासम्म पुग्न प्रतिस्पर्धामै उत्रन बाध्य बनाउने काम पार्टी भित्रैबाट बिदेशी उक्साहटमा भएको देखिन्छ ।


जुनसुकै शक्तिकेन्द्रको कारणबाट भएपनि एमाले पार्टी भित्र सृजना भएको बिबाद र विभाजनले एमाले पार्टी र समग्रमा देशलाई नै समस्या आईपरेको छ । एमाले मात्र मिल्दाको परिणाम कस्तो हुन्छ भन्ने सानो उदाहरण बाग्मती प्रदेसमा पनि देखियो । मुख्यमंत्री डोरमणि पौडेललाई खनाल–नेपाल पक्षका सांसदहरूले साथ दिएपछि परिणामले कोल्टे फेरेको छ । 

ओलीसँग कुनै पनि हालतमा मिल्न नसकिने निष्कर्ष निकाल्दै छुट्टै पार्टी निर्माणको पक्षमा रहेका एमाले नेताहरुले आत्म समीक्षा गर्नु जरुरी छ ।लामो समयसम्म माधव नेपाल र झलनाथ खनालको नेतृत्वमा पार्टी रहँदासम्म एमाले पार्टीबाट कुन-कुन ठाउँमा गल्तीहरु गरियो ? पार्टी एक हुँदा कहाँ-कहाँ कमजोरीहरु भए ? छिमेकी देशसँगका असमान सन्धि सम्झौताहरुलाई सच्याउने र नेपालको हितमा संशोधन गर्ने प्रयासहरुमा पार्टी किन अगाडि बढ्न सकेन ? देशका जलसम्पदाहरु छिमेकी देशकै स्वार्थ अनुकूल हुने गरी किन सम्झौताहरु गरिए ? गोरखा भर्ती केन्द्र खारेज गर्ने र देश भित्र रोजगारी सृजना गर्ने काममा किन चासो लिईएन ? यस्ता सबै राष्ट्रघाती कामहरुमा केपी ओली मात्र दोषी छन् र ? अवश्य सबै नेताहरु दोषी छन् । त्यसैले पछि पछुताउनु भन्दा कम्युनिष्ट आदर्शलाई केन्द्रमा राखेर देश र जनताको हितमा काम गर्ने प्रतिवद्धतासाथ अगाडि बढ्न एमाले पार्टीलाई एक ढिक्का बनाउन जरुरी छ । आगे सबैलाई चेतना भया !  



Share Your Thoughts