नेपालमा आवेग र प्रतिशोधको राजनीतिको परिणाम !



Dharana    

access_time 12 Jun 2021

- नारायण शर्मा 

राजनीति राज्य संचालनको नीति हो । यो सबै नीतिहरुमध्ये सर्वश्रेष्ठ नीति हो । यो नीति सबैभन्दा नैतिकताले भरिएको हुन्छ र हुनुपर्छ अनि आफ्नो घोषित नीतिअनुसार राजनीति चल्नुपर्छ भन्ने मान्यता रहिआएको छ ।

यस्तै नेता भनेका नीतिलाई निर्माण गर्ने र नीतिअनुसार चल्ने अनि सो नीतिलाई कार्यान्वयन गर्ने-गराउने नायक हुन् ! यी नेता-नायकहरु पनी नीति अनुसार चल्नुपर्छ भन्ने मान्यता पनि स्थापित छ ।

यसरी नै एउटा देसको वा पार्टीको वा कुनै पनि संघसंस्थाको संचालन र विकासको लागि नेता अनिवार्यरुपले हुनैपर्छ तर त्यस्ता नेता एउटा मात्र हुनुपर्छ भन्ने पनि नीतिशास्त्रमै उल्लेख छ । भनिएको पनि छ :

"अनायका विनश्यन्ति, नश्यन्ति बहु नायका:" अर्थात् नायक नभै पनी हुँदैन र धेरै नायक भएर त झनै हुँदैन ! यसो भयो भने त झन सत्यानासै हुन्छ !

तर हाम्रो एउटा तीतो अनुभव यो रहिआएको छ कि हाम्रा नेता-नायकहरु अर्थात् शासक-प्रशासकहरु वा भनौ कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, राष्ट्र, र संवैधानिक निकाय आदि सबैजसो सर्वोच्च निकायका प्राय: प्रमुखहरु राज्य र निकायहरुका निर्धारित नीति, नियम, निर्णय, निर्देशन र नैतिकता अनुसार चलेको पाइँदैन बरु आआफ्ना नियत, स्वार्त, आवेग र प्रतिशोध अनुसार चलेको पाइन्छ ! जब समाज र राज्यका उच्च ओहदाका पद, पावर, प्रतिष्ठा, पैसा र पापुलारिटीले युक्त नेतृत्व र व्यक्तित्वहरुनै आआफ्ना अन्तर निहित निश्चित निकृष्ट नियत अनुसार चल्छन्; जब आआफ्नै संकीर्ण र स्वार्थी सोंच, शैली, संस्कार र संस्कृतीमै संचालित हुन्छन्; जब उनीहरुका स्वविवेक, सद्बुद्धि र सुविचार अनुसार सद्व्यवहार नभै आआफ्ना आवेग, आक्रोश र आक्रमणद्वारा अराजकता र  आतंक फैलाउने गरी  काम-व्यवहार गर्छन्, तब उनीहरु रहेको  समाज र राष्ट्रको के गति हुन्छ, त्यो अहिले हाम्रो सन्दर्भमा स्पष्ट र सत्य सावित भएको छ ।

भनिएको छ - रिसले आफू खान्छ, बुद्धिले पर खान्छ ! तर दुखद विडम्बना यो उखानलाई प्राय: शासक-नेताहरुले स्मरण, अवलम्बन र कार्यान्वयन गरेको पटक्कै पाइंदैन र उल्टै "विनासकाले विपरीत बुद्धि" भनेझै नेता-शासकहरुमा कुबुद्धि भरिएर कुनैबेला आपसमा चाटाचाट गर्नेहरु पनि अहिले त आवेग र आक्रोशमा आएर आक्रमण र आतंक मच्चाउँदै आफू-आफूमै  काटाकाट, चाराचार र मारामारमा जुटेका छन् !

यो आवेग र आक्रमणको स्थितिमा पुराउने आन्तरिक तत्वहरु हुन्- आग्रह-पूर्वाग्रह, आशंका-अविश्वास र प्रतिबोध-प्रतिशोध अनि तिनको परिणामस्वरुप एक आपसमा घात-प्रतिघात !  जब सत्तामा वा सत्ताको सेरोफेरोमा रहेका देसका नीतिनिर्माण र कार्यान्वयनको मुख्य भूमिका र जिम्मेवारी पाएका अख्तियारवाला उच्चपदस्थहरुबाटै आपसमा वैमनस्य, विरोध, अवरोध र प्रतिरोध सुरुहुन्छ तब कुनैपनि संघसंस्था वा पार्टी-संगठनको मात्र होइन देसकै विभाजन, विसर्जन वा विष्फोट र विद्रोह हुने र फलस्वरूप आपसी दङ्गा, साम्प्रदायिकता, हत्या-प्रतिहत्याको साथै देसकै अस्मिता र अस्तित्व लुटिने, फुटिने र संकुचित हुने हुन्छ। यसक्रममा देसका नेता-शासकहरुमात्र होइन जनता-कार्यकर्ता समेत भुटिने अवस्था आउँछ ! यो अवस्था आउनु भनेको सामान्यतया विनासकै अवस्था आउनु हो !

नेपालको राजनीतिक इतिहासमा आवेग र प्रतिशोधको राजनीतिका कारण भएका थुप्रै यस्ता विनासकारी घटनाहरु छन् । तीमध्ये सबैभन्दा पहिलो र ठूलो घटना हो सन् १८१६ को सुगौली सन्धी ! त्यतिबेला राजदरबारमा भाइभारदारहरु खासगरी थापा, पाण्डे र बस्न्यातहरुबीचको आपसी वैमनस्य, द्वन्द्व र प्रतिशोधका कारण अङ्ग्रेजहरुलाई नेपालमाथी चढाइ गर्न र सुगौलीसन्धी जस्तो असमान, असत्य, अन्यायपूर्ण र अपमानजनक सन्धी गर्नुपर्ने बाध्यात्मक अवस्था आएको थियो ! अङ्ग्रेजहरुलाई  नेपालमा पस्न नदिने मात्र होइन कि एसियास्तरमै एउटा मोर्चा बनाएर यी साम्रस्ज्य विस्तारवादी शासकहरुका विरुद्ध डटेर लड्नुपर्छ र सके एसियाबाटै र नसके पनि कम्तीमा हामी वीर नेपालीहरुले मात्र पनि गङ्गा पारी  फिरङ्गीहरुलाई लखेट्नुपर्छ ( तत्कालीन कविको एउटा  कवितांश स्मरणीय छ :

फिरङ्गी हटाई कुटीपिटी चाँडो !

पुगी आज गङ्गा पखाल्नु छ खाँडो !!)

भन्ने विचारमा  प्रधानमन्त्री भीमसेन थापा थिए । तर अङ्ग्रेजसँगको लडाइ जितेमा भीमसेन थापा लगायतका थापाहरुको लोकपृयता र बर्चस्व बढ्छ र आफूहरु डाउन भैन्छ र सत्तास्वार्थदेखी टाढै परिन्छ भनेर भीमसेन थापा र उनका पक्षधरहरुलाई डाउन गर्ने नियतले अन्य स्वार्थी र लोभीपापी भारदारहरुले साथ दिएनन् ! फलस्वरुप लडाइको राम्रो तयारी पनि भएन भने पश्चिमी मोर्चामा लडाइ भैरहेकै समयमा युद्ध नहारेकै अवस्थामा पनि रहस्यमय तरिकाले एकजना कमाण्डरले आत्मसमर्पण गरे भने देसको साँधसीमा जस्तो सर्वाधिक ठुलो महत्वको उक्त सन्धिलाई सदर गर्ने मुख्तियारी राजा वा प्रधानमन्त्रीमध्येमा मात्रै हुनुपर्ने र सो अनुसार गरिनुपर्नेमा अख्तियारी नपाउनुपर्ने गजराज मिश्र र चन्द्र शेखर उपाध्यायलाई सम्झौता गर्ने अख्तियारी दिलाउन परिवन्दमा पारेर सन्धी सदर गरी हार स्वीकार्न बाध्य तुल्याइयो । यसबाट हाम्रो मेचीपूर्व टिष्टा पारि ७० किमि टाढासम्मको र पश्चिममा महाकालीपश्चिम किल्ला काँगडासम्मको, उत्तरपूर्वमा सिक्किमको ठूलो भूभाग र दक्षिणमा गङ्गावारिसम्मको समस्त भूभाग, समग्रमा हालको नेपालको एकतिहाइभन्दा बढी भूभाग नेपालले गुमाउनु पर्यो ! यति मात्र हैन त्यतिबेलासम्म इतिहासमा कसैको अधीनमा नपरेको र गुलाम नबनेको संसारमै स्वाभिमानी र स्वतन्त्र राष्ट्रको रुपमा जीवित रहिआएको नेपाल यसै मितिबाट अर्धउपनिवेश बन्न पुग्यो । त्यतिमात्र होइन त्यसको प्रत्यक्ष असर र हस्तक्षेप दरबारभित्रैसम्म पर्‍यो र देसभक्त प्रधानमन्त्री भीमसेन थापालाई जेल हालियो र जेलमै आत्महत्या गरेको भनी षड्यन्त्रपूर्वक  मारियो !

भीमसेन थापा जस्ता देसभक्त र दूरदर्शी प्रधानमन्त्री अनि अमरसिंह थापा, भक्ती थापा र बलभद्र कुंवर जस्ता परम देसभक्तवीर कमाण्डर-योद्धाहरु भएको बेला पनि गोर्खाली बहादुर सेनाद्वारा अङ्ग्रेजसङ्गको लडाइँ हारिनु, नेपालको ठूलो भूमि गुमाएर कमजोर र अपमानित हुनु र अझ उनीहरुकै छत्रछायाँ र दयामायाँमा बस्ने र बाँच्ने निरीह नेपाल गराइन खोज्नु देसकै इतिहासमा सबैभन्दा ठूलो दुखद विडम्बना हुन गयो ।

अङ्ग्रेजसँगको उक्त लडाइ नेपालले हार्नुको प्रथम कारण तत्कालीन भाइभारदारहरुमा रहेको आवेग र प्रतिशोध नै भएको कुरालाई स्वीकार्दै डा. प्रेमसिंह बस्न्यात भन्छन् -

" दरबारमा निर्णायक शक्ति राजा गीर्वाणयुद्ध विक्रम शाह नाबालक थिए । त्यसपछिको शक्ति भाइभारदारहरू थिए । मुख्य रूपमा बस्न्यात, पाँडे र थापा खलकबीचको गुट, मारकाट र षड्यन्त्रका कारण राजनीतिक स्थिति भयावह थियो । राजा रणबहादुर शाहको हत्यापछि नवउदीयमान शक्तिका रूपमा मुख्तियार काजी भीमसेन थापाको बोलवाला शुरू भयो ।

राज्य संचालनको विषयमा पुराना भारदारसँग उनको धेरै मतभेद हुन्थ्यो । सोही क्रममा अंग्रेजसँग युद्ध गर्ने या नगर्ने विषयमा विवाद भयो । पुराना भारदारहरू विशेष गरी हातहतियारको अभाव भएकाले युद्धको विपक्षमा थिए । तर भीमसेन थापा भने युद्ध गरी अंग्रेजलाई तह लगाउने पक्षमा रहे । अन्ततः युद्ध गर्ने नै निधो भयो । राष्ट्रिय तहको युद्धमा जाँदा भारदारबीच कार्यगत एकता नहुनु ठूलो कमजोरी थियो ।"

त्यसपछी भएका कोतपर्व र भन्डारखाल पर्व पनि यस्ता घटना हुन् जसमा एकातिर रानी राज्यलक्ष्मी शाहको हातबाट सम्पूर्ण अधिकार खोसी उन्लाई  देसै निकाला गरिएको थियो र प्रधानमन्त्री फत्तेजङ्ग शाहको त झन् हत्या नै गरिएको थियो ! यहींबाटै तानाशाह जङ्गबहादुर राणाको उदय भएको थियो । यस्ले गर्दा नेपाल निर्माता राजा पृथ्वीनारायण शाहको वंशगत शासनसत्तामा प्रधानमन्त्रीको रुपमा स्वघोषित श्री ३ सरकार  चलाउँदै राणाहरु हावी भए भने राजाहरु श्री ५ भएरै पनि निरीह वन्दीजस्तै हुन पुगे । फलस्वरुप नेपाली जनतालाई सन् १९५० सम्म १०४ बर्षे जहाँनिया निरङ्कुश राणाहरुको हुकुमी शासनको शोषण-दमनको दुस्चक्रमा पिसिनु पर्‍यो !

यस्तै आपसी आग्रह र दुराग्रह, आशंका र अविश्वास, आवेग र आक्रमणजस्ता घात-प्रतिघात र अन्तरघातका कारणले नै राणाशासनको अन्तपछि नेपाली काङ्ग्रेसका नेता वीपी कोइराला र मातृका कोइरालाका दुईभाइकै बीचमा चर्को वैमनस्य हुँदाहुँदै अन्तत: काङ्ग्रेसमै आपसी इबि र प्रतिशोध बढ्यो ! यसै झगडाका बीचमा चतुर राजा महेन्द्र खेल्न सके र फलतः भर्खरै स्थापित बहुदलीय प्रजातान्त्रिक व्यवस्था र प्रथम जननिर्वाचित वीपी सरकार दुवै एकैसाथ राजा महेन्द्रको कूको कोपभाजनको सिकार बने र देसमा पंचायती निर्दलीय निरङ्कुश व्यवस्थाको आगमन भयो । यसबाट देस र जनताले ३० बर्षसम्म तानाशाही व्यवस्थाद्वारा सिर्जित दुखकष्टको कालरात्री बेहोर्नु पर्‍यो !


पंचायतमै पनि पंचे शासकहरुका बीचमा पद र प्रतिष्ठाको छिनाझपटीका कारण थापा गुट र चन्द गुटको परस्परमा भएको आपसी द्वन्द्वले गर्दा पंचायत कमजोर भयो र पंचायत व्यवस्था नै ढल्यो  । २०४७ मा बहुदलीय संसदीय व्यवस्था पुनर्स्थापना भएपछी पनि यी दुई पंछे गुटबीचको आपसी वैमनस्य र प्रतिशोध यहांसम्म पुग्यो कि थापपक्ष नेकासंग मिलेर र चन्दपक्ष एमालेसंग मिलेर एकले अर्काको तेजोवध गर्ने रसाटो फेर्नेमै तल्लीन रहे । त्यो आवेग र प्रतिशोधको भावनाले गर्दा नै राजावादी र हिन्दुवादी जस्ता समान विचार र लक्षका भएर पनि पंचहरु टुक्राटुक्रामा बिभक्त भए ! यसरी अहिले धेरै कमजोर भएपछि पुनः मिल्ने प्रकृयामा केही शक्तिहरु लागे पनि त्यो प्रतिशोधको भावना मिट्न नसक्दा उनीहरु पुनः फुटको संघारमा छन् ! २०४७ पछी पुनर्स्थापित संसदीय व्यवस्थामा बनेको नेकाको एकल बहुमतको गिरिजा कोइराला नेतृत्वको सरकारमा पनि चौहत्तरे र छत्तीसे गुटहरुका बिच तीव्र गुटबन्दी, अन्तर्कलह  र अन्तर्घात हुँदा सहज बहुमतको गिरिजा सरकार गिरेको थियो ! तत्पश्चात् त काङ्ग्रेसमा गिरिजा काङ्ग्रेस, देउवा काङ्ग्रेस र जगन्नाथ काङ्ग्रेस गरी तीन टुक्रा हुनेगरी फुट नै भयो र ओरालो यात्रामा गयो ! अहिले तीन बर्ष अघिमात्रै  एकताको उद्देस्यले संयुक्त मोर्चा बनाएर संसदीय चुनाव लड्दा झण्डै दुईतिहाइ मत पाएर बलियो सर्कार र शक्तिशाली पार्टी हालको नेकपा(एमाले-माओवादी)को एकल बहुमतको दुईतिहाईजतिको सरकार बनाएपछी पनि प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी ओली र ओली पक्षसँग अर्का अध्यक्ष पूर्वप्रधानमन्त्री प्रचन्ड र बरिस्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपाल र प्रचण्ड-नेपालपक्ष बीचमा पद र पावर प्राप्तिको लागि भएको आपसी अन्तर्कलह र  आरोप-प्रत्यारोपकै कारण  शक्तिशाली नेकपा फुटेको छ भने दुईतिहाइ नजिकको बलियो सरकार गिरेको छ । एमालेकै ओली नेतृत्वको हालको सरकार पनि माधव समूहको खुल्लै चुनौतीले गर्दा गिर्ने डिलमा पुगेको छ । मदन भण्डारी र जीवराज आशृत जस्ता होन्शार देसभक्त, जनवादी र समग्र सुधारवादी  होनहार खम्बाको दिनदहाडै हत्या गरिएकोमा पनि थोरैधेरै यसै पद र पावर प्राप्तिप्रति पदलोलूप र पापी नेताहरुको प्रतिस्पर्धा र प्रतिशोधले काम गरेको आम जनविश्वास छ ! त्यो भन्दा पनि अझ ठूलो र गम्भीर घटना नारायणहिटी दरबार हत्याकाण्ड भएर तत्कालीन राजा वीरेन्द्रको वंश नै विनास गरिनुमा पनि त्यसपछि नयाँ राजा बनेका ज्ञानेन्द्रको र नेपाली सेनाका सेनापती लगायतका आफ्नै मानिसहरुको कहिँपनि र  कत्तिपनी हात छैन भन्नेमा जनता विश्वस्त छैनन् ! तिनै संवैधानिक राजा ज्ञानेन्द्रले कू गरी आफू कार्यकारी राजा बनेर हालीमुहाली गर्न खोज्नुमा पनि जननिर्वाचित प्रधानमन्त्री र उनको दलसँगको असमझदारी, ईख र प्रतिशोधको दुर्भावनाले काम गरेको थियो  ! यति मात्र होइन, नेपाली काङ्ग्रेसभित्रको चर्को अन्तर्विरोध र लुछाचुँडीका कारण देउवाले हालीमुहाली गर्नुभन्दा राजैले गरोस् भन्ने देउवाविरोधी काङ्ग्रेसी नेताहरुमा रहेको इगोले पमि काम गरेको थियो ! पछि तिनै राजा पनि देसमा गणतन्त्रको घोषणापछि  राष्ट्राध्यक्षबाट खोसिएर पूर्व राजा बनाइनु अनि चुपचाप लागेर दरबारबाट निकालिनुमा पनि शक्तिकेन्द्रहरुको समेत चलखेल, जालझेल र षड्यन्त्र पनि एउटा कारण रहेको  छ । यस  घटनाप्रति नेकाका संस्थापक सन्त नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको तीव्र असन्तुष्टी हुँदाहुँदै पनि गिरिजा-देउवाहरुले भट्टराईलाई डाउन गर्न पनि राजतन्त्रलाई फाल्ने गरे ! त्यसपछी त यही विषयमा असहमति र असन्तुष्टि जनाएर भट्टराईले पार्टी छोडेर सन्यास नै लिए ! त्यसो त गिरिजाले आफू प्रधानमन्त्री हुन र शक्तिशाली बनिरहनको लागि २०४८ को निर्वाचनमा पनि अन्तर्घात गराएर भट्टराईलाई हराएका थिए र पछि गणेशमान जस्ता क्रान्तिकारी, साहसी र त्यागी नेतालाई समेत अन्ततः पार्टी र राजनीतिबाटै सन्यास लिन बाध्य पारेका थिए ।


यस्तै देसमा आमूल परिवर्तनको लागि भनेर दस बर्षसम्म भीषण जनयुद्ध लडेर आएको महान् र शक्तिशाली माओवादी क्रान्तिकारी पार्टी आज दसौं टुक्रामा विभाजित हुनुमा पनि प्रचण्डसँग पार्टीका अन्य मुख्य नेताहरु मोहन वैद्य किरण, बाबुराम भट्टराई , रामबहादुर थापा बादल, नेत्रविक्र चन्द विप्लव, गोपाल किराँती साहिंला आदि नेताहरुसँग आपसी अन्तर्विरोध, अन्तर्द्वन्द्व र अन्तर्घात जस्ता आवेग र प्रतिशोधपूर्ण भावनाले काम गरेको स्पष्ट छ । स्मरणीय छ कि जिन्दगी भरी बाबुराम र किरणजीको बीचमा संशोधनवादी र जडसूत्रवादी भन्दै एकले अर्कालाई आरोप-प्रत्यस्रोप गर्दै आएका यी दुई भिन्न धारा र प्रवृत्तिका नेताहरु पनि प्रचण्डलाइ साइजमा ल्याउने र ठिक गर्ने आवेग र प्रतिशोधमा आएर प्रचण्डविरुद्ध एक भै कुख्यात धोवीघाट भेला गरेर बाबुरामलाइ प्रधानमन्त्री बनाउन बादल, विप्लव, नारायण काजीहरुले कसरत गरेका थिए र त्यो भिन्न प्रकारले सफल पनि भएको थियो । "यो अराजनीतिक, अनैतिक र अपृय निर्णय हुन्छ, यस्तो आवेग र प्रतिशोधमा आएर घातक काम नगरौं" भनी यो लेखकले किरण समूहको पोलिटब्युरो बैठकमा जोड गर्दा गर्दा पनि सुनुवाइ भएको थिएन । लामो समयदेखी हुर्कँदै आएको माओवादी भित्रको वैमनस्य त्यतिबेलैदेखी माओवादीमा विभाजन, विखण्डन र विसर्जनको रुपमा विकसित हुँदा आज माओवादी पार्टी, आन्दोलन, वाद-विचा र संस्कार र संस्कृति सम्पूर्ण रुपले सिद्धिए सरी भएको दुखदतम अवस्था छ ! नेकपा मशाल, एकताकेन्द्र, माओवादी, एमाओवादी, माओवादी केन्द्र, नेकपा र पुन: माओवादी केन्द्रा आदि जेजती र जस्ता रुप र नामका पार्टीहरु बने-बनाइएपनी ३५ बर्षसम्म अविच्छिन्न प्रमुख नेता-कमाण्डर रहिआएका प्रचण्डको आज घर न घाटको स्थिति भएको छ भने  २०२८ सालको केन्द्रीय न्युक्लसदेखि ०३१ को चौथो महाधिवेसनदेखी एकदिन मुख्य नेता बन्न नपाएमा वा नपाउने अवस्था देखेमा पार्टी फुटाएर-टुटार्‍ र सिद्धाएर पनि प्रमुख नेतृत्वमा असिबर्ष नाघ्दासमेत नेतृत्व छोडे पृथ्वी नै घुम्न छोड्छ भन्ने ठानेर अविच्व्ह्हिन्न रुपमै मुख्य नेता रहिआउनु भएका कुनै बेलाका नेपाली माओ कमरेड मोहनविक्रम सिंह र करिब त्यस्तै पृष्ठभूमि भएका नेमकिपाका बयोबृद्ध नेता नारायणमान विजुक्छेजस्ता सबैजसो नेपाली कम्युनिस्टहरुका पछिल्लो पुस्ताका नेता र पार्टीहरुका पनि गुरु एवं पहिलो पुस्ताकै यी  वरिष्ठतम् नेताद्वयको पार्टी पनि छिन्नभिन्न हुँदा संघीय संसदमा एउटा-एउटा प्रतिनिधिमै चित्त बुझाउनुपर्ने दुखद अवस्था भएको छ । यसैगरी ऐतिहासिक  झापा विद्रोहका हिरो, नख्खु जेल ब्रेककाब नायक र एमाले पूर्वज पार्टी कोकेका संस्थापक महासचिव सीपी मैनाली त झन् एक्लेवीर बनेको डायनोसर बन्ने अवस्था छ भने महान् नेपाली माओवादी जनयुद्धका वैचारिक प्रवर्तक सिद्धान्तनिष्ठ र स्वच्छ इमान्दार नेता-दार्शनिक मोहन वैद्य किरणको पनि एक्ला बृहस्पति झुठ्ठा बनेको दुखद स्थिती छ । यतिमात्र पनि कहाँ हो र ? आज माओवादी दसौं टुक्रामा विभाजित छ र करिपय जनयुद्ध थालनीको निर्णयकर्ता वरिष्ठ नेताहरु स्वतन्त्र रुपमा कृयाशील छन् । यी सबै हात्तिपार्टी र हस्ती नेताहरुको आज यो दयनीय अवस्था हुनुमा यही आपसी आवेग र प्रतिशोधको राजनीतिले धेरै हदसम्म काम गरेको छ ! हुँदा हुँदा अहिले तत्काल त झन् आपसी रिसइवि सांध्न वैदेशिक शक्तिकेन्द्रहरुलाई समेत गुहारेर पार्टीका घोषीत प्रमुख  दुश्मन-प्रतिस्पर्धीप्रमुख संग निकृष्टतम अपवित्र गठबन्धन गरेरआफ्ना सहयोद्ध-सहधर्मीहरुलाई सिद्धाउने निचतम कार्य गर्दै साम्राज्यवादी र विस्तारवादीहरुलाई रिझाउनको लागि कुन पार्टी र नेताले बढीभन्दा बढी दलाली, चाकरी, आत्मसमर्पण र गद्दारी गर्न र देस बेच्न सक्ने भन्नेमा चर्को प्रतिस्पर्धा गरिरहेका छन् ! यी सबै शक्ति र तिनका प्रमुखहरुको अनि समग्र देस र सम्पूर्ण जनताको  आज यो कन्तविजोग हुनुको अन्तर्यमा विचार र विवेकको होइन, आवेग र प्रतिशोधको राजनीतिले काम गरेकोमा कुनै शंका छैन !

आज नेपाली राजनीतिमा नेकपा र एमालेकै नेताहरुमा देखिएको ओली भर्सेज प्रचण्ड -माधवबिचको यो लडाइँ अहिलेको पछिल्लो अवस्थासम्मको यो आवेग र प्रतिशोधको राजनीतिले आक्रोश र आक्रमण हुँदै एकले अर्कालाई निषेध र निर्मूलनको अवस्थामा पुराउने गरी फड्को मारेको देखिन्छ !

यसरी स्पष्ट छ कि शासनसत्ताका निकटका  भाइ-भारदारहरुका बीचमा आवेग र प्रतिशोधको भावनाको राजनीती हुंदैनथ्यो भने सुगौली सन्धी गर्नै पर्दैनथ्यो र  देस आज २०० बर्षसम्म पनि यसरी अर्ध र नव उपनिवेसको रुपमा वैदेसिक हस्तक्षेप, शोषण र उत्पीडनको सिकार नबन्न सक्थ्यो ! यस्तै गरेर राजपरिवारभित्र र अझ राजा र रानीका बिचमा र तनका लराणा भाइ भारदारहरुका बीचमा बदला र हत्याको भाव हुँदैनथ्यो भने राणाशासन्को उदय हुदैन्थ्यो र नेपाली जनताले १०४ बर्ष जङ्गे बोल्यो बोल्यो भन्ने मौखिक काननको हुकुमी शासनको कहर काट्नुपर्दैनथ्यो होला ! यसरी नै आपसी आवेग र प्रतिशोध अनि निषेध र निर्मूलनको यही चिन्तन र चरित्र वा नीति र नेताका निकृष्ट नियतजन्य चिन्तन-प्रवृत्तिका कारणले गर्दा पंचहरु, काङ्ग्रेसहरु वा कम्युनिस्टहरु आपसमा नलडेर एकता, मित्रता र सहकार्यमा लागेको भए नै अहिले "मित्र लडे दुश्मन बढे" वा "भाइ फुटे गवाँर लुटे" को अवस्था हुँदैनथ्यो भन्ने कुरा राजपरिवार्ब्र भाइभारदारहरु मिल्दा र एकताबद्ध भएर लड्दा नेपाल अहिलेको भन्दा एकतिहाई अझ ठूलो विशाल, स्वतन्त्र, शक्तिशाली र समृद्ध  नेपाल बन्न सक्त्यो भन्ने स्पस्ट हुन्छ भने पंच शासकहरु मिल्दा पंचायतकालमा पनि तुलनात्मक रुपमा राम्रै भएको र नेपाली राजनीतिक दलहरुपनी आपसमा विरोध र प्रतिरोध अनि आवेग र आक्रमणको नीति र प्रवृत्ती त्यागेर आपसमा मिलेर संघर्ष गर्दा निरंकुस पंचायत र राजतन्त्रनै ढल्न र फाल्न सफल भएको यथार्थ छर्लङ्ग नै छ । तर दुखद विडम्बनाको कुरा आज राजनीतिक व्यक्तिहरु आफ्नै संस्थाभित्र र राजनीतिक शक्तिहरु आपसमै असहिषु र निषेधात्मक बनेर  उछिनापाछिनको सत्तालिप्साको राजनीतिबाट प्रेरित भएर आपसमा लड्न खोज्दा आफ्नै संस्था र राष्ट्रको  अनि आफ्नै मातृभूमि  र जनताको, आफै प्रतिबद्ध क्रान्ती र मुक्तिको अनि शान्ती र समृद्धिको कुरा सर्वाधिक अस्तव्यस्त र ध्वस्तत्रस्त भएको छ ! तर पनि यसैमा सबैजसो  नेता-नायकहरु र तिनका झोले-चम्चेहरुमध्ये केहीले आत्मरती गरिरहेकाछन् भने केहीले मनको लड्डु घिउसित खाइरहेका छन् । अझै पनि नेता-शासकहरुमा थोरै पनि विवेक र बुद्धि भएमा वा पलाएमा र निर्मम आत्मसमीक्षा गरी आवेग र प्रतिशोध अनि निषेध र निर्मूलनको कपटी नियत तिलान्जली दिन सकेमा  देस, जनता र क्रान्तिको ब्ल्याक होलतर्फको यो तीव्र गमनलाई रोक्न र मोड्न सकिन्थ्यो कि भन्ने नै लाग्दछ ! आवेग र प्रतिशोधको राजनीती त्याग्ने चेतना र समर्पण भया !?



Share Your Thoughts