जसपा एकताको आधार-पार्टीको नाम अनुसारको काम



Dharana    

access_time 10 Jun 2021

 -प्रीति रमण 

प्रधानमन्त्री केपी ओलीको सहयोगी बनेर मधेशका मुद्धा समाधान गर्ने बहानामा बिदेशी दूतावासको स्पष्ट निर्देशनमा सञ्चालन भएको सन्देश दिने गरी नेताहरु सत्तामोहमा फसेपछि जनता समाजवादी पार्टी ९जसपा० बिभाजन उन्मुख हुन पुगेको छ । 

ओली वा प्रचण्ड(माधव कसैको पछि लागेर पार्टीले लक्ष हासिल गर्न सक्दैन भन्ने कुरामा नेताहरु स्पष्ट हुन जरुरी छ । मधेशका मुद्धा सम्बोधन गर्नका लागि जसपाले सम्बिधानको प्रस्तावनामै उल्लेखित समाजवादको गन्तब्यलाई जोड दिनु जरुरी हुन्छ । यसो गर्दा जसपाको नाम अनुसारको र जसपाको बिधान अनुसारको काम पनि हुने सँगसँगै मधेशी जनताका मागहरु सम्बोधन हुने पनि सुनिश्चित हुनेछ । यसो गर्दा जसपाको लक्ष अनुसार समग्र नेपालको नेतृत्व गर्न र सबै नेपाली जनताको साझा चाहना समाजबादको प्राप्ति पनि हुन सक्दछ । 

 जसपाको समाजबाद गन्तब्य हुन सक्यो भने कम्युनिष्टको आवरणमा जनताका बीच भ्रम छरेर जनताको मत पाउने स्थिति आफै समाप्त हुनेछ ।तर मधेशी जनताका कथित मागहरु सम्बोधन गराउन कुर्सीकै विकल्प खोज्नेहरु एकपछि अर्को गर्दै ओलीको निशानामा पर्ने संकेत देखा परेको छ ।

ओलीले प्रधानमन्त्रीको हैसियतबाट संबिधानसम्मत गर्नुपर्ने समाजबाद गन्तब्यको काम गरेका छैनन् भने यस्तो–यस्तो काम गर भनेर जसपाले सडकबाटै र संसदमा पनि आवाज उठाउनु  पर्दथ्यो । 

सत्तासिन पार्टीबाट पनि समाजबाद गन्तब्यलाई नसमातेर एकैपटक भागबण्डाको कुरा नमिलेको संकेत हुनेगरी आरोपपत्रको  प्रहार भयो । आरोप पत्र  फिर्ता लिन र मेलमिलापको वातावरण वनाउन ओलीले नेताहरुका निवासहरुमा गुहार माग्दै पुगेका खवरहरु पनि बाहिरिएका हुन् ।  प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीको राजीनामा बाहेक अर्को मेलमिलापको बाटो नभएको जवाफ ओलीले पाएपछि ओलीको लागि विकल्प के रु यस्तो बेलामा जसपा निर्णायक हैसियतमा पुगेर पनि ओलीको पाउमा लम्पसार पर्नु गम्भिर त्रुटि हो ।

हाम्रो जसपाका नेताहरु कति अदूरदर्शी र  पदलोलुप छन् भन्ने कुरा सरकारमा हिस्सेदार भएलगत्तै आएका अभिब्यक्तिका कारणबाट सृजना भएको जसपाको क्षयीकरण र उनीहरुको अभिब्यक्तिबारे आईरहेको प्रतरक्षात्मक अभिब्यक्तिबाटै स्पष्ट हुन्छ । 

निश्चित रुपमा केपी ओलीले जनअपेक्षित ढंगले सरकार सञ्चालन गरेका छैनन् । ओलीले कम्युनिष्ट आचरण अनुकूल पनि काम गरिरहेका छैनन् । सरकारको काम गराईले सत्तासीन पार्टी बदनाम भइरहेको मात्र हैन कम्युनिष्ट आन्दोलनमाथि नै प्रश्न उठ्ने अवस्था बिकसित भएको छ । त्यसकारण प्रधानमन्त्री ओली सच्चिनु अवश्य पनि जरुरी छ । तर ओलीलाई सच्याउन उनी सम्बद्ध  पार्टीको नेतृत्व कति प्रयत्नरत रह्यो भन्ने कुरा सबैले जानकारी पाएकै विषय हो ।

हुन त सरकारलाई राम्रो काम गर्ने वातावरण बन्न दिइएन भन्ने कुरा प्रधानमन्त्री ओलीबाट पटक—पटक  गुनासोका रुपमा व्यक्त हुँदै आएको पनि सुनियो । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको आफ्नो धारणा स्पष्ट गर्दै आए ।

दुई तिहाई बहुमत निकटको जनताको मतदान पाएको कम्युनिष्ट पार्टी साम्राज्यवाद सामू लम्पसार परिरहेको अवस्थामा जसपाले त्यसैलाई निसाना बनाएर जसपालाई राष्ट्रिय स्वाधीनताका सवालमा स्थापित गर्नु पर्दथ्यो । कम्युनिष्ट पार्टीका नेताहरुले अरु पुँजीबादी राजनीतिक दलहरु भन्दा फरक पहिचान दिन सकेका  छैनन् ।


 २०४६ सालको आन्दोलनपछि बहुमतसहित सत्तामा पुगेको नेपाली काँग्रेसले पनि सही ढङ्गले सरकार हाँक्न सकेको भए काँग्रेसको विकल्प जनताले खोज्ने थिएनन् । काँग्रेसले बहुदलीय प्रजातन्त्रलाई संस्थागत गर्नेछ भन्ने अपेक्षा आमजनताको थियो । प्रजातन्त्र तव मात्र संस्थागत हुन्छ जव जनतामा त्यो प्रजातन्त्रको अर्थ बुझाउन र महशुस गराउन सकिन्छ । प्रजातन्त्रको अर्थ नेताहरुले लूट मच्चाउने प्रमाणपत्र प्राप्त गर्न जनतालाई मतदान गर्न लगाउने परिपाटी मात्र हो भन्ने अर्थमा बुझ्न जनतालाई बाध्य बनाए ।  जनतालाई समाजबादको सपना देखाएर झुक्याउने काम नेपाली कांग्रेसबाट पनि भएकाले कांग्रे पनि नेपाली समाजमा अलोकप्रिय नै बनेको छ ।  


राजाबादीहरु पञ्चायतकालको अवस्थाबाटै अलोकप्रय साबित भैसकेका छन् ।  प्रजातन्त्र भनिएको बहुदलीय व्यवस्था प्राप्तिपछिको वर्तमान अवस्थासम्म नेपाली जनताले समाजबादकै आश्वासन र सपना देखिरहेका छन् । समाजबाद गन्तब्य कसरी लिने भनेर  जसपाका नेताहरुले जनतासँग साक्षात्कार गरेर जनताका भावना के छन् भनेर बुझ्न सक्नुपर्दछ । गन्तब्य भुलेर सर्वाधिक अलोकप्रिय बनेको सरकारमा सहभागी भएर जसपालाई समाप्त पार्ने काम गरियो । जसपाका जिम्मेवार नेताहरुले रुखको हाँगामा बसेर उल्टोतिर बञ्चरो प्रहार गरिरहेका छन् । यो नेताहरुको आत्महत्या हुने गन्तब्य  नै हो , नेताहरुको यस्तो कामले जसपालाई पनि कमजोर बनाएको छ र देशलाई नै क्षति पुग्ने निश्चित छ । -जनधारणा साप्ताहिकबाट



Share Your Thoughts