कसरी निम्तियो खस साम्राज्यको अवसान ?



Dharana    

access_time 03 Jun 2021

–चन्द्रप्रकाश बानियाँ

एघारौंदेखि पन्ध्रौं शताब्दीसम्म नेपालको पश्चिमी खण्डलाई केन्द्र बनाएर तत्कालीन समयको दक्षिण एशियाकै सबभन्दा ठूलो साम्राज्य अस्तित्वमा थियो । खस साम्राज्यको नामले इतिहासप्रसिद्ध उक्त राज्यको स्थापना दक्षिण पश्चिम तिब्बतबाट झरेका नागराजले गरेका थिए । उनको राज्यलाई खस साम्राज्य भनियो र उनलाई खसवंशी मानिएको छ । खस साम्राज्यको शिलान्यास भएको खास तिथिमितिको किटान भएको छैन तर उनका उत्तराधिकारीहरुले उत्किर्ण गराएका अभिलेखहरुका आधारमा उनको राज्य स्थापना कालको अनुमान लगाइन्छ । कुमाउस्थित बालेश्वर मन्दिरमा प्राप्त ताम्रपत्रमा नागराजका पाँचौं पुस्ताका उत्तराधिकारी क्राचल्लदेवले इसं १२०५ देखि सिंजामा राज्य गरेको कुरा उल्लेख गरिएकोे छ । त्यही मितिलाई आधार बनाएर पुस्ता गणना गर्दा नागराजले ११ रौं शताब्दीको उत्तरार्धदेखि बारौं शताब्दीको प्रारम्भतिर सिंजालाई केन्द्र बनाएर खस राज्य स्थापना गरेको प्रमाण लाग्दछ । वंशावलीहरुमा इसं १०९३ तिर नागराजले पश्चिमी तिब्बलतको ङारी प्रदेशको आफ्नो राज्यको विस्तार सिंजातर्फ गरेका हुन भनेर लेखिएको छ । 

सिंजाली  खस वंशका राजाहरुको वंशावली तिब्बती, नेपाली र संस्कृत समेतका तीनवटा भाषामा उपलब्ध छन् । नेपाली भाषाको श्रीपाली वंशावलीमा “बडामहाराज नागराजले बडुवालराजा, पालराजा, थापाराजा, खड्काराजा, विष्टराजा र जाडेराजाकन मारिकन खारीकोटको राज्य बढाएको हो । बडामहाराजको पालामा दशै दिशा जिती सिंजानगरीमा सुनको दरबार लगायाको हो” भनेर लेखिएको छ । त्यसको अर्थ नागराज आउनुपूर्व सिंजा क्षेत्र वरपर स–साना भुरेटाकुरे खस राज्यहरु स्थापित रहेको कुरा प्रमाणित गर्दछ ।  ती सबै सामन्तहरुलाई आफ्नो अधिनमा लिएर तिब्बतबाट तल झरेका नागराजले विशाल खस साम्राज्यको स्थापना गरेका थिए । उक्त साम्राज्यले वर्तमान नेपालको त्रिशुली पश्चिमको सबै भूखण्डबाहेक महाकाली पश्चिम र उत्तरको त्यसको दोब्बर तेब्बर भूखण्ड ओगटेको थियो । तत्कालीन सिंजा राज्यको सीमा पूर्वमा मुक्तिनाथ, पश्चिममा बद्रिनाथ, उत्तरमा कैलाशकुट पर्वत र दक्षिणतर्फ शिवालिक क्षेत्रसम्म फैलिएको थियो । तिब्बती वंशावलीमा स्रङचङ गम्पोका नातिका पालामा तिब्बत कमजोर भएको मौका छोपी पश्चिम तिब्बतमा नागराजले स्वतन्त्र राज्य स्थापना गरेको कुरा परेको छ । त्यसलाई मानप्रदेश भनिन्थ्यो । नागराजले स्थापनाको गरेको खस साम्राज्यमा उनी पछिका दश पुस्ताले शासन गरेको देखिन्छ । 

नागराजले स्थापना गरेको खस राज्यको सीमा उनका सन्ततिहरुले विस्तारित गर्दै लगेका थिए । खासगरेर क्राचल्लदेवले इ.सं. १२२३ मा कुमाउमाथि विजय प्राप्त गरेको कुरा कुमाउ बालेश्वरमा कत्युरी राजाले गरिदिएको ताम्रपत्रमाबाट खुल्दछ ।  उक्त ताम्रपत्रबाट तत्कालीन खस साम्राज्य अन्तर्गत दशवटा सामन्त राज्यमण्डलहरु रहेको कुरा पनि खुल्दछ । क्राचल्लका छोरा अशोक चल्लले गढवालमाथि विजय प्राप्त गरेका थिए । अशोकचल्लको राज्य लद्दाखसम्म विस्तारित भएको प्रमाण पाइन्छ । पूर्वमा मगरात प्रदेशसम्म पनि उनको राज्य विस्तारित भएको थियो । अशोक चल्लको राज्यसीमाले कर्णाली प्रदेश, मगरात प्रदेश, खारी प्रदेश, केदारखण्ड (कुमाउ गढवाल) र लद्दाखसम्मको विशाल भूमि ओगटेको थियो । 

अशोक चल्लका छोरा जितारीले आफ्नो पुरानो थर चल्लदेव फेरेर मल्ल बनाए । यिनै जितारी मल्ललाई पूर्वतिरको सीमा विस्तारको श्रेय दिइन्छ । उनले इ.सं १२८८, १२८९ र १२९० मा लगातार काठमाडौं उपत्यका माथि आक्रमण गरेका थिए । अन्तिम युद्धमा नुवाकोटदेखि देउपाटनसम्म खसहरुको कब्जामा परेको थियो ।  यसरी उनको पालामा वागमतीपश्चिमको भूभाग खस साम्राज्यमा गाभिएको थियो । जितारी मल्लपछि सिंजाराज्यको उत्तराधिकारको सम्बन्धमा आन्तरिक संघर्ष चलेको देखिन्छ । उनको अवसानपछि उनका भतिजा रिपु मल्ल र छोरा आदित्य मल्लमध्ये को पहिले राजा भएको थियो भन्ने विषयमा विवाद देखिन्छ । रिपु मल्लले खस साम्राज्य विस्तारलाई निरन्तरता दिएका थिए । उनले नेपाल उपत्यकामा पनि आक्रमण गरेका थिए । दुल्लु, सुर्खेत र लुम्बिनीसम्म उनको अधीनमा थियो भन्ने कुरा लुम्बिनीको अशोक स्तम्भको अभिलेखमाथि थपिएको लिखतबाट स्पष्ट हुन्छ । 



नागवंशको वैधानिक उत्तराधिकारी प्रताप मल्लपछि सिंजाको राजगद्दीमा पालवंशी पुण्य मल्ल बसेको देखिन्छ । यिनी नागवंशका उत्तराधिकारी थिएनन् । यी पालवंशी थिए । यिनको विवाह प्रताप मल्लकी छोरीसंग भएको थियो । प्रताप मल्लका छोरा नभएकाले छोरीज्वाई पुण्य मल्ललाई सिंजाको गद्दी मिलेको थियो । राजउत्तराधिकारी बन्ने अवसर पाएपछि उनले आफ्नो थर फेरेर मल्ल बनाएका थिए । यिनै पुण्य मल्लले इसं १३३४ मा नेपाल उपत्यकामा हमला गरेका थिए । गोपाल वंशावलीमा खस राजाहरुले  नेपाल उपत्यकामा सात पटक आक्रमण गरेको कुरा लेखिएको छ । पुण्य मल्लका माहिला छोरा पृथ्वी मल्लले लेखाएको इसं १३६७ को दुल्लको कीर्तिंस्तम्भमा तत्कालीन खस राजवंशको वंशानुक्रम उल्लेख भएको छ । यिनै पुण्य मल्लपछि सिंजा केद्र रहेको खस सामाज्यको पतनको सुरुवात भएको मानिन्छ । 

पृथ्वी मल्लको शासनकालमा वर्मावंश शक्तिशाली बन्दै गएको थियो । यशोवर्मा शक्तिशाली अमात्य थिए ।  त्यसबखतमा राज्यका तर्फबाट गरिएका दानपत्रमा उल्लेख भए अनुसारले पृथ्वी मल्ल, सूर्य मल्ल र अभय मल्लको शासनकालमा यशोवर्मा शक्तिशाली अमात्य रहेको प्रमाण मिल्दछ । तिनै शक्तिशाली अमात्यका सन्तान मलय वर्मा सिंजाको राजा भएको देखिन्छ । उनले पनि पुण्य मल्ललेझै मल्ल वंशबाट उत्तराधिकारमा राज्य पाएका थिए । उनी राजपुत्री रतनमालाका पति थिए । अर्थात इतिहासमा दोश्रो पटक सिंजा राज्यको बागडोर ज्वाईको हातमा पर्न गएको देखिन्छ । पालवंशी पुण्य पालले नागवंशको उत्तराधिकारी हुने अवसर पाएजस्तै वर्मा वंशका मलय वर्माले पालवंशीको मल्लको उत्तराधिकारी हुने मौका पाएका थिए । पुण्य पालले झैं यिनले आफ्नो थर भने फेरेनन् । 

तत्कालीन सिंजा राज्यमा निकै लामो समयसम्म अभय मल्ल र मलय वर्माको द्वैध शासन चलेको प्रमाण पाइन्छ । मलय वर्मापछि मेदिनी वर्मा सत्तामा आए ।  अभय मल्लले आफ्ना ज्वाई बलिराजलाई राज्यभाग काटेर दिएपछि  शक्तिशाली अमात्य वर्मा परिवारले पनि राज्यको भागवण्डा लगायो । मेदिनी वर्माले आफ्नो राज्य पाँच टुक्रा पारेर भाइहरुबीच अंशवण्डा गरिदिए । यसरी नागराजद्वारा स्थापित विशाल खस साम्राज्य मेदिनी वर्मामाको पालामा खण्डित भयो । तिनै पाँचवटा राज्यहरु विखण्डित हुँदै कालान्तरमा बाइसी र चोबीसी राज्यमा रुपान्तरित भए । 

खस साम्राज्यको विखण्डनको सुरुवात पृथ्वी मल्लको समयदेखि भएको देखिन्छ । उनको पालामा विसं १४४२ तिर कुमाउ गढवालमा ज्ञानचन्दको उदय भयो । वि.सं. १४०६ तिर तिब्बती राजा चाङ्ग चुब ग्याल्त्सेनले तिब्बतको पुन एकीकरण सुरु गरे । उनले दक्षिण पश्चिम तिब्बतको भूमिलाई खस अधिकारबाट मुक्त गरे । पृथ्वी मल्लकै शासनकालमा डोटीका सामन्त निरय पालले विद्रोह गरे । अभय मल्लपछि जुम्लामा बलिराजको राज्य कायम भयो । यिनका बाबुलाई थापा भनिएको छ । रावल पनि भनिएको छ । त्यसैले थापा र रावल यिनले समयक्रममा राज्यबाट पाएको पदवी थियो होला भन्न सकिन्छ । भनिन्छ बलिराज ब्राह्मणपुत्र थिए । आफ्ना ज्वाई बलिराजलाई जुम्लाको राज्य अभय मल्लले दिएका हुृनाले पूर्वसामन्त वर्मा खलकले बाँकी राज्य आपसमा बाँडेर लिएका हुन पनि भनिन्छ । तिनै बलिराज नै गगनीराज हुन भनिन्छ जसले खस समाजमा जनै वितरण गरेका थिए । बलिराज पहिले कालै गाउँका सामन्त भएको हुनाले उनको वंशलाई कल्याल भनियो । उनको राज्य मुगु, डोल्पा र सिंजामा सिमित रहेको देखिन्छ । यसरी वर्मा वंशले विशाल खस साम्राज्य अंशवण्डा गरेर टृुक्रा टुक्रा बनायो र एउटा गौरवपूर्ण इतिहासलाई धुलिसात बनायो । 

प्रसिद्ध जनजाति अभियन्ता डा. केशवमान शाक्यले एउटा ब्राह्मणका कारणले विशाल खस साम्राज्य टुक्रा टुक्रा प¥यो भनेर कथा सुनाउनु हुन्छ । ती ब्राह्मण भनेका मोटा रावल भनेर चिनिने थापा पदवीसमेत पाएका ब्राह्मण भारदारका छोरा बलिराज रावल नै थिए सायद । पालवंशी मल्ल राजाका ज्वाईलाई राज्यभाग दिने अभय मल्लको निर्णय शक्तिशाली वर्मा परिवारका लागि निहुँ बन्यो । यसरी झण्डै पाँचसय वर्षको खस साम्राज्यको अन्त हुन गयो । एउटा इतिहास मेटियो । सभ्यता संस्कृति मासियो । -जनधारणा साप्ताहिकबाट



Share Your Thoughts