खसहरुको खसखस बेग्लै छ



Dharana    

access_time 13 May 2021

–चन्द्रप्रकाश बानियाँ

देशमा राजनीतिक चटारो छ । सरकार गठन विघटनको रस्साकस्सी चर्को छ । विश्वास अविश्वासको नाप तौल हुँदै छ । नयाँ सरकार निर्माणको जोड घटाउ चलिरहेको छ । देश कोरोनाग्रस्त छ भन्ने कुरा नेपालको राजनीतिले चालै पाएको छैन अथवा त्यतातिर हेर्ने च्याउने फुर्सद छैन । राजनीतिमा सत्ता सर्वोपरि हुृन्छ भन्ने कुरा यतिखेर राम्रैसँग प्रमाणित भएको छ । आफै कोरोनाग्रस्त भएर सरकारको पक्षविपक्षमा मतदान गर्न विशेष व्यवस्था गर्नुपर्दा पनि सांसदहरुमा चेतना जागेको छैन । यतिखेर किनारा लागेको सरकार हिजैसम्म आरामसँग कमिसन उग्राइरहेको थियो । भ्रष्टाचारमा रमाइरहेको थियो । सत्ताबाट वेदखल हुनुपर्दा समेत बकुल्लाले माछा ढुकेझै प्रतिपक्षहरुको असफलताको साइत कुरेको छ । जसरी नेपालको राजनीति कोरोना कहरप्रति असम्वेदनशील छ त्यसैगरी नेपालको खस समुदाय अर्कै रन्कोमा छ । आर्य हौं कि खस ? हिन्दू हौं कि अहिन्दू ? खसको अलग पहिचान र अस्तित्व कसरी कायम गर्ने भन्ने कुराको आन्तरिक बहसमा अल्झेको छ । खासगरेर जनगणना सन्निकट उपस्थित भैसकेको हुनाले खस समाजलाई तात्नुपर्ने बनाएको हो । अरु कुरा बिर्सेर ध्यान त्यतै केन्द्रित गर्नुपर्ने बनाएको हो । विश्व मष्टो धर्म महासंघलाई आसन्न जनगणनामा जातिमा “खस” र धर्ममा “मष्ट” लेखाउन खसहरुका नाममा अपिल जारी गर्नुपर्ने त्यसैले बनाएको हो ।

जतिबेला संविधान निर्माण हृुँदै थियो खस समुदाय “क्षत्री” को झण्डामुनी गोलबन्द भएर टुँडिखेलमा मार्च गर्दै थियो । अन्तरिम संविधानले आफ्नो समुदायलाई अन्यमा राख्यो भन्ने गुनासो गर्दै थियो । संघीयताले देश विखण्डित हुन्छ भनेर आर्तनाद गर्दै थियो । समावेशी सिद्धान्तले आफ्नो पक्ष घाटामा पर्छ भन्ने अनौंठो र उल्टो बुझाईले सडकमा बुर्लुक्क बुर्लुक्क उफ्रँदै थियो । “गोर्खालीको पछि बुद्धि” भन्ने कथन साँचै हो भन्ने कुरा प्रमाणित गर्न त्यतिखेर खस समुदाय ज्यान फालेर लागे जस्तो देखिन्थ्योे । फोहर गरिसकेपछि बाटो देख्ने भनेजस्तो हालतमा यतिखेर खस समुदाय पुगेको छ र त्यसको मुख्य जिम्मेवार क्षत्री आन्दोलनका अगुवाहरु नै हुन भन्ने बढी हुदैन ।

मच्चियो मच्चियो थच्चियो भनेजस्तो संविधानमा “खस–आर्य” नामको गञ्जागोले परिभाषा समावेश गर्ने आश्वासन पाएपछि आन्दोलन थान्कियो । संविधान कार्यान्वयनको ३÷४ वर्ष बितेपछि बल्ल त्यो धोका थियो भन्ने कुरा चाल पायो । त्यसैले क्षत्री अभियन्ताहरु यतिखेर कम्बलले मुख छोपेर कुनामा दफन्निएका छन् । सुतुरमुर्गझैं बालुवामा मुन्टो लुकाउनुपर्ने नियतिमा पुगेका छन् । यतिखेर छाँगाबाट खसेजस्तो अवस्थामा कुथुर्किन वाध्य बनेका छन् । बाँसको टुप्पो नुगाएर जमिनमा गाडे पनि आँख्ला आँख्लाबाट नयाँ बाँसको टृुसा पलाउँछन् भनेजस्तो क्षत्री आन्दोलन अर्धमुर्छित अवस्थामा पुगे पनि अर्को कित्ताबाट खसहरु जाग्न थालेका छन् । विहान घरबाट निस्केको मानिस बेलुका घर फक्र्यो भने त्यसलाई हराएको मानिदैन भनेजस्तो कैयौ. खसहरु हिजो क्षत्री आन्दोलनका नाममा कुहिरोको कागझै भौंतारिएका भएपनि नयाँ आन्दोलनमा जोडिएका छन् । जोडिँदै छन् । असल कामको लागि कहिल्यै ढिलो हुदैन । त्यस अर्थमा खसहरुमा जाग्न थालेको चेतना प्रशंसनीय मात्र होइन, आशालाग्दो र भरोशालाग्दो पनि छ । स्वागतयोग्य छ ।

जाति पहिचानको अभियान नाफा नोक्सानको विषय होइन । आफ्नो इतिहास, आफ्नो जाति, आफ्नो संस्कार र आफ्नो कुल परम्परा चिन्ने जोगाउने अभियानलाई कसरी अनावश्यक  भन्न मिल्छ र ? म खस हुँ, मेरो जाति अलग हो, मेरो धर्म संस्कार अलग हो, मेरा आफ्नै मौलिक संस्कार परम्पराहरु छन् । तिनलाई जोगाउनुपर्छ भन्नु कसरी गलत हुन्छ र ? आफ्नोपनको खोजि गर्नु कसरी अरुको विरोध गर्नु मानिन सक्छ र ? हो, यी यस्तै जिज्ञासाले यतिखेर खस समुदायलाई उद्वेलित बनाएको छ । त्यही प्रसंगमा वैदिक आर्य र हिन्दू धर्मसँगको खस जातिको साइनो सम्बन्धको जरो कोट्याउने कोसिस हुन थालेको हो । त्यसलाई तथ्यको आधारमा परिभाषित गर्ने प्रयत्न खस समाजले गर्न थालेको हो ।

धर्म, संस्कृति र जातिको खस अभियान प्रारम्भिक चरणमै छ । विषयको जरोसम्म पुगेर सत्य तथ्य पत्ता लगाउने कार्यमा गर्नुपर्ने काम निकै धेरै छन् । यो तथ्य खोजविनको अवधि हो । प्राप्त तथ्यहरुको अभिलेखीकरण हुन बाँकी नै छ । यतिबेला भन्न सकिने कुरा कति मात्रै हो भने आजसम्मको अध्ययन अन्वेषण र सत्य तथ्य उत्खननको चेष्टाले नयाँ क्षितिज खोल्न थालेको छ । घुमिफिरि रुम्जाटार भनेजस्तो अध्ययन अनुसन्धानले पुरानै मान्यतालाई स्थापित गरेछ भने पनि लाज मान्नुपर्ने वा पछुताउनुपर्ने कारण रहँदैन । जे सत्य साँचो ठहर्छ त्यही अवलम्वन गर्ने हो । त्यसैले यतिखेरै बर्बादै हुने भो भनेझै गरी कोही पनि तर्सनु उतर्सिनु पर्दैन ।

मसिनुगरी केलाउनुपर्ने कुरा धेरै छन् । प्रारम्भमै खस भनेको क्षत्री हो कि होइन, क्षत्री र खस पर्याय पो हुन् कि, खस अलग जाति हो भने खसजाति भित्र कुन कुन थर गोत्रहरु पर्छन्, कुन कुन वर्णहरु पर्छन्, कुन कुन जातहरु पर्छन् भन्ने प्रश्न उपस्थित हुने नै भो । यो समग्र विषयको छिनो फानो हुँदै गर्ला, यतिखेर आफूलाई खस मान्ने थर समूह एक ठाउँमा उभिऔं । इतिहास प्रमाणहरु खङ्गालौं । प्राप्त तथ्यहरुको अभिलेख राख्दै जाउँ । अझ खुलेर भन्नुपर्दा आफूलाई क्षत्री भन्ने पहाडी खसहरुले आफ्नो कित्ता छुट्याउँ भन्ने अपिल खस अभियानको हो । पहाडी बाहुन, दलित, दशनामी, ठकुरीहरु खस हुन् कि होइनन् भन्ने बहस नगरौं । खत्रीहरुलाई आफ्नो समूहमा सामेल गर्ने कि नगर्ने भन्ने कुरा पनि थाति राखौं । आन्दोलनमा जोडिन चाहने सबैलाई समेटौं भन्ने आसय खस अभियानको हो । अझ यसो भनौं– जङ्गबहादुर कुँवरको उर्दीबाट क्षत्रीमा रुपान्तरित भएका खसहरु केन्द्रित अभियान चलाउन खोजिएको हो ।

धर्म र जाति फरक कुरा हो । धर्म जतिपटक परिवर्तन गरे पनि हुन्छ । धर्म नमान्दा पनि फरक पर्दैन । जसरी राज्य धर्मनिरपेक्ष रहन सक्छ त्यसैगरी मानिस पनि धर्मनिरपेक्ष रहन स्वतन्त्र रहन्छ । विश्वको एक तीहाई जनसंख्या धर्मनिरपेक्ष भैसकेको छ भनिन्छ । तर जाति जन्मसँग जोडिएको कुरा हो । वंश अपरिवर्तनीय हुन्छ । खसहरु क्षत्री भए, कालान्तरमा विभिन्न धर्मसंस्कृतिसँग जोडिदै आए । जतिपटक धर्म परिवर्तन गरिसकेका भए पनि खसहरुको मौलिक संस्कृति अवश्य थियो । जसरी हिन्दू बन्नुपूर्व खस समाज बौद्ध धर्मको प्रभावमा रहेको स्पष्ट ऐतिहासिक प्रमाण लाग्छ त्यसैगरी बुद्ध धर्म ग्रहण गर्नुपूर्व पनि खस समाजमा धर्म भन्न मिल्ने आफ्नै मौलिक संस्कृति र परम्परा थिएनन् भन्न कसैले सक्ने कुरा होइन ।

आज यो सानो टिपोटमा खसहरुको जातिको कुरा गरौं । धर्म संस्कृतिको बारेमा अर्को पटक छलफल गरौंला ।

नेपालको संविधानले खसलाई आर्यसँग जोडिदियो । खसहरु आर्यवंशी नै हुन् भने खसको फुर्को किन जोड्नु प¥यो ? आर्य मात्र लेखिदिए भैहाल्यो । होइन, खस अलगै जातिवंश हो भने आर्यसँग किन जोडियो ? खसलाई अलग कित्तामा किन राखिएन ? कुन कारणले आर्यसँग जोड्नुपर्ने परेको हो ? यो विषय चिन्तनीय छ । विचारणीय छ । त्यसरी दुई जातिलाई एकै ठाउँमा राख्नुको विशेष कारण अवश्य छ भनेर बुझ्नुपर्छ । अर्थात जुनसृुकै कारणले होस आर्य र खस नामका दुई जातिलाई एकै ठाउँमा राखेर परिभाषित गरिएको हो । आर्य र खस एउटै थिएनन्, होइनन् । समाजले एउटै भनेर बुझेको भए पनि त्यो कुरा सत्य होइन भनेर किटानीकासाथ बोल्ने हिन्दु धर्मग्रन्थहरु नै हुन् । खसहरुलाई आफू आर्यइतर जातिको मानव समूह भएको जानकारी दिने पहिलो सूत्र संस्कृत साहित्य नै हो । स्मृति, सूत्र, महाभारत, पुराणहरुले खसहरुको बारेमा स्पष्टसँग बोलेका छन् । भारतीय प्राचीन इतिहासका पुस्तकहरुमा पनि त्यसबारेमा स्पष्टसँग लेखिएका छन् । खसजाति, खस राजा रजौटा र खस राज्यको बारेमा इतिहासहरु स्पष्ट छन् । कैयौं पश्चिमा अनुसन्धाताहरुका अनुसन्धानकृतिहरुले पनि त्यसबारेमा लेखेका छन् । खस जातिको भारतवर्षतिरको संक्रमणको कथा नयाँ कथिएका विषय होइनन् । ती अनुसन्धान तथ्यहरुले प्रमाणित गरेका विषयहरु हुन् । खस र आर्य फरक जाति हुन् । यस क्षेत्रमा उनीहरुको आगमन काल पनि फरक हो भनेर पुष्टि गर्ने अनेकौं अभिलेख प्रमाणहरु प्राप्त छन् ।

खस अलग जाति हो । खसको जाति नश्ल अलग हो भन्ने कुरा आफूलाई आर्यवंशको प्रतिनिधि मान्ने ब्राह्मण समुदायले खससँगको रक्त सम्बन्धबाट परहेज गर्ने परम्पराले पनि पुष्टि गर्छ । खस कन्याका उदरबाट जन्मेका आफ्नै सन्ततिलाई आफ्नो समाजबाट बहिष्कार गर्ने र खत्री भनेर अपहेलित गर्ने परम्पराले चिच्याइ चिच्याई त्यही यथार्थ बताउँदै छ । व्यवहार र प्रमाणले खस अलग जाति हो भन्ने कुरा स्थापित छ । तैपनि खसहरुमा एक किसिमको हिच्किचाहट देखिन्छ । हिजो अस्तिदेखि विश्वास गर्दै आएको मान्यताको विपक्षमा उभिन अन्कनाइरहेको छ । खस अभियानबाट तर्सेका विद्वान लाभग्राहीहरुले फैलाएको हल्लाबाट भ्रमित हुने खसहरुको संख्या कम छैन । जाति र धर्मबिचको अन्तर बुझ्न नसक्ने समस्याले पनि थप जटिलता उत्पन्न गरेको छ । त्यसैले खस अभियानको विपक्षमा उभिनेहरुका अनेक कित्ता छन् ।

मूलतः पुरेत पण्डितहरु आफ्नो आयश्रोत मेटिने भो भन्ने त्रासमा छन् । हिन्दुवादी संगठनमा आवद्ध हुनेहरु पनि धार्मिक जनसंख्या खुम्चने भो भन्ने चिन्तामा छन् । कैयौं राजनीतिक दलहरुमा समेत मतदाता घट्ने चिन्ता देखिन्छ र ती सबैकोको खसविरोधी प्रोगन्डाको शिकार हुने खसहरुको संख्या पनि उल्लेख्य छ । धर्म र परम्पराबीचको अन्तर खुट्याउन नसक्ने खससमाजको चिन्तन वा बुझाई पनि वाधाको रुपमा उपस्थित छ । खासगरेर खत्रीहरुमा आफू न ब्राह्मण न खसको अन्योल कित्तामा परिने चिन्ता छ ।

खस अभियानले तय गर्नुपर्ने बाटो निकै लामो र घुमाउरो छ । पहिचान स्थापित गर्न र संवैधानिक मान्यता प्राप्त गर्न संविधान शंसोधनसम्म पुग्नुपर्ने हुन्छ । त्यो सजिलै फत्ते हुने विषय होइन । पहिचानकै लागि मधेसले पाँच दर्जनभन्दा बढी शहिद जन्माएर पनि आन्दोलनले तार्किक प्रतिफल पाएको छैन । खस अभियानले पनि त्यो बाटो हिड्नुपर्ने छैन भनेर भविष्यवाणी गर्न सकिन्न । सवुद प्रमाणहरु जुटाउँदै जाउँ, खस समाजलाई प्रशिक्षित गर्दै जाउँ, एकताको सूत्रमा गोलबन्द गर्दै जाउँ भन्ने सन्दर्भमा जाति र धर्मको कुरा आएको हो । यसपटकको जनगणना जाति पहिचानको अवसरको रुपमा उपस्थित भएको छ । अवसरको उपयोग गर्न सकियो भने खसहरुको कित्ता कत्रो रहेछ भन्ने तथ्यको सरकारी काजपत्र र अभिलेख नै साक्षी बन्ने छ । त्यसैले  जनगणनामा जाति उल्लेख गर्न सबै खसहरुसँग खस अभियानले अुनरोध गरेको छ । सशत्त अभियान चलाउन भने सकेजस्तो लाग्दैन । जेहोस, त्यसले भोलि सिङ्गो खस जातिलाई एकै ठाउँमा उभ्याउन मिल्ने चोतारीको जग सम्म निर्माण गर्ने छ भनेर आशा गर्न सकिन्छ ।

नेपालका पहाडी क्षत्रीहरुको जाति खस हो । क्षत्री भन्ने वर्ण हिन्दू धर्मले दिएको हो । वैदिक क्षत्रीहरुको पहाडमा उपस्थिति निकै न्यूून संख्यामा छ । ९९ प्रतिशत क्षत्रीहरु खस जातिकै हुन् । वर्ण क्षत्री पाएका भए पनि त्यो समुदाय वेदिक क्षत्री होइन । आर्यवंशी होइन । रक्त वंशले आर्यभन्दा विलकुल फरक कित्ताको जाति हो । त्यो विशुद्धघ खस समुदाय हो । त्यसैले जनगणनामा आफ्नो जाति खस हो भनेर लेखाउन कसैलाई गाह्रो पर्ने छैन । नबुझ्ने वा आग्रह वा अज्ञानतावश आफूलाई खस भनाउन नरुचाउने बाहेक अरुका लागि आफ्नो जाति अग्राह्य हुनुपर्ने कारण छैन । धर्मले जाति र जाति एकतालाई कुनै फरक पार्दैन । जुनसुकै धर्म संस्कृति मान्ने भए पनि पहाडी क्षत्रीकुल खस जातिको हो । छाति खोलेर म खस हुँ, मेरो जाति खस हो, म वैदिक आर्य होइन भन्न हिच्किचाउनुपर्ने कारण छैन । रहँदैन । त्यसैले विशेष आग्रह राखेर अभियानलाई इसाईको षडयन्त्र भन्नेहरु, समाज भँडुवाको आरोप लगाउनेहरु, धर्मद्वेषीको बिल्ला भिराउनेहरु, समाजमा फुट सिर्जना गर्ने भनेर लाञ्छित गर्नेहरु, हिन्दू विरोधी भन्नेहरुका प्रलापहरुलाई पददलित गरौं । आफ्नो जाति र वंशलाई आत्मसात गरौं । जाति उन्नयनको महायज्ञमा सामेल होउँ । मेरो जाति खस हो भन्न नछोडौं । लेखाउनु नचुकौं । जय खस । -जनधारणा साप्ताहिकबाट 



Share Your Thoughts