सीपथबाट मोदीपथतर्फ केपी ओलीको क्रमभंगता !



Dharana    

access_time 29 Apr 2021

-निमकान्त पाण्डे 

प्रधानमंत्री केपी ओलीले आफ्नो पार्टी नेकपा एमालेलाई पूर्ण रुपले आफ्नो आदेशपालकहरुको झुण्डका रुपमा बिकसित गराएका छन् । बिचार, सिद्धान्त र आदर्श सबैलाई निस्तेज पार्दै कमाउ पार्टीका रुपमा रुपान्तरित गराउँदै गैरहेका छन् । तर पनि पार्टी र सरकारमा आफ्नो शक्ति सुदृढ बनाउने कुरामा भने ओलीले चीनका राष्ट्रपति सीजिनपिङको बाटो अवलम्बन गरिरहेका छन् । ओलीमा परेको सी प्रभाव शक्ति सुदृढिकरणका सवालमा सफल देखिएको मान्न सकिन्छ ।

गतबर्ष डबल नेकपाले राजधानीको एउटा होटलमा ‘सी विचारधारा’बारे प्रशिक्षण  कार्यक्रम सम्पन्न गरेको थियो ।‘सी जिनफिङवाद’ अंगाल्नेगरी नेकपा अघि बढेको सन्देश दिनेगरी प्रशिक्षण कार्यक्रम गरिएको थियो । डबल नेकपाभन्दा बाहिरको शक्तिले त्यसलाई नेपाल भित्रै ‘काउन्टर’ गर्ने अवस्था रहेन,थिएन नै । सबैले मौनम् सम्मति लक्षणम् कै अवस्थामा रहेर रमिता हेर्ने काम मात्र भयो । 

सरकारमा डबल नेकपा बलियो अवस्थामा थियो , दुई तिहाई बहुमत प्राप्त सरकारको शक्तिमा समेत थियो डबल नेकपा । प्रशिक्षण कार्यक्रममा डबल नेकपा र चिनियाँकम्युनिष्ट पार्टी दुवै पक्षले कार्यपत्र प्रस्तुत गर्ने भनिए पनि चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट मात्रै कार्यपत्र प्रस्तुत भयो र त्यसमै छलफल भएको थियो । दुई पार्टीबीचको भाइचारा सम्बन्ध थप बलियो बनाउन ६ बुँदे सहमतिसमेत गरिएको खबर बाहिरिएको थियो त्यसैबेला।

त्यो प्रशिक्षण सकिएसँगै त्यसको ‘काउन्टर’मा प्रतिक्रियाहरु पनि व्यक्त भइरहेका थिए । चिनियाँप्रति प्राय: मौन रहने नेपाली बुद्धिजीबिहरुले पनि चीनका राष्ट्रपति सीको आसन्न नेपाल भ्रमणअघि  यो प्रशिक्षण कार्यक्रमबारे नकारात्मक प्रतिक्रिया व्यक्त गरे । प्रतिरक्षामा चिनियाँ राजदूत नै अघि सर्नुपरेको थियो। चिनियाँ राजदूत होउ यान्छीले अन्य मुलुकमा चीनले कहिल्यै विचार निर्यात नगर्ने भनेर प्रतिक्रिया जनाएकी थिईन्।‘चीन आफ्नो विचार निर्यात गर्ने मुलुक होइन,हामीले पहिले पनि अन्य मुलुकमा आफ्नो विचार निर्यात गर्दैनथ्यौं, आगामी दिनमा पनि गर्दैनौं´ - उन्ले भनेकी थिईन् ।

यो प्रशिक्षण कार्यक्रम पछि अमेरिका पनि यहाँ सक्रिय देखियो । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपाल र प्रमुख विपक्षी कांग्रेसका सभापतिसँग भेटघाट गरेका थिए। दुवै नेतासँगको छलफलको विषय ‘समसामयिक राजनीति’ भनिए पनि त्यो सक्रिएता ‘इन्डो-प्यासेफिक स्ट्राटेजी’ अन्तरगतको एमसीसीलाई लिएर बेरिको दौडधूप चल्यो । अमेरिकी राजदूत बेरि र डबल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको गोप्य वार्ता अझै पनि गोप्य नै रहनुको कारण के होला ? अनुमान गर्न सकिने बिषय हो । 

नेपालमा सी विचारधारामाथि छलफल गरिएपछि त्यसको तरंग अमेरिका र भारत हुँदै नेपालको सत्तासिन दल बिभाजनसम्मको अवस्थामा पुग्यो । हालका घटनाक्रमहरुबाट बुझ्न सकिने कुरा यही नै हो ।

एउटा छिमेकी देशको सत्तारुढ नेताले अघि सारेको विचारमाथि यहाँ सरकार चलाइरहेको प्रमुख दलले गर्ने छलफलको असर नेपाल जस्तो संवेदनशील भू-राजनीतिक अवस्थिति भएको देशलाई पर्नु स्वाभाविक हो । ओली सरकारले सीपथबाट मोदीपथतर्फ कोल्टे फेराईको कारण यसैको परिणामका रुपमा लिन सकिन्छ । 

डबल नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको बाटोमा हिँड्न खोजे नेपालले पक्कै काँचुली फेर्न सक्ने हुन्छ । त्यसले नेपालको भू-राजनीतिक अवस्थाले सृजना गरिरहेको समस्यामा पूरै परिवर्तन ल्याउने सम्भावना पनि रहन्छ ।नेपालको जल, जमिन र खानीमा भारतको गिद्धे दृष्टिबाट नेपाललाई बचाउने एकमात्र बिकल्प भनेको चीनसँगको सामिप्यता नै हो । सामिप्यताका लागि बिचारपक्ष नै सबैभन्दा प्रभावकारी हुन् सक्दछ ! त्यस आधारमा गरिनु पर्ने प्रशिक्षण डबल नेकपाका कच्चा नेताहरुले मजाक गरेर उडाई दिए ! अहिले एमसीसीको लागि अमेरिकी दासत्व स्वीकार गर्नु पर्ने अवस्था र भारतीय गुप्तचर प्रमुखसँग आफ्नो हैसियत भुलेर लम्पसार पर्नु पर्ने कारण त्यही कच्चापनको परिणाम हो । 

कतिपय बिश्लेषकहरुले डबल नेकपाको सरकार अब चीाको मोडेलमा जाने आशंका गरेर प्रतिक्रिया जनाएका थिए भने मोहन बिक्रम सिंहले अरुको भन्दा फरक टिप्पणी गरेका थिए । सिंहले डबल नेकपा र चिकपा दुबैलाई बैचारिक रुपमा पतन भएका समान शक्ति भनेर यसरी बिश्लेषण गरेका थिए - `सीको विचारधारा भनेर जुन कुराको उल्लेख गरिएको छ, त्यसले माओको क्रान्तिकारी लाइनको होइन देङ्गको दक्षिणपन्थी लाइनको प्रतिनिधित्व गर्दछ । त्यसैले सामान्य प्रकारले हेर्दा नेकपा र चीनको कम्युनिस्ट पार्टीको बीचमा मूलभूत रूपमा बैचारिक समानता छ– त्यो दुवैको दक्षिणपन्थी संशोधनवादी लाइनको समानता हो । त्यसकारण सैद्धान्तिक दृष्टिकोणले ती दुवै सङ्गठनहरूको वा उनीहरूले आयोजना गरेको प्रशिक्षण कार्यक्रमले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका लागि कुनै महत्व राख्दैन ।´

सिंहले भने झैं स्पष्ट रुपमा ओलीको गन्तब्य सीपथबाट क्रमभंग हुँदै ईण्डो-प्यासिफिकपथ  र मोदीपथतर्फ रुपान्तरित भैरहेको छ, यस्ले कम्युनिष्ट आन्दोलनमा कुनै प्रभाव पार्ने छैन ! कम्युनिष्टपथबाट बिचलित भैसकेका ओलीका लागि सीपथ र मोदीपथमा भिन्नता छैन भन्ने सन्दश पनि उन्ले दिईरहेका छन् ।--जनधारणा साप्ताहिकबाट



Share Your Thoughts