भारतमा भैरहेको रुवाबासी देखेर पनि सिमा आवागमनतर्फ सरकारको ध्यान पुगेको छैन , जनता सचेत बन्न जरुरी



Dharana    

access_time 29 Apr 2021

-राज्यलक्ष्मी शाक्य 

नेपाल सरकारले कोरोनाको दोस्रो लहरबाट हुने प्रभावबाट बच्ने उपायका रुपमा निषेधाज्ञा बाहेक अरु देख्न नसकेको अवस्थाले नेपाली जनता संकटमा पर्ने निश्चित नै छ । छिमेकी देश  भारतमा कोरोना महामारीको दोस्रो लहर भयावह बन्दै गएको छ । दैनिक तीन लाख भन्दा बढीमा संक्रमण र दुई हजारभन्दा बढीको मृत्युले भारतमा रुवाबासी नै मच्चिएको छ । छिमेकी देश भएरै पनि हामी केही गर्न सक्ने अवस्थामा छैनौ ! बरु उताको संक्रमणको लहर यता आउला कि भन्ने त्रासमा हामी गुज्रिनु परिरहेको छ । 

भारतका अधिकांश राज्यका अस्पतालका बेडहरू भरिएका छन् । सयौं बिरामी अक्सिजनको अभावमा अस्पताल बाहिरै मृत्यु वरण गरिरहेका छन् । त्यहाँ जताततै चित्कार मात्र सुन्न थालिएको छ । गत वर्ष इटालीमा देखिएकोभन्दा धेरै गुणा पीडादायी अवस्था अहिले भारतमा उत्पन्न भएका समाचारहरु आईरहेका छन्  ।

समाचारहरुमा जनाईए अनुसार कोरोनाको नयाँ भेरियन्टको बेलैमा रोकथाममा देखिएको सरकारी र जनस्तरको उदासीनताको परिणाम नै अहिले यो अवस्था रहेको निश्कर्ष निकाल्न थालिएको छ । सरकारले सार्वजनिक स्वास्थ्यलाई कम प्राथमिकतामा राखेको र जनताले महामारीलाई बेवास्ता गरेको कारण दैनिक लाखौं संक्रमित र हजारौंले मृत्यु वरण गर्नुपरेको हो ।

नयाँ दिल्लीस्थित एउटा शवदाह गृहको अवस्थाले सबैलाई स्तब्ध बनाएको छ । जहाँ चौबिसै घण्टा कोरोनाबाट ज्यान गुमाउनेको लाश पोल्ने काम भइरहेको छ । यस्तो दृश्य मुलुकका सबैजसो घाट र शव व्यवस्थापन स्थलमा देखिएको छ ।

दिल्लीस्थित एउटा हिन्दु शवदाहस्थलका प्रमुख जितेन्द्रसिंह सेठीले एक रातमा मात्रै  ७८ वटा शव जलाएको खुलासा गरेका छन् । त्यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । नवजात शिशुदेखि २० वर्षसम्मका बालक र किशोरको शव देखिएको उन्ले जनाएका छन् । नव विवाहित युवा युवतीसमेत जलाईएको देखिएका उन्ले जनाए । 

गला अवरुद्ध बनाउँदै उनले भने -‘यो देखेर मेरो दिल दुखेको छ । साना बालबालिकाको मृत्यु भएको छ । लाश जलाउने ठाउँसमेत छैन ।’

सोही ठाउँमा भेटिएका एकजना मृतकका आफन्त नितिशकुमार भन्छन्- ‘यस्तो अवस्थामा पनि कसैको सहयोग पाउन सकिएको छैन । बिरामीलाई पर्याप्त अक्सिजन र भेन्टिलेटर उपलब्ध हुन सकेन । भएको अक्सिजन सकिएपछि बिरामीको निधन भयो ।’

महामारी भारतमा कुन अवस्थामा पुगेको छ भन्नको लागि पछिल्लो आँकडाले पनि पुष्टि गर्छ । गत महिनादेखि विश्वमा फैलिएको कोरोनाको दोस्रो लहरमा थपिएका नयाँ संक्रमितमध्ये भारतको मात्रै २८ प्रतिशत योगदान रहेको छ । जुन एक चौथाईभन्दा बढी हो ।

हालसम्म भारतमा २ करोड भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।

 धेरै जनसंख्या भएको कारण यस्तो अवस्थामा पनि उसको संक्रमण दर भने अमेरिकामा भएको पहिलो लहरको संक्रमण भन्दा कम देखिन्छ ।खुला सिमाना भएका कारण भारतको बिनासलिलाको लपेटामा नेपाल पनि पर्नेतर्फ बेलैमा सचेत हुनुपर्ने हो, तर पनि सिमा नाकाबाट निर्बाध आवागमन रोकिएको छैन । सरकार फेरबदलको खेलमा लागिरहेका रनजनीतिक दलहरुलाई सत्ता बाहेक अरु कुनै कुराको चासो छैन भने सरकार पनि सत्ता बचाउने खेलमै लाग्नु पर्ने बाध्यतामा पुगेको छ । हामी नेपाली आफै सुरक्षित हुने बाहेक सरकारको र दलका नेताहरु आशा गर्नु ब्यर्थ नै छ !-जनधारणा साप्ताहिकबाट



Share Your Thoughts