तरुल हो र ठोरीमा उत्खनन् गर्दा भेटिने राम जन्मभूमि ?



Dharana    

access_time 29 Apr 2021

-चन्द्रप्रकाश बानियाँ

रामवादी एमालेले चितवनको ठोरीलाई राम जन्मभूमि हो भनेर दावा ठोकेको छ । राम कुन सालको कुन मितिमा कहाँ जन्मेका थिए भन्ने कुराको जन्मपत्री कसैसँग छैन । त्यसैले इरानदेखि इन्डोनेसियासम्म राम आफ्ना नागरिक भएको दावा गरिन्छ । सबभन्दा ठूलो रडाको भारतमै भयो । सेटिङ्मै भए पनि भारतले विवाद टुङ्ग्यायो । यता नेपालका रामवादी कम्युनिष्टहरुले मसिनो आवाजमा दावा ठोक्दै छन् । हालसालै राम सीताका मूर्तिहरु स्थापित गरिए, राम मन्दिर बन्दै छ । उत्खननको चर्चा पनि चल्दैछ । रामको खोज अनुसन्धान गरेर भारत थाकेर महाभारत र रामायणकथालाई इतिहासको पाठ्यक्रमबाट हटायो तैपनि हिन्दूवादीहरु राम कथाको सत्यताको जिरह गर्दै छन् । आफ्नो मौलिक चिन्तन नभएका नेपालीहरुले अन्ध हिन्दूवादी भारतीयहरुको सिको गर्नु अस्वाभाविक होइन । आजसम्मको अध्ययन अनुसन्धानले राम र उनको कथालाई काल्पनिक ठह¥याएको छ । रामकथा अर्थात रामायण काल्पनिक भएपछि त्यसका पात्रहरु पनि काल्पनिक हुने नै भए । रामकथा सत्य नभएपछि रामसँगै रावणादि पनि नक्कली पात्र हुनन् भन्नै प¥यो । आउनुहोस् आज रामकथाको महत्वपूर्ण पात्र रावणको काल्पनिक वंशावलीको अलिकता चर्चा गरौं । 

एकदिन ऋषि पुलस्त्य हिमालय यात्रामा निस्केछन् । प्रकृतिको मनोरम दृश्यावलोकनको रसपान गर्ने सिलसिलामा गोबर्धन पर्वत देख्दा उनी असाध्य लोभिएछन् । यस्तो सुन्दर पर्वत आफ्नो आश्रमस्थलमा भैदिए कति राम्रो हुँदो हो जस्तो लागेछ । उनी पर्वतराज (पार्वतीका पिता)को दरबारमा उपस्थित भएछन् । ऋषिको स्वागत अभिवादनपछि राजाले ऋषिआगमनको उद्देश्य सोधेछन् । पुलस्त्यले आफ्नो आगमनको कारण वास्तवमा त्यस्तो विशेष केही नभएको, घुमफिर गर्ने सिलसिलामै हिमालयमा आइपुगेको र गोबर्धन पर्वतको सुन्दरताले आफू मोहित भएको कुरा सुनाएछन् । त्यो मनमोहक पर्वत आफ्नो वासस्थानमा लैजाने इच्छा समेत जाहेर गरेछन् । पर्वतराजले पनि सहर्ष अनुमति दिएछन् । इच्छाएको बस्तु पाएका पुलस्त्यले गोबर्धन पर्वत उठाएर हिड्नै थाल्दा ‘निर्दिष्ट गन्तव्यमा बाहेक अन्यत्र पर्वत बिसाउन नहुने, एकपटक धर्तीमा बिसाएपछि पर्वतलाई फेरि चलाउन सकिने छैन’ भन्ने जानकारी पनि पर्वतराजले दिएछन् । 

गोबर्धन पर्वत उठाएर घरतिर लागेका पुलस्त्यलाई घुम्दैफिर्दै मथुरापुरीको बज्र भन्ने ठाउँमा पुग्दा लघुशंकाले च्यापेछ । सहनै नसकिने भएपछि गोबर्धन पर्वत भुईमा बिसाएछन् । काम सकेर फेरि पर्वत उचाल्न खोज्दा उनको केही नलागेपछि पर्वतराजको भनाई सम्झेछन् र पर्वत त्यही छोडेर आफ्नो आश्रमतिर लागेछन् । यसरी गोबर्धन पर्वत हिमालयबाट बज्रमा स्थायीरुपमा स्थानान्तरण भएछ । पछि बज्रबासीसँग रिसाएका इन्द्रको कोपभाजन बन्नबाट गोपालहरुलाई जोगाउने सिलसिलामा श्रीकृष्णले त्यही पर्वत उठाएका रहेछन् । अर्थात गोबर्धन पर्वत उठाउने श्रीकृष्ण दोश्रा पहलमान रहेछन् ।

यो कथा भृगुसंहिताको हो । त्यस ग्रन्थमा उल्लेख भए अनुसार त्यतिबेला पुलस्त्य ऋषिको आश्रम काशीतिर रहेको देखिन्छ । होला कुनै कालखण्डमा पुलस्त्य ऋषिको आश्रम काशीतिर रहेको हुनसक्छ । तर ऋषिमुनिहरु अपेक्षाकृत एकान्त निर्जन स्थानमा रहेर तपस्या र साधना गर्ने गर्थें भन्ने लोकमान्यता रहेको छ । त्यसैलै भुगुसंहितामा भनिएजस्तो काशीमा पुलस्त्य ऋषिको कुटी थियो भने पनि त्यो स्थायी वासस्थान थियो होला भनेर पत्याउन सकिदैन । यहीनेर विचारणीय कुरा के पनि देखिन आउँछ भने काशी अर्थात वनारस महाभारतयुगसम्म पवित्र तीर्थ मानिएको उदाहरण फेला पर्दैन । काशी निकै पछि मात्र धार्मिकस्थलको रुपमा विकसित भएको हो । काशीलाई पवित्र तीर्थस्थल हो भनेर प्रमाणित गर्ने सन्दर्भमा प्रसिद्ध ऋषि पुलस्त्यको आश्रम पनि त्यहीँ थियो भनेर उल्लेख गरिएको हुनसक्दैन भन्न मिल्दैन । पर्यटन विकासकै सन्दर्भमा धार्मिकस्थलहरुको विकास गरिएको हो भन्ने कुरा अकाट्य तथ्य हो । 

म्याग्दीको “बेनी नगरपालिका” अन्तर्गत वडा नं. ५ पुलामा अवस्थित “पक्षै” भनेर चिनिने मनोरम डाँडोमा पुलस्त्य ऋषिको आश्रम थियो भन्ने स्थानीय जनश्रुति रहेको छ । लोकश्रुति तथ्यद्वारा प्रमाणित हुन बाँकी नै छ ।  अर्थुङ्गे, पुला, घतान, सिंगा र पातलेखेत समेतको इलाकालाई पहिले संयुक्तरुपमा “पुला” भनेर पुकारिन्थ्यो । यस क्षेत्रमा पुलस्त्यादि ऋषिहरुको आश्रम रहेको हुनाले यस ठाउँको नाम “पुला” रहन गएको हो भन्ने लोककथन रहेको छ र त्यस भनाईमा विश्वास गर्ने गरिन्छ । 

महाभारतग्रन्थमा महाभारतयुद्ध सुरु हुनुपूर्व बलरामजी तीर्थयात्रामा निस्केको र तीर्थाटनकै सन्दर्भमा ‘कृष्णा गण्डकीको किनारमा रहेको पुलस्त्य आश्रम’मा पनि पुगेको वर्णन परेको छ । श्रीमदभागवतको आठौं स्कन्दमा पनि आश्रमको कुरा उल्लेख छ । 

काली गण्डकीको मुक्तिनाथदेखि देवघाटसम्मको खण्डलाई “कृष्णा गण्डकी” भनिन्छ । त्यसभन्दा तल यो नारायणीको नामले लोकपरिचित छ । त्यसबाट पनि पुलस्त्य ऋषिको आश्रम देवघाटभन्दा माथि र मुक्तिनाथभन्दा तल कतैतिर रहेको कुरा पुष्टि हुन्छ । यस क्षेत्रमा पुलाबाहेक अन्य कुनै ठाउँमा पुलस्त्य ऋषिको आश्रम रहेको किम्वदन्ति सुनिदैन । 

भारतवर्षमा विकसित पूर्वीया भनिने आध्यात्मिक हिन्दू दर्शनले ब्रह्माजीलाई मूलपुरुष मानेर मानव उत्पत्ति र विकासको कल्पना गरेको छ । उनै ब्रह्माजीका अनेकौं मानसपुत्र मध्येका एकजना पुलस्त्य ऋषिलाई पनि मानिन्छ । उनै पुलस्त्यका नाति रावण त्रेतायुगका एकजना प्रख्यात राजा भएको कथा अनेकौं धर्मग्रन्थहरुमा उल्लेख भएको छ । उनको राज्य लंका (हालको श्रीलंका) थियो भनेर मानिन्छ । रावण उत्पत्तिको कथासार यस्तो छ ः

ब्रह्मापुत्र पुलस्त्यको जेठा छोरा धनका देवता कुबेर अर्थात वैश्रवण आफ्ना बाजे ब्रह्माजीको सेवाशुश्रुषामै निमग्न हुन थालेपछि पुलस्त्यले आफू उपेक्षित भएको अनुभूति गरेछन् । आफूसँग कुपित भएको बाबुबाट कुनै अनिष्ट हुने हो कि भन्ने त्रासले बाबुलाई रिझाउनका लागि कुबेरले तीनवटी यक्षकन्याहरु उनको सेवामा खटाएछन् । योगसाधनाद्वारा “विश्रवा” नामको अर्को रुप धारण गरेका पुलस्त्यले छोराको उपहारमा प्राप्त  तिनै यक्षकन्याहरुसँग रमण गर्न थालेछन् । यसरी विश्रवाका रावण, कुम्भकर्ण, विभिषण र खर नामका चार छोरा र सुपर्णाखा नामकी एउटी छोरी जन्मेछन् । छोराछोरी जन्मेपछि विश्रवा तपस्याको लागि हिमालयतिर लागेछन् । यसरी कुवेरको उपेक्षाबाट कुपित भएर जन्माइएका रावणलगायतका लालाबालाको स्याहारसम्भार, पालनपोषण र शिक्षादीक्षाको जिम्मेवारी पुलस्त्य ऋषिको काँधमा थपिएछ । 

रामायणमा भने विश्रवालाई पुलस्त्य ऋषिका छोरा भनिएको छ र आफ्ना साना छोराछोरीहरु पुलस्त्य (बाजे)को आश्रममा छोडेर तपस्याका निमित्त हिँडेको कथा लेखिएको छ । 

ती दुबैखाले प्रसंगहरुले पुलस्त्य ऋषिका सन्तान रावण, कुम्भकर्ण, विभिषण, खर र सुपर्णखा लगायतको जन्म तथा पालनपोषण पुलस्त्य ऋषिको आश्रम वरपर भएको थियो भन्छन् । त्यसैले रावणादि विश्रवापुत्रहरुको जन्मस्थान पुला नै हो भनेर किटानीका साथ भन्न नसकिए पनि बालवय बिताएको ठाउँ त्यही होला भन्न सकिने आधार भेटिन्छ ।  

महाभारतमा उल्लेख भएअनुसार वैश्रवणको भक्तिभाव र सेवाशुश्रुषाबाट खुसी भएका ब्रह्माजीले उनलाई लंकाको राजपाठ दिएका थिए रे । पछि त्यही राज्य रावणले हस्तगत गरेका थिएछन् । लंकाको राज्य रावणलाई सुम्पेर कुवेरले सुवर्णगिरिमा नयाँ राज्य स्थापना गरेका थिए । सुवर्णगिरि नामको उक्त ठाउँ यतिबेलाको गुङ्गेपुराङ् भनिने पश्चिम तिब्बततिरको यताउता कतै  मानसरोवरको आसपास रहेको अनुमान गरिन्छ । यसरी मानसरोवरदेखि श्रीलंकासम्म कुनै जमानामा ऋषि पुलस्त्य ऋषिका सन्तान सन्ततिहरुको राज्यशासन रहेको थियो रे ।   

पुलस्त्य ऋषिको पाषण मूर्ति श्रींलंकाको समुद्रीतटको “पुलन्नारुवा” भन्ने ठाउँको चट्टानमा कुँदिएको छ । पुरानो जमानामा पुलन्नारुवालाई पुलस्थ्यपुरी भनिन्थ्यो भन्ने किंवदन्ति रहेको छ  । यता म्याग्दीको पुलामा पुलस्त्य ऋषिले यज्ञ गरेको यज्ञशेष “चरु” सुरक्षित छ भनेर मानिन्छ । यसरी पुला र श्रीलंकाको आपसमा साइनो गाँसिन जान्छ । अर्थात तत्कालीन समयमा श्रीलंकादेखि पुलासम्म पुलस्त्य ऋषिको आउजाउ भैरहन्थ्यो र दुबैतिर उनी उत्तिकै मानिन्थे पुजिन्थे भन्नुपर्ने हुन्छ ।  

विश्रवालाई स्वयम पुलस्त्यकै अर्को रुप मान्ने हो भने पुलस्त्य र रावण बाबुछोरा ठहर्छन् । रामायणमा भनिएझै विश्रवालाई पुलस्त्यका छोरा मान्ने हो भने रावण र पुलस्त्यको नाता बाजे–नातिको हो भन्नुपर्छ । कैयौैं स्थानमा रावणलाई “पौलस्त्य” समेत भनिएको पाइने हुनाले उनी पुलस्त्यका सन्तति मानिएको थियो भन्नुपर्ने हुन्छ । गोबर्धन पर्वत बोकेर हिँडेको, छोराको रिसले योगबलबाट दोश्रो मानसरुप धारण गरेको र स्वयम ब्रह्माजीका पुत्र अर्थात पहिलो पुस्ताको मानिस भएर त्रेतायुगमा जन्मेका रावणहरुको पालनपोषण गर्न भ्याएको जस्ता अपुरुषेय र अमानुषिक कर्महरु पुलस्त्यबाट कसरी सम्पन्न हुन सक्छन् भनेर प्रश्न गर्ने ठाउँ भने अवश्य छ । धर्मग्रन्थहरुकै मात्र भर पर्ने हो भने तिनको सन्तोषजनक उत्तर फेला पर्दैन । अर्थात कि त युगको मान्यता फर्जी हो कि भने मानवसृष्टिको कथा झूटो हो भन्नुपर्ने हुन्छ । दुबै कुरा काल्पनिक हुन् भन्दा पनि फरक पर्दैन ।   

हिन्दु धर्मदर्शनको मूलश्रोत वेदलाई मानिन्छ । वेदहरुमध्ये जेठो “ऋगवेद” हो । ऋगवेदमा अनेक पटक मान्छेको १०० वर्षको आयुको कामना गरिएको देखिन्छ । कलियुग भनिएको यतिबेलाका मान्छेको लागि सय वर्षको आयु जति दुर्लभ छ वैदिक युगमा पनि मानिसहरु १०० वर्ष लामो आयुका निमित्त कल्पन्थे, कामना राख्दथे भन्ने कुरा ऋगवेदले नै प्रमाणित गर्दछ । पुलस्त्य ऋषि मानिस नै थिए । उसो त उनको जन्मकथा विश्वसनीय छैन । जन्मकथा साँचो नभए पनि पुलस्त्य ऋषि वास्तविक थिए भन्ने हो भने उनको आयुकथा भने सरासर झूटो हो भन्नै पर्छ । उनको आयु आममान्छेको भन्दा फरक हुने कुरै भएन । सत्ययुगमा जन्मेका पुलस्त्य ऋषि त्रेतायुगसम्म बाँचिरहे र रावणहरुको पालनपोषण गरे होलान् भनेर पत्याउन सकिने कुरै होइन । 

पुलस्त्य विनाआमाका सन्तान हुन भनिएको छ । जैविक तथ्यले त्यसलाई झूटो मान्छ । रावणका दश टाउका थिए भनिन्छ । मान्छेलाई एउटै टाउको त थाम्न गाह्रो पर्ने हुनाले जन्मेको तीनचार महिनासम्म आफ्नो एउटा टाउको धान्न मान्छ्ेले सक्तैन भने दश दश टाउका लिएर रावण रणमैदानमा उत्रन्थ्यो भनेर कसरी पत्याउन सकिन्छ र ? स्वयम रामका चारभाईको जन्मकथा अजैविक देखिन्छ । ऋषिले दिएको खीर खाएर दशरथका तीनैवटी रानीहरु गर्भवती बन्छन् र राम लक्ष्मणहरुलाई जन्म दिन्छन् । सारा रामायणभरी यस्तै काल्पनिक पात्रहरुका असम्भव जन्मकथाहरु भेटिन्छन् । त्यसको अर्थ रामायणकथामा कुनै सत्यता थिएन भन्ने लाग्दछ । त्यसैले गधाको सिङ्को खोजी गर्नु र रामायणको जन्मभूमि उत्खनन् गरेर निकाल्छु भन्नु उस्तै उटपट्याङ कुरा हो । उत्खननबाट रामको प्रमाण त परै रहोस तरुल पनि फेला पर्ने छैन भन्नु आग्रह मानिदैन । -जनधारणा साप्तहिकबाट 



Share Your Thoughts