देशघाती , जनविरोधी अराजक र अहङ्कारयुक्त गतिविधि त्यागौं



Dharana    

access_time 19 Feb 2021

 -नारायण शर्मा

२००७ सालमा नेपाली जनताको बलिदानपूर्ण संघर्षद्वारा तत्कालीन जहानियाँ निरङ्कुश राणाशासन समाप्त गरी  प्रजातन्त्र आएको अर्थात् राणाहरुको जहानियाँ हुकुमी शासन अन्त भएर जनताको शासनव्यवस्था स्थापना भएको भनिएको दिन ! यद्यपि आजको दिनमा आएको यो प्रजातन्त्रलाई तत्कालीन दुई तिहाईको नेपाली काङ्ग्रेस र उसको सरकारका देसघाती र जनविरोधी अराजक र अहङ्कारयुक्त गतिविधिहरुलाई निहुँ बनाई राजा महेन्द्रले दस वर्ष पुग्दानपुग्दै २०१७ सालमै टेक ओभर गरेर पुनः निरङ्कुश राजतन्त्रात्मक पंचायती शासनव्यवस्था लादेका थिए,  तथापि ३० वर्षपछि पुन : उक्त निरङ्कुश पंचायती व्यवस्था पनि वाम तथा प्रजातान्त्रिक शक्तिहरुको २०४६ सालको संयुक्त जनआन्दोलनद्वारा २०४७ मा फ्याँकिएको थियो तर केही अधिकारसहित संवैधानिक राजतन्त्र अझै कायमै रहेको थियो  !

तर विडम्बना, तत्कालीन संसदवादी राजनीतिक पार्टिहरु र तिनका सरकारहरुका उनै र उस्तै राष्ट्रघाती र जनघाती कृयाकलापहरुका कारण देस र जनता पीडित भएपछी त्यसबाट मुक्तिको लागि  एकातिर जनवादी गणतन्त्र प्राप्तिको निम्ति भन्दै माओवादीद्वारा जनयुद्ध नै संचालन गरिएको थियो  भने अर्कातिर पार्टी र सरकारहरुका यिनै गतिविधिहरुलाई निहुँ बनाएर राजा ज्ञानेन्द्रद्वारा २०६१ माघ १९ मा  फेरि कू गरी राजाको प्रत्यक्ष शासन थोपरिएको थियो  ! तत्पश्चात  २०६२र६३ मा माओवादी र अन्य सात संसदवादी राजनीतिक दलहरुले १२ बुँदे सहमती गरी गरेको संयुक्त र सशक्त १९ दिने जन आदोलनबाट हालको यो लोकतांत्रिक गणतन्त्र ल्याइएको हो ।

यसक्रममा सहिद हुने प्रथम सहिद लखन थापादेखि  शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द हुँदै विभिन्न आन्दोलन, महान् जनयुद्ध, संयुक्त जन आन्दोलन,  र २०६४ को संविधानसभाको निर्वाचनरुपी आन्दोलनलगायत हालसम्म देसैभर भएका दसौं हजार शहीदहरु, दन्डपाणी न्यौपाने लगायतका हजारौं बेपत्ता योद्धाहरु, हजारौंहजार घाइते/अपाङ्ग र बलात्कृत बीरवीराङ्गणाहरु लगायत विभिन्न क्षेत्रबाट त्याग, तपस्या, बलिदानद्वारा क्रान्ती र मुक्तिलाई योगदान गर्नुभएका सम्बन्धित सबै योद्धाहरुलाई यथायोग्य सम्झना, श्रद्धा र सलामी गर्न चाहन्छु  ! 

साथै Shiv Thapa को आजका सन्दर्भमा गतसाल आजैको दिनको post को अंश :आज ६८ बर्ष बितिसक्दा पनि यो वा त्यो नाममा जहानियाँ परम्परा कायम गर्न चाहने बर्तमानमा कायम प्रयासप्रति सचेत रहन सम्पूर्ण देशवासी दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्दछु , लाई विशेष मनन गरी काम  गर्न सम्बन्धित सबैलाई म हार्दिक आग्रह गर्न चाहन्छु ।

 कुनै पनि ब्यक्ति वा पार्टी र संस्था तत्काल आफूलाई प्राप्त शक्ति, सत्ता र भत्ताको मोह र मातले उन्मत्त, अहंकारी र अन्धा भएर जनविरोधी गतिविधि गरेमा जनतामा तीव्र असन्तुष्टि, आक्रोश, विरोध र प्रतिरोध बढ्छ ! यो प्रतिरोध विगतमा जस्तै वा अझ भनौं झन् भयङ्कर रुपमा प्रकट हुने र प्राप्त उपलब्धीहरु पनि  गुम्ने वा पुनः अर्को भयानक विद्रोह हुने राजनीतिक शास्त्रको यो  सामान्य नियम हो । यो कुरा आफ्नै अनुभवहरुबाट समेत पुष्टि भएको कुरालाई समेत हृदयंगम गरी होशियारी र जिम्मेवारीपूर्वक कदमहरु चाल्न सन्बन्धित सबै शक्ति र सत्ताधारीहरुलाई विशेष आग्रह अनुरोध, सुझाव(दवाव र विरोध \प्रतिरोध जारी राखौं  !

वर्तमान सत्ताधारीका प्रतिगमनकारी र प्रतिक्रान्तिकारी हर्कतहरुद्वारा देस चरम संकटपूर्ण, संवेदनशील र संशययुक्त समय र परिस्थितिबाट गुजृरहेकोले यसबाट पार पाउन अझै गुणात्मक रुपले  जनखबर्दारी र जनहस्तक्षेप वृद्धि गरी अग्रगमन र क्रान्तिलाई संरक्षण र सम्बर्द्धन गर्दै राष्ट्रिय समाजवादको दिशामा अघि बढ्नु हाम्रो यति बेलाको ठोस कर्तव्य र गहन जिम्मेवारी हो ! यही जिम्मेवारी पूरा गर्न हामी सबै सचेत र संवेदनशील सरोकारवाला संघर्षमा जुट्न र डट्न सकौं ! यही नै छ यस सालको प्रजातन्त्र दिवसको हार्दिक अपेक्षा र शुभकामना !



Share Your Thoughts