फुटेको डबल नेकपालाई जुटाउन यसकारण जरुरी छ !



Dharana    

access_time 07 Jan 2021

– निमकान्त पाण्डे

लगभग तीन बर्ष अगाडि एकीकृत भएका दुई ठूला पार्टीहरु मिलेर बनेको डबल नेकपा दुई तिहाई बहुमत नजिकको जनमत प्राप्त गरेर सरकार  सञ्चालन गर्न पाइरहेका अवस्थामा विभाजित हुन पुगेको छ । विभाजन सँगै चुनावको घोषणा गरिएको छ । चुनाव  भइ हाल्यो भने पनि यी दुई पार्टी एक्ला एक्लै  चुनावी प्रतिपर्धामा जाने सम्भावना छैन , गए भने  दुवैकोै पराजय निश्चित छ । पराजय मात्र होइन जमानत जफत हुने अवस्थाको पराजय हुने ठोकुवा गर्न सकिन्छ । त्यसैले चुनावमा जाँदा गठबन्धन गर्नु डबल नेकपाका दुवै गूटका लागि अनिवार्य आवश्यकताबोध हुनेछ । गठबन्धन यी दुई समूहबीच जति स्वाभाविक र सहज अन्य कसैसँग यी दुई मध्ये कुनैको सम्भावना छैन । त्यसकारण यी दुवै समूह अरुका लागि नभएर दुवै समूहका नेता र कार्यकर्ताहरुका लागि  मिल्न जरुरी छ ।  

सबैले बुझ्ने गरी भन्ने हो भने राजनीति राष्ट्रको सेवा हो र जनताको जीवनस्तर माथि उठाउने माध्यम हो । सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ भन्ने राजनीतिक आदर्शबाट प्रशिक्षित नेताहरुको नेतृत्व पाएको डबल नेकपा राजनीतिक आदर्शबाट च्यूत भएकै कारणले यस पार्टीको सरकारले नत राष्ट्रको लागि केही गर्न सक्यो न जनताका लागि नै केही गर्न सक्यो ! मानिसहरुमा रहेको भिन्ना भिन्नै विचारलाई संगठित गरेर एउटा साझा अवधारणा बनाएर अगाडि बढ्नका लागि संगठन निर्माण गरिन्छ । संगठनले गर्ने कृयाकलापलाई राजनीति भन्ने गरिन्छ । राजनीति देश र जनताको लागि गर्न सकिदैन भने त्यसलाई राजनीति भन्नु व्यर्थ हो । परन्तु नेपालको परिपेक्ष्यमा राजनीतिलाई  व्यापार बनाइएको छ । राजनीतिलाई मूनाफा गर्ने माध्यम बनाइएको छ । राजनीतिलाई देश बेच्ने अधिकारको प्रमाणपत्र बनाइएको छ । राजनीतिलाई जनताको मालिक बन्ने अवशर ठानिएको छ । वैचारिक आदर्शलाई कार्यान्वयन गर्ने पाटो राजनीति हो । राजनीति नैतिक धरातलमा हुन सकेन भने त्यसले गलत गन्तव्य लिनु स्वाभाविक हो । अहिले नेपालको राजनीतिक अवस्था नैतिक धरातलमा नभएकै कारणले राजनीतिले सही गन्तव्य लिन सकिरहेको छैन । 

नेपालमा कम्युनिस्ट पार्टीहरूको संख्या धेरै छ, सबै पार्टीहरुले जनवाद, समाजबाद र साम्यवादलाई आदर्श मान्ने गरेका छन् भने मार्गदर्शकका रूपमा माक्र्स, लेनिन, स्टालिन र माओत्सेतुङ लगायतलाई मान्ने गरेका छन् । तर बिडम्बना ! पछिल्लो समय भने यस्तो आदर्श देखावटी मात्र हुन थालेको छ । हिजो आफूले मानेको विचार र आर्दशको कार्यान्वयनका लागि वलिदान दिन तयार हुने राजनीतिक चरित्र आजको वर्तमान परिवेशमा पाउन सकिदैन । हिजो मृत्यु वा मुक्तिको कसम खाएर आजको व्यवस्था स्थापना गर्नेहरू आज गलत सावित हुँदै गएका छन् । राजनीतिक नेतृत्वमा छलकपट र गलत चरित्रले डेरा गर्दा राजनीतिक सिद्धान्त र आदर्श कोरा विषय बन्न पुगेको छ ।

 नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीको झण्डा बोकेर सत्तामा पुगेको डबल नेकपा सरकारको कार्यकाल आधा बाँकी  रहँदै गर्दा विभाजन हुन पुग्नुको कारण यही हो । सरकार र पार्टीले राजनीतिक आदर्श अनुसारको इमान्दारिता देखाएको भए यो अवस्था अवश्य पनि आउने थिएन । सरकार र पार्टीको नेतृत्वमा रहेका नेताहरु राजनीतिलाई मूनाफा आर्जन गर्ने माध्यम ठानेर काम गर्न थालेपछि उनीहरुले देश र जनताको निम्ति कुनै काम गर्न सक्ने अवस्था देखिएन । सरकारले काम देखाउनका लागि विदेशीहरुको अनुदान बाहेक अरु कुनै स्रोत पाउन सकेन । विकास र निर्माणका काममा जनताको सहभागितालाई प्राथमिकतामा राखेर काम गर्न सकेको भए  निश्चिय पनि निर्माण र विकासका लागि स्रोत जुटाउने शक्ति नै जनता हुने थिए । 

वर्तमान अवस्थामा देशको राजनीति निराशाजनक र अन्यौलग्रस्त देखिएको छ । कम्युनिष्ट पार्टीलाई प्राप्त दुई तिहाई बहुमतले पनि देश र जनताको हितमा काम गर्ने आधार बन्दैन भने  अरु कुन पार्टीलाई कति बहुमत प्राप्त भएपछि देश र जनताको हितमा काम गर्न सक्ने आधार बन्ला भनेर आशा गर्ने ? कम्युनिष्ट पार्टीले देश र जनताको लागि काम गर्न सक्दैन भने अरु कुन पार्टीले गर्ला ? यो निराशा जनतामा व्याप्त छ । यही कारणले राजनीतिक दल र राजनीतिक नेतृत्वप्रति जनतामा वितृष्णा देखिन थालेको छ । शीर्ष तहमा पुग्ने नेतृत्वको व्यक्तिगत स्वार्थ र वैचारिक विचलनको परिणाम नयाँ पुस्तामा समेत देखिएको छ ।  यसले झनै निराशा बढाएको छ । 

अबको राजनीतिक आन्दोलन नेतृत्वले सोचेभन्दा फरक हुने र विगतमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध एक जुट देखिएको जनलहर अब त्यही राजनीतिक नेतृत्वप्रति जाइलाग्ने अवस्था सिर्जना हुँदै गएको छ । सडकमा भइरहेका प्रदर्शन र लागिरहेका नाराले गरेको संकेत यही हो । ओली समूह सरकारमा छ, प्रचण्ड समूह सडकमा छ । तर यी दुवैसँग एकले अर्को समूहलाई गाली गर्ने बाहेक अरु राजनीतिक एजेण्डा दुवै पक्षसँग छैन । यसैबाट सबैले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के हो भने सत्तारुढ नेकपाका (तत्कालीन एमाले र माके) नेताहरूले राजनीतिक आदर्शलाई धुजा धुजा बनाई सकेका छन् । त्यसकारण पनि यी दुबैबीच एकता जरुरी छ । 

अहिले डबल नेकपाका दुवै समूहतिर राष्ट्रघात र जनबिरोधी कामहरूले प्राथमिकता पाईरहेको अवस्था छ । साम्राज्यवादी देशहरूसंग यी दुवै समूहका  नेताहरुको सामिप्यताले यिनीहरूलाई झनै बैचारिक बिचलनतर्फ धकेलिरहेको छ । देश र जनताका लागि सोच्ने मानसिकता यी दुवै समूहका नेताले गुमाइसकेका छन् । सडकमा ‘राजा आउ, देश बचाउ’ भनेर हजारौंको संख्यामा प्रदर्शन भइरहेका छन् । तर बिभाजित सत्तासीन पार्टीका दुबै समूहले गरेका प्रदर्शनहरुमा हजारको संख्या पुग्न  सकिरहेको छैन । यस कारण पनि यी दुई पार्टी मिल्नुको विकल्प छैन । 

राजनीतिक नेतृत्वले आदर्शलाई बिर्सदै जाँदा र मुलकप्रति घात गर्दै जाँदा पनि उनीहरूमाथि निगरानी गर्ने, खबरदारी गर्ने र सचेत गराउने प्रवृत्ति सत्तासीन पार्टीभित्र उत्साहित छैन । कुण्ठा र निराशाबीच आशा र प्रलोभनले नेतृत्वबाट भइरहेका जस्तासुकै कूकर्महरूमा पनि लम्पसार परेर नेताहरुको देवत्वकरण गर्ने काम भइरहेको छ । नेताहरूको गलत कामलाई खबरदारी गर्ने जनवादी पद्धतिलाई समाप्त गरिएको छ, जसले गर्दा नेतृत्वमा स्वेच्छाचारिताको विचारले अड्डा जमाउँदै गइरहेको छ । कमरेड ओलीबाट ‘ओलीबाबा’ र कमरेड प्रचण्डबाट ‘प्रचण्डबाबा’ को स्थानमा नेताहरु पुगेका छन् र यसैमा रमाइरहेका छन् ।

नेतृत्वले गलत बाटो लिएमा त्यसलाई सुधारका लागि कानुनी बाटोहरूको व्यवस्था गरिएको हुन्छ । तर नेपालमा नयाँ बनाइएको संविधानमा समेत नेताहरूले आफू अनुकूल व्याख्या गर्दै संविधानलाई नै निस्प्रभावी तुल्र्याइरहेका छन् । संविधानले राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउन नपाइने स्पष्ट व्यवस्था गरेको छ । तर यहाँ राजनीतिक दलमाथि प्रतिबन्ध लगाइएको छ । सरकार निर्माण गर्ने आधार रहेसम्म संविधानले प्रतिनिधिसभालाई विघटन गर्न नपाइने व्यवस्था गरेको छ । तर त्यसको उल्लंघन गर्दै प्रधानमन्त्रीले सबै विकल्पहरुलाई लत्याउँदै देशलाई चुनावी महासागरमा खसाली दिएका छन् । दुई तिहाई बहुमत नजिकको हैसियतमा पुग्न कुनै पनि राजनीतिक दललाई अव सम्भव छैन । यी सबै सम्भावना अव नदेखिएकाले चुनावबाट राजनीतिक स्थिरताको परिकल्पना गर्न सकिदैन । राजनीतिक स्थिरताका लागि डबल नेकपा एक हुनु जरुरी छ । तर यो पार्टी एक हुनका लागि यस पार्टीभित्र दुवै समूहमा रहेका भ्रष्ट व्यक्तिहरुलाई कारवाही गर्न पार्टी पंक्ति तत्पर हुनु जरुरी छ । कम्युनिष्ट पार्टीमा फलामे अनुशासन आवश्यक  हुन्छ ।  कम्युनिष्ट पार्टीको सदस्य बन्ने अनि भ्रष्टाचार पनि गर्ने ? यस्तो सम्भावना हुँदैन । 

कम्युनिष्ट बनिसकेपछि  भ्रष्टाचारबाट मुक्त हुनु पर्छ, विलासी जीवनबाट मुक्त हुनु पर्छ । अहिलेको नेपालको संविधान समाजवाद उन्मुख भनिएको छ । समाजवादमा समाजको संरचना कस्तो बनाउने ? यो परिकल्पना गर्नका निम्ति जनताले कम्युनिष्ट पार्टीलाई दुई तिहाई बहुमत नजिक पु¥याएका हुन् ।  किन केही गर्ने प्रयास गरिएन ? 

वर्तमान सरकारको नेतृत्व गरिरहेको डबल नेकपा नेपाली जनताले विश्वास गरेको पार्टी हो । यस पार्टीका नेताहरू जनताका मनमस्तिष्कमा कम्युनिष्ट आदर्श भएका व्यक्तिहरू हुन् भन्ने रहेको छ । राजावादी र कांग्रेसबाट शासित हुँदै आएका नेपाली जनतालाई कम्युनिष्ट पार्टीका नेताहरूको दुई तिहाई बहुमतको सरकार वास्तवमै ठूलो अवसर बन्न पुगेको हो । परन्तु यो सरकारले देश र जनताको हितमा काम गर्न नसकेको मात्र होइन देश र जनताको अहितमा काम गरिरहेको छ । 

एमसीसी प्रकरणमा भइरहेको लम्पसार, सिमा अतिक्रमणमा भइरहेको मौनता, देश विकासका पूर्वाधारका रुपमा रहेका महत्वपूर्ण नदीहरु विदेशीका स्वार्थमा समर्पण र भ्रष्टाचारजन्य कामहरुमा निर्लज्जतापूर्ण सहभागिता लगायतका गतिविधिले देश र जनताको हित हुँदैन भन्ने कुरा स्पष्ट छ । त्यसैले फुटेको डबल नेकपाको एकताका लागि एमसीसीको खारेजी, सिमा अतिक्रमणको एकताबद्ध प्रतिकार, सबै नदीहरु नेपालको हितमा प्रयोग, भ्रष्ट नेता र व्यापारीहरुको अवैध सम्पति छानविन गर्न निश्पक्ष आयोगको गठन । एकताको आधार यसरी तयार गर्न सकियो भने कम्युनिष्ट पार्टीलाई जनताले मत दिएको सदुपयोग ठहर्नेछ,  यसकारण पनि एकता जरुरी छ , कुन आधारमा एकीकृत हुने ? आगे नेताजीहरूलाई चेतना भया ! -जनधारणा साप्ताहिकबाट



Share Your Thoughts