भैंसीका अगाडि बीनबाजा बजाउनु जस्तै भो डा.भट्टराईको चर्चित रोदन —चन्द्रप्रकाश बानियाँ


अगर बत्ती

Dharana    

access_time 15 Oct 2020

डा. बाबुराम भट्टराई होइन, यतिखेर उनले दिएको गोरखाको भाषण चर्चित भएको छ । उनको बोलीले सत्तापक्ष प्रतिपक्ष दुबै दलमा भूईचालो नै ल्याइदिएको छ । डा. साहेबले राजनीतिक मञ्चबाट पूर्व तथा वर्तमानसमेत तीनजना प्रधानमन्त्रीहरुले बूढी गण्डकी परियोजनाबाट नौ अर्ब कमिसन खाएको आरोप लगाएछन् । राजनीतिमा यस्ता आरोप प्रत्यारोप चल्दै रहन्छन् । तिनलाई उति महत्व दिँइदैन । गम्भीरतापूर्वक लिइदैन पनि । झूटविना राजनीतिको फल पाक्दा पनि पाक्दैन भनिन्छ । भारतीय प्रधानमन्त्री मोदीले हरेक नागरिकको बैंक खातामा जनही पन्ध्र÷पन्ध्र लाख राखिदिने वाचा गरेर २०१४ को निर्वाचन जितेका थिए । नागरिकका हातमा रकम त पुगेन नै भाजपाका गृहमन्त्री शाहले मोदीको वाचालाई “चुनावी जुमला” भनेर जनतालाई हिस्स पारिदिए । गृहमन्त्रीको भनाईप्रति न प्रधानमन्त्रीले आपत्ती जनाए न भाजपाले असहमति जनायो । अर्थात नरेन्द्र मोदीको वाचा लोभीपापीहरुलाई जालमा फसाउने चारो मात्रै थियो । न त्यो पार्टीको कार्यक्रम थियो न सरकारको योजना । पन्ध्र लाखको लोभमा परेका भारतीय मतदाताहरुले भारतीय जनता पार्टीलाई एकपटक होइन, दुई दुई पटक जिताइदिए । 

डा. भट्टराईको आरोप मतदाता भड्काउने नियतबाट गढिएको फर्जी कुरा होइन होला भन्न सकिन्न तर सत्तारुढ पार्टीका मात्रै होइन, प्रतिपक्षका नेताहरुको नियतमा जनताले यति धेरै अविश्वास गर्न थालेका छन् कि डा. साहेबको आरोपमा सत्यता छैन कि भन्ने कोणबाट सोच्न सकदैन । सत्तापक्ष  प्रतिपक्ष दुबै दलका समर्थक शुभचिन्तकहरुमा समेत आफ्ना नेताहरु द्रव्यमोहबाट निर्लिप्त रहन सक्छन् भनेर पत्याउँदै सक्दैनन् । निजी स्वार्थका लागि नेताहरुले गर्न “हुने, नहुने” कुरामा विभेद गर्नै सक्तैनन् भनेर बुझेका छन् । कुरो कति मात्रै हो भने राजनीति भ्रष्ट हुन्छ र त्यसको नेतृत्व स्वय डा. भट्टराईकै भए पनि निष्कलंक रहन सक्दैन भन्ने मान्यता समाजमा व्याप्त छ । चियाखाजा वा बाटा खर्च भनेर नेताबाट निगाह हुने आना सुका हात थाप्ने आशामुखी कार्यकर्ताहरुमा पनि अलि ठूला थैली नेताको पोल्टामा परेको खबर सुन्दा आफ्नो कोटा पनि बढ्ला कि भन्ने आशा पलाउँछ र स्वैर कल्पनामा रमाउन थाल्छ । ज–जसलाई त्यस्तो आशा हुदैन, तिनले पनि “खाए त सरकारको खाए, हाम्रो खाएका होइनन् क्यारे” भनेर चित्त बुझाउँछन् । 

त्यस्तै हो । राजनीतिमा हुँदो नहुँदो आरोप लगाएर एकले अर्कालाई वदनाम गर्ने धन्दा चलिरहन्छ । औपचारिक रुपमै भ्रष्टाचारबाट डामिएका नेताले पनि अर्कातिर चोर औंलो तेर्साउन छोड्दैनन् । डा. साहेबको चोर औलो पनि अरुको भन्दा भिन्न होला भनेर पत्याउने मान्छेहरु नेपालमा साह्रै थोरै होलान् । बुढीगण्डकी प्रकरणमा आफूले भागबिलो नपाएको हुनाले यतिखेर कूर्लन थालेका पो होलान् कि नत्र भने यतिका समयसम्म कस्को भद्रो हेरेर बसेका थिए, समयमै सार्वजनिक गर्न उनलाई केले रोकेको थियो भनेर प्रश्न गर्नेहरु पनि होलान् । “खिसियानी बिल्ली खम्बा नोचे” भनेजस्तो अरुले मोटो रकम हातपर्दा आफू जिल्लिनु परेको मर्का पोखिएको होला भनेर अडकल काट्नेहरु पनि अवश्य छन् । कतैबाट प्रमाणित भएन, प्रमाणित हुन्थ्यो भने अवश्य सत्ताको खल्तीका आयोग अदालतहरुले डामि छोडथे होला, तैपनि डा.साहेबको नियतमा कसैले प्रश्न नउठाए पनि श्रीमती भट्टराईमाथि अनेक आर्थिक अनियमितताको आरोप लाग्ने गरेकै हुन् । जसरी यमीमाथि लगाइएको आरोपहरु सिद्ध भएनन् त्यसैगरी डा. साहेबले उठाएको प्रश्न पनि विना शीरपुच्छरको कथा होइन होला कसरी भन्नु ?

एउटा कुरा भने विचारणीय छ । जसको मनमा कालो मैलो हुदैन त्यस्तो मान्छे अरुले आरोप लगायो भन्दैमा विचलित हुदैन । राजनीतिमा हुनेहरुले त सत्कर्मवापत जुत्ताको माला र दुष्कर्मवापत  फूलमाला पाउने संयोग भोगेका हुन्छन् , व्यहोरका हुन्छन् । प्रतिकूल परिणाम स्वीकार्न मानसिक रुपमा सधै तम्तयार रहन्छन् । विपरित फलप्राप्तिमा अभ्यस्त हुन्छन् । काठमाडौका साँघुरा सडक विस्तार गरेवापत सबभन्दा बढी गाली खाने डा. भट्टराई बने, मधेसीलाई अनुहारको रङ्गकै आधारमा अनेपाली मानेर पेलेर ठेगान लगाइछोड्ने दुर्नियत राखेवापत ओलीले “राष्ट्रवादी नेता” को पुरस्कार पाएको उदाहरण पुरानो भैसकेको छैन । अर्थात राजनीतिक नेताको चरित्र गैंडाको छालाजस्तो बाक्लो भैसकेको हुन्छ, जसले वदनामीको चिसो र सुनामीको गर्मी दुबै सजिलैसँग पचाउन समर्थ हुन्छ । 

भट्टराईको एक तीरले तिनवटा गैडाहरुको मर्मस्थल छेडेको छ जस्तो देखिनु भने दालमा अवश्य कालो रहेछ भनेर अनुमान गर्ने कारण बनेको छ । भट्टराईको आरोपले सिङ्गो काँग्रेसलाई उत्तेजित बनायो । सुनिदै छ– अर्को एउटा पक्ष अदालत जाने सर सल्लाहमा निमग्न छ । वर्तमान प्रधानमन्त्रीको छट्पटी त प्रेस सल्लाहकारको छुच्चो थुतुनोबाट छचल्किसकेको छ । एकैसाथ तिनै कित्ताबाट सार्वजनिक हुन थालेको प्रतिक्रिया स्वाभाविक हो भन्न मिल्दैन । सकिन्न । तिनैथरीलाई एकैनासले उत्तेजित बनाउनुको कारणले विषय असामान्य रहेछ कि भनेर अनुमान गर्न सकिने भएको छ । नत्र भने सत्ताको सदावहार चरित्र अनुसार डा. भट्टराईको आरोप एककानबाट सुनेर अर्को कानले उडाइदिए भैहाल्थ्यो । अर्थात सुनेर प्रतिक्रिया दिने होइन, सुनेको नसुन्यै गर्दा भैहाल्थ्यो । डाँसले गण्डस्थलमा डस्यो भन्दैमा आरामले उग्राइरहेको भैसी चलमलाउँदैन, चटपटिदैन । त्यसो गर्न सकेका भए डा. साहेबको आरोप नितान्त राजनीतिक स्टन्ट मात्रै रहेछ भनेर समाजले बुझ्थ्यो । मानिसलाई असत्यले भन्दा बढी सत्यले छुन्छ, व्यथित बनाउँछ , मर्माहत बनाउँछ । अर्थात कालो रुपरङ्गको मान्छेलाई कसैले माया गरेर “कालु” भन्यो भने पनि उसको मन दुख्छ । यतिखेर तीनवटै कित्ताबाट प्रकट भएको बेचैनीले कुरो साँचो पो रहेछ कि भन्नुपर्ने बनाएको छ । 

कुरो साँचो हो कि झूटो ? डा. साहेबबाट सार्वजनकि भएको आरोपले नेपाली जनतालाई भने खासै प्रभावित गरेजस्तो लाग्दैन । यस्तै आरोप सुन्दा सुन्दा आजित भैसकेका हुनाले वेथिति आफ्नै आँखाले देखे पनि नेपालीसमाज प्रतिक्रियाविहीन हुन थालेको छ । वेथिति र अनियमितिताको कथा सुन्दा सुन्दा नेपाली समाज यति जड भैसकेको छ कि सम्वेदित हुनै बिर्सिसकेको छ । बरु भट्टराईलाई व्यर्थैमा वक्वक किन गर्नुपरेको होला, बोल्नुको कुर्न अर्थ छैन भन्ने जानेर पनि किन मुख दुखाउनु परेको होला भन्न थालेको छ जनताले । क्यान्टोनमेन्टमा अरबौं भ्रष्टाचार भयो भनेर डा. साहेबले भनेकै हुन् । त्यसकालमा उनी आफै प्रधानमन्त्री थिए । त्यसैले उनले ढाँटे होलान् भनेर मान्न सकिन्न । उनको कुरा सत्य होला भनेर मान्नै प¥यो । परिणाम के भयो त ? उनको मुख दुख्यो होला, कति इष्टमित्रहरु बाङ्गिए होलान्, कैयौं आफन्तले चित्त दुःखाए होलान्  तर उनको कुरा कसैले सुनेन ! कसैको कानमा बतास लागेन । अख्तियार र सरकारले त सुनेन सुनेन जनताले पनि पत्याएनन् । सिंगो समुद्र अटाउने अगस्तीको पेटभन्दा नेताहरुको भूँडी फराकिलो भैसकेको छ । पाचन प्रणाली पनि कुम्भकर्णलाई मातदिने खालको जब्बर बनिसकेको छ । नेताहरुले जति ठूलो थैली भए पनि अजिङ्गरले झै सर्लक्क निल्छन् र बसाहा साँढेले झै सार्वजनिक स्थलमा विना लाजशरम मज्जाले उग्राउँछन् । 

हावा नचली पात हल्लिदैन भनिन्छ । वर्तमान सरकार गठन भएयता दर्जनौं भ्रष्टाचारका घटनाहरु चर्चामा आए । हल्लामा आएजस्तो नभए पनि सानो ठूलो अनियमिमता र भष्टाचारकाण्डहरु भएकै होलान् । हेर्दा असक्त, बिरामी र भद्रजस्ता लागे पनि प्रधानमन्त्रीको पाचन क्षमता निकै बलियो रहेछ भनेर जनताले अड्कल काट्न थालेका छन् । मान्छे जति ठूलो भए पनि नैतिकता हरायो भने लोकलाजको पर्वाह गर्दो रहेनछ । जति मालको परिमाण ठूलो हुन्छ त्यति धेरै गाली पनि पच्दो रहेछ । धन देख्दा महादेवको तेश्रो नेत्र पनि खुल्छ भनेजस्तो ठूलो माछा हात परेपछि वदनामीको डर पनि छुमन्तर हुँदो रहेछ । वर्तमान सरकारको नेतृत्वको छत्रछाँयामा यतिधेरै काण्डहरु भए कि त्यत्रो रकम कहाँ थुप्रिएको होला भनेर अनुमान गर्न पनि गाह्रो हुन थालिसक्यो । सत्तामा रहनेहरुमा भने अपराधबोधको छाँया रत्तिभर देखिदैन । चाहे ओम्नीकाण्ड होस, वा यती अथवा सेक्युरिटी प्रेस खरिद काण्ड होस वा वाइडबडी काण्ड होस्, तेत्तीस किलो सुन काण्ड होस् कि न्यारोबडी प्रकरण होस्, ब्लयाकहोलले ग्रहपिण्ड निले झैं सरकारले मजैले पचायो त ! त्यसमा थप एउटा बुढीगण्डकी प्रकरण जोडिनु कुन आश्चर्यको विषय भयो र डा. साहेब ?   

सत्तारुढ पार्टीमा अलिकता नैतिकता र अलिकता जवाफदेहिता हुन्थ्यो भने यतिखेर सत्ताको भागबण्डामा लिप्त रहने थिएन । देश र जनता दूःखमा छ । पीडामा छ । अप्ठेरोमा छ । हातमुख जोर्न मुश्किल पर्ने अवस्थामा छ । कामधन्दा चौपट छ । सत्ताका आँखा त्यतातिर पटक्कै परेका छैनन् । मानिसहरु रोगले मरुन् कि भोकले मरुन् ! सरकार र पार्टी दुबै आँखा र कान दुबै नदेख्ने विकलाङ्गजस्तो बनेको छ । आँखा र कान मात्रै होइन, यो सरकारसँग मानिसको दुःखमा दुखी हुने र सुखमा सुखी हुने सम्वेदना पनि समाप्त भएको छ । त्यसैले त ओखतीमूलो आयातमा समेत सरकार नाङ्गै भएर भ्रष्टाचार र अनियमिततामा उत्रन्छ । जनतालाई राहत सुहलियत पु¥याउने होइन, सत्ताका निमित्त काटाकाट चलेको छ, मारामार चलेको छ । इमान, नैतिकता र लाजशरम मिल्काएर मैदानमा उत्रिएका छोटे नेताहरुको महाभारत धृतराष्ट्र बनेर बडेनेताहरुले हेरिरहेका छन् । तलदेखि माथिसम्म, भित्रदेखि बाहिरसम्म वेथिति छ । पार्टीले देख्दैन, सरकारले सुन्दैन । विडम्बना त कस्तो रहेको छ भने सत्य कुरा जनताले पनि पत्याउँदैनन् । जसले हावादारी गफ दिन्छ उसैको जयगानमा सिङ्गो मुलुक लिप्त छ । के भएको हो कुन्नी ? कुम्भकर्ण ६ महिनामा बिउझन्थ्यो भनिन्छ । नेपालीहरुको निद्रा कहिले खुल्ने होला कुन्नी ? नेपालीहरु गाढा निद्राबाट उठ्ने बेलासम्म सर्वनाश निम्तिने हो कि भन्ने डर लाग्न थाल्यो र पो !    – जनधारणाा साप्तािहकबाट                                        

Prabhu bank

Share Your Thoughts