खस राष्ट्रवाद हो कि हिन्दू राष्ट्रवाद ? –चन्द्रप्रकाश बानियाँ


अगर बत्ती

Dharana    

access_time 17 Sep 2020

नेपाली संस्कृतिलाई दक्षिणको छाँयाले ग्रहण बनेर निल्दै छ । उतैको भाषा, संस्कृति, परम्परा, सामाजिक प्रचलनहरुबाट हामी प्रभावित छौं । गीतसंगीत उतैको सुनिन्छ, टिभी सिरियलहरु उतैका लोकप्रिय छन्, खेलकुद र सिनेमा उतैका आदर्श लाग्छन् । भाषासाहित्यमा त झन दक्षिणको हस्तक्षेपकारी भूमिका रहेको कुरा कटु यथार्थ हो । हाम्रो संस्कृति अतिक्रमित छ, हाम्रा सामाजिक विधिव्यवहारहरु अतिक्रमणबाट विकृत बन्दै गैरहेका छन् । त्यसरी नै प्रागैतिहासिक कालमा हिमालयको काखमा विकसित भएको खस संस्कृति दक्षिणको वैदिक संस्कृतिबाट अतिक्रमित र प्रभावित रहँदै आएको हो । जाति विभाजन र वर्णभेदको परम्परा वैदिक समाजको आविस्कार हो । उच्च वर्ण र ठूलो जातिको भनाउने लोभमा खस जातिका पुरेत झाँक्रीहरुले सर्वप्रथम वैदिक संस्कार ग्रहण गरेर आफूलाई “ब्राह्मण” भनाउन थालेका हुन् भन्ने कुरामा इतिहासविद तथा समाजशास्त्रीहरु सहमत छन् । त्यसको सिको गरेर निकै पछि मात्रै कैयौं खसहरु क्षत्री र ठकुरी बनेका हुन् । 

नेपालको सन्दर्भमा खस जाति भन्नाले पहाडी ब्राह्मण, क्षत्री, ठकुरी, दशनामी र दलितहरु सबै पर्दछन् । अर्थात प्राचीन खस साम्राज्य अन्तर्गतका ठाउँका नामबाट, धार्मिक जिम्मेवारी तथा राजकीय पदका आधारमा थरको नाम रहेका सबै ब्राह्मण क्षत्रीहरु खस हुन् । उच्च जाति भनाउनैका निमित्त खसहरुले जनै धारण गरेर आफूलाई क्षत्री र ब्राह्मण घोषणा गरेका हुन् ।

अझ यसो भन्दा हुन्छ “पूर्वीया ब्राह्मण” भनेर  चिनिने बाहुन समुदाय अधिकांश खस जातिकै हुन् । पूर्वीया ब्राह्मणहरुले कहिलेदेखि जनै (यज्ञोपवित) लगाउन थालेका हुन् भन्ने कुराको एकिन तिथिमिति फेला पर्दैन । महाकाली पश्चिम कुमाउ गढवालतिरका ब्राह्मणहरुले नवौं शताब्दीतिर हिन्दू धर्मसंस्कार ग्रहण गरेका हुन् भन्ने अनुमान गर्ने आधार फेला पर्छ । किनकि नवौं शताब्दीमा शंकराचार्यले कुमाउ गढवालको धर्मयात्रा गरी त्यस क्षेत्रका बौद्ध, वोन र खसहरुलाई हिन्दू धर्मबाट दीक्षित बनाएका हुन् भनिन्छ । महाकाली पूर्वका ब्राह्मण (झाँक्री, पुजारी, पुरेत) हरुले जनै धारण गर्न थालेको त्यो भन्दा पनि पछि हो । विक्रम संवत १२८० मा खसराजा जगतिवम (गगनिराज) ले खसहरुमा जनै वितरण गरेको वंशावली प्रमाण फेला पर्दछ । 

अज्ञानताले अन्धविश्वास जन्माउँछ र अन्धविश्वासले रुढीको रुप लिन्छ भनिन्छ । हाम्रोमा भने मौलिक संस्कार संस्कृतिहरु दक्षिण र पश्चिमको अतिक्रमणबाट समाप्त हुदै जान थालेका छन् । संस्कार, संस्कृति र सभ्यता मासिँदै गएको भए पनि एउटा कुरा भने मौलाउँदै गएको छ । त्यो हो विकृत राष्ट्रवाद । जातीय श्रेष्ठताको दम्भ र देश निर्माणमा अग्रणी भूमिकाको मिथ्या अहमबाट खस राष्ट्रवादको निर्माणको जग बसालिएको थियो । भूरे टाकुरे राज्यहरु डोलाउने नेता पृथ्वीनारायण शाहको असली हिन्दूस्तान बनाउने अपेक्षा उनका सन्तान सन्ततिहरुले अनुसरण गर्नु स्वाभाविक थियो । त्यसैले सिङ्गो आधा शताब्दी एकल जातीय राष्ट्रवाद जगाउने प्रयत्नमै राज्यको साधन र समय खर्च भएको थियो । 

समय फेरियो । सन्दर्भ फेरियो । तर सत्ताको नेतृत्वलाई त्यही एकल जातीय वर्चस्ववादको भूतले छोडेन । राष्ट्रवाद नामको गायत्री जापले नेपालीहरुलाई दुई कित्तामा उभ्याएको मात्र होइन, नेपाली मनहरु फेरि कहिल्यै नजोडिनेगरी फटालिदिने हो कि भन्ने भय उत्पन्न हुन थालेको छ । राष्ट्रवादको राग यति प्रभावशाली देखिएको छ कि यसको धुनबाट मन्त्रमुग्ध भएका केही थान यादव, नेवाङ वा गुरुङ समुदायका समाजमा स्थापित व्यक्ति व्यक्तित्वहरुलाई राष्ट्रवादको कित्तामा सामेल हुने लालसामा आफ्नोपनको प्राकृतिक गाउन मिल्काएर निर्वस्त्र बन्न अभिशप्त बनाएको छ । महेन्द्रकालीन राष्ट्रवाद अर्थात “टोपीराष्ट्रवाद” को भूत फेरि अर्को एकपटक व्युँतिएको छ ।

राष्ट्रवाद त भूमि, जनता र भाषा, संस्कृतिसँग जोडिएको हुन्छ । यो न भूमिसँग जोडिएको छ न जनतासँग ! यसको उत्पत्ति नितान्त जातीय अहङ्कारबाट भएको होइन भन्न मिल्ने देखिदैन । भूमि र जनतासंग नाता नगाँसिएको राष्ट्रवाद वास्तवमा राष्ट्रवादको नाममा “विभाजनवाद” मात्र सावित भएको ऐतिहासिक प्रमाणहरु मानवसमाजमा सुरक्षित छन् । विश्वको इतिहास त्यस्तो दूर्घटनाको साँक्षी छ ।  विषयको अधपतन कसरी हुँदै गएको छ भने राष्ट्रवादी नौटङ्कीको समर्थनमा ताली बजाइएन भने लम्परसारवादी र विदेशीको दलाल मात्रै होइन, देशद्रोहीको बिल्ला समेत भिर्न तयार हुनुपर्छ । त्यसैले विचरा मधेशीहरु, राईलिम्बुहरु र गुरुङ्, नेवार, थारु वा मगरहरु वाध्यतावश राष्ट्रवादको लाममा उभिन अभिशप्त बन्छन् । 

इतिहासमा एकल जातीय भाषा, धर्म, संस्कृति र भेषभुषा थोपरेर राष्ट्रवादको नयाँ संकथन निर्माण गर्ने प्रयत्न भएकै हो । जातीय, क्षेत्रीय विवधता समाप्त पारेर एक जाति एक भेष र एक धर्मको नारालाई यथार्थमा उतार्ने असफल कोशिश गरिएकै हो । त्यसको गोबरगन्धलाई राजनीतिक परिवर्तनले मेट्न नसकेको कुरा पनि यथार्थ हो । तर जनजाति र मधेशी समुदायले गरिदिएको “खस राष्ट्रवाद” को न्वारान भने तर्कसंगत छैन । 

नेपालमा विकास गर्न खोजिएको राष्ट्रियताको साझा परिचयको रुपमा अघि सारिएको भाषा, धर्म, पोशाक र संस्कृति खस जातिको हुँदै होइन । सिंजाली खस भाषा लगभग लुप्त भैसकेको छ । डोटेली खस भाषा पनि मासिने अवस्थामा पुगिसकेको छ । यतिखेर नेपाली भनिने भाषा खस भाषा हुदै होइन । यो त संस्कृतको ठिमाहा हो । भानुभक्त आचार्य, लेखनाथ पौडेल, बालकृष्ण सम, सोमनाथ सिग्देल, धरणीधर कोइराला, सुर्यविक्रम ज्ञवाली, महानन्द सापकोटा, पारसमणि प्रधानहरुले तयार पारेको खिचडी भाषा हो – वर्तमान नेपाली । हिन्दू धर्म पनि खस जातिमाथि थोपरिएको हो । दौरासुरुवाल, कोट, टोपी खस जातिको परम्परागत पोशाक होइन । खस जातिका मौलिक चाड पर्व, गीत संगीत र सामाजिक रीति परम्परा खोज्न अझै पनि सुदूर पश्चिम पुग्नुपर्छ । खस जातिको भाषा मेटियो, संस्कृति कुना पारियो, पोशाक बदलियो, सिङ्गो जातिको धर्मान्तरण गरियो । खस जातिको सारा पहिचान मेटियो र हिन्दू राष्ट्रवादलाई नेपाली राष्ट्रवाद भनियो । हो, आज पनि नेपालमा खस जाति सबभन्दा ठूलो जातिसमूहको रुपमा अस्तित्ववान् रहेको छ तर त्यसले सारा आफ्नो पन गुमाइसकेको छ । त्यसैले यतिखेर सत्ताद्वारा राष्ट्रवादको प्रतीक चिन्हको रुपमा प्रयोग गरिने विषयवस्तुहरुले खस जातिसँग सम्बन्ध राख्दैनन् । जुन जातिले आफ्नोपन पूरै गुमाइसकेको छ उसैको नाममा राष्ट्रवादको नामकरण गर्नु अन्याय मात्रै होइन, कुरुप परिहास पनि हो । 

राज्यले जाति, जनजाति, उत्पीडित जाति,  मेधश र मधेशीप्रति उपेक्षा, दमन र अपमानको नीति अवलम्वन गर्दै आएको कुरा सत्य हो तर त्यसलाई खस राष्ट्रवाद हो भनेर परिभाषित गर्नु गलत हुन्छ । जातिभेद, जातवाद र जातीय अहम खस भावना हुदै होइन । नपत्याए खस जातिको इतिहास हेर्दा हुन्छ । खस जाति जुन स्थान र समुदायमा पुगे पनि सबैसँग मिलेर बसेको छ । स्थानीयताको सम्मान गरेको छ, आत्मसात गरेको छ, स्थानीय रीतिस्थिति र संस्कृतिलाई मनैदेखि स्वीकारेको छ । तर त्यसको अर्थ हिजोदेखि आजसम्म सामन्ती सत्ताले लाद्ने प्रयत्न गरेको जातिवाद झूटो हो भन्न मिल्दैन । गणतान्त्रिक सरकारहरुले अवलम्वन गरेको जातिवाद अन्धराष्ट्रवाद थिएन भन्न मिल्दैन । पोखरा केन्द्रित क्षत्री समाजको पछिल्लो दशकको गतिविधि, मान्यता र विचार सम्प्रेषणमा सत्ताको राष्ट्रवादी नौटङ्कीलाई सहयोग र समर्थन गर्ने नादानी स्पष्ट दृष्टिगोचर हुनाले पनि खस राष्ट्रवादको अधिलाञ्छनाबाट पूरै टकटकिन नसकिने विडम्बना उपस्थित गरिदिएको कुरा पनि कटु सत्य हो । 

नेपाल नामको देशको सीमारेखा कोरिएदेखि आजसम्म राज्यसत्तामा खसहरुकै हात भएको मान्यतामा कति सत्यता छ भन्ने कुरा पनि खोजको विषय हो । राज्यले लिएको शोषण नीतिबाट अन्य जाति समुदायहरु जति पीडित शोषित थिए त्यो भन्दा बढी खस समाज प्रताडनामा परको थियो । नेपालकै सबभन्दा धेरै प्रतिशत गरीब खस जातिमै रहेको कुराले त्यसलाई पुष्टि गर्छ । त्यसैले भन्नै पर्ने हुन्छ कि न त हिजोका शासकहरुले न त यतिखेर खसको काँधमामाथि सवार भएको हिन्दूवादी आर्य सत्ताले नै आम खसहरुको प्रतिनिधित्व गर्दछ । न यतिखेर क्षत्रीको नाममा परेड खेल्ने पहाडी क्षत्रीहरुले आम खस समुदायको प्रतिनिधित्व गर्छन् न त खसहरुको प्रतिनिधित्व सत्ताले गर्छ । आम खसहरु आज पनि उत्तिकै प्रताडित छन्, उत्पीडित छन्, किनारामा धकेलिएका छन् । त्यसैले हिजोदेखि आजसम्मका सबै शासकहरुका काला कर्तुतहरुको सम्पूर्ण दोषभागी खस जातिलाई मान्नु न्यायोचित हुदैन ।   

भूगोल विनाको देश हुदैन, जनता विना देश पनि बन्दैन । त्यस अर्थमा देश भनेको जनता पनि हो । राष्ट्रको परिभाषा देशको सीमाभन्दा फराकिलो हुन्छ । भूगोल विना देश बन्दैन तर राष्ट्रियता भूगोल विना पनि जीवित रहन्छ । उदाहरण खोज्न टाढा भौतारिनु पर्दैन । तीब्बतीहरु निर्वासित भएको आधा शताब्दी बितिसक्यो तर विश्वरभर छरिएरै भए पनि “तीब्बती राष्ट्रवाद” आज पर्यन्त जीवित छ । पुनर्जीवनका लागि संघर्षरत छ । विश्वभर छरिएका तीब्बतीहरु तत्तत देशको नागरिक बनिसके पनि “राष्ट्रवाद” को भावनाले सबैलाई भावनात्मक रुपमा एकीकृत गरिरहेको छ । हो, यही वास्तविकता नबुझ्ने घामट नेतृत्वले नेपालमा अर्को एकपटक एकलजातीय राष्ट्रवादको लिड्को लगाउने मूर्खता गर्दैछ कि भनेर शंका उत्पन्न भएको छ ।

सीमा बाहिरतिर औलो तेर्साएर आफ्नै नागरिकहरुको अपमान गर्ने, जाति र संस्कृतिको मान मर्दन गर्ने अथवा अल्पसंख्यक समुदायहरु सदाकाल राज्यको दास बनेर रहनु पर्ने मान्यता राख्ने चिन्तन न राष्ट्रवादी हो न व्यवहारवादी । त्यो राष्ट्रभक्ति पनि होइन । छालाको रङ्गको आधारमा, भाषा संस्कृतिको आधारमा, बसोबासको आधारमा गरिने विभेदपूर्ण व्यवहारले राष्ट्रियताको प्रवर्धन गर्दैन । राष्ट्रिय एकताको सम्बर्धन पनि गर्दैन । सबभन्दा विझ्ने वास्तविकता त के पनि रहेको छ भने यतिखेर राष्ट्रवादको झण्डा उठाउनेहरुको राष्ट्रभक्तिमा निशंक रहने ठाउँ छ भन्न मिल्दैन । राष्ट्रभक्तिको भावना हिउँदमा हुर्केको खेती बर्खाको भेलले बगाए जस्तो होइन । बसन्तमा फूल्ने र गृष्ममै ओइलाउने फूल जस्तो राष्ट्रभक्तिको भावना मौसमी हुदैन । सीमाअतिक्रमणको विरुद्धमा सशक्त आवाज उठाउन नसक्ने र नदीनाला लगायत प्राकृति साधन श्रोत कौडीको मूल्यमा विक्रि वितरणमा लिप्त रहनेहरुमा सत्तामा पुग्नासाथ रातारात राष्ट्रभक्तिको भावना जागृत भयो होला भनेर विश्वास गर्ने आधार भेटिदैन । एकपटक चोरको वात लागेको मान्छे जीन्दगीभर चोर नै मानिन्छ, भनिन्छ । चारित्रिक पतन भएकाहरु पुनः समाजको विश्वासपात्र बन्न सक्तैनन् । नेपाल मात्र त्यस्तो एउटा मुलुक होला जहाँ नैतिक पतन भैसकेको मानिस पनि बारम्बार पूजिदै रहन्छ 

नेपाली मानसिकता सामन्ती संस्कारबाट मुक्त भैसकेको छैन अथवा नेपालीहरुको स्मरणशक्ति आशाध्य कमजोर  छ । त्यसैले त जति नै ठूलो राष्ट्रघात गरे पनि हिजोको आजै बिर्सेर रकमी जालसाँजीहरुको जयजयकारमा लामबद्ध भैदिन्छन् । राष्ट्रवादी बनौं तर नक्कली राष्ट्रवादसँग सतर्क रहौं, राष्ट्रवादको नाममा मुसाले गरेको धानको नोक्सानको अपयश भ्यागुतामाथि नथोपरौं । कथित नेपाली वा पहाडे राष्ट्रवाद खस राष्ट्रवाद किमार्थ होइन, तयो त हिन्दू राष्ट्रवाद हो ।   
- जनधारणा साप्ताहिकबाट

Prabhu bank

Share Your Thoughts