विसर्जनको सँघारमा प्रतिक्रान्तिकारी प्रचण्डपथ



Dharana    

access_time 15 Sep 2020

- अर्जुन


माक्र्सवाद लेनिनवाद माओवादले हामीलाई यो शिक्षा दिएको छ कि जब कुनै नेता वा पार्टीले वहुसंख्यक उत्पीडित जनसमुदायको वर्गीय हितको रक्षा गर्ने वाटो र लक्ष्य परित्याग गर्दछ, त्यहीँवाट उसको पराजय शुरु हुन्छ । जब कुनै नेताले आफ्नो उत्पीडित वर्ग आधार परित्याग गरेर शोषक वर्गमा आफुलाई रुपान्तरण गर्दछ, त्यहीँवाट उसको पराजय शुरु हुन्छ । तर त्यस नेता वा पार्टीको अन्तिम विसर्जन हुन केही समय लाग्दछ, किनभने त्यसले केही समय भ्रम दिन सक्षम रहेको हुन्छ र त्यो संग  विगतको केही शक्तिपनि रहेको हुन्छ । 

पुष्पकमल दाहाल प्रचण्डले पहिलाको क्रान्तिकारी प्रचण्डपथ परित्याग गरेर जब देखि नयाँ प्रतिक्रान्तिकारी प्रचण्डपथ अँगाल्न पुगे, त्यही वेला देखि प्रचण्डको पराजय शुरु भयो । जनता र कार्यकर्ताहरुमा केही समय भ्रम दिन सफल भएकोले पहिलो संविधानसभाको चुनावमा  विजयको लहर ल्याएर प्रधानमन्त्री वन्न सफल भएपनि संसदिय खेलमा उनी कच्चा सावित भए । दोश्रो संविधानसभाको चुनाव सम्म आउँदा प्रचण्ड काठमाण्डौंवाटै लज्जाजनक रुपमा पराजित हुन पुगे । संविधान घोषणा पछिको स्थानिय चुनावमा कांग्रेस संग गठवन्धन गरेर चुनावमा जानु पर्ने स्थितिमा प्रचण्ड पुगे । अझ शर्मनाक पराजय हुने लक्षण देखिएपछि संसदिय चुनावमा एमाले संग पार्टी एकता गर्ने निर्णयमा पुग्न उनी वाध्य भए । 

एमाले संग पार्टी एकता र ओली सरकार निर्माण पछि प्रचण्डको ओरालो यात्रा अझ तीब्र भयो । आधा कार्यकाल ओली र आधा कार्यकाल प्रचण्ड प्रधानमन्त्री वन्ने लिखित समझदारी  परित्याग गर्न प्रचण्ड वाध्य भए । यो उनको कुनै त्याग थिएन, ओलीवाट प्रधानमन्त्री पद लिन नसक्ने भएपछि त्यागको पाखण्डि नाटक मात्र हो भन्ने तथ्य आम जनतालाई थाहा भैसकेको कुरा हो । उनलाई पार्टीको वैठकमा ओली सरहको कुर्सी टेवल पाउनपनि ठुलो कठिनाइ भयो । पार्टी एकता पछिको अन्तरसंघर्षमा वारम्वार प्रचण्ड पछारिंदै आएको सबैलाइ थाहा भएको छ । 

एमाले संग पार्टी एकता गर्दा उनले आफ्ना कार्यकर्ताहरुलाइ भनेका थिए कि ०४८ सालमा दक्षिणपन्थीहरु संग पार्टी एकता गरेर तथा संसदमा पसेर नयाँ जनवादी क्रान्ति(जनयुद्ध)को तयारी गरे जस्तै अहिले पनि समाजवादी क्रान्तिको आधार तयार पार्न एमाले संग पार्टी एकता गरेको हो र संसदमा पसेको हो । उनले अहिलेपनि त्यही भन्ने गरेका छन् आफ्ना कार्यकर्ता समर्थकहरुलाइ र आफ्नो वाटो र लक्ष्य तथा कार्यनीति रणनीति सही भएको वताउने गरेका छन् । तर त्यो वेलाको प्रचण्डपथ र अहिलेको प्रचण्डपथ तथा प्रचण्ड स्वयम् नितान्त फरक भइसकेको वास्तविकता उनले लुकाउने कोशिस गरेका छन् । त्यो वेलाको प्रचण्डले उत्पीडित वर्गको हितको लागि मालेमावादको वाटो र लक्ष्य अंगालेका थिए । अहिलेका प्रचण्डले दलाल तथा नोकरशाही पूँजीपति वर्ग तथा साम्राज्यवादीहरुको हितको लागि मालेमावादी लक्ष्य, वाटो, कार्यक्रम परित्याग गरेका छन् । उनले आफुलाईपनि दलाल तथा नोकरशाही वर्गमा रुपान्तरण गरेका छन् । ०४८ सालको पार्टी एकता नयाँ जनवादी क्रान्तिको तयारीकोलागि थियो भने अहिलेको एकता जनतावाट वदनाम हुँदै संसदिय राजनीतिमा समेतपनि ओरालो लागेका प्रचण्डको अस्तित्व रक्षा गर्ने अन्तिम प्रयास मात्र हो । त्यो वेलाको पार्टी एकता त्याग र वलिदानको वाटोमा हिंड्ने तयारीकोलागि थियो भने अहिलेको पार्टी एकता  जनताले दिने सजायँवाट वच्न तथा साम्राज्यवादको दलाली गरेर आफ्नो अकुत कालोधन, तुच्छ ज्यान र दलाल तथा नोकरशाही पूँजीपति बनेका पुष्पकमल दाहालको शान शौकत सुविधा जोगाउने एक कुत्सित चालवाजी मात्रै हो । 

०६३ पछि वनेका ११ वटा सरकारहरु मध्ये ९ वटा सरकारमा प्रचण्ड गुटको सहभागीता थियो । २ वटा सरकारमा उनी स्वयम् प्रधानमन्त्री थिए । तर यस विचमा उनले वहुसंख्यक उत्पीडित जनता र देशको लागि भन्दापनि मुठ्ठिभर दलाल तथा नोकरशाही पूँजीपति वर्गको नै सेवा गरेको तथ्य आम जनतालाई स्पष्ट भैसकेको छ । यस विचमा उनकै वर्ग उत्थान भएर दलाल तथा नोकरशाही पूँजीपति वर्गमा परिवर्तन भएको तथ्यपनि उजागर भैसकेको छ । उनले जनता, देश र जनक्रान्ति प्रति ठुलो गद्दारी गरेको स्पष्ट भैसकेको छ । 

वर्तमान ओली सरकार करिव दुई तिहाइको वहुमत सहितको शक्तिशाली सरकार भएपनि वहुसंख्यक जनताको सरकार नभएको तथ्य स्पष्ट भैसकेको छ । ओली सरकार दलाल तथा नोकरशाही पूँजीपति वर्ग र विदेशी साम्राज्यवादीहरुको स्वार्थ रक्षा गर्ने सरकार हो भन्ने प्रष्ट भैसकेको छ । चरम भ्रष्टाचार, आसेपासेवाद, नातावाद, विचौलिया राजको लागि ओली सरकार कुख्यात भएको छ । प्रचण्ड र ओलीको झगडा भनेको देशको ढुकुटीमा लुटको भागवण्डाको झगडा हो भन्ने स्पष्ट भैसकेको छ । 

प्रचण्डले जनपक्षीय वाटो परित्याग गरेर जनता कार्यकर्तालाइ धोका दिएर पुराना प्रतिक्रियावादी कांग्रेस एमाले नेताहरुलाइ खेलाउँदै ०६३ देखि अहिले सम्म प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राज गर्दै आए । अहिले ओली लगायतले उनलाई मुसालाइ जस्तै खेलाउँदैछ । अप्रत्यासित घटनाहरुले उनलाई पुनः सत्ताको केन्द्रमा लाने वाहेक अबको स्थिति भनेको आगामी चुनाव सम्ममा उनको अन्तिम विसर्जन नै हो । 

अबको स्थितिमा आम जनता र जनपक्षीय नेता कार्यकर्ताहरुको कार्यभार भनेको ओली प्रचण्ड गठवन्धनको जनविरोधी सरकार र सत्ताका विरुद्ध संयुक्त जनआन्दोलनको तयारी गर्नु हो । नव प्रतिक्रियावादी ओली प्रचण्ड गठवन्धन सरकारलाई जनआन्दोलनको माध्यमवाट विस्थापित गरी नयाँ जनपक्षीय संकटकालिन सरकार र जनपक्षीय गणतन्त्रको स्थापना गर्न तयारी गर्नु हो ।
-(लेखक नेकपा (वोल्शेभिक) का केन्द्रिय सदश्य हुन् ।) 

Prabhu bank

Share Your Thoughts