नेवार समुदायको जात्रामा देखिएको सरकारी ताण्डवले सरकार परम्परा बिरोधी साबित भएको छ



Dharana    

access_time 10 Sep 2020

रिदेन महर्जन


  नेवार समुदाय ३६५ मा ३६६ दिन  जात्रा पात्रा मनाउने जातिका रुपमा चर्चित रहेको समाज हो । हरेक जात्रा पात्राको आफ्नौ छुट्टा छुट्टै महत्व र विशेषता रहेको छ । विशेषतः उपत्यकामा मनाउँदै आएका जात्रा मध्येमा पनि विश्वमै सबैभन्दा लामो जात्राका रुपमा चर्चित रहेको रातो मच्छिन्द्रनाथ ‘बुंगद्य’ को विशेष महत्व दिइ बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइने जात्रा हो । यस जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविदले नै उल्लेख गरेका छन् । उपत्यकाबासी तथा विश्वकै लामो जात्राका रूपमा रहेको योे जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने चलन रहेको छ ।

                लिच्छवि कालदेखि निरन्तर रूपमा उपत्यकाबासी नेवार समुदायले चलाउँदै आइरहेको रातो मच्छिन्द्रनाथलाई हिन्दु  धर्मावलम्बीहरुले शिव अवतार गोरखनाथका गुरुका रुपमा मच्छिन्द्रनाथ तथा बौद्ध सम्प्रदायले करुणामयको रुपमा मान्ने चलन रहेका छ भने काठमाडौं उपत्यकाबासीहरुले आज भन्दा करिब ३ हजार वर्ष अगाडिका कृषी विशेषज्ञ “बुखाम” अर्थात खेतीपाति सम्बन्ध ज्ञान, सीप तथा प्रवधि सिकाइएकोले कृषिका गुरुका रुपमा मान्ने चलन रहेको  छ । जसको पूरानो नाम ‘बुखाम’  रहेको छ । माटो, अन्न बाली अनुसार कसरी खेतीपाति गर्ने भनेर श्रद्धापूर्वक अन्नदाता भगवानको रुपमा अन्न उब्जाउ यहाँ किसानहरुले श्रद्धापूर्वक चढाउने चलाउने परम्परा अभैm कायम रहेको छ । 

हाल नेपालमा कोरोना भाइरसको महामारीका कारण देशका विभिन्न स्थान लगायत उपत्यकामा समेत महामारीको रुप लिएपछि  इन्द्रजात्रा, बर्षा र सहकालका देवताको क्षमा पूजा गरी समाप्त गर्नु पर्ने बाध्यता रह्यो ।  गत चैत्र महिनादेखि रोकिरहेको बर्षा र सहकाल देवता रातो मच्छेन्द्रनाथको जात्रा समापन गर्न एक हिसाबले स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यालय, गुथि संस्थान, सम्पदाप्रेमीहरुलाई समेत चुनौति भएको थियो ।

रातो मच्छिन्द्रनाथ (करुणामय) को रथ यात्राको व्यवस्थापनको जिम्मेवारी पाएको ज्यापु समाज, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, ललितपुर जिल्ला प्रशासन कार्यालय तथा गुठी संस्थानले रातो मच्छिन्द्रनाथ रथ बनाउने, रथारोहण गरेता पनि महामारीको कारण जनाउँदै  जात्रा नगरी रथलाई वेवारिसे अवस्थामा ललितपुरको पाटनमा राखिएको थियो । तर यस्तो विषम परिस्थतिमा कडा सुरक्षा अपनाईएको भए यस्तो दुर्दशा भोग्नु पर्ने थिएन । यो घटनाले सिंगो नेपाली समाजलाई नै दुखित तुल्याएको छ ।

गत भाद्र १८ गते बिहीबार प्रहरी पक्षले अश्रु ग्यांस प्रहार, पानीको फोहोरा प्रहार, लाठीचार्ज, भक्तजनको आस्थापूर्वक सहभागितामा प्रहरीद्वारा चर्को जनदमन भयो । जन समुदायलाई बल प्रयोग गरी तितरबितर पार्नु र रथ नियन्त्रणमा लिनु भक्तहरूको आस्थाप्रति गरेको प्रहारको रूपमा लिनुपर्ने हुन्छ । यो गलत हो । जनता जो घरमा थिए उनीहरू समेत आक्रोशित बनेका छन् । धर्म संस्कृतिको ख्याल गरेर सुरक्षाकर्मी, सेना, प्रहरीबाटै रथ तान्न मद्दत गरिदिएको भए  धर्म, संस्कृति र सम्पदामा समेत राम्रो प्रभाव पर्ने थियो।  तर  यस्तो भएन । सरकारको बुद्धि उल्टो भएकोले  नेपाली सम्पदा, कला, संस्कृतिप्रति नाङ्गो प्रहार भएको छ ।

प्रहरी हस्तक्षेप भएपश्चात रणभूमिमा परिणत हुनु, प्रहरी दमन हुनु एकदम बेठीक हो । के विदेशीसँग युद्ध लड्न गएको हो  रु झन शान्ति सुरक्षा कायम गरी रथ तान्नमा स्थानीयलाई सहयोग गर्नुका सट्टा युद्धमा निस्किए जस्तो प्रहरीको ब्यवहार भयो । वास्तवमा  सिडिओ, गुठी संस्थान तथा सम्पदा प्रेमीबीच एक मत नहुनुले पनि यो परिमाण निम्त्याएको हो भन्न सकिन्छ । 

यस वर्ष आगामी असोज २ गते देखि मलमास सुरू भएमा एक महिना रथ तान्न नमिलेपछि दसैंअगाडि जात्रा सम्पन्न नहुने भएकाले दसैंका लागि बुंगमतीमा मच्छिन्द्रनाथ पुराउनै पर्ने उद्देश्यका साथ रथ तान्न खोजिँदा बिहीबारको घटना भएको मान्न सकिन्छ ।

रातो मच्छिन्द्रनाथको रथ यात्राको क्रममा पक्राउ परेकाहरुलाई उन्नाइसवटा जति खलः पुचहरुको  पहलमा तथा माननीयज्यहूरु, ललितपुर महानगरपालिकाका मेयर, वडा अध्यक्षज्यहूरु एवं बिशिष्ट व्यक्तित्वहरुको सहयोगमा आवश्यक प्रकृया अपनाउदासमेत सम्पदा अभियन्ताहरुलाई रिहा नगर्नु गम्भीर दुखको विषय भएको छ । यथार्थमा नेवार समुदायको जात्रामा देखिएको सरकारी ताण्डवले सरकार परम्परा बिरोधी साबित भएको छ ।

हालसम्म पनि सांस्कृतिक सम्पदा अभियन्ताहरु थुनामै छन् ।  प्रशासनले मनपरी आरोप लगाई गलत नियतले हिरासतमै रहेको अवस्थामा यातना दिईएको छ । उहाँहरुको रिहाईमा नियोजित ढिलाईको बिरोध स्वरुप समेत मध्यपुर ठिमी, ललितपुर, हरिसिद्धी, कीर्तिपुर लगायत  उपत्यकाका विभिन्न स्थानमा विरोध प्रर्दशन  भएका छन् ।

 मसाल सहितको बिरोध प्रदर्शनी हुँदा पनि सरकार कानमा तेल हालेर बस्नु दुख्द घटना साबित भएको छ ।

साथै  रातो मछिन्द्रनाथ बुंगद्यःको रथयात्रा सम्पन्न गर्ने गराउने सम्बन्धमा ललितपुरको पुल्चोकमा भएको अप्रिय घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने गुठी विधयेक विरुद्ध एकीकृत आन्दोलनले जनाएको छ ।

गुठीका संयोजक डा महेशमान श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा मूलतः राज्य, स्थानीय प्रशासन तथा गुठी संस्थानको अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण उक्त घटना घटेको उल्लेख गरिएको छ ।

 कोरोना महामारीले सम्पूर्ण मानव जातिलाई धेरै कुरा सिकाएको छ । यसबाट सम्पूर्ण मानव जातिले नयाँ नयाँ ढंगबाट कार्यको थालनी गर्नु आवश्यक देखिन्छ । यदि पूर्खा परापूर्वकालदेखि चलाउँदै आएको धर्म, संस्कृति, सम्पदाहरुलाई जोगाउने हो भने फुटेर, झगडा गरेर एक जातिले अर्कोलाई लाञ्छना लगाएर नभई एक जुट भई अगाडि बढ्नु आवश्यक छ । तब मात्रै  रातो मच्छिन्द्रनाथको जात्रा मात्र नभइ विद्यमान समस्यासँग जुध्न पनि टेवा पुग्नेछ  ।  इतिहासमै कहिल्यै नभएको यस्तो घटनाबाट  सचेत बनी आगामी दिनमा निराकरणको बाटो पहिल्याउन सकेमा आदिबाशी नेवार समुदायको मौलिक संस्कृति र सभ्यताको संरक्षण, सम्बर्धन गर्न सकिनेछ ।
Prabhu bank

Share Your Thoughts