कृषिमन्त्रीले किसानसँग सार्वजनिक रुपमा माफी माग्नु पर्दैन ? –चन्द्रप्रकाश बानियाँ



Dharana    

access_time 10 Sep 2020

तोकिएको समय सीमाभित्र रासायनिक मल आयात गर्न नसक्ने बोलकबोलवाला ठेकेदारहरुको धरौटी रकम जफत गर्ने निर्णय सरकारले गरेछ । कुरो राम्रै भए पनि कुनै पुरुषार्थ भने होइन । ठेकेदारले समयमा मल ल्याउन नसकेपछि दोश्रो बाटो अख्तियार गरेरै भए पनि किसानलाई मल उपलब्ध गराउनु सरकारको जिम्मेवारी थियो । कृषिमन्त्रीको दायित्व थियो । त्यति गर्न सकेका भए सरकारको जय गाइन्थ्यो । मल प्रयोग गर्नुपर्ने बेला बितेपछि बङ्गलादेशबाट पैचौ मागिएको कुरा सार्वजनिक भएको थियो । आयो कि आएन थाहा भएन । आइहालेका भए पनि त्यो मृत्युपछिको ओखती जस्तो हुनु स्वाभाविक थियो । धानखेतमा युरीया मल प्रयोग गर्नुपर्ने बेला बितिसकेको थियो । युरीया अर्थात नाइट्रोजनको प्रयोग विरुवा सपार्नका लागि हो । धानमा फूल लागिसकेपछि युरीयका प्रयोग गर्नुको कुनै अर्थ रहँदैन । 

बेइमानी ठेकेदारले गरे होला । चतुर (गफाडी !) मन्त्रीको हातमा कृषि मन्त्रालय परेपछि पहिलो काम कृषि सम्बन्धमा तत्काल गर्नुपर्ने सरकारी दायित्व के हो र त्यसको सम्बन्धमा के व्यवस्था भएको छ भनेर हेर्नु, बुझ्नु, जाँच्नु पर्ने होइन र ? भूमिगत बसेर दश वर्षे योजना बनाउनतिर लाग्नु काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो होइन र ? तत्कालको जिम्मेवारी बोध गर्नु पर्ने होइन र ? पहिलो लट साउनमै आउनुपर्ने थियो । आएन भने कस्को के भद्रो हेरेर बसे मन्त्रीजी । दिउँसै सपना देखेर निदाउन मिल्ने कुरा हो र ? पहिलो लट मल नआइदिनाले क्ष्ति त भैसकेको थियो । पहिलो लट आएन भने दोश्रो लट आउला भनेर कुन आधारमा विश्वास गरिएको हो ? ठेकेदारको असफलता देखिइसकेपछि तत्तकाल दोश्रो विकल्प खोज्ने कि ठेकेदारतिर औंलो तेर्साएर हाई काडेरै दिन बिताउने ?

आउनुपर्ने युरीया मल समयमा आएन, किसानले ठूलो क्षति व्यहोर्नुपर्ने निश्चित भयो । यसवर्षको राष्ट्रिय जीडीपीमा बृद्धि हुने सरकारी सपना पनि तुहियो । ठेकेदरबाट जफत गरिएको १६ करोडले राष्ट्रिय घाटाको क्षतिपूर्ति होला त ? क्षति व्यहोर्नुपर्ने किसानले हो । जफत रकम किसानलाई वितरण गरिने त छैन होला । वास्तवमा किसानको क्षतिको कारण ठेकेदारहरु मात्र होइनन् । त्यसको मूल कारण अकर्मण्य सरकार हो । किसानलाई क्षतिपूर्ति सरकारले दिनैपर्छ । सरकारले शायदै त्यो कोणबाट सोचेको होला । पर्यटन र स्वास्थ्य मन्त्रीले खनेको अकर्मण्यताको डोरेटोमा कृषिमन्त्री पनि आँखा चिम्लेर हिँडेको प्रमाणित भयो भन्नु आग्रह नमानिएला । हुन त यथा राजा तथा प्रजा भनिन्छ ! हवाई गफ गर्नुभन्दा पहिले मन्त्रीहरुले आफ्नो धरातलतिर हेर्लान भनेर कसरी पत्याउनु ?

अर्को अचम्म मान्नुपर्ने कुरा त के देखिन थालेको छ भने बोलकबोल पूरा गर्न नसक्ने ठेकेदारको धरौटी जफत गर्ने भयो भनेर सामाजिक सञ्जाल र अखवारका पानाहरु कृषिमन्त्रीका प्रशस्तिले भरिन थालको छन् । प्रचण्डका घरपेटीलाई कार्वाही गर्नु सगरमाथ चढ्नुभन्दा ठूलो पुरुषार्थ हो भनेजस्तो तमासा देख्नुपर्दा गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो लाग्दो रहेछ । गलत भएको छ भने प्रचण्ड–ओलीहरु पनि कानूनको दायरामा तानिनुपर्छ । कानूनभन्दा कोही माथि हुनु हुदैन । प्रचण्डको ओत लाग्दैनमा ठेकेदार छुनै नसकिने हुन्छन् भनेर ठान्नु हीनथग्रन्थीग्रस्त मानसिकता हो । 

नेपालको परम्परा यस्तै हो । नेपालको इतिहासको पाना पल्टाउने हो भने पानैपिच्छे एक एक वटा विसंगति भेटिन्छन् । हाँस्न मन छ भने नेपालको इतिहास पढ्न शुरु गर्दा हुन्छ । राणसँग आजित भएर भागेका राजा त्रिभुवनलाई प्रजातन्त्रका प्रवर्तक भनिएको छ । त्रिभुवनले राजगद्दी प्रजातन्त्रका लागि दाउमा लगाएका थिएनन् । उन्मुक्त जीन्दगी बिताउने मनशायले भागेका हुन् । नेपालको राजगद्दी त्रिभूवनलाई नेहरुको उपहार थियो । त्यही गृुन बिर्सेका कारणले विरेन्द्रको वंशनास भएको हो भनिन्छ ।  

युद्ध हारेर किल्ला परित्याग गरेको मात्रै होइन, नेपालै छोडेर लाहुरे जीवन रोज्ने बलभद्र कुँवरलाई महान विभूति भनेर लेखिएको छ । असी वर्षको उमेरमा लडाईको मैदानमा वीरगति प्राप्त गर्ने भक्ति थापालाई भन्दा हरुवा सरदारलाई मान र महत्व दिइएको छ । वीर र बहादुर भनेर गुणगान गरिएको छ । आफ्नै मुर्खताका कारणले देशको एक चौथाइ भूमि गुमाउने भीमसेन थापाको प्रशस्ती गाउन पनि लाज मानिएको छैन । अंग्रेजसँगको युद्धमा पराजित भएकैले सुगौली सन्धीमा हस्ताक्षर गर्नु परेको कुरा लुकाएर पुर्खाको वीरताको प्रतिफल देशको सीमा रक्षा भएको फर्जी कथा लेखिएको देख्दा लाज मान्नुपर्ने अवस्था छ । इतिहास भन्ने शब्द “जे भएको त्यही अर्थात सत्य तथ्यको लिखत” भन्ने अर्थमा बनेको हो ।  नेपालको इतिहासमा झूट बाहेक केही छैन । नेपालको इतिहास लेखिएको होइन, लेखाइएको हो । प्रायोजित हो । 

सरकारी इतिहास लेखन परम्पराले स्वतन्त्र लेखक चिन्तकहरुलाई समेत कसरी वहकाउँदो रहेछ भन्ने कुराको पोल कथित “दिव्योपदेश” नामको लिखतले खोल्दछ । स्व. नरहरिनाथको हस्ताको लिखतलाई पुरातत्व विभागले ऐतिहासिक दस्तावेजको रुपमा स्वीकारेको छ । दर्ता गर्ने नादानी गरेको छ । “इतिहास संशोधन मण्डल” जस्तो स्थापित संस्थाका जिम्मेवार सदस्यलाई समेत त्यसको भूमिका लेख्न लगाएर चुक्नुपर्ने र झूटको महिमा मण्डन गर्नुपर्ने अवस्थामा पु¥याइएको छ । नरहरिनाथले नक्कल उतारेको भनिएको सक्कली लिखत कहाँ छ ? उनले त फलानाको घरमा फेला पारेका हुँ भनेर नाम ठेगााना दिएका थिए । त्यो घर ठेगानामा ऐतिहासिक दस्तावेजको खोजविन किन भएन ? त्यो ठाउँमा पुगेर लिखतको सत्यापन गराउनुपर्ने कुरामा पुरातत्व विभाग र लिखतको प्रशंसामा आकास पाताल जोड्ने इतिहास अनुसन्धाताहरुले जरुरत किन देखेनन् ?

पृथ्वीनारायण शाह अल्पायुमै बितेका हुन् । अर्थात उनको मृत्यु अप्रत्याशित थियो । मृत्यु सन्निकटताको अनभूति नभैकन आफ्ना इच्छा आकांक्षाहरु, अर्ति उपदेश सन्तानलाई सुनाउने सुद्धि मान्छेलाई आउँदैन । पृथ्वीनारायण शाह मृत्यु शैयामा पुगिसकेका थिए भन्न मिल्दैन । चितुवाको आक्रमणमा परेर मरेका हुन् पनि भनिन्छ । कुनै तामाङ ठिटोले हत्या गरिदिएको हो पनि भनिन्छ । अर्थात उनी ओछ्यान परेर मृत्यु कुर्ने अवस्थामा पुगेका थिए भन्न सकिदैन । त्यसैले पृथ्वीनारायणले भाइभारदार र छोरानातिका नाम अर्ति उपदेश र नीति ज्ञान दिने अवस्था उत्पन्न भयो होला भनेर कसरी पत्याउने ? त्यति महत्वपूर्ण दस्तावेज दरबारमा सुरक्षित नभएर कुनै भारदारको घरमा किन पुग्यो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर पनि पाइदैन ।  अर्थात उक्त लेखोट प्रायोजित थियो कि भनेर शंका उत्पन्न हुन्छ ।

सत्ताले अनर्गल हल्ला चलाउने र सोझा जनताले साँचै होला भनेर पत्याइदिने नेपाली चलन आजपर्यन्त निरन्तर छ । प्रधानमन्त्री ओलीको मधेशी र मधेशप्रतिको आग्रहलाई राष्ट्रवाद हो भनेर भजन गाइयो । त्यही फर्र्जी भजनले नेकपालाई दुईतीहाई बहुमत दिलायो । चुच्चे नक्सा निर्माणको कथा दुनियाँलाई थाहा भएको कुरा हो तर काँग्रेस नेता डा. भण्डारी जस्ता मानिसले पनि ओली सत्तामा नभएका भए नक्सा सार्वजनिक हुदैनथ्यो भन्न लाज मानेनन् । देशमा चलाईएको स्याल हुइयाँले कसरी मानिसहरुलाई प्रभावित गर्दोरहेछ भन्ने कुराको गतिलो उदाहरण थियो त्यो अथवा उनको त्यो विवेकमारा कथनमा “जातिवाद” को गन्ध आउँछ भनेर किन नभन्ने ?

हो, त्यही फर्जी गाथा कथ्ने र अखण्ड कीर्तन गाउने परम्परा यतिखेर कृषिमन्त्रीको प्रशंसामा पढिन थालेको वीरगाथा उस्तै होइन कसरी भन्नु ? अल्लाह तालाको प्रशंसामा “कसिदा” पढ्ने चलन मुश्लिम सम्प्रदायमा हुन्छ । हामीकहाँ त सत्ताको भजन गाउने परम्परा पो लाजमर्दो गरी चलाइएको छ । कृषि मन्त्रीलाई बहादुर सावित गर्ने प्रयत्न त्यही प्रपञ्चको कसरत हो । हो, हाम्रा कृषि मन्त्री बहादुर नै हुन तर कामकोे होइन “वातका बहादुर” हुन । नम्वर एक वातबहादुर हुन् हाम्रा मन्त्रीजी । होइन, भने कर्तव्यचूत हुनुपर्दा लज्जाबोध हुनुपथ्र्यों । कमसेकम जनतासँग आफ्नो अकर्मण्यताका लागि माफी माग्नुपथ्र्यों । मल दिन नसकेपछि जनतासँग क्षमा माग्नुपर्ने होइन त ?– जनधारणा साप्ताहिकबाट

Prabhu bank

Share Your Thoughts