हिन्दु समाजकाे गलत विधि , ब्यवहारलाई यसरी सच्याउन सकिन्छ



Dharana     remove_red_eye 199

access_time 30 Jul 2020

–चन्द्रप्रकाश बानियाँ

”हाम्रो गाउँका दमैहरुले धर्म परिवर्तन गरे नी भाइ ! सबै क्रिस्तान भए ।” दुई वर्ष अगाडिको कुरा हो । मेरो जन्मस्थानमा पुग्दानपुग्दै पल्लाघरे दाइले समाचार सुनाएथे ।

सदियौंदेखिको अपमान, विभेद, अन्याय, अवहेलना र शोषणबाट मुक्ति पाउने सपना पालेर खोरगैराका मेरा आफन्त बन्धुहरुले सगोलमा धर्म परिवर्तन गरे होलान् । धर्म मात्र त्यागेका होइनन् । समाज व्यवस्थाबाट विद्रोह गरेका हुन् । जात तिलाञ्जली दिएका हुन् । 

मेरा आफन्तहरुले धर्म र जात त्यागेर के भो र ? समाजको उनीहरुप्रतिको व्यवहारमा खासै परिवर्तन आएको छैन । समाजले अझ पनि दमाई भनेर हेप्न छोडेको छैन । हियाउन छोडेको छैन । 

दमाई पेशामा मात्रै होइन, हिन्दू धर्मले भिडाएको जात पनि हो । दलित समुदायले धर्म त्यागे पनि धर्मले उनीहरुको पिछा छोडेको छैन । परम्परा बदलिएका छैन । रुढीवादी संस्कार नामेट भएको छैन । भन्न त मैले पनि “बल्ल बुद्धि पु¥याएछन् भाइहरुले । सदियौंदेखि उत्पीडन दिने धर्मलाई मशानघाटमा सेलाउने उनीहरुको चेष्टा प्रशंसनीय हो । तल्लो जात भन्ने अपमानको तीतो घुट्को कति पिउन् त बिचरा । जन्मजात विभेदबाट  मुक्ति पाउने त्यो भन्दा उत्तम बाटो अर्को के थियो र ?” भनेको थिएँ ा । मेरो कुरा सुनेर दाइको मन अमिलियो होला । मनमनले क्रिस्तानको  हिमायति भने होलान् ।  धारे हात लगाए होलान् । हुन त मेरै मनमा पनि  धर्म परित्यागले साँचै नै मेरा खोरगैरे बन्धुहरुलाई समाजिक  विभेदरुपी  साङ्लोबाट छुटकारा मिल्ला त भन्ने शंसय बाँकी नै थियो । 

जात वर्ण हिन्दू धर्मको कुरुपतम उपहार हो । हिन्दू धर्म संस्कृतिको जननी भारतभूमि हो । आगन्तुक आर्यहरुले पराजित अनार्यहरुलाई दास बनाए । छोइछिटो बार्ने परम्परा बसाले । अछूत घोषणा गरे । यता नेपालमा हिन्दू संस्कृति उतैबाट छिरेको हो । यताका खसहरुले यतिखेर दलित भनिनेहरुको हातबाट राज्य खोसेका होइनन् । उनीहरुको लडाई एसियाली मूलका मगर, गुरुङ, थारु र शाक्यहरुसँग भएको हो । कसैले त शाक्यहरु पनि खस थिए भन्छन् । 

खस समाजमा जात वर्णको विभाजन थिएन, दासप्रथा थिएन, सतीप्रथा र छाउपाडी थिएन । सबै पशुपालक थिए । सबै खेतिहर मजदूर थिए । दासप्रथा पनि निकै पछि आएको हो । खस समाजका दासहरु अमलेख भएपछि घर्ती भनिए, खवास भनिए, कैयौं मगर पनि भनिए । दमाई, कामी, सार्की बनाइएका होइनन् । तल्लो जात भनेर पानी बार्ने चलन कसरी आयो ? कताबाट छि¥यो । कसलाई अछूत बनाइयो । जनै नलिनेहरुलाई अछूत बनाइएको पो होला कि ? मकै भट्ट झै बाँडिएको जनै नलिएर अछूतमा गनिने रहर कसलाई लाग्यो होला र ? कतै भारतबाट उकालो लाग्ने आर्यहरुले आफूसँगै अछूत कामदारहरु पनि लिएर आएका पो थिए कि ? आजसम्म अनुत्तरित प्रश्न हो यो । 

इतिहास अन्धकारमै भए पनि दलितप्रतिको समाजिक व्यवहार बदलिन थालेको छ । समाज र परम्परा बदलिन वाध्य बन्दै गएको छ । समयले ल्याएको परिवर्तन हो यो । दलित समुदायमा अङ्कुरित हुदै आएकोे जागरणको परिणाम हो । वि.सं. २०२० सालको मुुलुकी ऐनले छुवाछूत मुक्तिको घोषणा गरेको हो । त्यो घोषणा मात्रै थियो । राज्यसँग कार्यान्वयन गर्ने प्रतिबद्धता थिएन । मनसाय थिएन । समयको दवावको प्रतिक्रिया मात्रै थियो । समाजिक परम्परा याथावत राख्ने छुट सबैलाई थियो । स्वेच्छिक व्यवहारबाट निको हुने खालको रोग छुवाछूत थिएन । ऐन मार्फत गरिएको घोषणा कार्यान्वयनका लागि थिएन । कार्यान्वयन भएन । 

गणतान्त्रिक व्यवस्थाले प्रारम्भमै छुवाछूतलाई दण्डनीय अपराध मान्यो । छुवाछूत मुक्त समाजको घोषणा ग¥यो । कार्यान्वयनका लागि ऐन कानूनको तर्जुमा ग¥यो । कानून बन्यो । दण्ड सजायँ तोकियो तर त्यो व्यवस्था पनि प्रभावकारी देखिएन । सायद पर्याप्त भएन कि ? हुनु पर्ने जति कडा कानून भएन कि ? कानूनको इमान्दारीपूर्वक पालना भएन कि ? साँचो अर्थमा छुवाछूतको रोग समाजबाट निर्मूल गर्ने हो भने कमसेकम गोवधभन्दा कडा दण्ड सजायँको व्यवस्था हुनुपर्छ, । ज्यान खतको सजाय बराबर हुनु पर्छ । गैर जमानति र मिलापत्र गर्नै नमिल्ने कानूनी व्यवस्था हुनुपर्छ भनेर माग हुन थालेको छ । 

समय बदलियो । दलित समाज अझै विभेदमा छ, अपमानित छ र अन्यायबाट पीडित पनि छ । स्वभावतः अलिकता जागरुक समेत हुन थालेको छ । सामाजिक न्याय प्राप्तिको आन्दोलनमा उत्रनुपर्ने आवश्यकताबोध गर्न थालेको छ । हिजो पनि टाँठाबाठाहरुले आवाज उठाउँदै आएका हुन् । अब त्यो चेतना समाजको पिँधसम्म पुगिसकेको छ । विभिन्न समूहमा विभाजित दलित समुदायले एकीकृत हुने र एकताबाद्ध शक्ति आर्जन गरेर अन्याय विरुद्ध जुध्ने मनस्थिति बनाउँदै छ । दुर्भाग्य भन्नुपर्छ उनीहरुलाई एकताबद्ध हुन नदिने स्वाभाविक अस्वाभाविक केही महत्वूर्ण कुराहरू छन् । तिनको बारेमा स्पष्ट दृष्टिकोण नबन्दासम्म दलित एकता सम्भव देखिदैन । विना एकता आन्दोलन प्रभावकारी हुदैन । बलियो र प्रभावकारी आन्दोलन विना अभिष्ट प्राप्ति सम्भव हुदैन । विद्यमान कानूनी प्रावधानको भरोसामा दलित मुक्ति निकै विलम्बित हुने देखिन्छ । 

दलित समुदायलाई एकै ठाउँमा आउन नदिने मुख्यतः तीनवटा कुरा हुन् । तिनको संक्षिप्त चर्चा गरौैं ।

१, राजनीतिः

मानव राजनीतिक प्राणी हो । राजनीतिबाट पृथक रहन सक्तैन । त्यही राजनीति नेपालको दलित समुदायलाई विभाजन गर्ने मुख्य कारण बनेको छ । जात, वर्णभन्दा राजनीतिको साइनो बलियो हुन्छ । सबै दलित समुदायहरुलाई साझा अभिष्टको लागि गोलबन्द गर्ने नेतृत्व अराजनीतिक हुनु पर्छ । यतिखेर सतहमा देखिन थालेको आशालाग्दो नेतृत्वले त्यही गल्ती गर्न थालेको छ । राजनीतिक दलहरुप्रति तीक्त टिप्पणी गर्नाले दलितहरुलाई गोलबन्द गर्न सक्तैन । त्यो नादान चिन्तन हो । त्यसले आन्दोलनलाई सफल बनाउने कुरा त परै रहोस्. आन्दोलन उठाउन पनि सक्तैन । 

काँग्रेसलाई गाली गरेर माननीय मिनबहादुर विश्वकर्मालाई कसरी आन्दोलनमा सहभागी बनाउन सकिन्छ ? नेकपाविरुद्ध विषवमन हुन थालेपछि माननीय छविलालहरु कसरी आन्दोलनमा रहन सक्छन् ? नेकपा विप्लवको विरुद्धमा नेतृत्वले तीतो पोख्न थाल्यो् भने माननीय खड्गबहादुर विश्वकर्माहरु आन्दोलनबाट टाढिने छन् । ती दलित हस्तीहरुलाई एक्ला एक्लै छन् भनेर मूल्याङ्गन गर्नु गल्ती हुन्छ । त्यही कुरा तराईको राजनीति र पासवान बन्धुहरुमा पनि लागू हुन्छ । तिनको इशारामा ठूलो दलित समुदाय परिचालित हुन सक्छ । त्यसैले बोली, वचन र कर्मले दलित आन्दोलनको नेतृत्व विलकुल राजनीतिबाट तठस्थ रहन सक्नुपर्छ । यो वा त्यो पार्टीले केही गरेन, हामीले गर्छौं भन्नु अर्को किसिमको राजनीति हो । अर्थात राजनीतिक विकल्प दिने कोशिस हो । राजनीतिले सबैलाई एकै ठाउँमा गोलबन्द गर्नै सक्तैन । 

२. धर्मः

छुवाछूत हिन्दू धर्मले लादेको सामाजिक व्यवस्था हो । कसैले धर्ममा भेदभाव छैन वा धर्म शास्त्रले भेदभाव गर्दैन, यो त सामाजिक परम्परा मात्र हो भन्छ भने कि उसले समाज, धर्म र छुवाछूत(जातभेद) के हो भन्ने कुरा बुझेकै छैन, कि भने जानिबुझी समाजमा भ्रम छर्ने कोशिश गर्दैछ भनेर बुझ्नुपर्छ । नबुझ्नु भन्दा बुझेर ढाकछोप गर्ने वा छलछाम गर्नेहरु झन बढी विषालु हुन्छन् । जातभेद, वर्ण विभाजन र छुवाछूत हिन्दू धर्मको आदि व्यवस्था हो । धर्ममा विभेद छैन भन्ने हुोइन,  विभेद त छ तर त्यो त्याज्य छ भन्नु इमान्दारी हुन्छ । 

केही अछूत बन्धुहरुमा हिन्दू धर्मप्रति असाधारण मोह देखिन्छ । त्यसको कारण त्यसप्रतिको अपनत्वभाव हो । आफ्नो भन्ने बुझाई हो । जुन धर्मले सदियौैं सदिदेखि अपमानभन्दा बढी केही दिदैन त्यसैलाई काखी च्यापिरहने मोह देखिनु भनेको कार्ल माक्र्सले भनेको “धर्म अफिम हो” भन्ने भनाई सत्य प्रमाणित हुनु हो । धर्मको नशा अफिमको भन्दा कडा हुन्छ । धर्मको नाममा भेदभाव हुनु त सानो कुरा हो, मानिसको ज्यान लिन दिन पनि किञ्चित नमानिएको अनेकौं उदाहरणहरु विश्व इतिहासका पानामा सुरक्षित छन् । धर्मको नाममा ठूलठूला युद्ध भएका छन् । लाखौं हजारौं मानिसहरुको धर्मको नाममा कत्लेआम भएको छ । 

“न रहे बाँस, न बजे बाँसुरी” भने जस्तो हिन्दू धर्म त्याग गर्दा व्यथा स्वत सजिलै समाप्त हुन्छ भन्ने मान्यता राख्नेहरु पनि देखिन्छन् । डा. अम्वेडकरले पाँच लाख दलितहरु साथ लिएर बौद्ध धर्म ग्रहण गरेको पनि पूरै छ दशक पूरा भैसकेछ । डां साहेबको अभियानले विश्रान्ति लिएको छैन । तैपनि त्यसले जातभेद र वर्णभेदबाट समाजलाई मुक्त गर्न सकेको छैन । त्यसैले धर्मत्याग मात्र छुवाछूतबाट मुक्तिको एउटा मात्र बलियो हतियार हो भन्न सकिदैन । राजनीतिले अर्थात राज्यव्यवस्थाले गम्भीरतापूर्वक छुवाछूतको सामाजिक परम्परामा हस्तक्षेप नगर्दासम्म त्यसबाट मुक्ति सम्भव नहुँदो रहेछ । 

नेपालको सन्दर्भमा धर्मत्यागलाई उत्पीडनबाट मुक्तिको सर्वोत्तम साधनको रुपमा प्रचारित हुन थालेको छ । सामुहिक धर्मत्याग दलित मुक्तिको सहायक तर ग्ितलो र भरपर्दो हतियार सावित हुन सक्छ । हिन्दु धर्म परित्यागको लहर नेपालको दलित समुदायमा चल्न थालेको छ । तर यहीनेर विचारणीय कुरा के रहन्छ भने धर्मत्याग गर्नेहरु पाँचथरीमा विभाजित हुने हो भने त्यसको कुनै अर्थ रहने छैन । या त  सबै दलितहरु सबै धर्म सम्प्रदायबाट अलग रहन सक्नुपर्छ । त्यसो गर्न सकिदैन भने सबैले एउटै धर्म संस्कृति ग्रहण गर्नुपर्छ । अझ स्पष्ट रुपमा भन्नुपर्दा बुद्ध धर्म अङ्गिकार गर्नुपर्छ । बुद्ध धर्म नै किन त ? पहिलो कुरा त एउटा वस्तु परित्याग गर्नुको अर्थ त्यो भन्दा असल प्राप्त गर्ने आशा वा चेष्टा हो । धार्मिक हुनु छ, धर्म ग्रहण गर्नु छ भने सर्वोत्तम किन नरोज्ने ? 

दोश्रो कुरा नेपालको १२ प्रतिशत दलित आवादीले सर्लक्कै बुद्धधर्म ग्रहण गर्दा बुद्ध धर्मालम्वीहरुको संख्या झण्डै २५ प्रतिशत पुग्न जान्छ । किराँत, मङ्गोल, थारु, मगर, गुरु«ङ, तामाङ, थकालीहरु समेत हिन्दू धर्मबाट अलग भएपछि नेपालमा अहिन्दू बहुमत बन्ने सम्भावना छ । कथम त्यस्तो अभियानले खसलाई समेत लतारेछ भने अभिमत अझ प्रबल बन्ने छ । त्यसपछि हिन्दू समाजको अभ्यासमा रहेका गलत विधि, व्यवहार र मान्यताहरुले सिंगो समाजलाई डो¥याउने हैसियत गुमाउने छन् । 

३. अनेकताः

पहिलो कुरा त सानू, ठूलो भन्ने भेदभाव स्वयं दलित समुदायमा गहिरोगरी जरो गाडेर बसेको छ । त्यसमाथि थप पहाडिया र मधेसीबीचको विभेदको पर्खाल पनि कम छैन । अन्तरदलित विभेद र क्षेत्रीय विभाजनको रेखा मेतिनु पर्छ । 

खासगरेर, विश्वकर्मा समुदायमा अरुभन्दा आफूलाई श्रेष्ठ ठान्ने मनोविज्ञान छ । दलितभित्रको श्रेणी विभाजन उपल्ला जात भनिएकाहरुको स्वार्थरक्षाका लागि गढिएको षडयन्त्र हो  । दलित समुदाय आपसमा विभाजित रहोस्, र अन्याय र विभेद विरुद्ध आवाज उठाउने गरी एकताबद्ध नहोस् भनेर रचिएको प्रपञ्च हो । त्यसबाट मुक्त हुने संकल्प दलित समुदायले गर्नु पर्छ । अपेक्षाकृत सचेत समुदाय हो विश्वकर्माहरुको । आफ्ना विरुद्धमा गरिएको रकमी जालसाँजबाट सचेत हुन सकिएन भने दलित मुक्ति सपनाको कथा हुनेछ । जात, धन वा हैसियतले आफूलाई अरुभन्दा श्रेष्ठ ठान्नेहरुले कथित उपल्ला जातका मानिसलाई आफूभन्दा श्रेष्ठ ठान्छन् । त्यो सामन्तवादी चिन्तन हो । त्यसबाट दलित समुदाय मुक्त होस् । अन्धकार हटिसक्यो, चेतनाको उज्याले किरण पृथ्वीमा छरिएको छ, दलितहरुको मनभित्र पनि त्यो उज्यालो पुगोस् । –जनधारणा साप्ताहिकबाट



Prabhu bank

Share Your Thoughts