पञ्चायती शैलीको निरन्तरता हो संविधान दिवसमा सरकारको उर्दी


अगर बत्ती

Dharana news    

access_time 30 Nov -0001

– चन्द्रप्रकाश बानियाँ

नयाँ संविधानको जन्म मिति नजिकै आइसक्यो क्या रे सायद ! आफ्नै जन्मदिन कहिले रहेछ भन्ने कुरा फेसबुकले सम्झाउनुपर्ने जमानामा अर्काको जन्मदिनको हेक्का कसले राखोस् ? धरोधर्म मलाई संविधान दिवसको तिथिमिति याद छैन । सायद मैलेझै त्यो तिथिमिति हेक्का राख्नुपर्ने आवश्यकता छैन भन्ने मान्यता राख्ने मानिसहरुको संख्या यो मुलुकमा निकै ठूलो होलाजस्तो लाग्छ । तर आफूले नसम्झेर के भो र सरकारले हल्ला खल्ला गरेरै सम्झाउने भो । घरघरमा राष्ट्रिय झण्डा फहराउनु र साँझमा दिपावली गर्नु भन्ने उर्दी सरकारले सार्वजनिक गरिसकेको छ । र सरकारको त्यस्तो उर्दीले पुरानो एउटा घटनाको सम्झना गराउँदो रहेछ ।

कुरो २०४५ साल फागुनतिरको हो । प्रतिबन्धित राजनीतिक दलहरुले पञ्चायत व्यवस्था विरुद्ध जनआन्दोलनमा उत्रने हिम्मत नगरिसकेका भए पनि जनतामा विकसित हुदै गएको असन्तोषले भुसभित्रको आगोको रुप लिइसकेको थियो । त्यही कुराको भनक पाएको पञ्चसरकारले प्रतिकार पञ्चभेलाहरु आयोजना गर्न थालेकोे थियो । जिल्ला जिल्लामा पञ्च¥यालीहरु भैरहेका थिए । भेडाको छाला ओढेका मुठ्ठिभर व्वाँसाहरुले भित्र भित्रै पञ्चहरुको सातो लिइसकेका थिए सायद । स्वभावतः बाग्लुङ्गमा धौलागिरि अञ्चलस्तरीय पञ्चभेलाको आयोजना भएको समाचार गाउँ कन्दरासम्म पुग्यो । पञ्चभेलाको रमाइलो हेरौनं त भनेर हामी ४÷५ जना दाजुभाइहरु पनि बाग्लुङ्गतिर लाग्यौं । उन्ताका धौलागिरि अञ्चललाई मोटरसडकले छोएको थिएन । हाम्रो गाउँ पुलाबाट बाग्लुङ्ग पुग्न मच्चिएर हिँड्दा पनि पाँच घन्टाको पैदलयात्रा तय गर्नुपथ्र्यों । विहान सवेरै घरबाट साइत गरिएको थियो तापनि म्याग्दी जिल्लाको सदरमुकाम वेनी झर्दा विहानको ९/१० बजिसकेको थियो ।

वेनी झर्दा नझर्दै सिडिओ कार्यालयले बाग्लुङ्गतिर जाने मान्छेलाई ब्यानर, झण्डा, प्लेकार्ड बोकाउँछ रे ! बोक्न नमान्नेलाई थुन्छ रे ! भन्ने हल्ला सुनियो । ‘जस्तै परेपनि प्लेकार्ड नबोक्ने है’ भन्ने सल्लाह हामी बन्धुहरुबीच भयो । पञ्चहरुलाई अनिवार्य उपस्थितिको लागि गाउँघर, कुना काप्चासम्म उर्दी गरिएकोले वेनीबाट बाग्लुङ्गतिर मालिसहरुको ताँती लागेको थियो । हामी पनि लस्करमा मिसियौं तर अघिपछिका मानिसहरुसँग निश्चित दुरी राखेर अलग समूहको पहिचान भने दियौं । बाग्लूङ्गतिर लाग्न वेनी दोविल्लास्थित झोलुङ्गेपुल तर्नै पथ्र्यो । झोलुङ्गे पुलभन्दा अलि अगाडिको चौरमा सिडियो, इन्स्पेक्टर लगायतका केही सरकारी अधिकारीहरु बसेर बाग्लुङ्गतिर लाग्ने हरेक मानिसलाई एकएकवटा ब्यानर, झण्डा, प्लेकार्ड थमाउँदै रहेछन् । अधिकारीहरुले प्लेकार्ड बाँडिरहेको दृश्यको उपेक्षा गरेर हामी सरासर बाटो लाग्यौं । पुलिस इन्सपेक्टर आफै दगुर्दै आएर हामीलाई प्लेकार्ड थमाउने चेष्टा गरे ।

इन्सपेक्टर र मेराबीच सम्बाद हुदै थियो, सिडिओ लगायतका अधिकारीसँगै उभिएका एकजना परिचित मण्डले शिक्षक मित्रले सिडिओको ध्यान हामीतिर आकर्षित गराउने चेष्टा गरेको देखियो । सिडिओ साहव ‘के भयो’ भन्दै हामीछेउ आइपुगे । ‘हामी पञ्चभेलामा सामेल हुन हिँडेका होइनौं । इन्सपेक्टर साहबले जबर्जंस्ती प्लेकार्ड बोकाउन खोज्दै हुनुहुन्छ । त्यसैले विवाद होइन हामीबीच सम्वाद चलिरहेको छ’ भनेर मैले सिडिओलाई जानकारी गराएँ । ‘पञ्चभेलामा सामेल नभएपनि जाने त बाग्लुङ्गतिरै होला ? कमसेकम एकएकवटा सामग्री समातेर बाग्लुङ्ग पु¥याइदिनु भयो भने हाम्रो परिश्रम खेर जाने थिएन ।’ सिडिओले प्लेकार्डको र झण्डाको थुप्रो देखाएर भने ।

‘सिडिओ साहव ! बाग्लुङ्गको पञ्चभेलाको लागि म्याग्दीले यति धेरै श्रम र साधनको खर्च किन गर्नुपथ्र्यो र ? यहाँ खर्चभएको आधा पैसा उतै पठाइदिएका भए बाग्लुङ्गले नै आवश्यक तयारी गथ्र्यो । विनाविचार खर्च गरिहाल्नु भएछ । खेर जाने भयो । यसरी जबर्जस्ती बटुवालाई थमाएर पठाइएको एउटा प्लेकार्ड बाग्ुलङ्गमा सुरक्षित पुग्छजस्तो लाग्दैन । बरु यतिको श्रम साधनको लगानी गरिसकेपछि दुईचारजना ज्यालादारी भरिया खोजेर बाग्ुलङ्ग पु¥याउनुहोस्, बजारको छेउ ओढारचौरतिरको चौतारीमा बसेर प्लेकार्ड बाँडने व्यवस्था मिलाउनुहोस् । त्यसो गर्दा यी प्लेकार्डहरु सकुशल बाग्लुङ्गबजारभित्र प्रवेश गर्ने छन् । मानिसलाई जबर्जस्ती गरेर काम गराउन सकिदैन । विहानदेखि तपाईले बोकाउन थालेको प्लेकार्ड बागलुङ्गसम्म एउटा पनि पुगेको छैन भनेर मैले दावाका साथ भन्न सक्छु । तपाईले बोकाएको प्लेकार्ड उ त्यो खबराको डिलपारी पुगेपछि सबैले बाटोमुनि मिल्काएर हिँडे होलान्, नपत्याउ गएर हेर्नुहोस् । हामीलाई नबोकाइ नछोड्ने हो भने लिइदिउँला तर तपाईले देख्नेगरी पुलवारी छोडेर गैदिने छौं । तपाईको हैसियत र श्रमको सम्मानस्वरुप पुलबाट नदीमा फ्याक्ने अशिष्टता भने नगरौला” भन्ने मेरो जवाफले सिडओलाई तत्कालको लागि नाजवाफ बनायो तर त्यसवापत बहुदलीय व्यवस्था नआउँदा सम्म सिडिओ कार्यालयले फर्जी मुद्दा लगाएर सातदिने तारिखमा बर्षदिनसम्म झुलाएर साटो फेरेथ्यो ।

पञ्चायती दिवसहरुमा गाउँगाउँबाट मानिसहरुलाई सदरमुकाम झर्न बाध्य पारिन्थ्यो । स्कूले चिचिला नानीबाबुहरुलाई समेत ¥यालीमा जबर्जस्ती हिँडाइन्थ्यो । जिन्दावाद, मूर्दावाद भन्न लगाइन्थ्योे । राजा र व्यवस्थाको जय घोकाइन्थ्यो । एकल जातीय राष्ट्रवादको नारा घन्काइन्थ्यो । दिव्य तीसबर्षसम्म त्यस्तो अभ्यासले निरन्तरता पायो तर त्यसले आम नेपालीहरुका मनमा पञ्चायत व्यवस्थाप्रति अनुराग र आस्था जगाउन सकेन । ममता र विश्वासको भाव बढाएन । पञ्चायती अभीष्ट रत्तिभर पूरा गरेन । बरु वितृष्णा र घृणाको विरुवा हलक्क बढाउन, हुर्काउनमा भने मलजल ग¥यो । २०४६ साल लाग्दानलाग्दै नेपाली जनमत व्यवस्थाको विरुद्धमा उत्रन थाल्यो । बर्षान्तसम्ममा पञ्चायती व्यवस्था धरासायी भयो । २०४७ सालको राजनीतिक परिवर्तनपछि पनि सरकारी रवैया लगभग उस्तै रह्यो । फलतः एक दशक बित्न नपाउँदै जनमत त्यसका विरुद्ध पनि सडकमा ओर्लियो र व्यवस्था परिवर्तन गराएरै छोड्यो ।

देशमा गणतन्त्र स्थापित भएको छ । मुलुकले गणतान्त्रिक संविधान पाएको भए पनि आम जनताका असन्तुष्टिहरु भने बाँकी छन् । संविधानसभाले संविधान पारित गर्दैगर्दा मधेस सडकमा थियो । थारु समुदाय पनि विरोधमै थियो । राइ, लिम्बु, नेवार, तामाङ्, सेर्पा, गुरुङ्, मगर, कोचे मेचेहरु पनि आन्दोलनमै थिए । संविधानले आफ्ना भावनाहरु सम्बोधन गरेन भन्ने गुनासो बाक्लै थियो । संविधान जारी हुँदा राजधानीले दिपावली गर्दैगर्दा मधेसले ‘बत्ती निभाउँदै’ थियो । संविधानसभाले संविधानका धारा उपधारा पारित गर्दैगर्दा मधेसमा भने पुलिसको गोलीबाट मानिसहरु मारिदै थिए । सडकमा उत्रने मानिसहरुको संख्या त कति थियो थियो, पाँच दर्जन मानिसहरुले शहादत प्राप्त गरेका थिए ।

रगतमा लथपथ आम जनताका लाशमा टेकेर राजनीतिको कथित संस्थापन पक्षले जोरजबर्जस्तीमै संविधान जारी गरेको हो । संविधान पारित भएको महिना दिन नपुग्दै संविधान संशोधन प्रस्ताव सदनमा दर्ता भएको थियो । संविधानप्रतिको जनअसन्तुष्टिकै बीचमा आमचुनाव भयो । चुनाव सम्पन्न भए पनि संविधान संशोधनको मुद्दा समाप्त भएको होइन । संविधान संशोधनको पक्षमा दह्रो अडान मधेसले राखेको देखिए पनि असन्तुष्ट रहने नेपालीहरुको संख्या सानो छैन । हिमाल पहाड, तराई, मधेस जताततै संविधानप्रतिको असन्तुष्टि व्याप्त छ । संविधानले नागरिकहरुबीच विभेद ग¥यो, सबै वर्ग र समुदायको भावना सम्बोधन गरेन भन्ने मान्यता निरन्तर बढ्दै गएको छ । त्यही सर्वसम्मत हुन नसकेको संविधानको जन्मदिन मनाउनैपर्छ भनेर उर्दी जारी गर्नु कति उपयुक्त होला कुन्नी ? जबर्जस्तीको पञ्चायती शैलीमा घरघरमा झण्डा फहराउने र दीपावली गर्ने सरकारी उर्दीले संविधानलाई दिगो बनाउँदैन बरु वितृष्णा बढाउनमा सहयोग पु¥याउने छ भन्ने उदाहरण हेर्न विश्वइतिहासको पाना पल्टाउनु पर्दैन । विगत पचासवर्षको अवधिमा छ–छ वटा संविधान बनाउँदै च्यात्दै गरेको उदाहरण हाम्रोे आफ्नै छ । सत्ताधारीहरुले धेरै पुरानो नभए पनि नेपालको नयाँ इतिहासका पाना फर्काएर एकपटक हेर्दा के फरक पथ्र्यों होला र ! – जनधारणा साप्ताहिक



Share Your Thoughts