राजाबाट होइन, जनताबाटै खतरा छ गणतन्त्रलाई


अगर बत्ती

Dharana news    

access_time 30 Nov -0001

– निमकान्त पाण्डे

हालका दिनहरुमा गणतन्त्रको जग हल्लिरहेको महसुस हुन थालेको छ । सत्तासीन पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहालले पूर्व क्रान्तिकारीहरुलाई खुइल्याउने काम राजावादीहरुबाट भइरहेको आरोप लगाउँदै आफूलाई बाघ र राजावादीहरुलाई स्यालको संज्ञा दिएर आफ्ना ‘क्रान्तिकारी’ अभिव्यक्ति दिने गर्नुभएको छ । दाहालको भनाइमै पूर्व क्रान्तिकारी भन्ने शब्दले सबै कुराको अर्थ खोलेको छ, अब उहाँ क्रान्तिकारी रहनु भएन । दाहाल, सोही पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत अन्य दलका शीर्ष नेताले पछिल्लो समय गणतन्त्र संकटमा पर्न लागेको भन्दै चिन्ता व्यक्त गरेको पनि धेरै भएको छैन । सत्तारुढ नेकपाका अध्यक्षद्वेय ओली र दाहालले त पछिल्लो पटक हरेक जसो कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले टाउको उठाउन लागेको भन्दै ज्ञानेन्द्र र राजतन्त्रको एजेन्डा बोकेको राप्रपालाई सत्तोसराप गर्दै चेतावनी दिँदै आएको सुनिन्छ ।

अझ संयोग कस्तो भने पूर्व राजा ज्ञानेन्द्र थाइल्याण्डमा रहेका बेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली अघिल्लो पटक सिंगापुरबाट र पुष्पकमल दाहाल युएईबाट फर्किए लगत्तै लोकतन्त्र संकटमा परेको भनेर बालुवाटारमै सर्वदलीय बैठक बोलाउने काम समेत भयो । प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै फ्याकिसकेको राजतन्त्रप्रति आक्रोश व्यक्त गरे भने दाहालले सार्वजनिक कार्यक्रमबाट पूर्वराजालाई नागार्जुनबाट निकालिदिने चेतावनी समेत दिए । सामान्य नागरिक बनिसकेका पूर्व राजाको भूतप्रति मुलुकको सबैभन्दा ठूलो दलका अध्यक्ष तथा प्रधानमन्त्री र प्रधानमन्त्री भइसकेर पनि पुनः प्रधानमन्त्री हुने लाइनमा रहेका व्यक्तिमा सृजना भएको त्रासले वर्तमान व्यवस्थाको जग कति बलियो छ भनेर अनुमान गर्न कठिन पर्दैन ।

नेपालको परिप्रेक्षमा व्यवस्था परिवर्तन त्यति धेरै ठूलो परिघटना होइन, सात दशकको अवधिलाई फर्किएर हेर्ने हो भने एउटा व्यवस्थाबाट असन्तुष्ट भएका जनताले अर्काे व्यवस्था ल्याउन जस्तोसुकै संघर्ष गर्न पनि पछि परेका छैनन । २००७ सालमा राणा विरुद्धको आन्दोलन होस् वा २०४६ सालको पञ्चायत विरुद्धको आन्दोलन नै किन नहोस् । त्यस्तै २०५२ सालबाट सुरु भएको सामन्ती राजतन्त्रात्मक व्यवस्था विरुद्धको सशस्त्र संघर्ष होस वा २०६२/०६३ को आन्दोलन नै होस्, जनतालाई व्यवस्थाप्रति निराशा र आक्रोश उत्पन्न भएपछि व्यवस्था परिवर्तनको आन्दोलनमा दिलो ज्यान दिएर जनता लाग्ने गरेका छन् । वर्तमान लोकतान्त्रिक व्यवस्थामा समेत जनताले राजनीतिक दलहरुबाट सन्तोषजनक नतिजा प्राप्त गर्न नसकेपछि विस्तारै जनताबाट असन्तुष्टिको स्वर सुनिन थालेको छ । जनताले एकजना व्यक्ति सामन्तवादको अवशेषका रुपमा रहन सक्दैन भन्ने निष्कर्ष लिएरै राजतन्त्रको अन्त्य गरेपनि अहिले त्यसको विपरित हजारौँको संख्यामा सामन्तवादका अवशेषहरु देखिन थालेपछि जनतामा तीव्र आक्रोश देखिन थालेको छ । जनताले महसुस गर्ने गरी सिन्को भाँच्न नसक्ने, महत्वपूर्ण जनमत प्राप्त गरेर शक्तिशाली सरकार बन्दा पनि जनताले राज्यको जनपक्षीयता महसुस गर्न नसक्ने, अनियमितता, भ्रष्टाचार, कुरीति र कुसस्कारले मौलिकतालाई नै चुनौति दिने र धर्म, संस्कृति र परम्परालाई समेत राज्यकै तहबाट समाप्त पार्नेतर्फ गतिविधि उन्मुख भएपछि जनतामा वर्तमान राजनीतिक नेतृत्व, व्यवस्था र सरकारप्रति निकै निराशा र आक्रोश उत्पन्न गराएको छ । त्यही आक्रोशका संकेतलाई वर्तमान राजनीतिक दलहरुले ज्ञानेन्द्रको चलखेलका रुपमा बुझेका छन् भन्ने स्पष्ट छ, यो उनीहरुको झनै ठूलो गलत बुझाइ हो ।

जनताको जीवनस्तर सुधार गर्छौ भनेर राजनीतिमा लागेको नेतृत्वको जीवनशैलीमा कायापलट हुँदा समेत जनताको अवस्था झनै दयनीय बन्दै गएको छ । भ्रष्टाचार, बलात्कार, हत्या र हिंसाका घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन् । जनताले आफ्ना गुनासा राख्ने ठाउँ पाइरहेका छैनन् । गाउँगाउँमा सिंहदरबार भनिएपनि अहिले गाउँगाउँमा छोटे राजाहरुको उदय भएको छ । हातमुख जोर्न समस्यामा परिरहेका जनतामाथि करै करको भार थोपरेर बाँच्नै नसक्ने अवस्थामा पु¥याइएको छ । सारमा भन्दा त मुुलुक संघीय व्यवस्थामा प्रवेश गरेको भनिएको छ, तर अहिले प्रदेश सरकार, स्थानीय सरकार र केन्द्रबीचको समन्वय हुन नसक्दा मुलुक बाइसे चौबिसे राज्यकै अवस्थामा पुग्ने हो कि भन्ने खतरा पनि त्यत्तिकै बढिरहेको अवस्था छ ।

राज्यले जनतासँग कसेर कर उठाइरहेको छ । तर, त्यसको बदलामा राज्यका तर्फबाट नागरिकलाई दिने सेवा सुविधा केही उपलब्ध गराइएको छैन, बरु जनताको करबाट उठेको रकममा जनप्रतिनिधिहरुको मोजमस्ती चलिरहेको छ । यसले मुलुक विस्तारै आर्थिक संकटको अवस्थाबाट गुज्रिने सम्भावना बढदै गइरहेको छ । सामाजिक धु्रवीकरणको अवस्था त अहिले नै सुरु भइसकेको छ । जातिय र धार्मिक सद्भाव विथोलिदैँ गएको अवस्थाले मुलुकको भविष्यलाई दुर्घटनातर्फ पु¥याउने खतराका संकेत देखिन थालेका छन् ।

गणतन्त्रमा नागरिकहरु अधिकार सम्पन्न हुन्छन् भन्ने सबैको बुझाइ हो । जनतामा राजनीतिक नेतृत्वले देखाएको आश्वासन पनि यही थियो । दलाल पुँजीपति वर्गको अन्त्य गर्दै सामाजवाद हुँदै साम्यवादसम्मको लक्ष्य बोकेका राजनीतिक दलमा मौलाएको पूँजी संचयको प्रतिस्पर्धाले वर्तमान व्यवस्था र राजनीतिक नेतृत्वप्रति विस्तारै अविश्वासको वातावरण विकसित हुँदै गइरहेको छ । यो अवस्थाले अझै केही समय निरन्तरता पाउँदै गयो भने जनतालाई अर्काे आन्दोलनको तयारीमा जुटन कसैले रोक्न सक्ने छैन । जनतामा राज्यप्रति कति धेरै आक्रोश छ भन्ने कुराका केही उदाहरण गुठी विधेयकका विरुद्ध उत्रिएको जनसागर र पछिल्लो पटक टेलिभिजन प्रस्तोता रवी लामिछानेको समर्थनमा देखिएको जनलहर हेरे मात्रै पनि पुग्छ । हिजो सामन्तवादी व्यवस्थाका विरुद्ध यसरी नै उर्लिएको जनलहरलाई तत्कालीन व्यवस्थाले कमजोर ठान्दा व्यवस्था नै अन्त्य भएजस्तै अहिलेको राज्यव्यवस्थाले पनि जनताको असन्तुष्टिलाई कमजोर ठान्दै भेँडाको संज्ञा दिन थालेकाले यो व्यवस्थाको आयु पनि त्यति लामो हुने आशा गर्न नसकिने भएको छ ।

जब राज्यसत्तामा बस्नेहरुमा हामी भन्दा ठूलो कोही छैन, जनता भनेका भेँडा हुन् र हामीले जे गरेपनि हुन्छ भन्ने सोचाइको विकास हुन्छ, त्यसले राज्यसत्ताको अधोगतिको संकेत गर्छ । यो अहिले मात्र नभएर विगतदेखि नै देखिदै आएको राज्य सत्ताको चरित्र हो । जुन गणतन्त्रमा पनि निरन्तरता भइरहेको छ । यसको अर्थ वर्तमान व्यवस्थाको आयु पनि अब दिनगन्ती सुरु भइसकेको भन्न सकिन्छ । जीवन बलिदानी गरेर सामन्ती सत्ता फ्याक्न सफल भएका जनताले चुनावका माध्यमबाट आफैलाई सत्तामा पु¥याउँदा पनि देश र जनताको पक्षमा कुनै काम गर्न नसक्ने हुतिहारा नेताहरुले नै गणतन्त्रको जग हल्लाउने काम गरेका छन् भन्दा अतियुक्त नहोला ।

जनमतको भावनालाई सम्बोधन गर्न नसक्ने र उल्टै महान जनतालाई नै भेँडाको संज्ञा दिने अंहकारी नेताहरुलाई कुनै राजा वा राजावादीहरु आएर तह लगाउनु पर्दैन । नेताहरुको अंहकारलाई तह लगाउने शक्ति जनतामा छ भन्ने कुरा अंहकारले भरिएका नेताहरुले समयमै बुझ्न सके गणतन्त्रको जग कसैले हल्लाउन सक्ने छैन । अन्यथा गणतन्त्रको पूजा गरेर नयाँ राजाहरुको स्तुती गाउँदै जनताले संयमता देखाउने छैनन् भन्ने कुरा स्पष्ट भइसकेको छ । गुठीको संरक्षण वा रवी लामिछानेको पक्षमा जनताले सडक छपक्कै पारेका होइनन्, यो जनआक्रोश वर्तमान सरकारप्रति गरेको विश्वासमा भएको विश्वासघातका विरुद्ध हो भन्ने कुरा बुझ्न जरुरी छ ।

जनताले धेरै लामो समयसम्म यस्तो बेथितिलाई टिकाइराख्न चाहदैनन् भन्ने स्पष्ट सन्देश दिएका छन् । त्यसैले अहिलेको व्यवस्थालाई राजतन्त्रबाट होइन जनताबाटै खतरा उत्पन्न भइसकेको छ । आफूले गरेको गल्तीको दोष पूर्व राजालाई थोपर्नु भनेको राजनीतिक दलका नेताहरुको असक्षमताको अभिव्यक्ति मात्र हो । आफूले जनतालाई दिएका आश्वासनहरु के के थिए ? के कति आश्वासनहरु पूरा गर्न सकियो ? उत्पादनतर्फ किन ध्यान पुगेन ? शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको लूटको व्यापार नियन्त्रण गर्न किन सकिएन ? नेपाललाई आत्मनिर्भर अर्थतन्त्रका रुपमा विकसित गराउने एक मात्र पूर्वाधारका रुपमा रहेको नेपालको जलसम्पदा सबै भारतको जिम्मा किन लगाइयो ? बैंक र वित्तिय संस्थाहरुलाई जनता लुट्ने छूट किन दिइएको छ ? यी र यस्ता प्रश्नहरुमा गम्भीरतापूर्वक ध्यान नदिएर अरुलाई सत्तोसराप गर्दैमा गणतन्त्रको जग बलियो भइहाल्ला भन्ने दिवा स्वप्न नदेखे हुन्छ । आफ्ना गल्तीहरुलाई समयमै सच्याउने तत्परता राजनीतिक दलका नेताहरुले देखाउन सक्नुपर्छ । आगे अंहकार पालेर बसेका नेताहरुलाई चेतना भया ! – जनधारणा साप्ताहिक



Share Your Thoughts