सिट बाँडफाँडको प्रस्ताव ल्याउनुअघि सिटौलाले शीर्ष नेताको मनसाय बुझ्ने


अगर बत्ती

Dharana    

access_time 18 Aug 2022

 काठमाडौँ – सिट बाँडफाँडको ठोस प्रस्ताव ल्याउनुअघि कार्यदल संयोजक कृष्णप्रसाद सिटौलाले गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन्।  आउँदो प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि गठबन्धनका दलबीच सिट बाँडफाँड गर्न गठित ११ सदस्यीय कार्यदलले ठोस प्रस्ताव ल्याउन नेताहरुसँग परामर्श गर्ने निर्णय लिएको हो।   अघिल्लो बैठकले सिट बाँडफाँडको प्रस्ताव ल्याउन संयोजक सिटौलालाई जिम्मा दिएको थियो। तर, उनले नेताहरुको मनसाय बुझेर मात्रै प्रस्ताव ल्याउने तयारी गरेका हुन्।  कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदलको आफ्नो हालसम्मको प्रगति विवरण शिर्ष तहमा बुझाउने निर्णय भएको बताए।कार्यदलको बैठक बुधबार बालुवाटारमा बसेको थियो।  निर्णयबारे जानकारी दिँदै उनले भने,‘कार्यदललाई जुन जिम्मेवारी सुम्पिएको छ, त्यो जिम्मेवारीलाई पूरा गर्ने अन्तिम चरणमा पुगेका छौँ। र, आज एक पटक अहिलेसम्म भएको छलफलका विवरणहरु जुन छ, त्यो विवरणहरु शिर्षस्थ नेताहरुलाई अवगत गराउने र त्यसपछि बस्ने बैठकबाट निर्णयमा पुग्ने सहमतिका साथ आजको बैठक अन्त्य भएको छ।’  उनले सिट बाँडफाँडको काम निष्कर्षतर्फ उन्मुख भएको जिकिर गरे। ‘मोडालिटीको आधारमा सिट विभाजनको हामी निष्कर्षको चरणतर्फ हामी अगाडि बढदैछौँ। दलहरुलाई न्यायपूर्ण तरिकाले मिलाएर जाने कुरामा गठबन्धनमा रहेका सबै दलहरु सहमत छौँ। र, त्यही न्यायपूर्ण तरिकाले अगाडि बढाउनका निमित्त छलफल भएको छ,’ उनले भने।  सिटौलाले कसले कति सिट पाउने भन्नेबारे कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नेछन्।



Share Your Thoughts