प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको हाेः ओली


अगर बत्ती

Dharana    

access_time 24 Jun 2022

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन्। अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारीसाथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नुपरेको बताए। 

शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनले बडो दुःखका सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादीसामु अर्पण गर्दा आफूलाई दुःखित बनाएको गुनासो पनि गरे।   

पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दूरुपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निष्कासन गरे पनि आफूले त्यसलाई जोगाएर अघि बढाएको ओलीको दाबी थियो।  उनले भने, ‘हामीले प्रचण्डलाई लखेटेको होइन। प्रचण्डसँग त एकता नै गरिएको हो। तर प्रचण्डले एकता गर्दा पनि इमान्दारीसाथ गर्नु भएन। एकताबद्ध रहँदा पनि इमानसाथ काम गर्नु भएन। र, बेइमानपूर्ण ढंगले हट्नुभयो। एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दुरुपयोग गर्नुभयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निष्कासन गर्नुभयो। पार्टी अध्यक्षलाई साधारण सदस्यबाट समेत एकता, अनेकता के गरेको हो? तपाईंहरू आफैँ विचार गर्नुस्। पार्टी अध्यक्षमाथि गम्भीर आरोपको पुलिन्दा बनाउनुभयो उहाँले। र, ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नुभयो उहाँहरूले। यो बडो दुःखद कुरा थियो।’   

ओलीले चरम सत्ताको दुरुपयोग गरेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी केही पछि परे पनि आगामी दिनमा जित सुनिश्चित रहेको दाबी गरे। पपुलर मत संख्यालाई हेर्ने हो भने अहिले पनि आफ्नो पार्टी नै मुलुकको पहिलो राजनीतिक शक्ति रहेको उनले बताए। अध्यक्ष ओलीले समाजवादको यात्रा तय गर्ने विचार, संगठन र योजना आफ्नो पार्टीसँग मात्रै रहेको जिकिर गरे।



Share Your Thoughts