आज विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री पाण्डे


अगर बत्ती

Dharana    

access_time 08 Nov 2021

काठमाडौं / बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज (सोमबार) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।     

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत लिन लागेका हुन्।  विश्वासको मत लिन मुख्यमन्त्री पाण्डेले प्रदेश सभाको सचिवालयमा लिखित जानकारी गराइसकेका छन्।     

यसअघि अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। एमाले विभाजित भएसँगै अल्पमतमा परेकी शाक्यले कात्तिक १० विश्वासको मतको प्रस्तावका लागि हुने मतदानमा प्रक्रियामा सहभागी नभइ राजीनामा दिएकी थिइन्।  गठबन्धनको दलहरु नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालको सहमतिमा नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। हाल बागमतीमा  मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल रहेको छ।   

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारसँगै सरकारको आगामी साझा कार्यक्रम सार्वजनिक गर्ने बताएको छन्।  हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ। गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर गरेका थिए।  प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई–दुई जना तथा जनता समाजवादी पार्टी नेपालको एक जना प्रदेश सभाका सदस्य छन्।



Share Your Thoughts